राजन कार्की - -
विद्वान डा.सुभाष काश्यप र विश्वप्रकाश गुप्ताले तयार गरेको राजनीतिक कोषमा राष्ट्रघातीमा क्विजलिङ र लेण्डुप दोर्जीको नाम उल्लेख छ । क्विजलिङ युरोपका थिए भने लेण्डुप १९७५ मा सिक्किम भारतमा बिलय गराउने नेता थिए । देश बेचुवाको अर्को नाम क्विजलिङ अथवा लेण्डुप दोर्जी भन्ने पर्याय यसरी चलेको देखिन्छ ।
भारतीय विद्वानहरूले रामायणकालमा श्रीलंकापति रावणका भाइ बिभिषण, मुगलकालका मीरजाफर र मीर कासिम तथा क्विजलिङ् र लेण्डु दोर्जीलाई देश बेचुवाका रूपमा उभ्याएका छन् । यी सबै प्रतिनिधिपात्रहरूले आप्mना कालखण्डमा कसरी आफ्नो मातृभूमिको स्वतन्त्र अस्तित्व र अस्मितालाई समाप्त पार्न कसरी विदेशी आक्रमणकारीको सहयोग गरेका थिए भन्ने घटनाक्रम पनि उल्लेख गरिएको छ । यसमध्ये भारतवर्षका ५ सय ३७ राजामहाराजामध्ये चयचन्द पनि त्यस्तै देशघाती थिए, जसले अंग्रेजको पाउमा लम्पसार नीति लिएका थिए । अंग्रेजलाई स्वदेशविरूद्ध षडयन्त्र गर्न सघाएका थिए ।
जनयुद्धका घाउहरू चर्किरहेकै छन् । संक्रमणकालीन न्याय व्यवस्था सम्पन्न भएको छैन । संविधान कार्यान्वयन भयो भनेर गफ हाँक्नेहरू हाँकिरहेका छन् । संविधान बनेर २०७४ पछि २०७९ मा पालिका निर्वाचन समेत सम्पन्न भइसक्यो । पालिका निर्वाचनलाई दलीय पार्नु हुन्थेन, दलीयताको दलदलमा यिनैले भासेका छन् । राष्ट्रिय मुद्दाहरू एकपछि अर्को थपिदैछन् । लोकतन्त्र आएपछिका १५ वर्षमा विदेशी हस्तक्षेप र चलखेल यसरी बढ्यो कि राजनीतिभन्दा विदेशनीति बढी देखिन थालेका छन् । अस्तित्वभन्दा पराधीनता बढेको छ । सत्ता र शक्तिको राजनीतिक भागबण्डाले अफिमको नशाजस्तै सत्ता र शक्तिको नशामा लठ्ठिन पुगेका नेताहरूले आफू उभिएको लोकमतको धरातलको नैतिक आधारसम्म पनि सुस्थिर राख्न सकेनन् ।
जनआन्दोलनपछि अनेक सरकार बने, आन्दोलनकारीले नै सत्ता चलाइरहेका छन् । यिनले चलाएको सरकारले पनि जनमानसमा परिवर्तनप्रति विश्वास जगाउन सकेनन् ।
जब विश्वासको संकट पर्छ, त्यतिबेला आशंकाको कालो बादलले घेर्छ । पहिलो पालिका, प्रदेश र संसदको निर्वाचनले सुशासन र समृद्धि दिन सकेनन्, अनैतिकतामा पछारिएकाहरू फेरि पालिका निर्वाचन सम्पन्न गर्न पुगेका छन् । जनताले साथ दिए, मत दिए, विश्वास दिए । जनबल दिए । यो जनबल भ्रष्टाचार गर्न होइन । जतिपल्ट चुनाव भए पनि जनताले मतदान गरेकै छन् । मतदान गर्न जनताको धर्म हो, अभिभावकत्वको स्वकारोक्ति पनि हो । तर अभिभावक बनेकाहरूले आफ्नो दायित्व निर्वाह गर्न सकेनन् । यो दुःखद छ ।
