स्वयम्भुनाथ कार्की - -
नेपालमा बुद्धिजीवि, राजनीतिकर्मी र यस्तै नामधारण गर्नेहरू ४७ सालदेखि मुखर भएका छन् । लाग्छ, उनीहरूको जीवनको एउटै लक्ष हो, राजा महेन्द्रलाई भयानक खलनायक सावित गर्नु । यसका निमित्त उनिहरूसँग न कुनै तथ्य छ, न कुनै घटना, केवल २०१७ सालमा संसदीय व्यवस्था हटाउनु बाहेक अर्को कुनै ठोस आरोप पनि उनीहरूसँग छैन । त्यसैले राजा महेन्द्रको कार्यकाल लुकाउनु र त्यस बखत भएका कामहरूको जस उनबाट खोस्नु एकमात्र कार्य गर्दैछन पनि ।
अचम्म लाग्ने गरेर महेन्द्र राजमार्ग समेतको नाम बदलेर पुर्वपश्चिम लोकमार्गसम्म भन्न भ्याएका छन् । उनी उपरको यो अपार घृणाको कारण देखाउन सकेका छैनन् । वीपी कोईराला प्रति डाह राख्थेसम्म भनिएको छ । तर यो कुरा स्वयं वीपीको आत्मवृत्तान्तमा उल्लेख गरिएका घटनाहरूले असत्य सावित गरिदिएका छन् । इतिहास निर्मम हुनुपर्छ, सत्य उदघाटनमा कुनै भेदभाव हुनु हुँदैन । त्यसैले विगत ३३ बर्षदेखि निरन्तर प्रतिपल अधिकार खोसिने, वेवास्था गरिने र कष्ट पाउने क्रम निरन्तर बढेको जनताले अव उनीहरूको कुरामा शंका गर्न थालेको छ । ४७ पछिका बर्षहरूमा नाम लिन पनि कठिन अवस्था पारिएका इतिहासका पात्र राजा महेन्द्रको स्मरण गर्नेहरूको संख्या बढ्दो छ । जति घटना र तथ्यहरू उजागर हुदैछन् ती सबैले राजा महेन्द्र आधुनिक नेपालका शिल्पी रहेछन् भन्ने तथ्य खुल्दै छ ।
छुवाछुत मुक्त र भेदभाव विहिन समाजको निमित्त राजा महेन्द्रले ठोस कार्य थाले । परंपरागत रूढीवादी समाजमा केवल कानुनले मात्र यस्ता कुरितीहरू समाप्त गर्न संभव हुँदैन । त्यसैले यसका निमित्त चेतनामुलक अभियान चलाए । ‘अछुत’ भन्ने शव्द नै विस्थापन गरेर ‘दलित’ शव्द प्रयोग भयो । यसले अछुत भन्दा मनमा त्यसप्रति आउनसक्ने घृणाको भाव भन्दा दलितले अन्यायमा परेको व्यक्ति भन्ने भाव मनोवैज्ञानिक रूपले स्थापना हुँदै गयो । सामाजिक रूपमा छुवाछुत मान्नेहरूलाई अपराधीको रूपमा कानुनी दायरामा ल्याईयो ।
सम्पूर्ण नेपाली जसको जे जातजाती भए पनि एकै नेपाली आमाको सन्तान हौ भन्ने चेतना पैmलाउने अभियान चल्यो । सूचना विभागले अनेकौ प्रचार सामाग्री वित्तचित्रआदि तैयार ग¥यो । यस्ता वित्तचित्रहरू मुलुकभर चलाईने गर्दथ्यो । सामाजिक शोषणको विरूद्ध जनचेतना भर्ने शुरूवात भयो । समाजले यो कुरा पचाउदै लैजाओस भन्ने कार्यनीति अपनाईयो ।
उद्योगमा मजदुरलाई रोजगारीबाट निकाल्ने वा अन्य शोषण नगर्न मालिकहरूलाई कानुनी दायरामा ल्याउन सकिन्थ्यो । कृषिमा हुने गरेको शोषणका कारक अनेकौ हुन्छन् । यसको निराकरण गर्ने पद्धति उनले पहिल्याए र समग्रमा यसलाई ‘भूमिसुधार’ नाम दिईयो । यो केवल जग्गाको हदवन्दी मात्र थिएन, कृषिपेशा संग जोडिएका हरेक पक्षमा भएका विसंगतिको सामना गर्ने अनेकौ कार्यनीतिहरूको संकलन थियो । यसलाई केवल जग्गाको हदवन्दीसँग मात्र जोडेर थप विकृति पैदा गरिएको छ ।
कृषिले सबै जनतालाई रोजगारी र आर्थिक उपार्जन संभव थिएन । त्यसैले औधोगिक नेपालको परिकल्पना गरियो । आफ्नो विदेश भ्रमणको वेलामा राजा महेन्द्र औद्योगिक जानकारीमा ज्यादा समय खर्च गर्दथे र त्यसलाई नेपाली समाजमा कसरी ढाल्न सकिन्छ त्यो चिन्तन गर्दथे । काठमाण्डौ उपत्यकामा औद्योगिक क्षेत्र स्थापना गरिसके पछि मुलुकका अन्य क्षेत्रमा पनि उद्योगहरू स्थापना गर्दै गए । यीनै उद्योगहरू बहुदल स्थापना पछि कार्यकर्ता भर्ति केन्द्र, आफ्ना शुभचिन्तक पुँजिपति रिझाउने साधन आदिको रूपमा प्रयोग भयो ।
यसमा उल्लेख कुराहरू अलिकति नमूना मात्र हुन । सबैको लेखाजोखा गर्ने नै हो भने विशाल ग्रन्थहरूको ठेली हुनसक्छ । सुनिएको हल्ला विश्वास गर्ने हो भने बहुदलको आगमन पछि संदर्भ सामाग्री हुनसक्ने कैयौ ट्रक वस्तुहरू रातारात नष्ट गरिए । यो हल्ला साँचो वा झुटो जे भए पनि त्यस कालखण्डका स्मारक सरह भएका भौतिक संरचनाका अवशेषहरूले आफ्नो उपस्थिति जनाउनु तर हुनुपर्ने अभिलेख त्यो पनि मात्र त्यही कालखण्डको नभेटिनुले शंका पुष्टि नै गर्दछ । त्यस्ता सामग्रीहरू जुन जनतामा पुगेका थिए फाट्टफुट्ट भेटिदैछन । यी नायकलाई जवरजस्ती खलनायक सावित गर्ने कुचेष्टाको उजागर गर्न निर्मम इतिहासलाई सन्दर्भ सामाग्री हुनेछन् ।