Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चौपट भयो मुलुक त ?

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - - 
राष्ट्र बैंकका गभर्नरले मुख फोरेरै भने– यदि विदेश मुद्राको संचिति नबढाउने हो भने मुलुक श्रीलंकाको स्थितिमा पुग्छ । डलरको भण्डार लगाउने कसरी ? जलस्रोत, पर्यटन, कृषि नै हुन् हाम्रा कमाई हुने । यसको प्रवद्र्धन गर्नतिरसरकार उदासीन छ ।  विदेशी मुद्रा घट्दो छ भने उता संचिति स्रोत नै छैन । झन पेट्रोल, डिजेल, ग्यासमा डलर अत्यधिक रूपमा खर्चिन थालेपछि विदेशी मुद्रा घट्नु स्वभाविक हो । एकातिर रूस–युक्रेन युद्धको प्रभाव भयावह रूपमा देखिन थालेको छ भने अर्कातिर थामीनसक्नुको भ्रष्टाचार छ । एसपीपीलाई अस्वीकार गरेपछि अमेरिकी सहयोग घट्ने पक्का छ । अझ झन लादिएको संघीयता र विकृतिले मुलुक टाट पल्टाउने ठोकुवा गर्न सकिन्छ । सत्तामा रहेकाको सुविधा घटाएर गरीब निमुखालाई राहत दिनेतर्फ यो शासन प्रणालीका सञ्चालकहरू सोच्न पनि सक्दैनन् । पेट्रोलियम पदार्थको कर घटाएर केही समयलाई राहत दिने सुझाव आएको छ । बैंकहरूमा तरलता खस्किदो छ, शेयरबजारको हालत खराव भइसक्यो । महगी, बेरोजगारी, भ्रष्टाचार व्याप्त छ । यो गठबन्धनको सरकार श्रीलंका बनाउनतिरै उद्दत छ ।
देशको बेथिति र बेहालको चिन्ता छैन । खाली मन्त्रिमण्डल पुनर्गठनको बतास चलिरहेकै छ । देश र जनताप्रतिको दायित्ववोध रत्तिभर पनि देखिन्न । बिग्रदो हाललाई सुधार्ने कसरी, गठबन्धन सरकारसँग कुनै योजना छैन । बिकृतिको पराकाष्ठा– एउटा वकिल न्यायाधीशलाई घूस लिन अफर गर्छ । त्यो पनि गरीब जनता लुट्ने लुटाहलाई जेलबाट छुटाउन । धिक्कार छ, यो शासन प्रणालीर शासक बर्गलाई । भ्रष्टाचार सर्वत्र छ, न्याय परिषदले त्यो एउटा मुद्दामा छानबिन गरेर पुग्दैन । सिङ्गो मुलुकका सञ्जालहरू सबै नै भ्रष्टाचारको दलदलमा भासिएका छन् । हरेक अनियमितता र अपराधीलाई डामिने अनि अदालतले सुनपानी छर्केर छाडिदिने । दलालहरूको रगरगीर चकचकी बढ्दै जाने । पार्टीहरूलाई आफ्नो सरकार बनाउनु, चलाउनु छ । सरकारलाई नागरिकता बिधेयक पास गराएर झुण्ड बढाउनु छ, चुनाव जित्नुछ । बजेट सडकमा पुगेका सुब्बाले बनाउँछन्, बजेट व्यापारीलाई पोस्ने खालको बनाइन्छ, कर्मचारी बुद्धिजीवी नागरिक समाज सबै नै पार्टीका कार्यकर्ता बनेपछि हुने बेहाल हो । नेपालको स्थिति दयनीय भइसकेको छ । यही कुरा गभर्नरले स्पष्ट पारेका छन् । तैपनि चासो र चिन्ता लिएर छलफल कोही गर्दैनन् ।
