Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हाइटीका जस्ता ‘बेबी डक’हरू देश रोजेर पाइन्न

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

राजन कार्की - - - 
परिवर्तनको १५ वर्षमा प्रचण्ड पछारिए, विप्लवहरू हराएर गए, बैद्यहरू घाटे बैद्य बनेका छन् । बाबुरामहरू गोरखा कि गोरखपुरका छुट्याउनै नसकिने भए । गिरिजा बिते, शेरबहादुर जनवादी लौरो टेकेर प्रजातान्त्रिक सिंहदरवारको आँगनमा द्यौसी खेलिरहेका छन् । बहुदलीय जनवाद धनवादी भएको छ । चित्रबहादुर अमूर्त चित्र बने, मधेशवादी क्षेत्रीयतामै रमाइरहेका छन् ।
जो राजनीतिमा छन्, तिनले शासन प्रशासनलाई दुभालिएरको दुन्दुभी बनाएर बजाइरहेका छन् । 
बुलेट क्रान्ति भ्रष्टाचार डकारेरब्यालेट क्रान्तिमा आइपुगेको छ । तर बुलेटको धङ्धङ्गे स्वर सुनिन छाडेको छैन । धन र बाहुबलीको हकार पनि बेला बेलामा सुनिन्छ । मतदाता निर्णय दिने तैयारीमा छन् । भ्रष्टाचारीलाई बिदा गरेर स्वतन्त्र र सक्षमलाई स्वागत गर्न नागरिक साहस देखिएला ? परीक्षा मंसिर ४ गते छ । सबैलाई स्पष्ट भइसक्यो, जनयुद्ध जनआन्दोलन सपना थियो, १५ वर्ष भयो ब्यूँझेको, ब्यूँझदा देखियो नेतातन्त्र । नेताको निरङ्कूशता । समाजवाद, जनवाद, समानता भनेको त भ्रममात्र रहेछ । राजनीति व्यवसायी बन्यो र बढी भन्दा बढी मुनाफेदार माफिया काँचुली फेराइरहेका छन् ।
प्रष्ट देखिन्छ, चुनावका माध्यम अपनाएका अनैतिकहरू हाइटीको ‘बेबी डक’को अवतार बनिसकेका छन् ।
नेशनल युनिटी पार्टी, हाइटीको ‘बेबी डक’ जीन क्लाउड दुभालियर जसले १९७१ देखि १९८६ सम्म १५ वर्ष हाइटी र जनतालाई लुट्नुसम्म लुटे । जनताको बिद्रोहबाट तर्सेर उनी देश छाडेर भागे । फ्रान्समा समेत उनीमाथि मानवाधिकार उल्लंघन गरेको आरोप लागेपछि उनी हाइटी आउन बाध्य भए । हाइटीका अधिकारीहरूले उनीमाथि मुद्दा चलाए । उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो, जेल चलान गरियो । अन्ततः उनी सन २०१४ मा जेलमै मरे । आज पनि हाइटी र विश्वजगतमा दुभालिएरलाई साह्रै बदनाम नेताका रूपमा घृणा गरिन्छ ।
२०६३ सालको जनआन्दोलनबाट नेपालमा परिवर्तन भयो । यो परिवर्तन जनमतको अवमान्ना गर्दै अदालतको परमादेशबाट बनेको गठबन्धन सरकारका रूपमा देखा परेको छ । समाजवादी र जनवादी मिलेर आश्चर्यजनक रूपमा यो सरकार चलिरहेको छ । नेपालको लोकतन्त्रमा जो नेतृत्वदायी भूमिका निभाइरहेका छन्, कुनै नेता सम्मानित छैनन्, सबै बदनाम भएका छन् । कुनै एउटा नेताको अभिव्यक्ति तिनका कार्यकर्ताले मात्र सुन्छन् । यसकारण देश अभिभावकविहीन अवस्थामा पुगेको छ ।