यसपल्टको चुनावमा पनि लाख, करोड खर्च गरेका छन् उमेदवारहरूले । जित्ने हौसिएको छ खर्चेको उठाउन । हार्ने सुस्केरा हाल्न थालेका छन् । चुनाव स्वभाविक नभएर अस्वभाविक लाग्न थालेको छ । जनताका लागि धर्म हो, नेताका लागि खर्चालु । जब खर्च गरेर चुनावलाई व्यापार बनाइन्छ, त्यतिबेला भ्रष्टाचारको जग खनिन्छ । यसपल्टको पालिका निर्वाचन पनि भ्रष्टाचारमय भयो । स्वच्छ, स्वस्थ प्रतिस्पर्धा हुनसकेन । जसरी बिगत ५ वर्ष सिंहदरवारदेखि पालिकासम्म भ्रष्टाचारको दुर्गन्ध फैलियो, सुरू भएको निर्वाचन प्रक्रियाले त्यही दुर्गन्धलाई बढाउने काम गर्दैछ । लोकतान्त्रिक नेपाल दुर्गन्धपुरजस्तो लाग्छ । स्वर्ग बनाउनेहरू कहाँनेर चुक भयो, कहाँनेर संवैधानिक सुधार आवश्यक छ, बहस नै गर्दैनन् । बस्, पार्टीकरण, राजनीतिकरण, व्यक्तिकरण र भ्रष्टीकरण । लोकतन्त्रको उपहास उडाउने काम भइरहेको छ ।
चुनाव जित्नु भनेको डामेर छाड्ने साँडेतन्त्र होइन । राजनीति सेवा हुनुपर्छ, व्यापार हुनपुग्यो । यसलाई सच्याउनतिर अब सबैले पहलकदमी लिनैपर्छ । अन्यथा लोकतन्त्रजस्तो सुव्यवस्था, कुव्यवस्था साबित हुनेछ । लोकतन्त्र चाहनेले सोचुन् ।
यिनै विधिको शासन हुनुपर्छ पनि भनिरहेका छन् । भ्रष्टाचार हो विधिको शासन भनेको ? विधि निर्माताको पदमा बसेर ठेकेदारी चलाउन खोज्नेहरू सौ मुसा खाकर बिल्ली चली हजको चरित्र देखाइरहेका छन् । यस्तो चरित्रले नीति, नैतिकता र लोकाचार कायम रहनसक्दैन । निष्ठा नै नभएकालाई कानुन के, संविधान के ? पालिका निर्वाचनमा जेजस्ता दृश्यहरू देखिए, यसबाट नेपालमा लोकतन्त्र खर्चालु लगानी गर्ने व्यवसाय हुनपुगेको छ, जसले देशहित गर्नेछैन ।
जनयुद्धका घाउहरू, सुशासनका लागि सुकेका आँतहरू आलै छन् । प्राकृतिक र पार्टी पीडित आँखा ओभाएका छैनन् । यो अति दर्दनाक यथार्थ हो । परिवर्तन भयो, हिन्दुराष्ट्र र राजतन्त्र फालेर आयो के ? सुखानुभूति कसैल गर्न सकेनन् । यिनका गल्ती कमजोरी र घातको मूल्य देश र जनताले चुकाइरहेका छन् । किनकि जनसेवक, देशभक्त कोही जन्मिन सकेनन् । महाराजा धेरै जन्मिए, राजनेता एकजना पनि उत्पादन हुनसकेन । लोकतन्त्रको कारखानाबाट भ्रष्टाचार उत्पादन भइरहेको छ । भ्रष्टाचार लोकतन्त्रका लागि नर्ककुण्ड हो, जहाँ हामी चोपलिएका छौं ।
१ सय २६ जातिको देश, विविधतामा एकता भाँडिनेक्रम चलेको छ । मधेस, थारू, नेवाः, ताम्सालिङ, तमु, मगरात, कोचिला, लिम्बुवान, खम्बुवान, खसजस्ता भाषिक, जातीय, क्षेत्रीयताका राज्यका मुद्धाहरू उरालिएका छन्, उराल्न विदेशी लागेका छन् । नेपालको परराष्ट्रनीति पञ्चशीलमा आधारित थियो, त्यसलाई बिथोल्ने क्रम सुरू भइसकेको छ । नेपाल शक्तिराष्ट्रका पछि लाग्ने क्रम देखिन्छ, जुन भविष्यमा हामी सबैका लागि दुर्भाग्यपूर्ण बन्नेछ ।
जो देशका परिवर्तनकारी शक्ति थिए, तिनीहरू सत्ता स्वार्थन्धहरू कहिले स्वाधीनता र नागरिक सर्वोच्चता, कहिले अर्जुनदृष्टि र अग्रगमनका कुरा गर्छन् । व्यवहारमा पराधीनताका पछि आँखा चिम्लेर दगुर्छन् । यिनको यही चरित्रका कारण कहालीलाग्दो अनिष्ठको काला बादल मडारिन थालिसक्यो ।
