राजन कार्की - -
महाभारतको शिक्षा हो– आचरण नष्ट हुनु भनेको आफै नष्ट हुनु हो । नेपालको राजनीतिमा पटक पटक यो सत्य सत्य सावित हुँदै आएको छ ।
यही कारण त सत्तामा भएका ५ दलीय गठबन्धन र प्रतिपक्षीका अगुवा नेतासमेत चुनाव हारिन्छ भन्ने त्रासदीमा छन् । जनताको आवाज सुनेको भए, जनविश्वास नगुमाएको भए मंसिर ४ को चुनाव यी बरिष्ठ नेताका लागि आपातकालजस्तो हुने थिएन ।
आवधिक चुनाव हुनु प्रजातन्त्र हो । यस्तो चुनावमा पार्टीको नेतृत्व गर्नेले नै लगलग् खुट्टा कमाउनु पर्ने जुन परिस्थिति विकास भएको छ, यसबाट भन्न सकिन्छ, यी नेतृत्वले जवाफदेहीताको परिपालना गर्न सकेनन् । जनताले हराइदिन्छन् भन्ने डर मान्नुपर्ने अवस्था आयो । जनतामा यसरी चेत फिर्नु र नेतृत्व भयाक्रान्त हुनु भनेको प्रजातन्त्र मजबुत हुने लक्ष्यण पनि हो । जुन नेता आफ्नो चरित्रमा, प्रतिवद्धतामा उभिन सक्दैन, त्यस्ता नेताको परिणति हार नै हो, हार्नैपर्छ ।
समानुपातिक सिद्धान्तको ध्येय र लक्ष्य के हो ? ठूला नेता र तिनका परिवारका लागि यो व्यवस्था भएको हो र ? यसकारण समानुपातिक पद्धतिको दुरूपयोग जसरी भइरहेको छ, हुनलागेको छ, यसमा विद्रोह हुनुपर्छ । १ सय २६ जातिमध्येका सिमान्तकृतलाई कसरी राज्य र पद्धतिसँग जोड्ने भन्ने उद्देश्यको बर्खिलाप ठूला दलले समानुपातिकको व्यवस्थामाथि प्रहार गरिरहेका छन् । यो अतिवाद हो । अतिवाद अब सह्य हुनुहुन्न । राजनीति त्यसै पनि अपराधिक हुँदै गएको छ, राजनीतिले धर्म छाड्दै गएको छ । त्यसमाथि यो थप राजनीतिक अपराध हो ।
अपराध समानताको नाममा होस् अथवा लोकतन्त्रका नाममा, नेता वा तिनका परिवारलाई लाभ पु¥याउने षडयन्त्रका नाममा, अपराध अपराध नै हुन्छ । देश र समाज परिवर्तन गर्नेहरूले अपराधको बाटो समात्ने गर्दैनन् । राजनीतिक जीवनमा अपराध पस्यो भने उसको जीवन नष्ट समान हो । नेपाली राजनीति अपराधले गनाइसकेको छ । व्यक्तिवादी चरित्र र अपराध मनोवृत्तिका कारण लोकतन्त्रकै उपादेयता समाप्त भइसकेको छ । नेतृत्व, जो आफै भ्रट–नष्ट छ, उसले समाजलाई के दिन्छ ?
