शाश्वत शर्मा - -
पूर्व न्यायाधीशले फोरम खोलेका छन् । अहिले अध्यक्ष छन् टोपबहादुर सिंह । उनले हालै एक अनलाइनलाई बताए– ‘हामीलाई न्यायाधीश भन्नै लाज लागिसक्यो । ’ सिंहको इसारा हालै जिल्ला न्यायाधीश जो भर्खर निलम्बितमा परेका छन् राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको टेलिफोन सम्वाद, जसमा एक अपराधीलाई छुटाउन पैसाको लेनदेनको कुरा भएको थियो । त्यो अन्तर्वार्ता पढ्ने एक सज्जनले भने– श्रीमानज्यूहरुले लाज मान्नै पर्दैन । सिंहदरवारमा रहेकादेखि गाउँपालिकामा रहेका अनि वडामा रहेकाहरुलाई त सधैं लाज लाग्नुपर्ने हो, तिनीहरु दशी प्रमाणसहित कति पटक घूसखोरी र भ्रष्टाचारमा फेला परे परे, कसैमाथि कारवाही भएन, कसैलाई लाज लागेन । यसकारण श्रीमानज्यूहरुलाई मान किन लाज लाग्नु ? हुन पनि सरकारी जग्गा नै बेच्नेदेखि कर्मचारी सरुवामा समेत घूस चल्छ यहाँ, कसलाई लाज लागेको छ र ? झन जनताबाटै पटक पटक अनुमोदित भएर तिनीहरु ७ सय ६१ सरकारमा कब्जा गरेर बसैकै छन्, कहाँ छ लाज ?
जब राजनीति यसरी लाजनीति बनिसक्यो, तिनको झन बढुवा हुनेगरेको छ । यी न्यायाधीशलाई पनि जिल्लाबाट एकैचोटी सर्वोच्चको स्थायी न्यायाधीशमा बढुवा गरिदिए हुन्छ । किनकि घूस खानु नेपालको शासनको ठूलो योग्यता हो । नेपालमा पन्पिएको पद्धति नै खानु र खुवाउनु हो । सेटिङ् मिलाउनु हो । ज्यानमारा, डकैती, तस्कर, भ्रष्टाचारी, बलात्कारीहरु मन्त्री, प्रधानमन्त्री हुन्छन्, संवैधानिक पदमा पुग्छन्, सचिव, मुख्य सचिव हुन्छन्, ती न्यायाधीशलाई मात्र निलम्बित गरेर के हुन्छ ? ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, एनसेलले राजस्व मारेको प्रकरण, यति समूह प्रकरण, ओम्नी र चुडामणी शर्मा प्रकरण, गोकुल बास्कोटा प्रकरणमा कसलाई लाज भयो, को माथि कारवाही भयो र ? भ्रष्टाचार र काण्डहरुको सूची लामै छ । अझ मन्त्रिमण्डलको निर्णय विदेशी दूतावास पु¥याउने, सुब्बालाई बजेट निर्माणमा राख्नेजस्ता कामहरु पनि भइरहेकै छन् । नीति निर्माण, निर्णय गर्दा विदेशीलाई प्राथमिकतामा राख्ने, विदेशीको इसारामा काम गर्नेको सूचीमा पनि लामै छ । कसलाई लाग्यो लाज ? जो देश र जनताको भन्दा पराइको खेताला बन्न रुचाउँछन्, तिनीहरु त राष्ट्रबाट तक्मा पाउँछन्, संवैधानिक पदमा नियुक्ती पाउँछन्, तीभन्दा अरु त अयोग्य हुन्छन् । हुनुपर्ने नेताको नातेदार भए त उनीहरु बिछट्टका योग्य उमेदवार हुन् । तिनलाई खोजी खोजी रोजी रोजी जिम्मेवारी दिइन्छ । तिनले जवाफदेहीता निर्वाह गर्नुपर्दैन, किनभने तिनीहरु कि नातेदार हुन्, कि व्यभिचारी ?
भर्खर नुवाकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको शालिक स्थापित गरिएछ । स्वयम् प्रचण्डले अनावरण गरे । प्रकाश दाहालको शालिक राख्नुपर्ने कारण के थियो, राख्नैपर्ने हो होइन ? यसबारेमा बहस हुनसकेन । ठूला नेताको छोरा हुन्, जतिसुकै विवादित भए पनि शालिक ठढियो ।
यो मुलुक कस्तो ? यिनै माओवादीले नेपाल निर्माताको शालिक फोडे । पोखरामा राजा वीरेन्द्रको शालिक पनि तोडे । महेन्द्र, आदिकवि भानुभक्तका शालिकहरु पनि ढाले । अब प्रकाश दाहालको शालिक ठढ्याए । नेपाल हो, शक्ति भए पछि जे गरे पनि हुन्छ । कसैलाई लाज लाग्दैन । कसैले उचित अनुचितको जवाफ दिनुपर्दैन । यस्तै कार्यको मान इज्जत हुन्छ । यसकारण घुस खान छलफल गर्ने राजकुमार कोइरालाको बद्ख्वाई गर्नुको तुक छैन । किनभने एकजनालाई निलम्बन गरेर अदालत मन्दिर हुनसक्दैन । अदालत चलाउने जो छन्, ती सबै घूसखोर छन्, पार्टीका कार्यकर्ता छन्, राजनीतिकरणले अदालतमा न्याय होइन, चल्ने घूस नै हो । ०४६ सालपछि बहुदललाई भाँडतन्त्र बनाए, ०६५ सालपछि लोकतन्त्रलाई घूसतन्त्र बनाए । यसको जिम्मेवारी लिन कोही तैयार छैन, जता पनि लाजैलाज छ , । लाज पनि लज्जित हुन्छ बरु, पद्धति चलाउने कसैलाई लाज लाग्दैन । ०४६ सालपछि, नभए ०६५ सालपछिका अदालतका फैसलाहरु केलाउने हो भने आरोपीहरु कसरी सेटिङ मिलाएर वा धरौटीमा छुटेर पछि सफाइ पाउने गरेका छन्, स्पष्ट हुन्छ । अख्तियार डामेर अदालत पु¥याउँछ, अदालत सुनपानी छर्किदिन्छ ।
यसकारण राजकुमार कोइरालामात्र फस्ने, पूर्वन्यायाधीश टोपबहादुर सिंहलाई मात्र लाज लागेर केही हुन्न । यो पद्धतिमा लागेको खिया सफा हुनसक्दैन ।
एकथरि भन्छन् प्रहरीदेखि नै जालझेल सुरु हुन्छ । अदालत पुगेपछि त जालझेलले सीमा नै नाघ्छ । यहाँसम्म कि चेलीबेटी बेचबिखनदेखि वैदेशिक रोजगारीमा हुने गरेका भ्रष्टाचारमा राजनीतिक संरक्षण हुने गरेको छ । भ्रष्टाचारमा त राजनीति सिधै मुछिएका हुन्छन् । कर्मचारीलाई भ्रष्टाचारमा लिप्त बनाउने नै राजनीतिक नेताहरु हुन् । अख्तियारका कर्मचारीमात्र होइनन्, आयुक्त राजनारायण पाठकको केश, प्रमुख आयुक्त नै मुछिएका मुद्दा हेरिसाध्ये छैन । जो सत्ता र शक्तिमा छन्, ती सबै नाङ्गा बादशाह छन् । कसैलाई लाजशरम छैन, यही हो गणतन्त्र ।
जो असामाजिक छ, ऊ पुरस्कृत हुने देश भयो । त्यसैले लाज नमानौं ।