राजन कार्की - -
परिवर्तन परिवर्तन भनेरमात्र केही नहुने रहेछ । परिवर्तन भएर पनि परिवर्तनलाई सम्हाल्ने ल्याकत भएको व्यक्ति नेतृत्वमा आउन सकेन भने पनि हात लाग्यो शूल्य हुनेरहेछ ।
ऐतिहासिक परिवर्तन भएकै हो । यो परिवर्तनलाई विदेशीको टेकोले साथ दिएकाले सम्भव भएको र यही टेकोका कारणले सफल हुन नसकेको पनि अहिले आएर स्पष्ट भइसकेको छ ।
जे भयो, भयो । देश हाम्रो हो । यो देशलाई कसरी अगाडि बढाउने, यो देशको रक्षा र सुरक्षा कसरी सम्भव छ भन्ने विषयमा नेपाली हुँ भन्ने सबैले छातीमा हात राखेर सोच्ने र निर्णय गर्नुपर्ने भएको छ । अन्यथा हामीले छानेको नेताले नै हामीलाई, हाम्रो अस्तित्वलाई मटियाभेट बनाइदिने भयो । परिवर्तनपछिका डेढ दशकमा जे देखियो, हाम्रा नेताहरू छानो बालेर खरानी पनि बेच्न सक्छन् भन्न सकिने स्थिति छ । विश्वसनीयता गुमाइसके, यस्तालाई देशको सिरोभारो जिम्मा लगाउनु जनताको भूल हुनेछ ।
हामीले छानेका नेता हाम्रा लागि होइन, पराइका लागि काम गर्छन् । प्रत्येक नेताको मुखुण्डा उत्रिसक्यो । सडकमा कार्यकर्ता उफार्छन्, उल्लु सिधा भएपछि कार्यकर्तालाई घर जाउ भनेर पछार्छन् । राष्ट्रिय मुद्दामा सतिसाल भएर कुनै नेता उभिन सक्दैनन् । हरेक नेता छेपाराले रङ फेरेझैं फेर्न बेरै मान्दैनन् । आज जे बोल्छन्, भोलि बोली फेर्छन् ।
नेपालको लोकतान्त्रिक गणतन्त्र विधिले चल्दैन, नेताको सनकमा चल्छ । नेताले खोजेको पाए भने लोकतन्त्र जिन्दावाद हुन्छ, नपाए मूर्दावाद । लाज पनि लज्जित भइसक्यो । तैपनि नेपाली जनता यिनै नेतालाई जिताएर नेतृत्व सुम्पिन आतुर छन् ।
यसकारण नेपाल र नेपालीका लागि यक्ष प्रश्न खडा भएको छ– बाँचेर मर्ने कि मरेर बाँच्ने ?
कायर छिन छिनमा मरेर बाँच्छ । ऊ जीवन बाँचिरहेको छ कि बाँचेर मरिरहेको छ, थाहै हुँदैन । साहसी मरेर पनि बाँच्छ । साहसी अमर हुन्छ । घाती बाँचुन्जेल घृणाको पात्र हुन्छ, साहसी मरेर पनि सम्मानित हुनेगरेको छ ।
थाहा छ, सबै थाहा छ । तर न नेता चेत्छन्, न जनता । नेता कुवाको ब्याङ्जस्तो स्वार्थको कुवामा उफ्रिरहन्छ र संसद बिजय गरेको आत्मप्रशंसामा मरिरहन्छ । जनता तिनै ब्याङ्लाई साहसी देख्छन् र प्रतिनिधि बनाउँछन् । ब्यूँझेर पनि आँखा चिम्लिने हो भने जनताले धेरै ठूलो मूल्य चुकाउनुपर्ने जोखिम दिनदिनै बढेर गएको छ ।
जसले नेपाल निर्माण गरेर गए, तिनको सम्मान रहेन । तिनको सालिक ढालेर जातिको, सन्तानको सालिक ठडिन थालेको छ । जसले इतिहासको गौरव र आफू उभिएको अस्तित्वको रक्षा गर्न सक्दैन र आत्मघातमा रमाउन खोज्छ, ऊ आफू बाँचेर मरिरहेको छ । उसले आफ्नो पुस्तालाई केही पनि दिन सक्दैन । जसले पुर्षालाई केही दिदैन, ऊ कहिले पनि बाँचेर मर्न सक्दैन । यतिबेला नेपालमा जे देखिन्छ, बाँचेर मर्नेहरूको भीडतन्त्र देखिन्छ । मरेर बाँच्नुपर्छ भन्ने शिक्षा दिने विवेकशीलहरू विवेक गुमाएर मरिरहेका छन् । तिनलाई लाग्दो हो, शक्ति आर्जन गरियो, सत्ता छ, सम्पत्ति पनि कमाइयो । यथार्थमा तिनले जीवनको गुढार्थ गुमाइरहेका छन् । ती सबै जिउँदै मरिरहेका छन् ।
