Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

अन्धकारको कारण

२० सोमबार , असार २०७९४ बर्ष अगाडि

देवी काफ्ले– -
जीवनको सार जसले बुझ्छ त्यसले सहज जीवन पार गर्ने रहेछ ।मैले जीवनमा धेरै ठाउँमा खुशि खोजें । अरुले जीवनको खुशी कहाँ भेटे थाहा भयन तर मैले अरुको मुहारमा भेटें । कोहि धनले सम्पन्न भयर खुशि होलान् कोहि चिताएको कुरा पाएर तर मैले भेटेका खुशिका मुहार ती हुन् जो बेसहारा छन्, जो हुँदा खान्छन्,जो चुहिएको छानामुनी रात बिताउंछन्,जो एउटा शरीर ढाक्ने लत्तो पाउँदा मुस्कुराईदिन्छन् ।
जनताको सेवामा जीवन ब्यतित गर्नुको मजा नै बेग्लै ।हुनत आजकल सेवा नाफामुलक हुन थालेको छ, मलाई नाफा त चाहिएको छ नगद या भौतिक सम्पत्तिको होइन,ती निरीह, निमुखाहरुको खुशि र हाँसो चाहिएको छ । समाज रुपान्तरण ,ब्यावस्था परिवर्तनको सपना मेरो त्यहि वर्गका लागि महत्वपूर्ण हो । आजसम्मको उमेरमा कसैलाई नचाहेर, बाध्यता, परिस्थितिबस् नमिठो ब्यावहार जानेर गरेको छैन लाग्छ मेरो समाजको मुटुमा बिराजमान छु, अब पनि हजुरहरु सबैको आशिरवाद, सद्भाव, मायाले जीवनको बहुमूल्य समय ब्यतित होस् ।
 समय रोकिंदैन । ऊ त चलायमान छ । ऊ कसैको बसमा छैन । उसको आफ्नै रफ्तार छ । त्यहि समयको रफ्तारमा दौडन खोज्छु, प्रयास गर्छु फेरि कहाँ ठेस लाग्छ कुन्नी ठहरै स्ट्याचु बन्छु । मेरा पाइला अगाडि सर्नै मान्दैनन् । तर मनले पाइलालाई धकेलिरहे, धकेलिरहेको छ । जब जब ती निरीह बच्चा देख्छु, छाती चिरिन्छ, मुटु भारी हुन्छ, टाउकोबाट ज्वालामुखि निस्कन थाल्छ ।
समयसंगै पृथ्वीका प्रकृतिक, भौतिक, मानवनिर्मित सबै चीजहरु बदलिंदा रहेछन् । बिचार बदलिंदो रहेछ । देशको अवस्था बदलिंदो रहेछ । शासन गर्ने मानिस बदलिंदा रहेछन् । मैले देखेको नबदलिने एउटै कुरा गरिब जनताको अवस्था रहेछ । शासकहरुको ब्यावहार बदलिदो रहेनछ । प्रजातन्त्र, बहुदल, लोकतन्त्र, गणतन्त्रमा पनि शासक र जनताको बीचमा ठूलो खाडल हुनेरहेछ । बीचका पुल बिचौलिया सर्वसुबिधा सम्पन्न हुंदा रहेछन् । भोट दिने नागरिक जनता हैन रैती हुँदा रहेछन् ।
जब जब सत्तामा पुग्छन् तब तब दलिय भागबन्डा अनि पालोपालो पद बांडिनेरहेछ । सत्ताको मजा लुट्ने लुटेराहरु कुनै सम्राटको भन्दा कम अस्तित्वमा बस्नै नचाहने रहेछन् ।  सत्तामा खै के मिसाएको हुन्छ कुन्नी स्वाद चाखेपछि अदव देखाउन थालिहाल्ने । रैतीले ख्वामितका अगाडि के बोल्नु,के देखाउनु ? भोको पेट निचोरेर ख्वामितको सेवामा भोट दियर गुन तिर्नु पर्ने ।
आफु हिंडेको बाटो बिर्सने नेताहरु देखेर मन अतालिन्छ ।गाउँघरमा हुँदा भोट माग्न जांदा आफ्नो हैसियतसँग दाँजेर म पनि तिमी जस्तै वर्गको हो अब हाम्रो वर्ग संघर्ष शुरु भयो, अब तिम्रो मेरो वर्ग सुधार हुनेछ भन्दै आश्वासन बाँड्नेहरुले सिंहदरवार छिरेपछि ती समवर्गका मानिसलाई कसरी भुल्छन् ?
तिनै तल्लो वर्गबाट प्रमोशन हुन नसकेका तर तिनैको बुई चढेर माथिल्लो वर्गमा प्रमोशन भएकाहरुले हिजोलाई किन भूल्छन् ? प्रमोशन नभएकाहरुले पनि पटक पटक गल्ती गरेकै कारण त सामन्त बनेकाहरुलाई फेरि नेतृत्वमा लैजान्छन् ।
हाम्रा चुनावी प्रकृया,हाम्रो नसुध्रेको बानी,हाम्रो लोभि लालची आँखा सबै दोषि हैन र ? यहि प्रबृत्तिले त आज लुटाहा, फटाहा, चाकरीबाजको अबस्थामा ह्वात्तै परिवर्तन आयो तर ती निमुखा, निरीह, सोझासाझा जनताको उन्नती कहिल्यै भएन । हो, तिनै वर्गलाई एकमुठी अनुहारमा मुस्कानका लहर देख्न पाउँदा सन्तुष्टी मिल्छ । देशको केन्द्रीय राजधानीसँगै जोडिएका जिल्लाहरुमा आज पनि ती वर्गहरु छन् जसले बिहान बेलुकाको छाक टार्न गिठा भ्याकुर खोज्नुपर्छ । छोराछोरी पढाउनु त कल्पना मात्रै हो । यहि गरिबीका कारण छोराछोरी पढाउन सक्दैनन् अनि उमेर नपुगी बिबाह गर्छन्, परिपक्व नभै बच्चा जन्माउँछन् अनि देशलाई सक्षम नागरिक कहाँबाट दिन सक्नु त ?
यतिका ब्यवस्था परिवर्तन हुँदा पनि ती गरिबीको रेखामुनीका नागरिकहरुको अवस्था परिवर्तन हुनलाई के परिवर्तन हुनुपर्ने हो ? यी हुँदाखाने वर्ग देख्दा सबै दल प्रति प्रश्नको वर्षा गराउन मन लाग्छ !! आखिर यिनीहरुको परिवर्तन कहिले र कसरी ?? मलाई यी प्रश्नहरु अनुत्तरित लाग्छन् । उत्तर आउला तर समस्या समाधान होला भनेर बिश्वस्त हुने बेला आएन । आखिर ब्यावस्था परिवर्तन किन र के का लागि ? छ कोहि मलाई सन्तुष्ट हुने जवाफ दिने ? बिहान उठ्ने बित्तिकै  सूर्यको किरणसंगै ती निरीहहरुका अनुहारमा मुस्कान देख्न पाउँला त ??