Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपालको आर्थिक प्राण, भारतको कब्जामा

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

राजन कार्की - - 
कृषि विज्ञानले विरूवा कलमी गर्छ र विकासे बीज निकालेर उत्पादन बढाउँछ । राजनीतिक विज्ञान अग्रगमनकारी हुनुपर्ने हो, नेपालका सन्दर्भमा बुद्धि र युवाशक्ति कलमी गरेर नेतृत्वले विज्ञानलाई चुनौति दिइरहेका छन् । नेतृत्व यतिबिघ्न अवैज्ञानिक र अज्ञानी हुनुको एउटै कारण उनीहरूको सत्तालिप्सा हो । युवालाई निकासी गरिदिएपछि विद्रोहको स्वर सुन्नुपर्दैन । जो यही बसेका छन्, तिनलाई राजनीतिक कार्यकर्तामा विभाजन गरिदिएपछि विरोध र विद्रोह कसले गर्ने ? जो सचेत आमनागरिक छन्, तिनलाई पार्टी पार्टीका कार्यकर्ता बनाइदिने, जो आम छन्, तिनहरू नेतृत्व अभावमा असरल्ल बने नेताहरूलाई हाइसन्चो हुने छ । जो बोल्छन्, तिनीहरू सत्ता र शक्तिको वरिपरि सख्खरमा झिङ्गा भन्किएझैं भन्किन थाल्छन् । बाँकी केहीले विरोध गरेर नेतृत्व हल्लाउन सक्दैनन्, नेतृत्वले डगमगाउनु पर्नेछैन ।
यही रणनीतिमा पार्टीहरू छन् र यस्तैखाले राजनीति गरिरहेका छन् । यथार्थमा नेपालमा राजनीति होइन, राजनीतिक व्यवसाय चलिरहेको छ ।
त्यसैले त रेमिटान्सले देश विकास हुने हावादारी भाषण गरिरहेका छन् । जनतामाथि कर, ऋणको भार थोपरेर राजस्वमा ब्रम्हलूट मच्चाइरहेका छन् ।
नेपाल युवा निकासी गर्ने कारखाना बनेको छ । राजनीतिक कारखानारूपी देशबाट पार्टीहरूले बुद्धि र युवाशक्ति निर्यात गरिरहेका छन् । तिनले पठाएको रेमिटान्सले अर्थतन्त्र चलाइरहेका छन् । ०४६ पछिको जुन नेतृत्व थियो, ०६३ सालको परिवर्तन र ०६५ सालको गणतन्त्र कार्यान्वयनपछि पनि त्यही नेतृत्व छ । गिदी भरिने टाउकामा लिदी भरिएपछि शान्ति, समृद्धि, समानता र न्यायपूर्ण समाज सृजना हुनैसक्दैन । नेपाल झापको हाटबजारभन्दा भिन्न छैन जहाँ अल्लारेहरू जाँड धोकेर जिस्किरहन्छन् ।
यसकारण नेपाल खुँखार नेताहरूको खोरिया बन्यो । किनकि साठीको दशकमा अफ्रिकामा स्वाधीनताको सुनामी शिक्षकले ल्याएका थिए । नेपालका शिक्षक ज्ञान होइन, झोलामा पार्टीका घोषणापत्र बोक्छन्, राष्ट्रपतिले सरकारसँग नियुक्तीमा कोटा खोज्ने मुलुकमा सुशासनको कसरी आउन सक्थ्यो र ? विवेकशीलको विवेक पार्टी र नेतृत्वसँग बन्दकीमा छ, बोल्दैन । परिवर्तनको १५ वर्षमा पनि कुशासन भोगिरहेका छौं । देश देश बन्न व्यवस्थित व्यवस्था चाहिन्छ । लोकतन्त्रजस्तो उत्तम व्यवस्थालाई नगरवधु चलाएजसरी चलाउने राजनीतिक बेश्यावृत्ति नरोकिएसम्म नेपाल उमेरले जेष्ठ भए पनि परिपक्व मुलुक बन्न सक्दैन । सकेन । आज पनि नेपाल अविकसितबाट नाममात्रको विकासशीलमा रहेको छ । यसका लागि समेत शक्तिराष्ट्रहरू दान दक्षिण दिइरहेका छन् । एकहातले आर्थिक सहयोग गरेर अर्को हातले नेपालका नीतिमा हस्तक्षेप बढाउँदै गएका छन् । देश कंगाल हुँदैछ ।
सीमा भएरमात्र देश हुने होइन । सीमाको सुरक्षा पनि हुनुपर्छ देश हुनका लागि । देशवासीमा माटोको सुगन्ध फैलनुपर्छ । अझ नागरिकमा देशप्रतिको अपार भक्ति हुनुपर्छ । आमनागरिकमा देशभक्ति छ तर शासन गर्ने जो नेता र दल छन्, तिनीहरूको देशभक्तिमा संशय बढ्दै गएको छ । जनअपेक्षविपरितका निर्णयले देशलाई लाटीकी श्रीमती सबैकी भाउजु बनाउँदैछ ।