देश हो । देश खोजेर पाइन्न, देश रोजेर पाइन्न । देश भाग्यले पाइन्छ । नपत्याए शरणार्थीलाई सोध । युएनएचसीआरको रेकर्ड भन्छ– भुटानी, रोहिंग्याजस्ता जबरजस्ती बिस्थापितको संख्या ८९.३ मिलियन छ भने शरणार्थीको संख्या २७।१ मिलियन छ । यसमा रूस र युक्रेनको युद्ध र सन २०२१ मध्यपछिका शरणार्थीको संख्या समावेश छैन ।
आफ्नो भन्ने माटोमा उभिनुको गौरव नै अर्कै हुन्छ । त्यो गौरवबारे प्यालेस्टाइन पढ, आफ्नो देशको महत्व कति हुन्छ । १५ नोभेम्बर १९८८ मा अल्जियर्समा पीएलओका तत्कालीन अध्यक्ष यासेर अराफातले प्यालेस्टाइन राज्यको स्थापनाको घोषणा गरेका थिए । १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको एकवर्षपछि पश्चिमी किनार र गाजापट्टी समावेश गरेर शासन गर्न गठन गरिएको थियो । पालेस्टाइन आज पनि इजरायलबाट प्रताडित भइरहन्छ । प्यालेस्टाइन, एक डि–जुर सार्वभौम देश, इजरायलसँग सार्वभौमसत्ता विवादमा छ । १९४७ मा राष्ट्रसंघमा मतदान भयो, १९४८मा युद्ध छेडियो र प्यालेस्टाइन स्वतन्त्रता घोषणा गरियो । तर आज पनि आफ्नो देशका लागि इजरायल र प्यालेस्टाइन युद्ध–तनावमा छन् । २०११ मा राष्ट्रसंघको सदस्यताका लागि निवदेशन दिएको प्यालेस्टाइनले भर्खर पर्यवेक्षकसम्मको मान्यता पाएको छ । विश्वशक्ति अमेरिका, इजरायल, युरोपेली देश स्वायत्त भूराजनीतिक संस्थामात्र मान्छन् । प्यालेस्टाइन विश्व समाजमा छुट्टै निकाय हो, जसको पीडा धेरै गह्रुङ्गो छ ।
नेपाल सभ्यताको विकास भएदेखि स्वतन्त्र देश । अमेरिकाभन्दा ८ वर्षले जेठो मुलुक । यो मुलुकमा लोकतन्त्र छ, लोकतन्त्र नै देश सिध्याउने पद्धति हुनपुगेको छ । कारण, लोकतन्त्रका जो जो नेतृत्वमा छन्,तिनीहरूलाई देशप्रति गर्व छैन । नेपाल निर्मातालाई अपमान गर्छन् । माटोप्रति गर्व गर्दैनन् । राष्ट्रको माटोलाई धुलो सम्झन्छन्, राष्ट्रिय झण्डालाई एक धरो थात्रो कपडा सम्झन्छन् । २ सय वर्ष अंग्रेजको गुलाम बनेर १९४७ मा स्वतन्त्र भएको भारतलाई थाहा छ, स्वाधीनता र सार्वभौमिकताको महत्व । त्यही भारत नेपाललाई आफ्नो सुरक्षा छातामुनी राख्न चाहन्छ । विश्वशक्ति मुलुक नेपाललाई भूराजनीतिमा सामेल गराउन अग्रसर छन् । नेपालको अस्तित्वमा धावा बोल्नेहरूको लोलीमा बोली मिसाउन अग्रसर भएको वर्तमान नेपालको नेतृत्व शरणार्थीको, सिक्किमी, भुटानी, फिजीको हालतमा पु¥याउने साझेदार बन्न थालेका छन् ।
वीर बिराङ्गानाले निर्माण गरेको नेपाल राष्ट्र केही पार्टी र नेताको सत्ता र शक्ति स्वार्थको बली चढ्न थालेको छ ।
