Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अन्धकारको कारण

०९ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

देवी काफ्ले–
अहिले एउटा तस्वीर देखें बाटोमा एउटी महिलाले बच्चा जन्माइन बाजुरामा । बाजुराको वामीकार्तिक १ मुक्तिकोटको सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्यकर्मी नहुंदा स्वास्थ्यचौकीबाट घर फर्किंदै गर्दा बाटोमै उनले बच्चा जन्माइन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटना दुर्गमका पहाडी जिल्लाले लगभग दैनिक भोगेको छ । देशमा लोकतान्त्रिक गणतन्त्र आयो।समान नागरिक,समान हैसियत, समान अधिकारका नारा लियर प्रदेश तथा स्थानीय सरकारको ब्यावस्था भयो । तर महिलालाई न त प्रदेश सरकारले स्थान दियो, न त प्रदेश सरकारले । स्थानिय सरकार भ्यूटावर र स्वागत गेटको उत्थानमा लागेको प्रष्टै देखियो । प्रदेश सरकार सुबिधाका लागि अग्रसर भयो । जनउत्थानका लागि केन्द्र सरकार त सधै सूक्ष्म नै रह्यो । भुइँमान्छेका लागि लोकतन्त्र के, राणा शासन के ?
स्वास्थ्यकर्मिहरू सधै केन्द्रमुखि बने । त्यसैले त आज पनि दुर्गमका यी गाउँमा रहेका स्वास्थ्य इकाईहरू कर्मचारी शून्य हुने गरेका छन् ।
युरोप अमेरीकामा जनताका लागि स्वास्थ्य शिक्षा निशुल्क छ । दुर्गम या ठुला अस्पताल नभएका ठाउँबाट अति बिरामीलाई सरकारले नै हेलीकप्टरबाट अस्पताल पुर्याउंछ । न्युजिल्यान्डमा गर्भवती महिला नियमित जांचका लागि अस्पताल धाउनु पर्दैन । स्वास्थ्यकर्मी नियमित घरघरमा गएर स्वास्थ्य सेवा दिन्छन् । त्यस्ता सेवा  लिन अझै कति समय कुर्नुपर्ने हो यहाँ ?
कहाँ छन्, राज्यको ढुकुटीबाट डाक्टर भएकाहरू ? जनताको करबाट पढेपछि तिनले सामान्य धर्मनिर्वाहका लागि दूरदराज गाउँमा केही समय सेवा दिनुपर्दैन ? जो प्रारम्भ नै अनैतिक हुन्छ, उसले देशका लागि के योगदान देला ?
पहिले पहिले डिग्री लिनका लागि गाउँ गाउँमा ६ महिना सेवा गर्नैपर्ने प्रावधान थियो । अहिले नेताको पावर लगाएपछि राष्ट्रिय ढुकुटीबाट पढ्न पाइन्छ, विदेशमा गएर धनदौलत कमाउन पाइन्छ । करदातालाई कसले सेवा दिन्छ र ?
प्रदेश सरकारले यदि जनउत्थानमा ध्यान पुर्याएको भए आज एउटी गर्भवती महिलाले स्वास्थ्य सेवा नपाएर बाटोमै बच्चा जन्माउनु पर्ने थियन।कर्णालीका लगभग सबै जिल्ला र सेती अन्चलका पहाडी जिल्लाहरूमा महिला स्वास्थ्य सम्बन्धि ज्ञान निकै कमजोर अवस्थामा छ।महिलाहरू दैनिक कामले थिलिएका छन् । दैनिक गुजारा चलाउन निकै कडा मेहनत गर्नुपर्छ । अधिकांश पुरूषहरू रोजगारीको शिलशिलामा भारत जान्छन् । घरको जिम्मेवारी, छोराछोरीको लालनपालन, बस्तुभाउको हेरचाह, खेतीपाती सबैतिरको जिम्मेवारी त बोकेका हुन्छन् नै त्यसमाथि हाम्रो कुप्रथाले  झन् थिचेको छ । पेटभरी खान अन्न नभएका वर्गले पोषिलो खानेकुरा त सम्झने पानी छम्कने नै हो । यस्तो अवस्थामा ती महिलाहरू गर्भवती हुंदा शिशु स्वस्थ जन्मेला त ? न त शरिरलाई चाहिने पोषक तत्व छ न त आराम नै छ । मुख्य कुरा त उनिहरू स्वास्थ्य सेवाबाट नै बन्चित छन् । जनचेतनाको स्तर उस्तै छ । किशोरी,महिलाहरू रजस्वला हुदा छाउमा बस्नुपर्ने । सुत्केरी हुँदा छाउमा बस्नुपर्ने । यो प्रथाले कैयौं चेलीको ज्यान अनाहकमा गईसकेको छ । गर्भवती महिलाले पोषिलो खाना खानुपर्छ र जन्मान्तर कति समयको राख्नुपर्छ भन्ने समेत ज्ञान छैन । यसमा उनिहरूको के दोष ? आमासमूहलाई चेतना दिन नसक्ने हामी, राज्य र बुद्धिजीवीको दोष छ । नेपाल देश भौगोलिक हिसाबले त्यति ठूलो छैन । जहाँ सरकार पुग्न नसकोस् । अझ प्रदेश बिभाजन भएपछि त सिमाना झन् सांघुरिएको छ । यति सानो एरियामा पनि जनताका दुखपिडाहरूमा सहभागी भयर त्यसबाट उनिहरूलाई पार लाउन सकिन्न भने यी फोकटका सेता हात्ती जनप्रतिनिधि जनताले किन पाल्ने ? जनउत्थानका लागि निर्वाचित हुन् कि सातपुस्ते उत्थानवादी हुन् यी जनप्रतिनिधि ?
देश समृद्ध बन्न सबल, सक्षम, स्वास्थ्य नागरिक चाहिन्छ । एउटा स्वास्थ्य चौकीबाट पाउन पर्ने सुबिधा नपाएर बाटो घाटोमा बच्चा खसाल्नुपर्ने देशमा कुन नागरिक सबल जन्मेला ? नारा भने बालबालिका देशका कर्णधार हुन् रे ।
सबल नागरिक जन्माउन आमा स्वस्थ, निरोगी, हृष्टपुष्ट हुनुपर्छ तर हामी नेपाली आमाहरू त छोराछोरीलाई खुवाउन नपाएर भेरीमा हामफाल्नुपर्छ अनि कहाँबाट पाउंछ देशले सबल नागरिक?
स्थानीय,प्रदेश र केन्द्र सरकार आंखा च्यातेर हेर बाजुराली ती युवतीको दरदनाक अवस्था । अहिले नदेखे कहिले देख्छस्?सुगम गाउँ बस्ती र शहरका महिला मात्र हैन ती बिकट गाउँका महिलालाई प्राथमिकतामा राख । अहिले ती दुर्गमका जनतालाई भ्यूटावर हैन अस्पतालको खांचो छ।स्वागत गेट हैन स्कूलको आवस्यकता छ । तिम्रा तिखा र चाप्लुसे भाषण हैन यथार्थ चेतनाको आवाजको खांचो छ ।
तिम्रा जितका लड्डु हैन सिटामोलको गोली चाहिएको छ ।