राजन कार्की - -
सबै प्रकारका निरङ्कूशताको अन्त गर्ने कसम खाने हाम्रा नेताहरूले १५ वर्षमा निरङ्कूशताको अन्त गरे कि मलजल गरे ? समानता र विधिको शासन स्थापित गर्ने भनेका थिए, भयो कि भएन ? हत्यारा, विभेदकारी, हिंसात्मक सोच भएका र बलात्कारी, भ्रष्टहरू लोकतन्त्र लोकतन्त्र भनेर थाक्दैनन् । यो देशको लोकतान्त्रिक पद्धति स्वस्थ छ कि बिरामीमा पो प¥यो ? जनताले मूल्याङ्कन गर्ने स्थानीय चुनाव हो, चुनाव आयो ।
स्थानीय चुनावलाई केन्द्रीय स्तरका नेताहरूले जीवनमरणको सवाल बनाएर प्रचार प्रसार गरेको देख्दा लाग्छ– यो चुनाव नभएर युद्ध हो । चुनाव त निष्पक्ष, स्वच्छ र स्वस्थ हुनुपर्ने हो । नेताहरूको बोली व्यवहार देख्ने जो कोहीले भनेका छन्– आचारसंहिता पालना भएन ।
विश्लेषकहरूले चुनावको पूर्वसन्ध्यातिर आइपुग्दा अनुभव गरेको यथार्थ यस्तो छ–
ऐनामा दाग देखियो भनेर ऐना पुछ्दै थिए, दाग त अनुहारमा थियो, ऐना पुछेर मुहार कहाँ सफा देखिन्छ र ?
नेताहरू आफैप्रति विश्वस्त छैनन् । राजनीति सग्लियो भने सुशासन आउँछ भन्ने विश्वाससमेत यिनलाई छैन । यसैले जसरी पनि राजनीतिमा हावी हुनका लागि जस्तोसुकै गठबन्धन, निर्णय, आदेश दिन नेतृत्व पङ्क्ति चुकेको देखिन्न ।
२०४७ को संविधान लेख्नेहरू विश्वनाथ उपाध्याय, दमन ढुंगाना, लक्ष्मण अर्याल, मुकुन्द रेग्मी, भरतमोहन अधिकारी, माधवकुमार नेपाल, निर्मल लामा, रमानन्द प्रसाद सिंह, प्रद्यख्ुम्नलाल राजभण्डारी थिए । संविधान जारी भएपछि यिनैले र यिनलाई अघि सार्ने पार्टीहरूले भनेका थिए– यो संविधान विश्वको उत्कृष्ट संविधान हो । जसले उत्कृष्ठ भनेका थिए, आज पनि तिनै दल र दलका नेता राजनीतिका माउते रहेका छन् । तिनैले यो संविधान च्याते, ८ वर्षमा ३१ अर्व खाइसकेपछि २०७२ सालमा नयाँ संविधान जारी गरे, २०७४ सालमा कार्यान्वयन गर्न चुनाव पनि गराए । चुनाव जितेका र चलाएका यिनै दल र दलका प्रतिनिधिले हो । चुनावपछिको ५ वर्षपछि फेरि स्थानीय चुनाव हुन गइरहेको छ । यसपछि संघीय र संसदका आवधिक चुनाव हुनेछ । यो अवधिमा कुनै पनि नेता १८१६ मा सुगौली सन्धिमा जुन भूमिका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले अंग्रेज शासकबाट बक्सिस पाउन खेलेका थिए, त्योभन्दा अलग भूमिका यिनले खेलेको थाहा छैन । विदेशीहरूसँग जस्तोसुकै हुने नहुने सम्झौता गरिरहेका छन् । स्वदेशको शासनमा नीति, विधि र नैतिकता हुनुपर्ने सवाल बिर्सिएका छन् । जसरी पनि सत्ता, शक्ति र सम्पत्ति आर्जन गर्नु नै राजनीति ठानेका छन् । राजनीति विकृत भइसक्यो ।
विषय २०२० सालमा भारतीय राजदूत श्रीमन नारायणले राजा महेन्द्रको आरती उतारेका थिए, आज हाम्रा नेताहरू हूल बाँधेरै भारतीय दूतावास जान्छन् र राजदूतको ‘गायत्री मन्त्र’ सुनेर प्रसाद ग्रहण गरेर फर्कन्छन् । बहुदल आयो, लोकतन्त्र आयो, राष्ट्रिय अस्मिता र स्वाधीनताको विषय कहाँबाट कहाँ पुग्यो ?
