देवी काफ्ले–
परम्परागत बैवाहिक चलन अहिले निकै परिमार्जित भएको छ । मेरो दिदीको आज जनैसुपारी गरेर पर्सि नै बिहे भयो । दाईको त्यसरी नै भयो । केटी माग्ने र दुवै परिवारको सहमति पछि बिबाह पक्का गर्न जनैसुपारी गर्ने चलन हुन्छ । जनैसुपारी गरेपछि बिबाहको तिथिमिति तोकिन्छ । शुभलग्न जुरायर मिति तोकिन्छ । बिवाहको अघिल्लो दिनमा शुभसाइतमा कसारको चामल वा पिठो भुटिन्छ । जोर कन्या राखेर कसार बाटिन्छ । त्यहि कसार सगुनको रूपमा जन्ती तथा आगन्तुक पाहुनाहरूलाई बांडिन्छ । बिहेको दिनमा दुलहि श्रृंगार गरेर जग्गेमा राखिन्छ । दुलाहा पक्ष पनि शुभसाइत र शुभलग्नमा उपस्थित हुन्छन् बिवाह सम्पन्न हुन्छ । यस बिचमा सालीले भिनाजुको जुत्ता लुकाउने चलन हुन्छ । उनिहरू जुत्ताको मूल्य माग्छन् ।कसैले जति माग्यो त्यति दिन्छन् कसैले बार्गेनिङ गर्छन् । माहोल रमाइलो हुन्छ । दुवै घरमा पाहुना हुन्छन् । दुलाहा अन्माएर पठाइसकेपछि दुलाहाको घरमा रत्यौली नाचिन्छ ।
आजकलको बिबाह दुईचार दिनमा टुंगिन छाडेछ । हामीले देखेजानेको बिबाह कर्म त अहिले एकादेशको कथा भैसकेछ । आयातित संस्कारले नेपालीको संस्कार पिल्सिएको छ । हल्दिमेहेन्दी भनेर हामीले जान्दै नजानेको चलनले खुब बजार पाएको छ । एक हप्ता अगाडि देखि हल्दिमेहेन्दीको रश्म चल्छ आजकल । हाम्रो चलनमा यस्तो भए जस्तो त लाग्दैनथ्यो । भारतीय संस्कृति आयात गरेर चलाईएको यो प्रचलनले हुनेखाने नेपालीलाई त रमाइलो होला, हुँदा खानेहरूका लागि पिँडालु बनेको छ । रहर त आखिर रहर नै हो । रमाइलो गर्न कसलाई मन लाग्दैन र ? एउटा बिवाहमा लाखौं खर्चेर अर्काको प्रचलन गर्यो त्यहि बिवाह छ महिनापछि टुङ्ग्याउन अदालतमा उपस्थित भएका दृष्टान्त कति छन् कति । आफ्नो संस्कृतिलाई घृणा गरेर देखावटी प्रोफाइल बनाउनेले अलिकति पनि सोच्नु पर्दैन र ?
जनैपूर्णिमालाई राखी बनाइएको छ । जनैपूर्णिमाको महत्व छुट्टै छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । तर आज यश पर्वलाई राखी (जुन भारतमा मनाइने चाड हो) बनाइएको छ । दिदीबहिनीद्वारा दाजुभाईको हातमा रक्षाकवचको रूपमा बांधिने चलनमा परिवर्तित भयो । यसले हाम्रो संस्कृतिमा प्रभाव पर्दैन र ? धेरैजसो चाडपर्व भारतसंग मिल्दाजुल्दा छन् । यसो भन्दैमा आफ्नै संस्कृतिलाई लात हान्न मिल्ला त ?
दशैंलाई दशहरा, तिहारलाई दिपावली बनाइयो । फागुलाई होली बनाइयो । हाम्रा चाडपर्व हामीलाई अति प्यारा छन् । आयातित संस्कृतिको किन आवस्यकता ?
अब साउन महिना लाग्यो । साउनमा हरिया पहेंला चुरा, सोही रंगहरूका लुगा पनि उत्तिकै प्रचलनमा आएका छन् ।हाम्रो देशमा चुराको उत्पादन हुंदैन । बर्सेनि भारतबाट करोडौंको मात्रामा चुरा आयात हुन्छ ।पैसा होस् नहोस् ती हरियापहेंला चुराहरू खरिद गर्नै पर्ने हाम्रो मानसिकताले देशको अर्थतन्त्रमा कति नोक्सान पुर्याएको छ हामीले सोच्नु पर्दैन ? साउनमा हरिया चुरा लगाएर पतिको आयु बढ्छ भन्ने मान्यता बोक्छौं । अरू बिषयमा आधुनिकता, चुराले पतिको आयु बढ्छ भन्नेमा कसरी बिश्वस्त हुन सकेका ? यस्ता कुराहरूमा बिस्वास गर्ने हो भने त नेपाल, भारत, बंगलादेश बाहेकका देशका पुरूषहरूको आयु निकै छोटो हुनुपर्ने हो ।
पतिको आयु बढाउन त उत्पादन मुलक कार्यमा लाग्नुपर्ने हो । अर्थोपार्जन गरेर घरायसी खर्चमा मद्दत मिलोस् ।दुवै कमाउने परिवार रमाउने भय पो पतिको मात्रै हैन परिवार कै आयु बढ्ने थियो । बाँझो रहेको करेसाबारीमा तरकारी फलाएर खायो भने पो आयु बढ्ने अनि आँखा पनि स्वस्थ हुन्थ्यो । हरिया चुराले आयु बढ्ने, धेरै बाँच्ने भन्ने भ्रममा परेकालाई हरियो तरकारीको महत्व कसरी सिकाउनु ?
समय परिवर्तनशिल छ । मानिस समयानुकूल चल्नुपर्छ । सत्य हो । सबै कुराको बिरोध मात्रै गर्न खोजेको होइन तर हाम्रा हरकतले बोल्न मन लाग्यो ।भारतियकै अर्को सुन्दरताको बिज्ञापनले नेपाल छाएको छ । साउनमा मेहेन्दि लगाउनुपर्ने । हाम्रा आमाहरूले रोपाइँ सकेपछि तिउरी पिसेर लगाएको अलिअलि याद छ । त्यो बा को आयु बढाउन हो या सुन्दरी हुन हो या चलन थियो या हिलोले खाएको घाउ निको बनाउन हो त्यति थाहा पाइन । यसले मेहेन्दीको रहर या चलन नेपालमा पनि रैछ भन्न त सकिन्छ तर प्रयोजन भने कन्फ्युज नै छ । भारतमै चुरा र मेहेन्दी परपुरूषको हातबाट लगाउन हुदैन भन्ने कथन छ । जानकार महिलाहरू परपुरूषको हातबाट मेहेन्दी र चुरा लगाउंदैनन् । तर त्यहि आयातित संस्कृतिमा कति बिकृति छ भन्ने कुरा अब देशका शहर तथा काठमाडौको न्युरोडमा छ्यालब्याल्ती देख्न पाईन्छ । साउनमा लगाउनका लागि मेहन्दी पनि भारतबाट करोडौंको मात्रामा भित्रिन्छ । चाडबाड, बिवाह परम्परा, रितीरिवाज मानौं । आफ्नो संस्कृतिलाई भन्दा आयातित संस्कृतिलाई महत्व नदिउँ । हैसियत हेरेर मात्रै खर्च गरौं । महिलाले पनि देशको अर्थतन्त्र जोगाउन सकिन्छ, सहयोग गरौं ।