जीवन त जिवन्त हुनुपर्छ । जिवन्त हुन अस्तित्वमा उभिन र पहिचानमा गर्व गर्न सक्नुपर्छ । पुर्षाले दिएको अस्तित्वलाई गुमाएर कमाएको शक्ति क्षणिक हो । सिक्किमे नेताले ४८ वर्ष अघि के कमाएनन् । फिजीका नेताले जति कसले कमाए होलान् । तर सिक्किम भारतमा बिलय भयो, फिजीका जनता भारतको गुलामी गर्न अभिशप्त भए् । बाँचेर मर्न सकेनन्, पछुताइरहेछन् ।
नेपाल इतिहासको हरेक कालखण्डमा स्वतन्त्र भूमि हो । यस्तो भर्जिन भूमिका नेता विदेशी दुर्योधन, कंशहरूलाई मालिक भनेर बलात्कार गराइरहेका छन् । दलाली खाने, आमालाई नै बेचेर दलाली खानेहरू बाँचेर मर्लान् कि मरेर बाँचिरहेका छन्, आमनागरिकले निर्णय गर्ने बेला भयो । जति अबेर ग¥यो, दलालहरूको कालो छायाँ देशमा बाक्लिदै जानेछ । यो कालो रातलाई छिटो भन्दा छिटो फारेर विहानी ल्याउनुपर्छ । यो जिम्मेवारी नागरिकको काँधमा आइसकेको छ । यस्ता नेताको भर अझै गरियो भने ज्यूँदै मरिनेछ, अस्तित्व समाप्त हुनेछ ।
कति सवर गर्ने ? ढिलो हुँदैछ ।
१५ वर्ष भयो राजा जिन्दावाद भनेको, विद्रोहको आगो सल्किन सकेन । हिन्दुराष्ट्र हुनुपर्छ भनेको, हिन्दुहरू जागेनन् । ९४ प्रतिशत ॐकार र ७५ प्रतिशत राजतन्त्रवादीहरू ज्यूँदै छन् भनेर कसैले भन्छ भने त्यो मिथ्या हो । किनभने राजतन्त्रवादी र हिन्दुवादी विद्रोह गर्न डराउँछन् ।
को सँग माँगिरहेछन्, यिनलाई थाहै छैन । किन सुसुप्त छ यिनको विवेक ? जसले ढुङ्गा हानेर राजतन्त्र फाल्यो, हिन्दुराष्ट्रलाई डलर खाएर धर्मनिरपेक्ष बनायो, तिनैसँग राजतन्त्र र हिन्दुराष्ट्र चाहियो भनेर मागिरहेछन् । उनीहरूले विद्रोह गरेर खाइपाई आएको गणतान्त्रिक लोकतन्त्रको जागीर छोड्न तैयार होलान् र तिनको दानपात्र यिनले खालान् ? पञ्चदेवलको हण्डी खान पल्केकाका लागि हण्डी थाहा छ । त्यसैले त मौसम मौसममा ‘राजा आउ देश बचाउ, हिन्दुराष्ट जिन्दावाद’ भन्छन् र घर गएर आनन्दले सुत्छन् । राजातन्त्रवादी र हिन्दुवादीमा आस्था स्थापित गर्ने भोक नै छेन । जहाँ भोक हुन्छ, त्यहाँ विद्रोह हुन्छ, भोक नै नभएपछि तिनले विद्रोह गर्दैनन्, विद्रोहको गफ चुट्छन् । यो समूह राजालाई च्याँखे थापेर लाभ लिने समूह हुन् भन्दा फरक पर्दैन । राजाले अचानोमा गर्धन थापिदिनुपर्ने, च्याँखे यिनको बल्झिने । देशलाई हानी हुने । यसैलाई भनिन्छ, आए आँप गए झटारो ।
भियतनामका नेता होचि मिन्हले भनेका थिए– समाजवाद कि मृत्यु ? हाम्रो समाजमा भन्ने गरिन्छ– कि गर कि मर । यतिबेला नेपाल यही खतरनाक चौबाटोको मोडमा आइपुगेको छ । अगाडि बढ्दा भालुले खाने, पछाडि फर्कदा शेषनागले डस्ने, खुट्टा चिप्लियो भने खाडलमा जाकिने अवस्था छ देशको । सुरक्षित र स्वतन्त्र नेपाललाई परिवर्तनकारी नेताहरूले कुन भयानक स्थितिमा ल्याइदिए । अझै पनि नागरिक सावधान नहुनु र तिनको भ्रमजालमा फसेर तिनैलाई विश्वास गर्नु भनेको घुँडामा आफैले बन्चरो हान्नु हो ।