राष्ट्र हाम्रो हो, हामी सबै मिलेर सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ, नयाँ नेपालको सुरूआत गर्नुपर्छ, नेपाललाई अग्रगमनकारी स्थिरता दिनुपर्छ भन्ने उच्च सोच कुनै पनि नेता वा दलले गर्नै सकेनन् । त्यसकारण यक्ष प्रश्न उठेको छ कि जनआन्दोलन नेपाली बलयुद्ध होइन रहेछ, बिदेशी छलयुद्ध पो रहेछ । यति बुझेपछि नेपाल सिक्किमीकरण नभए पनि फिजीकरण हुने प्रक्रिया सुरू भइसकेछ भनेर बुझ्न सकिन्छ । समयमै हामीले सत्य बुझ्न र अस्तित्वरक्षामा लागेनौं भने हातका सबै गुमाएर पुर्पुरोमा हात राखेर थक्क थक्क हुनुपर्ने दिन टाढा छैन ।
पार्टी संस्था हो, पार्टी बलियो हुनुपर्छ । पार्टी बलियो हुनु भनेको युवालाई विदेश निर्यात गर्ने, जो यहाँ छन् तिनलाई कार्यकर्ता बनाएर जी हजुरी गर्न लगाउनु होइन । यसरी त पार्टी बलियो होला, देश निर्धो हुनेछ । राष्ट्रियता कमजोर बन्नेछ । राष्ट्रको ताकत खोसेर नाताकत बनाउनु राजनीति होइन, राष्ट्रघात नै हुनेछ । जो भइरहेको छ । यसबारे सबै मौन छन् । हरेक पार्टीभित्र कुनै न कुनै प्रकारको उग्रता, असन्तुष्टि छ । त्यसमाथि उग्रदक्षिणपन्थी मधेसीहरू, उग्रवामपन्थी एमाओवादी, यी सबै उग्रतावीच नेपाली सार्वभौमिकता र स्वाधीनतामा अडिग छौं भन्ने अडान चाहिं कुनै नेता, पार्टीमा छैन । सबै कुनै न कुनै विदेशी ताकतमा संलग्न छन् । कति दुःखद छ यथार्थ ।
सबै सत्ताका पुजारी, सत्तालिप्साका भोका । देश र जनतामाथि किर्ना बनेर चुस्न पाइन्छ भने लम्पसार पर्न पनि तैयार । कति दयनीय भयो राजनीति ।
स्वार्थ मिलेन अथवा स्वार्थमा धक्का लाग्यो कि एकले अर्कोलाई विदेशी कठपुतली, भ्रष्ट, अनैतिक भनिहाल्ने । हुन त सर्पको खुट्टा सर्पले देख्ने हो । एकदोस्रालाई यिनले देखेका चिनेका र व्यहोरेका छन् । यति भए पनि कम्तिमा नेपालीत्वका लागि त एक हुनु नि । छैन, यी माटोमा उभिएका छन् कि मनीमा, सिद्धान्तमा उभिएका छन् कि स्वार्थमा ? यिनीहरू ऐनमा अनुहार नै हेर्दैनन् ।
त्यत्रो जनयुद्ध भयो, १७ हजार मारिए, बेपत्ता पारिए । भारतले हाम्रो संरक्षणमा भनिदियो । कांग्रेसको स्थापना भवानीपुरको भेलाबाट भएकाले कांग्रेसलाई भवानीपुरको भीड पार्टी पनि भन्ने गरिन्छ । किनकि नीति हरायो, भीडले हाँकेको छ ।
कुन दलले भारतको योजनामा ल्याप्चे ठोकेनन् । हरेक दलले हण्डर खाएका छन् तैपनि दलहरू चेत्दैनन्, सुध्रिदैनन् ।
मूल्याङ्कन नै गर्ने हो भने जोजति नेताहरू छन्, ती सबै बिसर्जनवाद, लम्पसारवादमा भिजेको देखिन्छ, ती कुनै लेण्डुप, मिर्जाफर अथवा क्विजलिङको राष्ट्रघातभन्दा कसरी कम छन् र ?
