Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

छिमेकीको पनि ख्याल गरौं

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - - 
एमसीसीपछि एसपीपीले नेपाली राजनीति, कूटनीति गर्माएको छ । नेपाली सेनाले वक्तव्य निकालेर र प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा उपस्थिति भएर एसपीपी स्वीकार नगर्ने कुरा बताइसकेका छन् । यति भइसकेपछि पनि स्वेतपत्रको माग गरिएको छ, सन्तुष्टि कतै पनि देखिन्न । अमेरिकी दूतावासले समेत एसपीपीका बारेमा स्पष्ट पारिसकेको अवस्था छ ।
खासगरी गठबन्धन सरकारमा सामेल नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवालाई ह्वीस्की ख्वाएर भूलभुलैयामा पार्लान्, एसपीपीमा सही गराउलान् भनेर बताएपछि आशंका अझ तात्दै गएको छ । माधव नेपालको यो भनाइले नेपाली प्रधानमन्त्रीको हैसियत देखाइदिएको छ भने चीनविरुद्धको गतिविधिमा कुन हदसम्मको रणनीति कार्यान्वयन भइरहेको छ भन्ने पनि देखाएको छ ।
अमेरिका नेपालको ७५ वर्ष पुरानो मित्र हो । विकास साझेदार हो । दुःख र विपतमा सहयोगी मुलुक हो । यसमा शंका छैन । तर महाशक्ति अमेरिका र चीनबीचको राजनीतिक, कूटनीतिक, आर्थिक द्वन्द्वमा नेपाल घानमा नपरोस्, हाम्रो हालत अफगानिस्तानको जस्तो नहोस् भन्ने चिन्ता नेपालीमा छ ।
सत्तामा पटक पटक  आसिन भएका दलाल र स्वार्थी प्रवृत्तिका नेतृत्वका कारणले नेपालको परराष्ट्र र आन्तरिक दुबै नीति खलबलिएको अनुभूति भइरहेको छ ।  जानिफकारहरु भन्छन्– चीन देखिनेगरी नेपाल पस्यो भने के होला ? किनकि सुरक्षाको चासो चीनलाई बढी छ । नेपालका शासकवर्ग कतिसम्म स्वार्थी देखिए भने नेपाली सेनालाई समेत आफ्नो स्वार्थका कारण विवादित बनाइदिएका छन् । वैधानिक सरकारको आदेश मानेर चल्ने सेनाभित्रसमेत दाह्रा नङ्ग्रा भएकाहरु घुसिसकेको संकेत देखिन्छ । पहिले सेनाको हैसियत कस्तो थियो, आज कस्तो छ ?   असफल र भ्रष्ट नेताहरुले नेपाली सेनालाई घर घरको कुचर्चाको विषय बनाइदिएका छन् । नेतृत्व तह कतिसम्म स्वार्थी छ भने जसलाई पनि फसाउन सक्छन् । नेपालीको आस्था र नेपालको सुरक्षित भविष्यको आधार सेना यसपल्ट भयंकार विवादमा फसाइएको छ । प्रशासन, प्रहरी, अदालत, संवैधानिक निकायहरुसँगै सेना पनि विवादमा फस्यो । सेनाले आफूलाई अझ स्पष्ट र सुस्पष्ट पार्न जरुरी छ ।
यति नै बेला पूर्वराजा थाइलेण्डतिर हिडेका छन् । हुनसक्छ, भारत र चीनका उपल्लो नीतिकारसँग पूर्वराजाको संवाद हुनसक्छ । यो पल्टको थाइलेण्ड भ्रमण नातीलाई भेट्नमात्र होइन, कुटनीतिक तथा राजनीतिक रुपमा अर्थपूर्ण देखिन्छ ।  चीन र भारत दुबै छिमेकी सशंकित रहेको बेला पूर्वराजाको यो भ्रमण भएको छ । बिगत १५ वर्षमा पूर्वराजाभन्दा विश्वासिला कोही हुन नसक्ने प्रष्ट भइसक्यो । अमेरिकाको रणनीतिक प्रवेशले सिधा चीनतिर संकेत गरे पनि असर भारतमा बढी पर्ने निश्चित छ । भारतको काश्मिर, अरुणाचल प्रदेशदेखि मणिपुर र दक्षिणदेखि पश्चिम गुजरातसम्म समस्याहरु छन् । विशाल भारत, जसलाई नेहरु र सरदार बल्लभ भाइ पटेलले जबरजस्ती एकीकरण गरेका हुन्, कुनै पनि बेला टुक्रिन वा टुक्य्राइन सक्छन् । महाशक्तिको प्रतिस्पर्धामा जे पनि हुनसक्छ, जो पनि प्रताडित हुनसक्छन् । यही सबै बुझेर छिमेकी दुबैको चिन्ता बढाएको छ । झट्ट हेर्दा समस्या नेपालमा छ, यसको बाछिटाले छिमेकीलाई जबरजस्त धक्का दिनसक्छ । त्यसो त माओवादी नेता राम कार्कीले नेपाललाई शान्ति क्षेत्र बनाऔं, घोषणा गरौं भनिसके । अर्थात् राजाहरुले निर्माण गरेको देश र नीति नेपालको हितमा छ भनेर बल्ल बुझ्रदैछन् तर नेपाली जनता यही कुरा उठाउन सक्दैनन्, भ्रष्ट नेतृत्वकै पछि लागिरहेका देखिन्छन् । तिनैलाई मत हाल्छन्, तिनकै नेतृत्व चयन गर्छन् ।
आमनागरिकले आँखा उघार्ने कहिले ? देउवा, प्रचण्ड, ओली जिन्दावाद भन्ने जमात ठूलै छ । यतिबिघ्न महगी, बेरोजगारी, अशान्ति, अराजकता, कुशासन, राष्ट्रघात र भ्रष्टाचार छताछुल्ल भइसक्दा पनि जनता निदाएका छन् । जो अगुवा छन्, तिनलाई खर्चबर्च यिनै नेताले दिन्छन्, अगुवा नबोलेसम्म आमनागरिक बोल्दैनन् । हुन त जनता सचेत छन्, बुझेका छन् । युवाहरु पनि चेतनशील छन् । यति भइसक्दा पनि विवेकपूर्ण रुपमा बोल्न नसक्नु नेपालको दुर्भाग्य हो । जनताले बुझ्नुपर्छ, नेतृत्वमा रहेका लोभीपापी, स्वार्थीभ्रष्टहरुलाई जनताले दण्ड दिंदैनन्, तबसम्म कार्यकर्ता बनेका जनताले सुख पाउँदैनन् । जनता सडकमा नउत्रेसम्म नेतृत्व यसैगरी घातक बनिरहनेछन् । जनताले सचेततालाई व्यवहारमा उतार्नुपर्छ, गलतलाई गलत र भ्रष्टलाई पाखा लगाउन सक्नुपर्छ । भ्रष्ट र अनैतिकलाई नेता मान्न तैयार भएसम्म देश र जनता अर्काको खेलौना बनिरहने छन् ।
पूर्वराजाले पनि देश देशाटन गरेरमात्र केही हुँदैन । सन्देश दिएर चिन्ता प्रकट गरेर पनि केही हुनेवाला छैन । पुर्षाको भार थाम्न काँध थाप्नुपर्छ । बेहाल र बेथितिमा परेको मुलुकको जिम्मेवारी लिन अग्रसर हुनुपर्छ । अन्यथा यस्तै हो...।