रोशन कार्की –
भारतमा अघिल्लो वर्षको तथ्याङ्क अनुसार ७ गोर्खा रेजिमेन्टमा ३९ बटालियन सेवा दिइरहेका छन् ।
गोर्खा भर्ती गर्न दिने कि नदिने भन्ने बहस चलिरहेको छ । तर गठबन्धन सरकारले चुप्पी साधेपछि भारत नेपालका युवाहरूलाई भारतीय सैनिक सेवामा तालिम दिन अरू हौसिएको छ ।
स्मरणीय के पनि छ भने ४ वर्षअघि भारतमा बेरोजगार युवाको संख्या ५ प्रतिशत थियो, यो संख्या अहिले ६ प्रतिशत भइसकेको छ । त्यतिधेरै संख्यामा बेरोजगार भएको भारतले नेपाली युवालाई ४ वर्ष अवधिको अग्निपथमा सशस्त्र सैनिक तालिम दिने योजना किन बनायो ? यो योजना अरू लम्बिने छ छैन, भारतले केही बोलेको छैन ।
भदौ १९ गते सेनापतिको दज्र्यानी चिन्ह ग्रहण गर्न आएका भारतका सेनाप्रमुख मनोज पाण्डे राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको दज्र्यानी ग्रहण गरेर चुपचाप फर्केका छन् । नेपाली सेनाले रक्षा सम्बन्धको समीक्षा गर्दै आपसी हितमा सहयोग सम्बन्ध सुदृढ भएको जनाएको छ । अग्निपथ योजना बारे दुबै सेनाले मुख खोलेका छैनन् ।
भारतमा मोदी प्रधानमन्त्री भएदेखि नै ‘नेबरहुड फर्स्ट र एक्ट इस्ट नीतिहरू अनुसार भारतले नेपालसँगको सम्बन्धलाई उच्चतम महत्व दिन्छ’ भनिएको थियो । सम्भवतः यही सम्बन्धका आधारमा केही सैनिक सामग्री नेपाली सेनालाई उपहारमा दिइएको छ ।
नेपाली युवालाई अग्निपथ योजनामा सरिक गराउने कि नगराउने भन्ने विषय विवादमा छ, सरकारले स्पष्ट नीति बनाएको छैन । अग्निपथको अर्थ आगोले भरिएको मार्ग हो । मुस्किल मार्ग, कठिन मार्ग । अग्निपथ योजना कमिशन अधिकारीको अन्तर्गतको सैनिक भर्ती हो । यो योजनामा सहभागीलाई ‘अग्निवीर’ भनिने छ । दश कक्षा पासगरेका पनि सहभागी हुनसक्ने यो योजना विश्वमै अनौठो सैनिक तािलम हो । यो तालिम हाललाई ४ वर्षे भनिएको छ ।
यो योजनाको आकर्षण भनेको ४ वर्षपछि अग्निवीरले पाउने रकम हो । अग्निवीर बनेपछि एकमुष्ट १२ लाख पाउने छन् भने जो व्यापार विजनेसमा एन्टरप्रिनर बन्न चाहन्छन्, तिनलाई भारत सरकारले थप मद्दत दिने लोभ पनि देखाइएको छ । जो पढाइ गर्न चाहन्छन्, तिनलाई १२ कक्षाको समकक्षी प्रमाणपत्र पनि दिइने छ ।
बिर्सनै नहुने विषय के पनि छ भने भारतीय गोर्खामा सेवा दिदै आएका सैनिकको पेन्सन वितरण गर्न भारतले नेपालका विभिन्न १५ ठाउँमा पेन्सन क्याम्प राखेको छ । पेन्सन क्याम्प अर्थात भारतीय सैनिक क्याम्प । आधुनिक जमानामा पेन्सन क्याम्प किन चाहियो ? विश्वका कुनै पनि बैंकमा पैसा दियो भने क्षणभरमै सैनिकको खातामा जम्मा गर्न सकिन्छ । त्यसमाथि भारतीय दूतावासमा ठूलै सैनिक पोष्टिङ पनि छ । यसबाहेक वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावास र राजधानीको दूतावासले कूटनीति कम, राजनीति बढी गरिरहेको सबैलाई थाहा छ । नेपालको सरकारलाई बशमा पारेर जलविद्युतका ठूला आयोजनाहरू भारतले होल्ड गरेर राखेको छ । नेपाल भारतको कमशल सामान बेच्ने हाटबजार बनेको कसैबाट छिपेको छैन । यसमाथि खुला सिमानाका कारण भारतले नेपालका भूभाग अतिक्रमण गरिरहेको छ । ३ वर्षदेखि भारतले कालापानीमात्र होइन, लिपुलेक र लिम्पियाधुरासमेत आफ्नो नक्सामा मिलाइसकेको छ । नेपालले चुच्चे नक्सा त जारी गर्यो, भूभाग भारतको हैकममा रहेका छ । नेपालका नेताहरू आफ्नो भूभाग कति हो सम्म भन्न सक्दैनन् ।
आधुनिक युगमा कुनै मुलुकलाई हडप्नु छ भने जनसंख्याको आधारमा हडप्ने नयाँ रणनीति आएको छ । नेपालमा नागरिकता अध्यादेश भारतीय मतदाता बढाउने योजनाअन्तर्गत ल्याइएको हो ।
युवालाई विदेश निर्यात गर्ने, अब भारतको अग्निवीर बनाएर नेपालमाथि फिजीमाजस्तै कब्जा जमाउने षडयन्त्र त होइन ? यसैले पनि नेपालको राष्ट्रिय हितका बारे बहस हुन जरूरी छ ।