एमसीसीले सडक र संसद ततायो अनि सेलायो । एसपीपीले सेनालाई समेत विवादमा तान्यो र सेलाउन थालेको छ । नीति र नैतिकतामा बस्न कोही पनि तैयार छैनन् । राष्ट्रको नीतिमा चल्न पनि कोही तैयार छैनन् । सबेलाई व्यक्तिगत, पार्टीगत लाभ चाहिएको छ । जो सुकैको पालामा भएको होस्, वर्तमानका नेतृत्वले गर्ने सही भए अनुशरण र गलत भए सच्याएर राष्ट्रिय हितको प्रवद्र्धन गर्नुपर्ने हो । एक दोस्रा नेतालाई खुइल्याएर आफू अग्लो देखिने नेतृत्व पंक्तिको होडबाजीले देश अरू लथालिङ्ग र अविश्वासनीय बन्दै गएको देखिन्छ । नेपालको भूराजनीतिक अवस्थामा टेकेर आर्थिक प्रगतिका लागि विश्वलाई आह्वान गर्न सकेन लोकतन्त्रले । जता पनि लहसिने र देशलाई अविश्वसनीयतातिर धकेलेर संकट उत्पन्न गरिदैछ । यी सबै चर्तिकलाले नेपाली नेताहरू नेपालका लागि होइन, अर्कैका खेताला देखिदैछन् ।
समस्या आउँछन्, समस्या निम्त्याइन्छ र आफू पानीमाथिको ओभानो बन्न खोज्ने धृष्टताले राज्यका सुरक्षा निकायसमेत शंकाको घेरामा पारिएका छन् । राजनीतिक, कूटनीतिक दुबै मञ्चमा असफल सिद्ध भइसकेका नेतृत्व राजनीतिमा हालीमुहाली गरेर बसेका छन् । हामी जनताले गर्ने के त ? यिनै असफल नेतालाई च्यापेर बस्ने कि अस्तित्वरक्षाका लागि अर्को परिवर्तनका लागि तैयार हुने ? निश्चित छ, आगामी संघीय र प्रदेशको चुनावमा पनि यिनै पात्र र पार्टीको जित हुनेछ । अनि यिनले अर्को ५ वर्षसम्म स्वार्थको राजनीति गर्नेछन् । त्यतिबेलासम्म नेपालको अस्तित्व संकटबाट महासंकटतिर उन्मुख हुने पक्का छ । बुझे हुन्छ, दलहरूलाई पन्छाएर कुनै स्वतन्त्र भनिनेहरूलाई जिताए पनि हुनेवाला केही छैन । जबसम्म यी नेता र यो प्रणाली रहन्छ, तवसम्म बेथिति र भ्रष्टाचार हट्नेछैन । जरा नउखेलेसम्म सुधार हुने स्थिति पर परसम्म देखिदैन । बिग्रेको अवस्था सुधार्न दह्रो नेतृत्व चाहिएको छ । मुलुकलाई प्रयोगशाला बनाएर प्रयोगमाथि प्रयोग गरेर निस्कनेवाला केही छैन । हिन्दुराष्ट्र र राजतन्त्रको अभिभावकत्वमा मात्र देश अघि बढ्नसक्छ, सुनिश्चितता आउनसक्छ र देश मजबुत हुनेछ । त्यसका लागि के के गर्न सकिन्छ, पूर्वाग्रह त्यागेर सबैले गोलमेच सम्मेलन गरेर निधो गर्नैपर्छ । सवाल अस्तित्वको आइसक्यो । सवाल वर्तमान र आउने पुस्ताको भविष्यको पनि छ । हालेमालो देशको आवश्यकता हो । हिजोका दिनका परिवर्तन र परिवर्तन पछाडिका अभिष्ट भनेको नेपाललाई डुबाउने षडयन्त्र रहेछ भन्ने अब त बुझौं । अब त आ–आफूले लगाएका कार्यकर्तारूपी जामालार्य तुरून्तै फकालौं र नेपाली बनौं । तवमात्र मुलुक बाँच्ला र हामी बाँचौंला । पछिल्लो पुस्ताका लागि सुनिश्चितता रहला ।