Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

फेरि हेरियो जनतालाई...

०९ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

शाश्वत शर्मा
एमसिसी संसदबाट पास हुनासाथ अब कांग्रेस, ए समाजवादी, माओवादी अनि एमालेमध्ये पनि कांग्रेसको भविष्य सकियो भनेर चर्चा गरियो । तिनको भनाइमा बहुसंख्यक नेपालीको विरोध भएको विषयलाई पारित गराउन मुख्य भूमिका खेल्नेहरू जनतासामु जानै सक्दैनन्, गए पनि धुलिसात हुन्छन् भन्ने थियो । तर चुनावी परिणाम आइरहेका छन् र त्यो आँकलन गलत सावित हुनपुगेको छ । कांग्रेस त झन चम्किन पुग्यो । व्याख्यात्मक टिप्पणी गर्ने माओवादी तेश्रो स्थानमा आयो । एमसिसी पारित गर्न गराउन हुन्न भन्नेहरूले कति ठूलो आन्दोलन गरेका थिए, मर्न मार्न तैयार थिए । प्रधानमन्त्री देउवाको पुतला, कांग्रेसी झण्डा जलाउने विरोध पनि भएको थियो । तर स्थानीय निर्वाचनको परिणाम ? कांग्रेसले ऐतिहासिक जीत पो हासिल ग¥यो ।
एमसिसीको भयङ्कर विरोध गर्ने विप्लव माओवादीले समेत पालिका चुनावमा केही स्थानमा समर्थन ग¥यो, केहीमा जित्यो । स्थिति दयनीय होस्, सहभागी भयो, यो सबैबाट थाहा हुन्छ, नेपाली जनतालाई पार्टीको मात्र मतलव छ । यो र यस्ता अनेक घटनाक्रम छन्, जसले नेपाली जनतामा विवेक छ, सुसुप्त छ । जागरूकता आउकै छैन भन्न सकिन्छ । सही र गलत, राम्रो र नराम्रो छुट्याउन सकेनन् । ७५३ पालिकाहरूमा यिनै भ्रष्टहरूले जिते, यिनैले अर्को ५ वर्ष राज गर्ने भए । नेपालीको स्मरणशक्ति कमजोर छ, बिर्सने बानी छ, क्षमशील छन् ।
यसकारण त पटक पटक नाकाबन्दी लगाउने भारतका प्रधानमन्त्रीलाई हार्दिक स्वागत गरे, नदी उपहार दिए, लिपुलेक किन भारतको नक्सामा हालेको, गोली हानेर र तुइन काटेर किन नेपाली मारेको सोधिएन, लुम्बिनीमा यस्तै देखियो । स्वयम् मोदीलाई लाज लाग्नेगरी जयजयकार गराइयो । किन ?
पालिका तहमा भ्रष्टाचार बढ्यो, सेवा पाइएन भन्ने हामी, अख्तियारले डामेका र बेरूजुदेखि मुद्दा लागेका सम्मलाई जिताउने हामी । हामी कस्ता, हामीलाई धिक्कार छ । देश लुट्नेलाई नै ताकत दिन हामी अगाडि स¥यौं । हो, एकाध स्थानमा राम्राले पनि जितेका छन्, राम्रो काम गर्लान् । संशय जनताको मनमा व्याप्त छ । किनभने भ्रष्ट कर्मचारीको जालो त्यही छ । घुम्दै फिर्दै रूम्जाटार हुने पक्का छ । यसकारण त विश्लेषकहरू भन्छन्– प्रणाली ठीक भए पनि अनैतिकका कारण चल्न सकेन । माथि सिंहदरवारदेखि तल गाउँपालिकाका वडासम्म भ्रष्ट र राष्ट्रघाती व्याप्त हुनपुगे । यिनलाई तह लगाउने कसले ? तह नलगाईकन देश सुध्रिन्न । 
भनिन्छ, जनता जस्ता छन्, नेता त्यस्तै पाउँछन् । जनता सहनशील छन्, नेता भ्रष्टाचार गरिरहने । जनता विवेक प्रयोग नै नगर्ने, नेता भ्रष्टाचार गर्न नछोड्ने । यसकारण जनतामा रहेको विवेक झक्झक्याइदिनसक्ने विद्रोह चाहियो । त्यति गर्नका लागि पूर्वराजा वा नेपाली सेनाले पनि भूमिका खेल्न सक्छ । पूर्वराजा खाली आक्रामक सन्देशहरू दिइरहने र देश तथा जनतामा माया दर्शाइरहने । सेना संविधानअनुसार चल्छु भनेर विकृति र बिसंगति ट्वाँ परेर हेरिरहने ? कहिले कहिले राष्ट्रभक्त युवाहरू देखा पर्छन्, पानीको फोका फुटेजसरी हराउँछन् । अनि त भ्रष्ट र राष्ट्रघातीको जहिले पनि राइँदाइँ चलिरहने । देश र जनताको भार उठाउने राजनीतिक दलहरूले हो । नसकेपछि पूर्वराजा र सेना अघि सर्नैपर्छ । डिरेल भएको स्थितिलाई सुधार्नका लागि पनि कम्मर त कस्नै पर्छ । भाषण गरेर अथवा हेरिमात्र रहेर स्थिति सुध्रिनेवाला छैन । देशको आँगन र आङ्भरि फोहर भइसक्यो ।
मुलुक अधोगतितिर जाँदो छ । निरन्तर जाँदो छ । विदेशी चलखेल बढेर गएको छ । स्वाभिमान खुम्चिदैछ, सार्वभौमिकता खस्किदो अवस्थामा छ । बुझ्नेहरूले बुझेका छन्, देशको आन्तरिक र बाह्यनीतिमा समेत बिचलन आएको छ । अब ढिलो गर्नै हुन्न पहिचान बचाउनका लागि । जुर्मुराउनैपर्छ कसै न कसैले । गणतन्त्र किन घोषणा भयो ? धर्मनिरपेक्षता कसरी लागू गरियो ? यी दुबै घटनाक्रमले गर्दा नेपाली एकता भाँडिएको छ, नेपाली राष्ट्रियता दिनानुदिन कमजोर पारिदैछ । राजनीति भनेको सत्ताका लागि गरिने व्यवसाय हुनपुगेको छ । आफ्ना कार्यकर्तालाई संघीयताका नाममा जागीर दिएर देशलाई विदेशी ऋणभारमा र व्यापार घाटामा पु¥याएर तन्नम पारिदैछ । अब पनि गम्भीर नहुने हो भने लोकतन्त्रको आवरणमा सुदिन आउन नसक्ने पक्का छ, जे आउँछ, लूटतन्त्रमात्र आउँछ, जङ्गलराज यसरी नै चलिरहन्छ । लोकतन्त्रमा बोल्न खूब पाइन्छ, सुनवाई कहीं हुँदैन । जुन अहिले भइरहेको छ । लोकप्रति जिम्मेवार र जवाफदेही नहुने यो शासन प्रणालीमा सुधार नगर्ने हो भने हामीले ठूलै दुर्घटना खेप्नु र खप्नुपर्ने आहट सुन्नेहरूले सुनिसके । पालिका चुनावी परिणाम जे जस्तो आइरहेको छ, त्यसबाट राष्ट्रघात र अनियमितता झन बढ्ने देखिन्छ । जनतालाई फेरि हेरियो...। यही हो त जनविवेक ?