Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बहिष्कार गर्नुपर्ने चुनाव

२६ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

शाश्वत शर्मा - -
जनताको आशा र अपेक्षालाई संवोधन गर्न असफल भइसकेको गणतान्त्रिक संविधान अन्तर्गतको एउटा नाटक वैशाख ३० गते मञ्चन गरिदैछ । यो चुनावले मुलुक र मुलुकवासीलाई बोझमात्र थप्नेछ । यो चुनावका माध्यमबाट नाममात्रका जनप्रतिनिधिका रूपमा आफ्ना छोटे नेताहरूलाई व्यवस्थापन गर्दैछन् । उपल्लो दर्जाका नेताहरूले सिंहदरवार र त्यस अन्तर्गतका मन्त्रालय, विभागहरूबाट लुट्ने अनि मझौला र तल्ला स्तरका कार्यकर्ताहरूले स्थानीय निकायहरूमा बसेर सोहोर्ने । हामी निमुखा जनता चाहिं त्यस्तालाइृ मत दिएर आफू र आफ्नो मुलुकलार्य लुटाउने । धिक्कारै होस् हामीलाई । सबै यथार्थ थाहा छ, तैपनि यस्तो अभ्यासमा सहभागी हुँदैछौं । हामीले आफैलाई बुझ्ने र सही प्रतिनिधि छान्ने कहिले ? भ्रष्टाचार भइरहेको छ, गरिरहेका छन्, राष्ट्रघात र जनादेशको अपमान तिनको कर्म हो । हामी त्यही कुकर्ममा सघाइरहने ? त्यस्तालाई पटक पटक मौका दिने हामी नै गलत हौं । नैतिकता र अनुशासनहीनहरूले चलाएका कारण पद्धति र प्रणाली नै ठीक हुनसकेन । तैपनि हामीलाई चुनाव लागेको छ, हामी त्यस्ताको पछि पछि लागेर जिन्दावाद भनिरहेका छौं ।
जबसम्म हामी जनतामा चेत आउँदैन, तबसम्म नेता सुध्रिदैनन्, मुलुक सुध्रिदैन । हामी सबैलाई थाहा छ, यी सबै लुटाह हुन्, लुटिरहेका छन्, लुट्नकै लागि चुनावमा होमिएका छन् । पद्धति सुधार्न, नेतालाई सही मार्गमा उभ्याउन हामी तैयार छैनौं । यी नैतिकहीन नेताहरू स्वास्नी, छोरी, बुहारीलाई जिताउन कुर्लेका छन्, हामी सुनिरहेका छौं, ताली बजाइरहेछौं । हामी कस्ता ? हामी जस्तो छौं, नेतृत्व त्यस्तै पाउने हो । मतपत्र च्यातेर चपाएर, मत गन्ती गर्दा बत्ती निभाएर, बाकस नै साटेर चुनाव जितेकाहरूलाई आफ्नो प्रतिनिधि मान्नुपर्ने बाध्यता हामी भोगिरहेछौं । मेरी छोरीले चुनाव नजिते राष्ट्रिय संकट आउँछ भन्छन्, अर्की भन्छिन् हाम्रो पार्टि कांग्रेसले नजिते बजेट दिइदैन । यस्तो पनि लोकतन्त्र हुन्छ ? लोकतन्त्रमा जनता जनार्दन हुनुपर्ने हो, जनतालाई धम्क्याउँछन्, तर्साउँछन्, त्रासमा पारिन्छ । 
राज्यशक्ति र बाहुबली देखाएर जितिने चुनाव लोकतन्त्र हुन्छ ? यी सबै बिकृति देख्दा देख्दै पनि निर्वाचन आयोग नोटिस गरेर बसेको छ । राज्य ढुकुटीको अपचलन गरिएको छ । कतिपय चुनाव आयुक्तसमेत कुनै पार्टीका उमेदवारलाई जिताउने प्रचारमा समेत लागेका छन् । के हो यो ? यही दिनका लािग राजतन्त्रलाई बिस्थापन गरिएको हो ? चुनावपछि आउने नतिजा अहिले नै आँकलन गर्न  सकिने अवस्था देखिन्छ । अनि यिनैले भ्रष्टाचारको अर्को श्रृङ्खला सुरू गर्नेछन् । जनता सचेत छन्, त्यो विवेक जगाएर यस्तो नकाम सच्याउनतिर लाग्नैपर्ने भयो । अभिभावकविहीन राष्ट्रलाई एउटा दह्रो र विष्पक्ष अनि देशभक्तिपूर्ण अभिभावक दिलाउनतिर लागौं । अन्यथा झूठा सपना बाँडेर देश र जनतालाई यिनले लुटिरहनेछन् ।
अझै लाउडा, धमिजा, एनसेल, वाइडबडी विमान खरिद, सेक्युरिटी प्रेस काण्ड, ललिता निवास जग्गा प्रकरणजस्तो अनगिन्ति भ्रष्टाचार बढिरहनेछन् । यस्ता भ्रष्टहरूको आदेशमा तिनले तोकेको उमेदवारलाई जिताएर प्रतिनिधि छान्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । यसकारण विकल्प खोज्नेतिर लागौं । अभिभावक भएपछि धर्मबेचुवा, भ्रष्ट, राष्ट्रघातीहरू सतर्क हुनेछन् । अहिलेजस्तो खुलेआम लूट अभियान चल्नेछैन । गलत गर्नेमाथि कानुनी कारवाही हुनेछ । अचम्म त के पनि छ भने भ्रष्टाचार गर्नकै लागि सिद्धान्तहीन गठवन्धनहरू देखिएका छन् । यो भनेको सर्प सर्पको मिलन हो । विषालु विषालुहरूको मिलिभगत हो । जनताको आँखामा छारो हालेर ठूला नेताहरूले जे गरिरहेका छन्, गलत गरिरहेका छन् ।
यिनैले राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त गर्ने अनि यिनकै इसारामा फैसलाहरू हुने । यो विधिको शासन होइन, भ्रष्ट शासन हो ।संसदले बनाउनु पर्ने सरकार अदालतले बनाइदियो । अदालतले सरकार बनाउने हो भने संसद किन चाहियो ? लोकतन्त्र भनेको विधिको शासन हो, इमान र लोकाचारको शासन हो । यहाँ त नङ्गाबाबा नाचेझैं नाचेर शासन गरिरहेका छन् । नाङ्गो भएपछि के को लाज । नेपालको लोकतन्त्र र चुनावमा जे देखियो, त्यो नङ्गा नाचमात्र हो ।
गुण्डागर्दी गरेर ल्याएको शासनले दिने शासन यस्तै बेथिति शासन हो । अब पनि नेचेत्ने हो भने जनताले अर्को ५ वर्ष यसैगरी घुटघुटिएर बाँच्नुपर्ने छ । मानवीय संवेदनाहीन शासन बेहोर्ने कि बेथिति शासनको विकल्पतिर लाग्ने ? जनताका सामु यक्ष प्रश्न खडा भएको छ । स्वाभिमान बचाएर मुलुक जोगाउनकै लागि भए पनि यस्तो विकृतियुक्त पद्धतिको अन्त्य गर्न जरूरी छ । यसका लागि यस्ताखाले भ्रष्टलाई जिताउन चुनावमा भाग लिने होइन, बहिष्कार गर्नु बढी उचित हुनेछ ।