शाश्वत शर्मा - -
उखानै छ, कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि सोझिदैन । २०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगल हिंडेका राजा जनताप्रति, देशप्रति जवाफदेहीपूर्ण राजनीति गर्लान् भनेर तिनै दलीय नेताहरूलाई प्रतिक्षा गरेर बसेको देखिन्छ ।
बिगत १५ वर्षमा एउटा पनि राष्ट्रिय काम गर्न नसकेका र स्वाभिमानलाई मैनबत्ती पगालेजसरी पगाल्दै गएको राजनीतिक नेतृत्व अहिले पनि स्वार्थको दुन्दुभी बजाएर ‘निरो’ बनिरहेका छन् । देश खरानी हुन लागिसक्यो, जो स्वार्थ र भ्रष्टाचारमा रमाइरहेको छ, त्यस्ताले जिम्मेवारीपूर्ण राजनीति गर्छन् भनेर कुर्नु आत्मघात हुनेछ, पुर्खाको भारबाट पन्छिएको अर्थमा हेर्नुृपने हुन्छ ।
यसकारण २०६३ साल वैशाख ११ गते राजनीतिक दलहरूसँग भएको सहमतिमा आउने छन् भनेर कुर्नु अथवा त्यो सहमति कार्यान्वयन हुनुपर्छ भन्नु सोम शर्माको सपनामात्र हो । पूर्वराजाले ‘माँग्ने’ होइन अथवा ‘पुराना वाचा बन्धन’हरू सम्झाएर ‘रूवावासी’ गर्ने होइन, आफ्नो पनि ‘अधिकार’ भएको देखाएर ‘हक’ लिनका लागि ‘मैदान’ मा उत्रनु पर्छ । आजभोलि पूर्वराजाका अधिकांश समर्थकहरू यसो भन्न थालेका छन् । हुन पनि, राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतलाई ‘भीड’ देखाउनु पर्ने... अनि मात्र विश्वास हुने हो भने अव पनि किन चुपचाप बसिरहने ? बुझियो, जानियो कि ‘किस्ती’मा ‘सजाएर’ यहाँ कसैले केही पनि पाउमा ‘टक्य्राउन’ आउँदैन भन्ने कुरा । फेरि यो पखाई केका लागि ? भीड नै देखाउनु पर्ने हो भने पूर्व राजाले बसन्तपुर, बगलामुखी र भक्तपुरको नवदुर्गाको दर्शन गर्न निस्किए हुन्छ, यो भ्रष्टाचारमा लिप्त जनविश्वास गुमाएको ५ दलीय सरकारले सुरक्षा दिनसमेत सक्ने छैन ।
अघि (०६२–६३) मा ‘भीड‘ (त्यो पनि किनिएको) देखाएरै राजतन्त्रलाई अवैधानिक रूपमा समाप्त पारिएको थियो भने अव त राजतन्त्रका ‘समर्थक’हरू स्वतःस्फूर्त भावले, बिना कुनै लोभलालच राजतन्त्रका लागि ‘मैदानमा उत्रन तैयार छन् भने फेरि किन पहिलेको सहमति, सम्झौता सम्झना गराएर यो अरण्यरोदन निकालिरहनु प¥यो ? अव किन सार्वजनिक रूपमा ‘आह्वान नगर्ने ? हेरौं न, ‘कसमा कत्तिको दम’ छ भनेर ? एकथरि राजतन्त्रवादीको विचारमा अव धेरै अबेर गर्नुहुन्न । किनभने नयाँ पुस्ताको मानसपटलबाट शाहवंशीय राजतन्त्रले नेपाल र नेपालीहरूका लागि गरेको बलिदान, दिएको योगदानहरू पुरै ‘हट्नु’ भन्दा अगावै पूर्वराजाले धरातलीय यथार्थका साथ ‘एक्शन’मा आउनु जरूरी छ । राजतन्त्र एकादेशको कथा बन्नुभन्दा अगावै यी असफल दल अनि ती असक्षम नेताहरूले गरेका राष्ट्रघात, भ्रष्टाचारको कच्चाचिठ्ठा त खोल्नु पर्छ, पर्छ । त्योभन्दा पनि रसातलमा पुगिसकेको मुलुक, जसलाई पूर्वराजाका पुर्खाले आर्जेका थिए, लाई बचाउन पनि अव देखिने गरी फूल मोसनका साथ पूर्वराजा ‘एक्शन’मा उत्रनु पर्छ । यही हो मुलुकको आवश्यकता ।
आज हरेक विश्लेषणहरू, खबरहरू अनि विवेचनाहरूमा राजतन्त्रवादीहरू कमजोर रहेकाले अन्तर्राष्ट्रिय जगत खासगरी दक्षिण र उत्तरका छिमेकीहरू पनि ‘गणतन्त्र’ लाई नै संस्थागत गर्नतिर लागेको भन्ने (हावादारी) विश्लेषण पढ्न सकिन्छ । अव बताइदिउँ कि यहाँ राजतन्त्र र यसका समर्थकहरू कमजोर छैनन् भन्ने कुरा । वास्तवमा हो पनि । अँध्यारो कोठामा (?) बसेर गरेका सहमतिको कुनै मूल्य हुन्छ र? फेरि पनि भनौं, यी नेताहरू, ज–जसले राजतन्त्र राख्नेबारे (२०६४–६५ तिर) सहमति गरेका थिए, तिनले त्यो स्वीकार्छन् भन्ने विश्वास अव पनि लिइरहने ? यी त आमसभाहरूमा गरिएको प्रतिवद्धतालाई समेत ढाँट्न सक्ने हुन् । हाम्रा नेताहरूमा इमान छैन, बेइमानीको कुनै ओखती छैन । खै कुरा बुझेको ? त, देखाईदिउ न शक्ति प्रदर्शन गरेर । अव पनि किन अलमल गरिरहने ? अधोगतिमा पुगेको मुलुक, असफलतातिर उन्मुख अर्थतन्त्र, निराश र आजित जनतालाई एउटा आशाको किरण देखाउन अघि सरौं न । वर्षको एक दुई पटक आएको ‘सन्देश’मा ‘भावना’लाई समेटेर मात्र कहाँ होला र ? जनता पनि ‘एक्शन’ को प्रतिक्षामा रहेका छन् ।
सत्य यही हो कि जनता निराश छन् । आर्थिक, सामाजिक, राजनीतिक र परम्परागत संस्कारसमेत खलल पारिदै छ । हिन्दुराष्ट्र र राजसंस्था अपरिहार्य छ । अन्यथा अस्तित्व संकट पर्दै जाने निश्चित छ । राष्ट्रवाद र स्वाभिमानको जगेर्ना गनुपर्छ भनेर कुनै दल वा नेता लागिपरेको देखिदैन । जे भइरहेको छ, सत्ताको प्रतिस्पर्धा चलिरहेको छ । एमालेलाई सिध्याउन ५ दलीय ठगन्धन आँखा चिम्लेर लागेको छ । नागरिकता विधेयकसमेत पास गरिसक्यो । १९७५ मा सिक्किम जसरी भारतमा मिलाइयो, त्यस्तै खतरा नेपालका सामु खडा गरिएको छ ।
यो अवस्थालाई कसैले सम्हाल्न र राष्ट्रियता बचाउन सक्छ भने त्यो नेपाल निर्माताका सन्तानले मात्र सक्छ । यसका लागि पूर्वराजा तैयार छन् त ?