गणतन्त्रमा गण देखिन्न, लोकतन्त्रमा लोकहित हुँदैन । संविधान छ, शासन बिधिमा चल्दैन । राजनीति व्यवसाय बनेको छ । न्यायालयदेखि सम्पूर्ण राज्य सञ्जालमा राजनीति मात्र हुन्छ । बाघको अनुहार पर्दैमा बन बिरालो कहिल्यै बाघ हुँदैन भनेको यही हो ।
हाम्रा नेताहरू बाघ होइनन् । जसरी पनि चुनाव जित्ने, शासन गर्ने, शक्तिशाली बन्ने, हैकम चलाउने चरित्रमा रत्तिएका छन् । जनादेश होइन, षडयन्त्र यिनको शक्ति बनेको छ । राजनीतिलाई जनताको गाँस बास कपास लुट्ने र लुटेको धनले जे पनि किन्न पाइन्छ भन्ने हाटबजार बनाएका छन् ।
देशको भूमिकाका लागि, सार्वभौमिक अधिकारका लागि दिल्ली सम्झौताको विरूद्ध ००७ सालमा डा. के. आई. सिंहले बिद्रोह गरेका हुन् । मातृकाप्रसाद कोइरालाका अनुसार नेपालको अनुमति नै नलिई दुईपल्ट भारतीय सेना नेपालमा पस्यो । भीमदत्तको हत्या भारतीय सेनाले गरेको हो । तिनै मातृकाले केही गर्न सकेनन् । भीमदत्तलाई मारेपछि भारतले कसैलाई नेपाली राष्ट्रवादको प्रतीक भएर उठ्नै दिएन । भीमदत्तपछि महेन्द्रले राष्ट्रवादी युद्ध लडे, बिगत ५१ वर्षमा महेन्द्रजस्तो अर्को नेता जन्मिन सकेन । नेपाली राजनीति भनेको विदेशीले उभ्याइदिएको बुख्याँचा मात्र बन्यो ।
नालापानीको युध्द लड्दा युध्द मैदानबाट गुञ्जिएको थियो ः ‘यो नेपाली शिर उचाली...’ भन्ने युद्धगीत । यो गीत लोकतन्त्रले प्रतिगामी सूचीमा राखेको छ, रेडियोमा बज्दैन । भारतको दास बनिसकेको नेपाली राजनीतिको मूलनीति भनेको गोर्खा भर्तिकेन्द्र, अग्निपथ सैनिक भर्ति, डाक्टर–नर्स–केयर गिभरदेखि मजदूर भर्ति हुने, युवा युवती बेच्ने र भारतलगायतका शक्तिराष्ट्रको पाउमा लम्पसार पर्ने, सत्ताधारी बन्ने, शक्तिशाली हुने मात्र हो । केही वर्षदेखि उत्तर र पश्चिमाले पनि नेता नचाउन थालेका छन् । यही हो हाम्रा नेताहरूको राष्ट्रियता । सवल नेपाल नीति र विश्वसनीयतामा कमजोर बन्दै गएको छ ।
राजनीतिक मैदानमा नेपाल मेरो देश हो, मेरो देशको सीमा यति हो भन्न सक्ने कुनै नेता नै छैनन् । सेवा, त्याग, तपस्या, बलिदान यिनलाई थाहै छैन । यिनका लागि देशभन्दा माथि यिनको सत्तास्वार्थ छ ।
२०६३–६५ सालतिर क्यावात् प्रचण्ड, देश र जनताको ठूलो नेता भनेर प्रशंसा गरिन्थ्यो । उनले पनि नेपालको झण्डा उठाउन सकेनन् । जनताको विश्वासको सम्मान गर्न सकेनन् । कुनै पनि पार्टीभित्र नेपालवाद बलियो देखिन्न । जो नेपालवादी छ, उसलाई मदन भण्डारी अथवा राजा वीरेन्द्रको नियतिमा पु¥याईन्छ भनेर पटक–पटक प्रचण्डले आफै अभिव्यक्ति दिएका छन् । 
