Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बलात्कारीलाई दण्ड देऊ

०९ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

देवी काफ्ले– -
पटक पटक यौनहिंसा, बलात्कारका फरक फरक प्रकृतिका घटना सुन्दा, देख्दा, पढ्दा भोग्दा पनि अलिकति पनि सचेत नहुनुमा कतै हाम्रो, सरकारको, नीतिनिर्माताको पनि कमजोरी त छैन ? साना नाबालिका यौनजन्य हिंसामा नपरेको दिन छैन । दैनिक समाचार, पत्रपत्रिकाहरू हिंसाका घटनाले भरिएका छन् । नयाँ नयाँ र फरक किसिमबाट भएका घटनाहरू बल्ल उजागर हुंदैछन् । अपराध उजागर हुनैपर्छ, पीडकले दण्ड पाउनैपर्छ ।
 आजका युवतीहरू सुन्दर बन्न चाहान्छन् । उनिहरूलाइ सबैले राम्री, सुन्दरी भनिदिए हुन्थ्यो भन्ने चाहान्छन् । सुन्दरी प्रतियोगितामा जान चाहान्छन् । टप मोडेल वा सुन्दरी बन्ने सपना देख्छन् । ठूला ठूला होर्डिङ बोर्डमा टांसिएका युवतीको फोटो देखेर लोभिन्छन् । टेलिभिजनका पर्दामा देखिने तिब्र ईच्छा राख्छन् र प्रतियोगितामा भाग लिन पुग्छन् । त्यहि प्रतियोगितामा भाग लिएर एउटा टाइटल जितेकी युवतीको चर्चा तिब्र छ अहिले । ब्युटीपेजेन्ट नामको पासोमा बल्झाएर बलात्कार भएको कुरा सार्वजनिक भएको छ । निज बलात्कारीलाई पक्राउ गरिएको छ र फेरि अर्की युवती पनि केश दायर गर्न तयारी अवस्थामा छिन् । खुलासा बढ्दैछ ।
केही समय अगाडिसम्म कम्युनिष्ट महिला नेतृहरू सुन्दरी प्रतियोगिताको खुलेर बिरोध गर्दथे । समयको माग भनौं या बदलिंदो समय परिस्थिति र आधुनिकता अनि पश्चिमा संस्कृतिको गहिरो प्रभावले पनि होला यस्ता छोरी नाप्ने प्रतियोगिता बन्द हुन सकेनन् । बाहिर हेर्दा सुन्दरी प्रतियोगिता भित्र युवतीहरूको शरीर खरिदारी रहस्य रहेछ । किशोरीहरूका स्तन, नितम्ब र तिघ्रा नापेर राम्री नराम्री छुट्ट्याउने सुन्दरी प्रतियोगिता कति सम्म घातक रहेछ ? सुन्दरी प्रतियोगितामा जान चाहने छोरी र अभिभावकले बुझ्न जरूरी छ । १५÷१६ बर्षका किशोरीहरूलाई नङ्ग्याएर सुन्दरी छान्नेहरूले आफन्त वा आफ्ना परिवार भित्रका किशोरीलाई प्रतियोगितामा लैजान्थे होला यदि १०÷२० जना युवती जम्मा पारेर देशैभरको ताज लगाईदिने मात्रै  भएको भए । काटेको बोको नङ्ग्याए जसरी किशोरी नङ्ग्याउने प्रतियोगिता हाम्रो समाजलाई जरूरी छ र ? यसबारे बहस किन नबढाउने ?