इतिहास पढ्दा थाहा लाग्छ– नयाँ नेपाल बनाउने नाममा हैकमवाद, हुकुमीतन्त्र, निरङ्कूशतन्त्र चलाउनेहरूको मृत्यु अत्यन्त अमानवीय हुनेगर्छ । समानता र स्वतन्त्रताको हावा चलेको विश्वमा अधिनायकवाद चलाउन खोज्ने जो होस्, त्यो सर्वनाशी हो । नेपालको राजनीतिमा बिगत १५ वर्षदेखि जे देखिएको छ, जे भइरहेको छ, त्यो सर्वनाशी छ, चरित्रहीनता छ । नैतिक पतनमार्गमा निस्फिक्री कुदिरहेको छ ।
जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि २०६२ साल मंसिर ५ गतेसम्म चल्यो । कति हजार मानिस मारिए, कति बिधुवा भए, कति अपाङ्ग बने, कतिले सहारा गुमाए, कति बेसहारा भए, बितण्डताको बिनासलीला छुट्टै प्रसङ्ग हो । यो घाउ नेपाल र नेपाली रहेसम्म निको नहुने घाउ हो । तत्काल संक्रमणकालीन न्याय सम्पादन गर्छौं भन्नेहरू यतिबेला आएर फौजदारी अपराधमा समेत आममाफी दिने तैयारीमा पो जुटेका छन् । नेपाल दण्डहीन मुलुकका रूपमा दिनदिनै बदनाम भइरहेको छ ।
प्रसङ् २०६२ साल वैशाख २५ गते सम्पन्न ७ दलको प्रतिवद्धताको छ । प्रश्न– २०६२ साल मंसिर ७ गते सात दल र माओवादीवीच दिल्लीमा भएको १२ बुँदे सम्झौता पत्रको हो । प्रश्न २०६३ साल वैशाख ११ गते राजा र राजनीतिक दलहरूबीचको सहमतिको पनि हो । जिज्ञासा २०६३ साल मंसिर ५ गते भएको नेपाल सरकार र नेकपा माओवादीवीच भएको विस्तृत शान्ति सम्झौताको पनि छ । राजनीतिमा उत्तरदायित्वको निर्वाह र धर्म हुन्छ कि हुन्न ? सैद्धान्तिक अडान चाहिन्छ कि चाहिन्न ? के राजनीतिक दलका नेताहरूले आफ्ना प्रतिवद्धताहरूमाथि आफैले निरन्तर बन्चरो हान्दै रहन सुहाउँछ ? राजनीतिक दलका नेताहरू यति चाँडै गैंडाका छालाजस्ता संवेदनहीन हुनसक्छन् ? तर भए त्यस्तै । जनताले हिसाव राखेका होलान् ।
यसमा नागरिक समाज र बुद्धिजीवीको पनि दोष छ । अधिकारकर्मीहरूको मौनता रहस्यमय छ । विवेकले बोल्नुपर्नेहरू विवेकहीन भएपछि कसको केही नलाग्ने रहेछ । अन्धकार झन बढ्ने रहेछ । यही दोषका कारण पीडित रोइरहेका छन्, प्रताडित भइरहेका छन्, पिडकहरू सत्ता हाँकिरहेका छन् ।
माओवादीको १० वर्षे क्रान्ति दिल्लीमा रोपियो, सिंहदरवारमा फुल्यो र सडकमा झ¥यो । जनयुद्ध, जनआन्दोलनको रणनीति सत्ता रहेछ, सत्ताको ब्रम्हनालमा सुत्न पुग्यो । सर्वहारावाद, समाजवाद, लोकवाद सबै सत्ताको गल्लीमा ‘बरेलीकी बजारमे झुम्का गिरा रे’ गीतमा झुमिरहेको देखिन्छ । पहिले जनवादका नारा लगाउनेहरू यतिबेला सत्ताको गल्लीमा बेहोस देखिन्छन् । भन्छन्, संविधान बचाउनका लागि गठबन्धन गर्नुपरेको हो । झूठ सत्य हुन्छ र ?
यहाँसम्म कि रूख वालाले हसिया हथौडामा, हसिया हथौडावालाले रूखमा मतदान गरेको देखियो । यो सिद्धान्तहीनताको पराकाष्ठा मंसिर ४ गते देखिनेवाला छ । नेता त पदका र जित सुनिश्चित गर्न स्वार्थी भए, कार्यकर्ताहरूसमेत विवेक गुमाउनु भनेको राजनीति बहुलाएकै हो । बहुलासँग के आशा गर्ने, कति आशा गर्ने र ?
२०६३ सालदेखि नेतृत्वले डम्फु बजाइरहेका हुन्– नयाँ नेपाल बन्छ, नयाँ झलक झुल्किन्छ । नयाँ जे जति परिवर्तन भयो, ती सबै नेता र तिनका परिवार, कार्यकर्ताहरूको मुहारमा मात्र झुल्क्यो । गणतन्त्र नेपाली जनताका लागि एउटा कोतपर्वपछि जन्मिएको अर्को जंगबहादुरको राणाशाहीभन्दा भिन्न अर्थमा बुझ्न सकिने अवस्था छैन । जन–जनको प्रश्न छ– के यस्तै हुन्छ गणतन्त्र नेपाल भनेको ? नीति र नैतिकता गुमाएका नेतृत्व गण भन्छन्, लोकतन्त्र संस्थागत हुँदैछ । कुनै समय थियो, फ्रान्सबाट नेगेटिभ जोर्नल प्रकाशित हुन्थ्यो । त्यो जोर्नलमा कुनै पनि विषयमा नेगेटिभ विचारमात्र आउने गथ्र्यो । तर फ्रान्सका शासकहरूले त्यसलाई पोजटिभ अर्थात् सकारात्मक रूपमा अंगिकार गर्थे ।