सीमा थियो, सिक्किम रहेन । न क्रिमिया  रह्यो । अहिले युक्रेन राष्ट्रियताको संकटमा छ । सीमाको सुरक्षा गर्न नसक्दा १९७५ मा सिक्किम, २०१४ मा क्रिमियाको हरण भयो । सीमा भएर पनि घर, समाज, सहर, शासन, प्रशासन, शान्तिव्यवस्था सबै तहसनहस हुनु भनेको असुरक्षा हो । नेपालमा सुरक्षाको अकाल छ । मानसिक विचलनमा छ ।
चिनियाँ विद्वान वाङ चुनले नेपालको सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध भन्ने पुस्तकको पृष्ठ १९ मा लेखेका छन्– आर्थिक दृष्टिबाट हेर्दा भारतले आर्थिक सहयोग, प्रत्यक्ष लगानी तथा असमान सम्झौताका माध्यमद्वारा नेपालको आर्थिक प्राण आफ्नो हातमा लिएको छ ।
१०८ भन्दा बढी मुलुकमा ६२ लाखभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीका लागि गएका छन् । तर, २० लाखभन्दा बढी युवायुवती अवैधमार्गबाट वैदेशिक रोजगारीमा गएको र जाने क्रम जारी रहेको सरकारै भन्छ । ३ करोडको हाराहारीमा जनसंख्या भएको मुलुकका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका जानु भनेको देश बल र ब्रेनशक्ति बिहीन हुनु हो । यति गम्भीर विषयमा संसदमा, सरकारमा, नागरिक समाजमा बहस हुँदैन ।
लियो टल्सट्वायले लेखेका थिए– जुन देशमा विदेशी चलखेल बढी हुन्छ, त्यहाँ जातीय र धार्मिक लडाइ हुन्छ, जनताको आर्थिक शोषण बढी हुन्छ, देश बर्बाद हुन्छ । नेपालमा त्यही तस्वीर देखिदैछ । भीमनिनिधि तिवारीले लेखेका थिए– राज्यलिप्साले नेता अन्धो हुन्छ, उसले स्वार्थमात्र देख्छ । नेपालको राजनीति नेताहरूको स्वार्थ भण्डार भइसक्यो । नेपाललाई नैतिकहीनताको कारखाना भने हुन्छ ।
किनकि बुद्धि कलमी गरेर देश र जनतालाई होचा, पुड्का बनाउने राजनीतिक नामधारी बाहुबली स्वार्थी दस्ता निर्णायक छ, बाँकी शासितहरू थुर थुर कामिरहेका छन् । मान्छे मान्छेबीचको अनुहार र औंठाछाप मिल्दैन तर नेपालका शासक बर्गको चरीत्रमा कहिल्यै भिन्नता आएन । सत्तास्वार्थका लागि सिद्धान्तलाई समेत तिलाञ्जली दिएको देखियो । नेपाल खुँखार नेताहरूको खोरिया बन्यो ।
पद्धति परिवर्तनको १५ वर्ष पनि लोकतन्त्र लोकजीवनमा छैन । संविधान छ, राजनीतिक नेताहरूको बन्दकीमा परेको छ । संविधानले कामै गर्न सकेन ।  सिंहदरवारदेखि ७ सय ६१ पालिकामा भ्रष्टाचारको रूपमा लोकतन्त्र फनफनी च्याम्पटी घुमेझैं घुमिरहेछ । जनयुद्ध, जनआन्दोलन, संविधान र संवैधानिक शासन त षडयन्त्रको जालो रहेछ, जुन जालोमा आमनागरिक छटपटीमा छन् । लोकतन्त्रको कल्की झुण्ड्याइदिएपछि सत्ता–जड्याहहरूको खुट्टा जति लरबराओस् न, अदालतले नै संरक्षण दिन्छ । लोकतन्त्रमा सरकार अदालतले बनाइदिन्छ । संसद किन चाहियो ? को बोल्ने ? जो बोल्छ, त्यो प्रतिगामी, लोकतन्त्र बिरोधी ।
होनहार युवाहरू अध्ययनका क्रममा विदेशीने क्रम रोकिएको छैन । हजारौं सिर्जनशील र श्रमशक्ति लस्कर लागेर दिनहुँ देश छोडिरहेका छन् । ती सबको मुखमा एउटै शव्द हुनेगर्छ– यो देशको भविष्य छैन । यहाँ बसेर के गर्नु, गरिखान पाइएन ।
युवाशक्ति जो आफैमा उर्वर छ, त्यो समुदायको यस्तो तीतो टिप्पणी ? जवाफ दिने कसले, जवाफदेही को हो ? तिनलाई स्वदेशमै बस्ने, केही गर्ने प्रेरणा र वातावरण दिने कसले ? परिवर्तन आयो रे, परिवर्तन नेता र नैतिकहीनहरूलाई आयो । जुन पद्धति युवाशक्ति निकासी गरेर धानिन्छ, त्यो प्रणालीका चालकहरू टाउकाका ट्यूमर बिरामी हुन्, दिमागी रूपमा सअक्षम र रोगी हुन् ।
थिङ्क टेङ्क, सल्लाहकार र राजनीतिशास्त्रीहरूको योभन्दा ठूलो बेइज्जत के हुन्छ ?
