देवी कार्की – -
हामी एक सामाजिक प्राणी हौ । तसर्थ समाजका हरेक गतिविधिले हामीलाई असर गर्छ । अझ राजनीति त समाजमा समाजकै मानिसका लागि गरिन्छ । त्यसैले हामी जतिसुकै राजनीतीबाट पर भाग्न चाहेता पनि राजनीति हामीबाट पर जादैन । हामीले चाहेर वा नचाहेर पनि भएपनि राजनीतिले हाम्रो दैनिक गतिविधिलाई असर गरेकै हुन्छ । पटकपटक हामीले धोका खाएका छौ, दुःख पीडा र चोट पाएका छौ । देशको नेतृत्व तहमा पुगेका व्यक्तित्वहरुबाट चुनाव पर्चामा बोले बमोजिमको काम नहुनु र देशमा अनैतिक र अराजक कार्यहरु बढेर जानुले हामी सबै निराश भएका छौ । यस्तै निराशा बढेको बेला फेरि चुनाव आएको छ ।
देशका दक्ष जनशक्ति देश छोडेर पलायन हुनु पनि राजनीतिप्रति कै वितृष्णा हो । जहिले पनि चुनाव आउँदा जुन आशा र भरोसाले हामीले भोट दियौ त्यो भरोसामाथि नेतृत्व तहले पटकपटक कुठाराघात गरेका छन् । अब बेला आएको छ कुशल र असल नेतृत्वलाई चुन्ने अनि खराब र भ्रष्टहरुको जरै उखेल्ने । समाजमा अझैपनि मेरो बाजे यो पार्टीमा आबद्ध, बुबा यो पार्टीमा आबद्ध र आफन्त यो पार्टीमा आवद्ध, त्यसैले म पनि त्यही पार्टीमा भन्ने जुन परिपाटी छ त्यसलाई अन्त्य गर्नुपर्दछ । ‘राष्ट्र भन्दा ठूलो पार्टी, जनताभन्दा नजिकका आफन्त र माटो भन्दा महत्व धन केही हुँदैन । त्यसकारण हाम्रालाई होइन राम्रालाई रोजौ र देशमा आमूल परिवर्तनको निकास खोजौ । निर्णय गर्ने पालो हामी जनताको आयो ।’
अब बेला आएको छ नेपाली जनताले बुद्धि र विवेकको प्रयोग गर्ने । कसैको लोभ लालच र दबाबका आएर आफ्नो अमूल्य मतको दुरुपयोग नगरौं । जो स्वच्छ छवि र विकासप्रति कटिबद्ध छन्, उनैलाई रोज्ने बेला आएको छ । यदि हामीले आफ्नो बुद्धिमताको प्रयोग ग¥यौं भने परिवर्तन हाम्रै पालामा सम्भव छ । जसले पटकपटक मौका पाउँदा पनि केही गरेका छैनन्, त्यस्तैलाई फेरि मौका दिनु भनेको हामीले आफै माथि घात गर्नु हो । त्यसैले अब आफ्ना विगतका गल्तीलाई आत्मविश्लेषण गरेर समाजमा आमूल परिवर्तनका लागि होस्टेमा हैंसे गर्नु जरुरी छ । अब सबै जनता चेतनशील बन्नु छ अनि सम्पूर्ण राष्ट्रिय एकता कायम गर्नु छ ।