वर्तमान नेपालमा राजनीति नेगेटिभमात्र हुने गरेको छ । दुर्भाग्य नेगेटिभ राजनीतिका पोजेटिभ प्रभावहरू शून्य छन् । नेगेटिभको जवाफ नेगेटिभ रूपमा नै दिने गरेपछि परिणाम पोजेटिभ हुने सवाल आएन । राजनीतिले व्यवस्थापन होइन, तिक्तपन बढाइरहेको छ । निर्णायक तत्वहरूले समस्याका जमरा आफ्नै छातीमा उमारिरहेका छन् । मुठ्ठी बटार्ने, जुँगा मुसार्ने, बाहुला सुर्कने, तिघ्रा ठटाउने गरेपछि शान्ति र समुन्नति कसरी सम्भव हुन्छ र ? एकले अर्कोलाई खुइल्याउने, खाने र पाउने ठाउँमा मिलोमतो गर्ने, एकले अर्कोको अपराधबारे नबोल्ने, यही राजनीतिको महारोग बन्नपुग्यो । सहयात्रा छिन्नभिन्न हुनपग्यो । हाम्रा राजनीतिक दलहरूलाई के राष्ट्रवाद, कुन राष्ट्रघात भन्ने हेक्कासमेत हुन छाडेको छ ।
हरेक दलभित्र विधिमाथि बल प्रयोग भइरहेको छ । यिनले हाँकेको सत्तामा पनि विधि मिचिनेक्रम जारी छ । जनताप्रति गरिएका वाचाहरू पूरा गर्नका लागि प्रतिस्पर्धा हुनुपर्नेमा दलगत स्वार्थको भूत जाग्न र जगाउने कुकर्म भइरहेको छ । एउटा दक्षिणपन्थी, अर्को उत्तरपन्थी, तेस्रो पश्चिमपन्थी र हरेक पन्थभित्र अतिवादपन्थी । कुन दलको कुन सिद्धान्त हो, नेपालको राजनीति त क्वाँटीजस्तो पो हुनपुग्यो । रायो कि तोरी छुट्टिदैन ।
स्वार्थको महाभारतमा देश र जनताको हित यज्ञ होममा होमिएको चरूजसरी स्वाहा भइरहेछ ।
राजनीतिक दलपतिहरूमा बुद्धि बङ्गारो पलाउँदैन, राष्ट्रिय स्वार्थलाई निजी स्वार्थसिद्धीका लागि खरिदबिक्री गरिरहे भने यिनले बोल्ने गरेको नैतिकताको शब्द पनि समाप्त भएको छ । अब कुहिएको फर्सीजस्तो फुट्ने पक्का छ । यही भयले हरेक नेता पदासीन हुन षडयन्त्रको तानाबाना बुनिरहेका छन् । नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ भन्ने सोच व्यवसायी बनेका पार्टीहरूमा उम्रनै सकेन । यही निराशपनमा प्रश्न उठेको छ– लोकतन्त्रको आवरणमा विध्वम्स मच्चाउने आतङ्ककारीको मुटुभित्र मानवीय धड्कन नहुने रहेछ । यिनमा सत्ता र शक्ति आर्जनको स्वार्थ नै मानवीयताभन्दा बढी महत्वको देखियो । जुन दुर्भाग्यपूर्ण छ ।
नेपालमा देखिएन, त्यो दुर्भाग्य हो । लडाकुले हतियार बिसाएर शान्तिका लागि पलेटी कसेर ध्यानास्थ व्यक्तिहरूको इतिहास नेपालमा दोहोरिएन । डाँका ज्ञानी बनेको देखिएको छ तर भ्रष्टाचारी र नैतिकहीनहरूले दह्रो खुट्टा टेकेर राष्ट्रको ध्वजा उठाएको उदाहरण छैन । नेपाल यस्तै तमासाको थलो बन्यो । गजडीको अखडा बन्यो ।
नेपोलियन बोनापार्टको अध्याय अहंकारको युग बन्यो, जसको कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए । उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुमा घँुडा टेक्नुप¥यो । सेन्ट हेलेनाको त्यो टापुमा बन्दी जीवन बिताउनु परेपछि उनले छोरालाई चिठी लेखे– छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई बुझ्ने र आफ्नो अवधारणा बुझाउने सकभर प्रयत्न गर्नु ।
