देवी काफ्ले– -
बाबा शिक्षक, आमा गृहिणी । दाजुभाई पढेलेखेका तर छोरी छाउ बार्न गोठमा । सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा प्रथाको रूपमा चिनिएको कुप्रथा हो छाउपडी प्रथा । सुत्केरी हुँदा वा रजश्वला हुँदा महिलाहरू घरपरको गोठमा बसेर छाउ बार्ने गरिन्छ । विशेष गरि रजश्वला भएका किशोरीले मर्दको मुख हेर्न नहुने, सूर्य दर्शन गर्न नहुने यदि देखिएमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने जनमानसमा परम्परागत छाप परेको छ । छुई हुँदा घरमा राख्यो भने देवता रिसाउँछन् भनेर आजका पढेलेखेका युवती पनि मान्छन् यो कुरालाई ।
छाउ बार्दा अनिष्ट घटनाहरू बढिरहेका छन् । युवती छाउगोठमै बलात्कृत भएका छन् । बिषालु सर्पदंशबाट मृत्यु भएको छ । जाडोले कठ्याङ्ग्रियर मरेका छन् तर पनि अभिभावकहरू आज पनि युवतीलाई छाउगोठमै राख्नुपर्ने बताउँछन् । हाम्रो चलिआएको चलन त मान्नुपर्छ भन्छन् । यो हिंसा बढाउने कुसंस्कार हो ।
केही समय अगाडि मैले प्रधानमन्त्री शेरबहादुर देउवाका गाउँ नजिकका एक जना शिक्षकलाई भेटेकी थिएँ । कुराकानीको सन्दर्भमा छाउको कुरा आइहाल्यो । उहाँको छोरी पनि छाउ बार्न गोठमा बसेको कुरा सुन्दा मलाई अचम्म लाग्यो । उहाँ आंफै शिक्षक हुनुहुन्थ्यो । शिक्षकको परिवार केही न केही सुधारात्मक बिचार बोकेको हुन्छ । अनि हजुरकहाँ पनि किन यस्तो सर ? मैले प्रश्न तेस्र्याएँ । छाउ बार्न गोठमा लैजानु बेठिक हो तर गोठमा नबारे समाजले दुत्कार्छ, बहिष्कृत गर्छ मेडम भन्नुभयो । सदनमा जोडतोडले यो बिषयमा कुरा उठ्यो । सरकारले छाउगोठ भत्काउन निर्देशन दियो । आइएनजीओ पनि यो कार्यमा लागे । प्रहरी र समाजसेवीहरू खटेर केही छाउगोठ भत्काइयो पनि । तर समस्या ज्यूँको त्यूँ किन छ ?
जबसम्म समाज शिक्षित हुँदैन, समाजको भित्री दृष्टि खुल्दैन तबसम्म बाहिर बनेका गोठ भत्काएर कुरिती हट्दैन भन्ने सोच किन पलाउन सकेन ? सामाजिक कुरिती कुप्रथा हटाउन बाहिरी टहरा हैन भित्री ज्ञानका बन्द टहरा खोल्नुपर्छ भन्ने जान्नुपर्ने हो । जनप्रतिनिधिहरूले यसबारेमा चेतना जगाउन लागिपरेनन् ।
छाउप्रथालाई फरक ठाउँमा फरक तरिकाले बारिएको थियो । रजश्वला भएकी महिलाले गोठमा सुतेको सुदुरपश्चिममा मात्र होइन देशैभरि विभिन्न तरिकाले बारिन्छ । मैले मेरी दिदीले छुई हुँदा धन्सारमा सुकेको पराल, मकैका ढोड, कोदाको नलहरू राखेको छेउमा सुतेको देखेकी छु । हामी स्याङ्जा जिल्लाको फँटेली भनाउँदाले पनि यस्तो रिती मानेका थियौं । तर हाम्रो समाज चाँडै शिक्षित भयो । चेतना चाँडै खुल्यो । कुप्रथा बिरूद्धको चेत जति छिटो आयो, उति समाज सुधारोन्मुख हुन्छ ।
हामी जबसम्म सभ्य समाजका लागि चलेका प्रथा भित्रको कुप्रथालाई हटाउन ज्ञानको पुटुरो खोल्दैनौ तबसम्म हामी रजश्वलालाई पाप मानिरहन्छौं ।
पढेर मात्रै पनि समाज सुधार हुन्छ भन्नु गलत सावित भयो, मेरो त्यो दिनको एउटा भेटले । समाजमा सामुहिक जागरूकताको आवश्यकता पर्नेरहेछ ।
छुइ प्रथा ती बिकट पहाडी जिल्लामा मात्रै हैन ! तराईमा समेत बसाईसराईसँगै सरेर आएको छ । केही बर्ष पहिले म कैलालीको फूलबारी भन्ने गाउँमा मेरो दाईको घरमा गएकी थिएँ । म छुई भएँ । मलाई नल्का छुन दिइएन । तराईमा हातले चलाएर पानी निकाल्ने चापाकल हुन्छ त्यसलाई हामी नल्का भन्छौं । नल्का छोयो भने नाग रिसाउँछन्, छुई भएकाले नल्का छुन हुँदैन भनेर भाउजुले अलक्कै पानी दिनुभयो । मेरो दाइको परिवार स्याङ्जाबाट बसाइ सरी गएको । त्यहाँको समाज प्राय डोटी, बझाङ, दिपायलका आएका छन् । त्यसकारण पनि प्रथाहरू साथसाथै आएका छन् । ती प्रथाहरू नयाँ ठाउँमा पनि प्रचलित भैसकेका छन् । त्यस्ता कुप्रथाहरूलाई जरैदेखि निमिट्यान्न पार्ने दायित्व युवा पिढीको हो । जनप्रतिनिधिहरूको हो, सरकारको हो, सरकार र संसदले कर्मचारी, माष्टरविद्यार्थी, पार्टी कार्यकर्ता सबैलाई समेटेर यस्ता कुरीति हटाउन प्रत्येक वर्षको केही दिन अभियानकै रूपमा चलाउन सके सभ्य समाज निर्माण गर्न सकिन्छ ।
अझै रजश्वलालाई पापको एक रूप भनेर हामी कहिले उकासिने ? सभ्य हुने ?