जनतामा नैराश्यता छ, नेताप्रति, पार्टीप्रति आक्रोश छ भन्ने थाहा पाएपछि देशका प्रधानमन्त्री ‘यो यो उमेदवारलाई भोट देउ’ भनेर निर्देशन दिन्छन्, अर्का डाइनामिक नेता ‘हामीलाई भोट नदिए राष्ट्रिय संकट आउँछ’ भनेर धम्क्याउँछन् ।
लोकतन्त्रमा लोक जनार्दन हुनुपर्ने हो, नेताहरू त जनतालाई नोकरजस्तो निर्देश, आदेश पो गर्न थाले । यो त हजम भएन नि ? यति भन्न पनि पार्टीका बुद्धिजीवी, नागरिक समाज, चेतनशील बर्गले सकेनन् । विवेकी छन्, विवेकलाई जागरूक पार्न सकेनन् ।
चुनाव नै जित्नु लोकतन्त्र शिद्ध हुने हो भने लाइबेरियाका चाल्र्स टेलरले पनि चुनाव जितेका थिए । पछि उनै मानवता विरोध साबित भए । चुनावमात्र राजनीति होइन ।
चुनाव नै जित्नु लोकतन्त्र हुने भए १९७५ मा सिक्कमका काजी लेण्डुप दोर्जीले पनि चुनाव जितेका थिए । उनकै नेतृत्वमा संसदका ३२ मध्ये ३१ जनाले भारतमा मिल्न राजी छौं भनेर प्रस्ताव नै पारित गरिदिए । ते लोकतन्त्र थिए, राष्ट्र नै भारतमा बिलय गर्ने षडयन्त्र थियो । ‘जसरी पनि चुनाव जित्नैपर्ने’हरूले कतिसम्मको षडयन्त्र गर्छन् । देशप्रति गौरव गर्न नसक्नेहरूले दशै सिध्याउँछन् । कतै नेपालमा भइरहेको स्थानीय निकायको निर्वाचन स्वाधीनता र सार्वभौमिकताका लागि खतराको घण्टी त होइन ? सुन्नेहरूले खतराको आहट सुनेका छन् । बहाना गर्नेहरू मौन छन् ।
किनभने नयाँ नेपाल बनाउने, नेपाललाई स्वर्गजस्तो बनाउने भनेर लोकतन्त्र ल्याइयो । परिवर्तन भयो, भएर के गर्नु ? यो भूस्वर्गका बासिन्दा आँसुमा डुबेका छन् । जो स्वार्गधिकारीबनेका छन्, ती लोकलाई तर्साइरहेका छन्, हप्काइरहेका छन्, आफूचाहिं अर्काको रिमोटले चल्ने परजीवी बनेका देखिन्छन् । चाहेको स्वाधीनता, प्राप्त भयो बाहुबलीतन्त्र । पद्धति राम्रो भएर के गर्नु ? चालक जड्याह भएपछि । लोकतन्त्र धरापमा प¥यो, लोक जोखिममा परे । दुर्घटना पाइलैपिच्छे देखिन्छ ।
लोकतन्त्रमा लोक राम हुन्छन् । नेताहरू परदेशीलाई राम मान्छन्, लोकलाई दास ठान्छन् । योभन्दा विषालु मानसिकता अरू के हुनसक्छ ? सोचमै बिकृति भएपछि संस्कृतिको के आशा गर्नु ?
नित्सेले उहिल्यै भनेका थिए– लोक, नेतृत्वले ढाँटेकोमा निराश छैनन्, नेतृत्वमाथि विश्वास गर्न नसकेकोमा निराश छन् । नेपालको स्थिति परिस्थिति नित्सेको त्यो कथनसँग मेल खान्छ ।
सबैले प्रशंसा गरेका नेता थिए मनमोहन अधिकारी । उनले भनेका थिए– जनतातिर हेरौं । अर्का नेता थिए बीपी कोइराला । उनले भनेका थिए– हातमा माटो लिएर आफैलाई सोधौं, माटोले जे भन्छ त्यही निर्णय गर्नोस् । आज त्यस्ता नेताको स्कूलिङ्बाट निस्केका नेताहरू विदेशीको इसारा कुर्छन्, विदेशीले जे भन्छन् त्यही निर्णय गर्छन् । कठै लोकतन्त्र ?