लोकतान्त्रिक नेपाल बनाउन अघि सर्नेहरूले नेपोलियनको त्यो चिठी पढेका छैनन् । शक्तिले अन्ध बनेकाहरू यसरी कुहिराको काग बन्छन् भन्ने कसले सोचेको थिएन । यिनको दिमाग त खाली खाली रहेछ । भनिन्छ, खाली दिमाग शैतानको घर हो । लोकतान्त्रिक राज्य सञ्जालभरि शैतानहरू यत्र तत्र सर्वत्र देखिन्छन् ।
चाणक्यको नीति राजनीति गर्नेका लागि नेपोलियनको त्यो चिठी शिक्षा थियो, लूट गर्न पल्केका हाम्रा नेताहरूलाई पढ्ने र अमल गर्ने फुर्सद कहिले भएन । खु्रस्चेव अर्का उदाहरण हुन् । उनले जनताको भावनामाथि खेलबाड गर्दा नूनखानीमा लखेटिनु प¥यो । महासर्वसत्तावादी स्टालिन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुपर्यो । जनादेशबाट उठेर पनि मानवताको इतिहासमा कलंकित व्यक्तित्व बनेका हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा बनाएर जिब्रो फट्कारी–फट्कारी स्वादले खाने इदी अमीन जनताबाट डराएर बच्दै जंगलभित्र भाग्नुप¥यो । रोमनियाका शासक चाउचेस्कु जसको दरवारमा बाथरूमको कमोठसमेत सूनको थियो । त्यस्ता सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाट फ्याँकीदिए । चाउचेस्कुलाई जनताको भीडले कति टुक्रा पारे, गन्ति गर्न सकिएन । जनता आक्रोसित भएपछि आँखा देख्दैनन् भन्ने उदाहरण हुन् यी । सत्ताले मदमत्त भएकाहरूका लागि यी उदाहरणले छुँदैन ।
जनयुद्ध, जनआन्दोलनताका यी नेताहरू हिरा थिए । यिनलाई किरा बन्न १५ वर्ष पनि लागेन । जनताका लागि आफूले पालेको कुकुरले आफैलाई टोक्छ भनेको यही हो । नेपाल र नेपालीका लागि हामी आवश्यक छौं भनेर कुनै नेताले प्रमाणित गर्न सकेनन् । यसकारण त अब चुनावसँग पनि डराएर भाग्न थाले ।
१९६० को दशकमा चीनमा चम्किएका कम्युनिष्ट नेता माओत्सेतुङ्गजस्ता महान नेताको एकतन्त्रबाद पनि अन्ततः जनताका सामु घँुडा टेकेर झुक्यो । नेपाल निर्माताको शासन २०६३ सालमा झुक्न नजान्दा किनारा लाग्यो । नेपालको राजतन्त्रले प्रा. फुकुयामाको ‘इन्ड अफ दी हिस्ट्र एण्ड दी लास्ट किङ्’ पढेनन् । वर्तमान शासकहरूले पनि यस पुस्तकबाट शिक्षा लिएनन् । यसपछि देखिएको हो देशको लथालिङ्गे चाला र लोकतन्त्र मरेको दृश्य र हेरिनसक्नुको कन्तबिजोग ?
४३ प्रतिशत शिक्षित बुझेर मौन छन् । ५७ प्रतिशत साक्षर र निरक्षरहरू नबुझेर मौन छन् । दिनको ७५ रूपियाँमा गुजारा गर्ने ८० प्रतिशत नागरिक नेपालमा मौलाएको अन्तर्राष्ट्रिय राजनीति बुझ्दै बुझ्दैनन् । १९ प्रतिशत अतिगरीवहरू भुस्याह कुकुरका छाउरा जसरी जन्मन्छन् र अकालमा मर्छन् । नेपाल र नेपालीले यस्तो सराप कहिलेसम्म भोगिरहनु पर्ने हो ?
एकातिर निर्वाचनको तैयारी, अर्कोतिर ठूला दलहरूभित्र र अन्तरदलभित्र देखिएको तनाव । के हुन्छ, यसै भन्न सकिने अवस्था छैन ।
घोषित नभए पनि नेपाली राजनीतिमा सर्वसत्तावाद हावी छ । चुनाव हारिन्छ, चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोभाव जसरी विकास भइरहेको छ, एकदोस्रा ठूला नेता एक अर्कालाई खुइल्याउन र आफू ठूलो बन्ने अप्राकृतिक कसरत जारी छ । यही अवस्थाको निरन्तरता बढ्ने हो भने मंसिर ४ को निर्वाचन तुहिन पनि सक्छ । ठूला दलका किचलोका कारण संकटकालीन व्यवस्था आकर्षित नहोला भन्न सकिन्न ।
सबैलाई थाहा छ, नेताहरूले अति गरेका छन् । यो अपाच्य अतिले आगामी दिनमा सुपाच्य परिणाम ल्याउने अनुमान कसैले गरिरहेका छैनन् । मूल कुरो हिटलरी चरित्र त्याग्ने कि आत्महत्या गर्नेे भन्ने हो ।