शाश्वत शर्मा - -
जेठ १५ गते गण सहभागी नभएको गणतन्त्र दिवस सत्ताधारीले धूमधामका साथ मनाए । तीन दिन नै राष्ट्रिय धन उडाएर राष्ट्रिय उत्सव भन्दै मनाए । पदक बाँडिए, ८ सय ३४ कैदी बन्दी (केहीसँग पैसा खाएर ?) रिहा गरिए । बडे बडे स्थानहरूमा चियापान, भोजभत्तेर गरिए । ठूलाबडाले सन्देश र भाषण पनि दिए । तर जनतालाई ? कागलाई बेल पाके सरह भयो गणतन्त्र दिवस । जसजसले खान, राज्यको उपल्लो दर्जामा छन्, तिनका लागि गणतन्त्र दिवस फलिफाप भएको छ । तिनको स्वार्थी चस्माबाट राष्ट्रभरि उपलब्धि भएको देखेका छन् । मधेशवादी नेता, राजपा, जसपा, लोसपा अर्थात तिनै महतो, ठाकुर, यादवहरू जसले संविधान जारी हुनासाथ आगो लगाए, तिनले समेत नेपाल भगवान भरोसे चलेको छ भनिरहेका छन् । गणतन्त्र र शासकहरूलाई उदाङ्गो पारिरहेका छन् । हुन त सिङ्गो मुलुकका आमनागरिकले यो गणतन्त्र नेतातन्त्र भएकोले तिरस्कार गरिरहेका छन् । गणतन्त्र ल्याउने झलनाथदेखि प्रचण्डसम्मले झापड, जुत्ता खाएकै छन् । नेताजीहरूको कार्यक्रम बहिष्कार गर्नेदेखि कालोझण्डा देखाउने, बाटो रोक्ने, थुक्ने त कति भयो कति ? भर्खरै सम्पन्न राजधानी, धरान, धनकुटातिर जनताले पार्टीतन्त्रका उमेदवारलाई असन्तुष्टि देखाएर हराइदिए । तैपनि गणतन्त्र दिवस धूमधामका साथ मनाइयो, लाजै नमानीकन ।
तर यिनका लागि लुट्नु नै गणतन्त्र हो । राष्ट्रघात गर्न, जेमन्त गर्न पाएकै छन्, अनि गणतन्त्र दिवस नमनाउन् ? हामीले सकेनौं, मुलुकमा समस्यामाथि समस्याको खात लाग्दै गयो, राष्ट्रिय नेताको खोजी गर्नुपर्छ भन्ने यिनमा सद्बुद्धि पलाएन । अन्धाले हात्ती छामेजस्तो गणतन्त्र दिवस मनाउनु भनेको वर्तमान र भविष्यसमेत अन्धकार छ भन्ने हो । स्थिति यतिसम्म भयो कि कुनै विदेशी नेपाल आयो अथवा उपल्लो पदधारी व्यक्ति विदेशमा गयो भने अनेक संशय गर्नुपर्ने अवस्था छ । अर्थात् राजनीतिक र तिनका संरक्षणमा हुर्केका पदधारीहरूमाथि विश्वास नै रहेन । यहाँसम्म कि बरू भारतका शासकले यदाकदा नेपालको हितमा बोलिदिन्छन्, नेपाली नेताहरूले त राष्ट्रघात गरेर स्वार्थसिद्ध गर्नबाहेक केही जानेकै छैनन् । भ्रष्टाचार गर्न र विदेशभक्ति गरेर सत्तामा उक्लन, टिक्न आतुर हुन्छन् । यिनले देशका लागि के बोल्लान् ? यसकारण यो गणतन्त्र नेपालका लागि अफापयुक्त भइसक्यो । यो समाप्त पारिएन भने नेपाल र नेपालीको अस्तित्व समाप्त हुने खतरा बढ्यो ।
राज्यका हरेक संवेदनशील निकाय व्यभिचारग्रस्त छ । प्रधानन्यायाधीशले गरेको निर्णयसमेत उल्ट्याइन्छ । अदालतले मन्त्रिपरिषद गठन गरेको पनि देखियो । यिनै भन्छन् यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था रे । यस्तो भरोसायोग्य नै नभएको गणतन्त्रलाई कहिलेसम्म बोकेर हिड्ने ? सत्ताले गठबन्धन गरेर स्थानीय निकायको चुनाव लड्छ र जितेको फुइँकी हाँक्छ । अनि भन्छन्, संविधान बचाइयो, प्रतिगमनलाई परास्त गरियो । परिवर्तनकारीको विजय भयो । यो कस्तो संविधान हो, जुन जहिले पनि ढलपल ढलपल गरिरहन्छ । जब कोही संविधान फाल्न लाग्ने शक्ति नै छैन भने कसरी संविधान बाँच्यो, बचाइयो ? स्थानीय निकायलाई समेत पार्टीगत विभाजन गरेर सत्तासीन ५ दलीय गठबन्धनले गर्न खोजेको के हो ? जनताको पीडा, महगी, असुरक्षा, विकृति रोकियो भन्न सक्ने कुनै नेता वा दल छैनन् । हिमाल, पहाड, तराईमा मतपत्र पु¥याएर चुनाव भयो, पाठ्यपुस्तक अझै पुगेको छैन । कृषकलाई मलबीउ बिजन छैन । भारतले चिनी, गहुँ रोकेपछि धान, चामल पनि रोक्न भन्ने हल्लाले बजारभाउ झन बढिसक्यो । आफ्नो उत्पादन केही छैन, हरेक कुरामा भर दक्षिणकै हो । बैंकमा तरलता छैन, उद्योगधन्दा केही चल्दैन । उद्यमी, व्यापारीले आगामी दिनमा खाद्य संकट बढ्छ भनिसकेका छन् । जोहो गर्नतिर सरकार तातेकै छैन । गणतन्त्र दिवस धूमधामले मनाइयो भनेर सरकार नाक फुलाइरहेछ ।
अभिभावक भनिएकी राष्ट्रपति कठपुतली बनेकी छिन् । तिनका वरिपरि देशघातक, भ्रष्टहरू रहेका देखिन्छन् । राष्ट्र, जनता घायल, पार्टीका नेताहरूलाई सुखसयल । यही हो गणतन्त्र, गणतन्त्र दिवस । जनताले कतिञ्जेल सहने यस्तो परिपाटीलाई ?
संघीयताका नाममा कार्यकर्ता भर्ती केन्द्र बनाएर जनतामाथि कर थोपर्ने, राष्ट्र खोक्रो पार्ने, धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तन गराउन छुट दिएर संस्कृति, परम्परा धरासायी बनाउँदै जाने, यस्तालाई कहिलेसम्म सहने ? चुनाव आउँछ, यिनैलाई जिताउनु पर्ने, चुनावपछि यिनैको शासन सहनुपर्ने ? यो त अति भएन र ?
हामीले परिवर्तन ल्यायौं, कतै निष्पक्षता र विकासवादलाई त मिल्काएनौं ? गणतन्त्रपछि जे आयो, आमनागरिक र जनताका लागि दुःखमात्र आयो । यसकारण आगामी दिनमा गणतन्त्र, लोकतन्त्र दिवसलाई शोक दिवसका रूपमा मनाऔं । देशभक्ति भएकालाई पुनस्र्थापना गराऔं, यसैमा देश र हाम्रो भलाइ छ ।