राष्ट्रका लागि स्वाभिमानमा उभिन सक्ने र विदेशीले किन्न नसक्ने चारजना नेता पाउन गाह्रो भयो । नेता स्वाभिमानी नभएपछि राष्ट्र पराधीन हुनेरहेछ । बिस्तारवाद र साम्राज्यवाद सबैभन्दा बढी बिरोध हुने र तिनकै दास बन्ने देश विश्वमै नेपाल होला । तिनै शक्तिको पोखरीमा बिहानीको मुख धुने र रातिको मुख चुठ्ने नेता भएको देश पनि नेपाल पहिलो हो ।
बुद्धिजीवी, नागरिक समाजसमेत विवेक मारेर उही ड्याङ्का मूला बनेका छन् ।
नेतृत्वभित्र, सचेत समाजभित्र स्वाभिमान मरेपछि राष्ट्रको स्वाधीनता यसैगरी क्रमसः मर्दै जाने रहेछ ।
अव प्रष्ट भयो– जनक्रान्ति, जनआन्दोलनपछि भएका सबै परिवर्तनहरू विदेशीकै उचाल्ने र पछार्ने रणनीति अन्तर्गतका परिघटना रहेछन् । भुँडीबादी खन्चुवाहरू खानकै लागि राजनीति गरिरहेका रहेछन् । प्रष्ट कुरो के हो भने न समाजवादी, जनवादी, कम्युनिष्टवादी हुँ भन्ने कसैले नेपाली माटो हातमा लिएर निर्णय गर्ने आत्मबल देखाउने हिम्मत नै गरेनन् । जति नेता छन्, सबै भिजेको परालखुट्टे लाग्छन् ।
लोकतन्त्र आएको १५ वर्षपछि नेपालमा जे देखिन्छ, विदेशमात्र देखिन्छ । नेपाली पन, पहिचान नेपालमै हराउँदै गएको छ ।
नेतृत्वले लोकतन्त्रलाई एडीस जातको लामखुट्टे बनाए । यो लामखुट्टेले टोकेपछि टाउको सानो भएको बच्चा जन्मन्छ । लोकतन्त्रमा जति नेता छन्, तिनको टाउको सानो छ, गिदी पनि सानो छ । यसकारण स्वार्थको नर्क स्नानलाई लोकतन्त्र भनेर विवेकहीनहरू भ्रम फैलाइरहेका छन् । हामी नागरिकहरू यस्तै बिचारहीनहरूको शासनको बेहाल र दुर्गति भोगिरहेका छौं । भोगौं हाइटीको दुभालिएर प्रवृत्तिलाई जति भोग्नु छ, भोगौं । राजनेता हुन ढाडमा हाड चाहिन्छ, राजनीति र कूटनीतिमा दक्षता चाहिन्छ । त्यस्तो दक्ष नेता भएनन् ।

सम्पा स्वतन्त्रको डोजर अपरेशन
काठमाडौं महानगरले सूचना दियो, नियमित गर्न पनि भन्यो तर अटेर गरेपछि मेयर वालेन साह आफै डोजर लिएर टोलटोल पुग्न थालेका छन् । बालेन अभियानले बाटो मिचेर बनाइएका पर्खाल, टहरा, छाप्रो मात्र होइन, घरै ड्याङड्याङ भत्काउन थाल्यो । राजधानीमा सार्वजनिक जग्गा मिचेर सम्पत्ति बढाउनेहरूको सात्तो गएको छ । एक प्रकारले आतंक नै फैलिएको छ । राजधानीमा स्वतन्त्रको डोजर अपरेशन चल्न थालेपछि ललितपुरदेखि धनगडीका मेयरहरूले पनि अनियमितता गर्नेहरूलाई दण्डित गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षामा कम्मर कस्न थालेका छन् । यो चासोले देशैभर छुँदै गएको छ ।