बसन्त परिवर्तन भनेर आएको लोकतन्त्र र गणतन्त्र राजनीतिको १५ वर्ष व्यवसायमा परिणत भयो । चाणक्यले भनेजस्तो राजनीति सेवा बन्न सकेन । राजनीति व्यापार बन्यो । पार्टीहरू पसल बने । नेताहरू व्यापारी । परिवर्तन हलो काटेर मुङ्ग्रो बन्यो । परिवर्तन जनताका लागि कौवालाई बेल पाक्यो हर्ष न बिस्मातजस्तो भयो । अझ लोकतन्त्र र गणतन्त्र जनताको काँधमा अनावश्यक भारी बनेको छ । यहीकारण आमनागरिक पीडित छन्, छटपटीमा छन् । हुटहुटीमा छन् । देशभक्त खोजिरहेका छन् ।
राजनीति र नेतृत्वको असफलताका कारण जनताले परिवर्तन खोजेका हुन् । तर जो सचेत जनता छन्, विवेकशील बुद्धिजीवी छन्, तिनीहरू लोभ र लाभका कारण मौन बसेका छन् । जनताको, समाजको कुरा गरिदिने कोही छैन । जो बोल्छन्, तिनीहरू दिउँसो कराउँछन् र साँझ हराउँछन् ।
राजा आइदिए हुन्थ्यो, हिन्दुत्व पुनस्र्थापित भइदिए हुन्थ्यो भन्ने कामना गर्छन्, विद्रोह गर्न सक्दैनन् ।्
लोकतान्त्रिक गणतन्त्रका नाममा केही नेताले २५ प्रतिशतले ७५ प्रतिशतको आस्थालाई मैदान बनाएर स्वच्छन्दताको, निरङ्कूशताको घोडा दौडाइरहेका छन् ।
राजा पनि देश र जनताको यो बेहाल बेथितिप्रति चिन्ता गर्छन्, सन्देश दिन्छन्, कविता लेख्छन् । मानौं, पूर्वराजा पनि असहाय छन्, रून्छन् र रोइरहन्छन् । उनमा साहस छ तर खतराको घण्टीको आवाजले उनको साहसलाई हराउँदै गएको छ । कुन दिन उनको साहसले जित्ला र अघि सर्लान्, कुनै ठेगान छैन । नेपाल र नेपाली अभिभावक विहीन भए भन्ने कुरा सबैलाई थाहा छ, पूर्वराजालाई पनि थाहा छ तर उनीभित्रको अनेकखाले विवशताले उनको उचालीसकेको पाइलालाई अघि सर्न नदिएको अनुभूत गर्न सकिन्छ ।
यसकारण, राजा निरोजस्तो बनेका छन् । जनता पनि पूर्वराजाको रूवाइ हेरेर बसिरहेका छन् । यो कन्तविजोग परिस्थितिले नेपालको संकट बढेको हो ।
यी सबै घटनाक्रमका कारण प्रश्न उठेको छ– विद्रोह कि मृत्यु ?
जनताले विद्रोह गर्दा नै पूर्वराजा देखिने हो । अगाडि आउने हो । जनताले चाहे भने राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना हुने हो । जनता ओठे विद्रोह गर्छन्, भक्ति देखाउँछन् भने पूर्वराजाले मात्र गर्न सक्ने केही होइन । जनताले बिद्रोह गरे भने शक्ति राष्ट्रको मान्यता पाउन सहज हुन्छ, परिवर्तन परिणाममुखी हुन्छ । अन्यथा नेपालको हाल श्रीलंकाको जस्तो अथवा युक्रेनको जस्तो संकट सन्निकट सन्निकट हुँदैछ । अब जनताले बिद्रोह गर्ने कि मृत्यु रोज्ने निर्णय गर्ने बेला आयो ।
बिद्रोह अर्थात अस्तित्वको रक्षा, मृत्यु अर्थात जे सुकै होस् । विदेशले राज गरे गरून्, शासित हुने न हो भन्ने पलायनवादी सोच । जुन सोच यतिबेला सत्ताधारी, सम्पत्तिवाला र शक्तिशालीले राखिरहेका देखिन्छन् । कुनै पनि नेपालीले वीरतालाई यसरी स्खलन हुन दिनेछैनन् । नागरिकमा देशभक्तिको भावना व्यापक छ, यो भावना जगाउनु र बाँचेर मर्ने अठोट ब्यूँझाउनु परेको छ । के जनताले विद्रोहको बिगुल बजाउलान् ?