हरेक कुरा छिमेकको नक्कल गर्ने नक्कले नेताहरूले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई फूल चढाउन सकिन्न भन्छन् । महात्मा गान्धीको समाधिमा शीर झुकाउँछन् । गान्धीको विद्रोह स्वाधीनताका लागि थियो, न्यायका लागि थियो । खराव व्यवस्था तिमीहरूसँगै राख, म नाङ्गिएर नाच्न सक्दिन । गान्धीका अनुयायी हाम्रा नेताहरू अन्यायका लागि, पराधीनताका लागि अग्रसर छन्, स्वाधीनता खुम्च्याउन नाङ्गिएर नाचिरहेका देखिन्छन् ।
महान कवि भीमनिधि तिवारीले लेखेका थिए– राज्य लिप्साले नेतालाई अन्धो बनाउँछ । जनताको आँखामा भ्रम छरेर र अस्वभाविक सपना देखाउनेहरूले जनताको काँध चढेर सत्तामा पुगेर अन्धो बनेका छन् । हामी धृतराष्ट्रको जस्तो अन्धो शासनबाट शासित छौं । जनआन्दोलन, जनयुद्ध र लोकतान्त्रिक शासन, जनताका लागि हिजो पनि सकस, आज पनि सकस नै छ ।
लड्ने पुस्ताले के पायो ? नयाँ पुस्ताले के पाउने आशा छ ? राजनीतिक चटके कमाल वर्तमानमात्र होइन, भविष्यसमेत मरिरहेको छ । पद्धतिप्रति जनविश्वास घटेपछि जनतामा उत्साह नहुनेरहेछ । जिवन्त बनाउने कसले ? यक्षप्रश्न खडा भइसकेको छ ।
जनयुद्धले जागरण ल्यायो, चेतना ल्यायो । त्यो चेतना किन अर्धमृत अवस्थामा छ । जनतामा आएको चेतना यही हो ? चेतनाले त चेत नेता जन्माउनुपर्छ, व्यक्ति वा समूहगत स्वार्थभन्दा माथि उठाउनुपर्छ । देश र जनता आकांक्षा बोक्ने ‘राजनेता’ जन्माउनुपर्छ । हाम्रा नेताहरू देशभक्तिका नाममा भ्रष्टाचार बोकिरहेका छन् । हेर्दा स्वतन्त्र नेपालको झण्डा फरफराइरहेको छ, यथार्थमा नेतृत्व बर्गले स्वतन्त्रता बन्दकी राखेर राजनीतिलाई मुनाफाको व्यवसाय बनाइरहेका छन् ।
नेताहरूले जनतालाई जनार्दन होइन, दासजस्तो हैकम चलाएको देख्दा लाग्छ प्राविधिक रूपमा कमैया मुक्तिको घोषणा ०५७ साल साउन २ गते भए पनि जनता कमैयाभन्दा माथि उठ्न सकेका छैनन्, राजनीतिक नेताहरूले माथि उठ्न दिएका छैनन् । नेताहरूले चुनावी भाषणबाजी गर्दा हामीलाई भोट नदिए राष्ट्रिय संकट आउनेछ भनेर जसरी आतंकित पारेका छन् । यथार्थमा लोकतन्त्रको कमैयाकरण भनेको यही हो । बँधुवा मजदुरकरण भनेको यही हो । सम्मानित तहमा स्थापित हुनुपर्ने राजनीतिक फाँट किन यसरी राजनीतिक रेडलाइट एरियाको कोठे दलाली खानेजस्तो बनेको ?
यी लोकतन्त्रे आवरणका कालिदासहरूलाई सुधार्ने आँट र साहस जनार्दनरूपी जनताकै काँधमा आयो ।
इतिहासमा पृथ्वीराज चौहानको देशभक्तिपूर्ण उज्यालो कथा छ । जयचन्दजस्ता देशघातक धोखेबाजको कालो बर्णन पनि पढ्न पाइन्छ । यी जयचन्दले आफ्नै शक्ति पृथ्वीराज चौहानलाई हराउन विदेशी ताकत महमद गोरीलाई भारत पस्ने ढोका खोलिदिएका थिए । जसरी लेण्डुप दोर्जीले १९७५ मा सिक्किमलाई भारतमा मिलाउन राष्ट्रघात गरे, जयचन्द त्यही कोटीका राष्ट्रघाती मानिन्छन् । त्यस्तै राष्ट्रघात गरेका छन् हाम्रा नेताहरूले बिगत १५ वर्षमा । स्मरणरहोस्, माओले सांस्कृतिक क्रान्ति सम्पन्न भएपछि ७० को दशकमा घुँडा टेकेर जनतासँग माफी मागेका थिए । हाम्रा समाजवादी र परिवर्तनकारी नेताहरूले एकपल्ट जनताका सामु घुँडा टेकेर बिगतका गल्ती कमजोरीप्रति माफी नमाग्ने हो भने जनार्दन जनता दास भएर देशको गजुर ढलेको कहिलेसम्म हेरेर मौन बस्ला ? नेपाली जनता सहनशील छन्, सहनशीलताको पनि सीमा हुन्छ भन्ने कुरा बिगतका जनाक्रोशलाई सम्झनु उचित हुनेछ । स्वाभिमान र स्वाधीनताले देश बाँच्छ । बन्छ । देश नै रहेन भने राजनीति कहाँ गर्ने ? स्वाधीनता कहाँ राख्ने ?
बुद्धका आँखामा आँसु बग्न थाल्यो । जनतामा हुटहुटी बढेको छ । निर्माणका लागि द्वन्द्व हुनुपर्छ, विनासका लागि उचित होइन । यसकारण जनताले बुझेका छैनन्, अझै छक्याउन सकिन्छ भन्ने भ्रम पाल्ने हो भने देशमा आँधी उठ्नसक्छ, पद्धतिले एकपल्ट फेरि कोल्टे फेर्नसक्छ । जनतालाई जनार्दन होइन, खेताला सम्झेर हैकम चलाउनेहरू सबैलाई चेतना रहोस् । समय घर्केपछि पछुताउनु पर्ला ।