सडकमा हुन्जेल संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने, आफू संसद र सरकारमा पुगेपछि कुकुरको मासु बेचेर र घिचेर रमाउने ? वाह, लोकतन्त्रवादीहरू । यसमाथि कम्युनिष्टहरू संसदीय बाटोबाट शक्ति आर्जन गरेर सर्वहारावादमा पुग्ने हो भन्छन्, भ्रष्टाचारमा रमाउँछन् ।
हिजोका पञ्च सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वकाल अर्थात २०६० साल कात्तिक २१ गते प्रचण्ड समेत सहमत भएर नेपालमा ५ करोडसम्मका आयोजना चलाउन भारतलाई अनुमति लिनुपर्दैन भन्ने । आज १५ सय आयोजना भारतीय दूतावासले चलाउँछ, नेपाल सरकारलाई यसको गुँजीगाँठो थाहा छैन । विश्वका कुन देशमा दूतावासले यसरी सिधै लगानी गर्न पाउँछ ? यसमाथि ३ हजारको हाराहारीमा वर्षेनी छात्रबृत्ति बाँड्छ । दूतावासहरूले बितरण गरिने छात्रवृत्ति, गरिने लगानी नेपाल सरकारमार्फत हुनुपर्छ भनेर संसदमा कुरा उठाएर निर्णय गर्नुपर्दैन । अनि शिक्षक, नेता, सामाजिक कार्यकर्ता, नागरिक समाज दूतावासमा धाउँदैनन् ? 
स्रोत भन्छ– तराईदेखि सोलुखुम्बुसम्म, मुस्ताङमा समेत भारतीय सिधै लगानीका खानेपानीदेखि मन्दिर जिर्णोद्धार ८ सय आयोजनाहरू चलिरहेका छन् । भारत सरकारको साना विकास परियोजना परिचालनका लागि सडक तथा पुल निर्माण, ग्रामीण विद्युतीकरण, लघु जलविद्युत्, प्रसारणलाइन निर्माण तथा सडक सौर्यबत्ती, सामुदायिक विद्यालय भवन, नगर पुस्तकालय, अस्पताल, स्वास्थ्यचौकी, फोहोरमैला प्रशोधन केन्द्र, खानेपानी आयोजना तथा धार्मिक, सामाजिक र सांस्कृतिक प”र्वाधारका क्षेत्र तोकिएका छन् र भारतीय दूतावासमा योजना माग्न जानेहरूको भीड नै लाग्ने गरेको छ । नेपालमा भारतीय समानान्तर अर्थमन्त्रालय, सरकार ? कसैलाई बिझ्दैन । किन ? नेपाली नीतिकार र शासकहरू किन आफू, पुस्ता र देशको भविष्यलाई धुलोपिठो बनाउने (पाइरिक भिक्ट्री) खेल खेल्दैछन् ?
पक्का कुरो हो, भारतका महात्मा गान्धी जन दर्जनौं सुन्दरीहरूसँग एकै ओछ्यानमा सुतेर ब्रम्हचर्याको आत्मपरीक्षा दिइरहेका थिए, त्यतिबेला उनले आफ्नी परम सेविका कस्तुरवालाई समेत बिर्सिए । अहिले नेपाली नेताहरूको सम्पन्नता यतिबिघ्न बढेको छ कि उनीहरूले श्री ३ हरूका भ¥याङ मुनी बीसओटा, भ¥याङमुनी तीसओटा भन्ने कथनलाई पनि मात गरिदिएका छन् । तर भारतमा महात्मा गान्धी थिए, राष्ट्रको वापु बने । यी महाभ्रष्ट हुन्, घृणाका पात्र भएका छन् ।
पञ्चायत थियो, पञ्चले बिगारे । बहुदल आयो, प्रजातन्त्रवादीले बिगारे । लोकतन्त्र आयो, अग्रगमनकारीले बिगारे । केही नबन्दा, कोही नसच्चिदा प्रश्न उठ्यो– बिगार्ने तन्त्रले कि व्यक्तिले ?