सबै पालिका प्रमुखहरूले विचार गर्नुपर्छ– सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्छ । सडक, पेटी, पार्किङ व्यवस्थित हुनुपर्छ । यसका साथै साना लगानीका रोजगारी गरेर पेट पाल्ने, तरकारी बजार र सडक छेउका नाङ्ले पसल गरेर खानेहरूलाई उचित स्थानको व्यवस्था गर्न अबेर गर्नुहुन्न । यतिमात्र होइन, थोरै जग्गामा घर बनाएर प्राण धान्ने हजारौँ जनको इलम र बासको व्यवस्थामा पनि ध्यान दिनुपर्छ । तिनीहरू निसहाय छन्, तिनले कानुन मिचेका छैनन्, तिनलाई पालिकाले, सरकारले संरक्षण दिनुपर्छ । तिनीहरू तत्काल मुद्दा हालेर भोलिपल्टै आदेश ल्याउन सक्ने बर्ग होइनन् । यसरी सुधारमा अग्रसर नेतृत्वले तिनलाई राहत कसरी दिनसकिन्छ भनेर व्यापक बहस चलाएर निदान निकाल्न अबेर गर्नु अन्याय हुनजानेछ ।
देशमा ७ सय ६१ सरकार छन् । संसद छ । संवैधानिक निकायहरू छन् । तिनीहरू सबैको लक्ष्य उद्देश्य भनेको विधिको शासन हो । निमुखाको सहारा हो । राजनीतिक पार्टीहरू छन् तिनीहरू जनताको सेवा गर्नका लागि खडा भएका हुन् । नैतिकता देखाएर ती सबै निकायले न्याय अन्यायको लेखाजोखा गर्नुपर्छ । कसरी अत्याचारीमाथि दण्ड र निमुखाले राहत पाउँछन् भनेर सोच्नुपर्छ । शक्तिशालीलाई छुनै नसक्ने, निमुखामाथि अति गर्ने परम्परागत राजनीति अब बदलिनुपर्छ । जनताप्रति जवाफदेही व्यवस्थाको नाम लोकतन्त्र हो । राजनीति गर्ने र प्रशासन चलाउनेले जवाफदेहीता देखाउनैपर्छ । नैतिक पतनको जुन श्रृङ्खला सार्वजनिक सम्पत्ति मिच्ने र त्यसबाट अकूत सम्पत्ति कमाउने परम्परा बसेको छ, त्यो कडी तोडिनैपर्छ ।
धेरै पहिले डोजर अपरेशन चल्नुपथ्र्यो । पार्टी शासन चलाउनेहरूले आफ्नालाई लुट्ने अवसर दिने, घूस खाएर अनियमित अनुमति दिने, अवैध निर्माणमा आँखा चिम्लिनेजस्ता अपराध पालिकाका कर्मचारीबाट भएका छन् । त्यही अपराधका कारण पनि नियम मिच्ने, कानुन तोड्ने, सार्वजनिक जग्गा हडप्ने, नदीलाई साँघु¥याएर सम्पत्ति बढाउने, सरकारी जग्गा अपचलन गर्ने, भूमाफिया सलबलाउने काम भएका छन् । यहाँसम्म कि राजाहरूले त्रिविका नाममा, एकेडेमीका नाममा, प्रधानमन्त्री निवासका नाममा, मन्त्रिक्वार्टरका नाममा दिएका जग्गाहरू व्यक्तिका नाममा दर्ता गराएर बेचबिखन गर्ने कार्यसमेत भएका छन् । यो भनेको माफियातन्त्र हो । यही माफियातन्त्रलाई छिन्नभिन्न पार्ने प्रयासका रूपमा डोजर अपरेशनलाई बुझ्नुपर्छ र हरेक क्षेत्र जहाँ भ्रष्टाचारको पोखरी बनेको छ, दरवार खडा भएका छन्, ती सबैतिर डोजर चल्नुपर्छ । मंसिर ४ को निर्वाचन भनेको पनि डोजर अपरेशन नै हो किनकि जनताले मतदानका माध्यमबाट डोजर चलाएर जनतामाथि, देशमाथि घात गर्नेहरूलाई किनारा लगाउने अपरेशनको दिन बनाउनु पर्छ निर्वाचनको दिनलाई ।
अब हेर्नुछ जनता जागेको, जनताले दिने मतादेशलाई ।