देवी काफ्ले–
बिकास, सम्बृद्धि, शान्तिसुरक्षाका सपना देख्दै आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि बनाई पठाएका नेतृत्वबाट नागरिक सायद वाक्क भएछन् । गाउँ गाउँमा सिंहदरवारको नारा अनुसार सिंहदरवार त बन्यो तर लक्षित वर्गमा सिंहदरवार पुग्न सकेन । बिकट भौगोलिक क्षेत्रमा पुग्न सकेन । जसका उदाहरण छरपष्टै छन् । उल्लेख गरेर साध्य छैन । ब्यवस्था फेरियो, नेतृत्व फेरियो प्रबृत्ति फेरिएन । ठुला शहर, राजधानी मात्रै केन्द्रित हुने प्रचलन हट्न सकेन । बिकास भन्ने कुरा राजधानीमा भए पछि हात्तीको जत्रो छाती बनाएर गड्खिने प्रबृत्तिले गणतन्त्रका नेतालाई पनि शुद्ध्याउन सकेन । झन झन बद्नाम हुँदै गए ।
लोकतन्त्र, गणतन्त्र पछि त वर्गीय विभेद झन बढोत्तरी भयो । जनप्रतिनिधि राजा बने । पालिकाहरूमा राज्यकोषले थुप्रा रकम खर्चन उत्साहित गर्यो । ती बजेट कति त जनप्रतिनिधि र झोलेहरूले बियरसंग भात मुछेर खायरै तर लाईदिए । बिकासका काममा डोजरे बिकासले स्पिड लियो । बाटोको स्तरउन्नतीमा ध्यान पुगेन । ध्यान पुगोस् पनि कसरी ? फेरि बियरसँग भात र स्विमिङपुल केले धाउने ? जहाँ स्कुल बनाउन चन्दा उठाउनुपर्छ त्यहाँको सिंहदरवारका मालिकलाई लाज लाग्दैन । डोल्पाको एउटा प्राइमरी स्कुल बनाउन पोहोर साल सामाजिक अभियन्ताले मरिमेटेर सामाजिक सन्जालको प्रयोग गरि रकम जुटाईदिएका थिए । अपांगलाई व्हिलचियर किन्न चन्दा, निम्न वर्गको परिवारको सदस्य बिरामी भयो उपचारका लागि चन्दा, केटाकेटी, वयस्कले पढ्न पाएनन् चन्दा, अप्रेसन गर्नुपर्यो चन्दा, नागरिक भोकै परे चन्दा, स्कुलका बिद्यार्थीलाई न्यानो लुगा आवस्यक भयो चन्दा, बाटोघाटो पुलपुलेसा बनाउनु पर्यो चन्दा, अस्पताल बनाउनु पर्यो चन्दा, बिरामीलाई अस्पताल पुर्याउनुपर्यो चन्दा । चन्दा, चन्दा, चन्दा अनि त्यो गाउँको सिंहदरवार र नागरिकले तिरेको कर जनप्रतिनिधिलाई बियरसँग भात मुछेर ख्वाउन हो ?
ठोस योजना बिना जथाभावी डोजरे बिकासमा अग्रता कायम गर्नाले पहिरोको जोखिम उच्च छ । दैनिक जसो सडक दुर्घटनामा निर्दोषहरूले अकालमा ज्यान गुमाएका छन् । यसपालीको स्थानीय निकायको चुनावको दिन समेत वालिङ नगरपालिकाले ठूलो क्षति बेहोर्नुपर्यो । कहाँ छ चिन्ता र चासो ? गम्भीरता ?
गणतन्त्रका बाहक बनेका दलिय झोलेहरूका कारण आज राजनीति तर्फ बिचलन बढेको छ । बेरोजगार युवा दैनिक सयौंको संख्यामा खाडीमुलुकका लागि बाहिरिएका छन् । देशमा रोजगारी सृजना गर्नेतर्फ ध्यान छैन । भएको खाली जमिनको उपयोग गर्ने कुनै नीति, तिथिबिति केही छैन । किसानले उत्पादन गरेको कृषिउपजलाई बजारब्यावस्थापनको पहल छैन । बजार ब्यवस्था छैन ।कृषिप्रधान देशमा सिंचाईको ब्यावस्था छैन, समयमा मल बीउ पाउंदैनन् । मल ल्याउने बेला मन्त्रीहरू कमिसनमा लुछाचुँडी गरिबस्छन् । तराईको खेतीयोग्य जमिन भूमाफियसंगको साँठगाँठमा बालुवा छरेर बर्गेल्तै घर उमारेका छन् । बसाईसराई रोकि पहाडको जमिनलाई उपयोगमा ल्याउने नीति छैन । सुकुम्बासी बनेर ललितानिवास आँट्ने गिदी भएकाहरूको जमातमा लक्षित वर्गको पहुँच कहाँ ? लोकका नाममा देश भ्रष्टाचारमय बन्यो ।
चुनावका बेला हेलिकप्टरबाट मलबिउ छर्दिन्छु भनेर लज्जास्पद लोभ देखाउने जनप्रतिनिधिबाट के परिवर्तन होला ? चुनावमा जुन नारा बनाएर सोझासाझा जनतालाई फुस्लुक्क पार्ने कुर्सीमा बसेपछि आफ्नो र आफ्नाको परिवर्तनमा लाग्ने प्रबृतिको उछितो पार्नै पर्छ । नेतृत्वका घमण्डका कारण जनता जहिलेसुकै बिकाउ वस्तु बन्न जरूरी छैन । अब त नेतृत्वमा पनि परिवर्तन, युवा नेतृत्वको आवश्यकता छ जनताले बुझे कि ? अझै चुनावको अवसरमा झुट्ठा आश्वासन, मलेशिया नजिताए बजेटै दिन्न भन्ने ? यिनै लोभमा फस्ने जात जनता हैनन् । अब त आँखा च्यातेर हेर ।