यति भए पनि हरेक पार्टी पंक्तिभित्र प्रचूर राष्ट्रवाद छ । प्रश्न यत्ति हो कि ती राष्ट्रवादी, चोखा युवाहरू छायाँमा छन् । विवेक छ, बोल्दैनन् । विचारप्रधान छन्, आँट गर्दैनन् । अवसरवादकै छायाँमा बस्न रूचाउँछन् । हरेक पार्टीमा देशभक्तको लामो लर्को, जो अगाडि आउन बढ्नै चाहदैनन्, सक्दैनन् । अनि विदेशवाद बढ्ने नै भयो, नेपालवाद टाक्सिने नै भयो । नेपालमाथि थिचोमिचो नबढेर के बढ्छ त ?
सीमा अतिक्रमण, सीमामा हुने अत्याचार र बिस्तारवादी हस्तक्षेपको प्रतिकार नभएको लामो समय भइसक्यो । लिखितमा एमाले, एमाओवादी, कांग्रेस, मधेसवादीहरूसमेत स्वाधीन पार्टी होलान् तर तिनको व्यवहारमा स्वाधीनता देखिन छाड्नु नेपाली राजनीतिक स्वायत्तताका लागि खतराको घण्टी हो ।
देउवामा नीति र नैतिकता छैन । यो कुरा सांसदलाई थाइलेण्डको बेश्यालयसम्म पु¥याउनुले प्रष्ट भइसकेको हो । उनले हाँकेको कांग्रेस कसरी वीपीनीतिको अनुशरण गर्ला र ? ओली र प्रचण्ड अथवा अरू ससाना पार्टी, तिनीहरूको गतिमति पनि स्पष् छैन । यथार्थमा राजनीतिका नाममा जनादेशमाथि बलात्कार बढेको छ ।
जनतालाई थाहा छ, बोल्दैनन् । तिनैलाई जिताउन मरिहत्ते गर्छन् । हाम्रा हुन् भन्छन्, हाम्राले भरिया बनाएको बुझेर पनि बुझ्दैनन् । राम्रालाई पन्छाउँछन् ।
यहीकारण हो, शासन प्रणालीको निर्णय गर्ने लोकबल नेताको बाहुबलमा रूपान्तरण हुनपुगेको छ । जनमतमाथि हिंसा बढ्यो, बढ्न दिएपछि बढ्छ ।
क्विजलिङ, लेण्डुप अथवा मिर्जाफरको उदय हुनसक्ने कारण जनता हुन् । विवेकशून्य भएका नागरिक समाज, बुद्धिजीवीहरू हुन् । यिनको चेतनाशून्यताका कारण साहस बढेको छ नेताहरूमा र तिनको क्रियाकलाप र निर्णयहरू राष्ट्रघातक हुँदै गएका छन् । नर्वेको आधिपत्य हिटलरलाई सुम्पेवापत हिटलरको निगाहमा प्रधानमन्त्री बनेका क्विजलिङले गरेको राष्ट्रघातका लागि उनलाई १९४५ मा मृत्युदण्ड दिइयो । सिक्किम १९७५मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई सुम्पेका लेण्डुप दोर्जी सराप बने । नेपालमा क्विजलिंग, मिर्जाफर र लेण्डुप निस्कने त होइनन् ?