Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नारी सुन्दर फूल हुन् तर...

०३ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

देवी काफ्ले - - - 
स्त्री सृष्टिको सबैभन्दा राम्रो र सुगन्धित फूल सृजना हुन् । उनी आफैमा यति  छिन्  उनको महिमा अनन्त छ ।भनिन्छ स्त्रीको सुन्दरता उसको चरीत्रसंग जोडिएको हुन्छ । बाहिरी सुन्दरता त एकदिन ढलेर जान्छ तर भित्री सुन्दरता कहिल्यै मर्दैन । स्त्रीको अन्तरआत्मामा दया, प्रेम, क्षमा, करूणाको अथाह सागर हुन्छ । त्यसैले पनि उनी सुन्दर छिन् । यति सुन्दर हुंदाहुंदै पनि आफ्नो सुन्दरता नियाल्न भ्याएका हुदैनन् स्त्रीहरू । बुझ्ने बुझकारहरू त हरेक स्त्रीलाई सुन्दर देख्छन् तर स्वयं स्त्रीहरू नै यो भ्रममा हुन्छन् कि आफ्नै भित्री रूपलाई नियाल्नै सक्दैनन् । उनिहरू बाहिरी सुन्दरताको खोजीमा भौंतारिएका हुन्छन् भने केही स्त्रीहरू आफ्नो सुन्दरताको घमण्डले चिरा परेका हुन्छन् । उनिहरू हरकोहिसँग सहज वार्ता गर्न चाहान्नन् ।
हरेक स्त्रीले सुन्दरता के हो?आफैसंग प्रश्न गर्नुपर्छ र उत्तर पनि आफै खोज्नुपर्छ । यदि सहि जवाफ भेटियो भने उनले आफ्नो सुन्दरताको महत्व बुझ्नेछिन् र बजारिया वस्तु होस् या अर्काको झुठो तारिफबाट बच्नेछिन् । स्त्रीले आफ्नो सुन्दरता बाहिरी सतहमा भन्दा आन्तरिक सतहमा खोज्नुपर्छ । बाहिरी सुन्दरता त हरेक महिलामा हुन्छ । यो नर्मल कुरा हो । जोसँग साजसज्जा गर्न, नयाँ नयाँ लुगा लाउन पुग्ने पैसा हुन्छ उनिहरू सुन्दर देखिन्छन् । जसले यी सुबिधा प्राप्त गरेका छैनन् के ती कुरूप हुन्छन् त ? हुदैनन् । बजारी सामानले मात्रै सुन्दर हुदैनन् ।
आजकल आम नेपाली नारीहरू बाहिरी सुन्दरता खोज्न ब्यस्त भेटिन्छन् । सुन्दरताको बजारमा आयातित संस्कृति,देखावटी चमकधमकले राम्रै प्रभाव पारेको छ । अहिले थामी नसक्नु भएको एउटा आर्थिक बजार सुन्दरता खोज्ने नारीहरूको हातमा ढलपलाईरहेको देखिन्छ । महिना अनुसारका ड्रेस, भगवान अनुसारका गहना, चाडवाड अनुसारको घरायसी चहलपहल, चलनचल्तीका संस्कार आदी अनुसारको खर्च त्यही गएर बाटो बदली रहेको छ जहाँ नारी छन् ।
प्रेमको पर्याय नारी, सन्तुष्टिको पर्याय नारी, सहनशिलाको पर्याय नारी, विवेकको पर्याय नारी, परिपक्वताको पर्याय नारी, बुद्धि, परिश्रम, मेहनतकी पर्याय नारी, दयामाया, करूणाका पर्याय नारी हुन् । यिनै गुण नारीका सबैभन्दा सुन्दर आभूषण हुन् । स्वयं सृष्टिकर्ता नारी हुन्  । उनले सृष्टि गरेका सन्तान दिव्य सुन्दर छन् तर पनि नारी आफ्नो सतही सुन्दता खोज्न किन भौंतारिन्छन् ?
आज पनि धेरै महिला सोच्ने गर्छन् कि उनिहरू पुरूषभन्दा कमजोर छन् । तर म यो बातसँग सहमत हुन सक्दिन । एउटी निरक्षर आमाले छोराछोरी सफल डाक्टर, ईन्जिनियर, राजनितिज्ञ, प्रशासक बनाउन सक्छिन् भने उनी कमजोर कहाँनेर हुन्छिन् ? नारीको वास्तविक सुन्दरता हो यो । अनपढ आमाले दिने नैतिकशिक्षा विश्वका कुनैपनि जान्ने प्रोफेसरले दिन सक्दैनन् म ठोकुवा लायर भन्न सक्छु । उनको अर्को सुन्दरता हो यो । एउटा पुरूषका लागि आमा बनेर ममताको धारा बहाउंछिन्, एउटी पत्नीको रूपमा असलसाथी र बलियो सहारा बनेकी हुन्छिन्, दिदीबहिनी र छोरीको रूपमा आँट र साहस बोक्ने सारथी बनेकी हुन्छिन् । नारी कसरी कमजोर ? नारीको बिलक्षण सुन्दरता हो यो । प्रकृतिले भनु या सृष्टिले दिएको यति सुन्दर सुन्दरता छ, अनि तिमी कुन सुन्दरताको खोजीमा भौंतारिन्छौ ? आफैमा अन्तरनिहित सुन्दरता खोज संसारकी सुन्दरी आफैमा पाउने छौ ।