         जयन्ती मंगलाकाली, भद्रकाली कपालिनी
         असत्य नासिनी चण्डी दुर्गा संसार पालिनी ।
          मार्क्स लेनिन सिद्धार्थ ईशाकी सृष्टिकारिणी
           लोग्ने समाजमा हाय बनेकी छन् अभागिनी ।
आज यी श्लोकहरू कति चरितार्थ छन् त भन्ने कुरा आधुनिकताको खोक्रो खोल ओढेका हामीले बुझ्न पर्दैन र ? परापूर्व कालमा राजा महाराजहरूले स्त्रीलाई सजाएर, सोह्रश्रृंगार गराएर दासी तथा नर्तकीहरू राख्ने गर्थे । दासीको काम सुसार गर्ने हुन्थ्यो नर्तकीको काम नाचेर घुंघुरू बजाएर राजामहाराजा, भारदारहरूको दिल बहलाउनु हुन्थ्यो । सुन्दरीहरूको नाच हेरेर दिल बहलाउने चलन आजको परिवर्तनसंगै परिवर्तित भएछ । हिजो दरवारभित्र केही राजामहाराजाले हेर्थे भने आज बिश्वले हेरेको हुन्छ । नर्तकीसँग राजामहाराजाले दिल बहलाउँथे भने आज आयोजक, फोटोग्राफर बनेका केही थान पिपासुहरूले दिल बहलाउने रहेछन् । हिजोका ती नर्तकीहरू आज सौन्दर्य प्रतियोगिताको स्टेजमा ल्याईन्छन् अनि तिनका शरिरको लुगा, शरिरका पार्ट पार्ट, गोरोकालो छाला हेरेर ताली ठोक्छन् । मोडर्न युगमा कस्तो प्रतियोगिता हो आधा संसार ढाकेका नारी मध्ये दुई चार सय युवती लगेर देश अनि बिश्वकै सुन्दरी छनोट गर्ने ? शरिरका पार्ट, रंग, लुगाका लागि बजाइएको ताली समग्र नारी जगतकै लागि उपहास हैन र ? नारीको यतिसम्मको अपमान ?
आज प्रत्येक अभिभावकले छोरीहरूलाई यो बुझाउनु पर्छ कि––मदर टेरेसा कुन प्रतियोगितामा भाग लिएर सुन्दरी भईन् ? के बिश्वले उनलाई सुन्दरी मान्दैन र विश्वले ? पासाङ ल्हामु हाम्रो देशको नेपाल सुन्दरी हैनन् र ? भ्यालेन्टिना टेरेस्कोभा, जुन्को तावेई, म्याडम क्युरी, मलाला, बेनजीर भुट्टो, एलिजावेथ, ईन्दिरा गान्धी, झमक घिमिरे, फ्लोरेन्स नाईटिंगेल, एनी फ्र्यान्क, क्याथरिन द ग्रेटले कुन सुन्दरी प्रतियोगितामा भाग लिएका थिए र ? चार जना बसेर दुईसय जनाबाट खोजिएका सुन्दरी बाहिरी आवरणलाई हेरेर छाटिने हुन् । तिमी सक्षम छौ, आफु भित्रको सुन्दरतालाई उजागर गर्ने आफै हो । तिम्रा स्तन, नितम्ब, तिघ्रा नापेर छाटिने प्रतियोगितामा शरीर प्रदर्शन गरेर जितेको ताज लाउन आवश्यक छैन । सुन्दरता गुणमा हुन्छ, राम्रो काममा हुन्छ । यति मात्रै हरेक अभिभावकले सम्झाउनुस् ।
हामी समानताका कुरा गर्छौं तर छोरीहरूलाई सामाजिक दायित्व बोध गराउंदैनौं । सुन्दरताको सोकेसमा राख्न प्रयास गर्छौं । अब हामी बदलिनु पर्छ । हाम्रो समाजमा जबसम्म यस्ता प्रतियोगिता भैरहन्छन्, तबसम्म छोरीहरू लुछिईरहन्छन् । छोरी लुछाउने सुन्दरी प्रतियोगिता बन्द गर । यस्तो प्रतियोगिताले अपराध बढाउँछ । शान्ति र समुन्नत, सभ्य समाजका लागि सुन्दरी प्रतियोगिता चाहिंदैन ।