देवी काफ्ले –
महिला अधिकारको सुनिश्चितताका नारा बजारमा भजायर चुनावी रंगमन्च तयार गर्ने अनि नेतृत्व तहमा स्थान दिने बेला असक्षम ठान्ने, यसपाली भएन अर्कोपल्ट नत्र उपा र उपमा बस भन्दै आरक्षणमा समापन गराएर महिलाहरूको क्षमताको खिल्ली उडाउने प्रबृतिको बजारीकरण भयंकर चलेको छ । महिला महिलाकै ठूला शत्रुको रूपमा देखिएका छन् । पहिले पारिवारिक रूपमा शत्रुता देखाउँथे भने अहिले प्रतिद्वन्दी मात्रै हैन कि बिपक्षी दलका महिलामाथि महिला शत्रुता देखाइरहेका छन् । महिलाकै कारण अर्की महिला अवसरबाट बन्चित पनि हुँदैछिन् । उनै महिला चुनावका लागि मोहरा बनाईएका छन् । अहिलेको चुनावी माहोल पनि यहि हो ।
समाज कतिसम्म उन्नत छ, यो त्यस समाजका स्वास्नीमानिस कति उन्नत छन् भन्ने कुरामा भर पर्छ । सम्पूर्ण जनसंख्याको आधा हिस्सा स्वास्नीमानिस छन् ।आधा जनसंख्या भएका यी स्वास्नीमानिस यदि अशिक्षित र परनिर्भर नै रहे,यदि हिंसा र अत्याचारको सिकार भइरहे,यदि यी अत्याधिक संख्याको बुद्धि, शक्ति, क्षमता समाजका लागि कुनै काम नआए त्यो समाज पछि त पर्ने नै भयो । यदि स्वास्नीमानिस पछि परेमा प्रगति पनि पछि नै पर्छ ।यसको ज्वलन्त उदाहरण खोज्न टाढा जानू पर्दैन ।हाम्रै वरपर नियालेर हेरौं । स्वास्नीमानिस शिक्षित भएर पनि कुसंस्कारका बिरूद्धका लडाइँ उल्लेख्य मात्रामा भयको छैन । अन्धबिस्वासले गाडेको जरा यतिसम्म गांजियको छ कि आजको पिंढीले समेत स्विकारी रहेका छन् ।
समाज, राष्ट्र छिटो उन्नति चाहान्छ तर स्वास्नीमानिसको नेतृत्व चांहदैन,उनिहरूको स्वतन्त्रता देखिसहँदैन । स्वास्नीमानिसको निर्णय स्वीकार्न सक्दैनन् । आफूभित्रको कुसंस्कारका बिरूद्ध बाहिर बोल्छन् तर भित्र आंफैबाट अन्त्य गर्ने शुरूवात गर्न सक्दैनन् । स्वास्नीमानिसलाई नेतृत्व दिन हिच्किचाएको प्रत्यक्ष उदाहरण स्थानीय सरकारमा उपमेयर तथा उपाध्यक्षमा सिमित गर्न खोज्नु हैन र?
२१ औं शताब्दी, दुनिया कहाँबाट कहाँ पुगिसक्यो तर हामी अझ पनि रजस्वला भएकी स्त्रीलाई घरमा बस्दा पाप लाग्ने,देवता रिसाएर अनिष्ट हुने,समाजले पचाउन नसक्ने भन्दै छाउगोठमा बस्न र ज्यान समेत गुमाउन परेका दिष्टान्तले यो शताब्दीलाई कता धकेल्यो होला ? सरकारले कुसंस्कार बिरूद्धको अभियान चलाएर छाउगोठ भत्कायर त्यो चलन मासियो त?अहं यहाँ जे गरेपनि रितीरिवाजको नाममा स्त्री जाती प्रतिको बक्रदृष्टि बदल्न सकिदैन । जबसम्म स्वयं स्वास्नीमानिस पूर्ण शिक्षित भएर आत्मनिर्भर हुदैनन् तबसम्म महिला अधिकार के हो भन्दा ङिच्च दाँत देखायर हांस्ने मात्र हुनेछन् ।नेतृत्वमा जान उनिहरूलाई बैतरिणी नदी तर्नुपर्नेछ ।यश बिषयको ऐना अहिलेको चुनावमा उमेदवार चयन प्रकृयामा छरपष्ट देखियो । जब महिला उमेदवारहरू पुरूष उमेदवारलाई म नभए उहाँको नेतृत्व मान्य छ भन्न सक्छन् भने पुरूष उमेदवारले सबल महिलाको नेतृत्व ग्रहण गर्न सक्छौं भनेर नाम लिन कदापि सकेनन् । यस्ता दृष्टान्त उमेदवार चयन गर्ने प्रकृया छरपष्टिए ।
पुरूष अनि पुरूषवादी चिन्तन बोकेका महिलाहरू सजिलैसंग स्त्रीलाई चरित्रहिन बनाउछन् । एउटी छोरी कसैसंग बोली हिंडी भने बेश्याको संज्ञा दिईहाल्छन् ।यदि उनिहरूको सम्बन्ध गलतै भयपनि स्त्री एक्लै बेश्या कसरी हुन्छे ? यहाँ पुरूषप्रधानताले पुरूषलाई दोषि देख्न सक्दैन चाहे महिला होस् चाहे पुरूष होस् । यहाँ त शिक्षित भनिएका स्वास्नीमानिस नै अर्की स्वास्नीमानिसको खुलेर चरित्रहत्या गर्छन् त्यो बेला उनिहरू आफु पनि एउटा स्वास्नीमानिस हुं भन्ने बिर्सन्छन् ।अनि नपढेका, परनिर्भर रहेका स्वास्नीमानिसको अवस्था कस्तो होला ? अझ राजनीतिमा त स्वास्नीमानिसको खुट्टा तानेर तल झार्ने अस्त्रको रूपमा प्रयोग हुन्छ चरीत्र नामको टीका ।
स्वास्नीमानिस स्वभावैले कोमल हुन्छन् । उनिहरू प्रेममा सजिलै परिदिन्छन् ।पुरूषका मायाप्रेमका बातहरूमा स्वर्गै देख्छन् त्यसैले त चाँडैनै पुरूषलाई शरीर सुम्पिदिन्छन् ।त्यो प्रेममा उनिहरू आफ्नो सारा जीवन ब्यतित गर्ने सपना बुन्छन् । पुरूष चाहिँ चराजस्तै एकठाउँ अघायो अर्को ठाउँ चाहार्न थाल्छ ।मेरो आशय यो होईन कि सबै पुरूष यस्तै प्रबृतिका हुन्छन् ।
पुरूषले दियका वचनलाई शिरोधार्य गर्छन् ।जब उसले धोका दिन्छ तब फेरि स्त्रीजाती नै बदनाम हुन्छे । त्यो स्त्रीको समाजका भद्र भनाउदाहरूले पनि खुलेरै ईज्जतको तान्डव नांच नचाइदिन्छन् ।त्यसकासाथ लागि कसैले आवाज उठायो भने बहिष्कारका नारा लाग्छन् उदाहरण हेर्नू परे अहिलेका शिक्षित महिला, आफुलाई बरिष्ठ ठान्ने बुजुर्गहरूलाई हेर्दा हुन्छ ।यहाँ आरोप लागिसकेका ब्यक्तिका लागि कानूनभन्दा माथि आफुलाई राखेर एकोहोरो स्त्री बेश्या र आरोपितलाई शुद्धीकरण गरिन्छ । यदी स्वास्नीमानिस चरित्रहिन हुन्छे भने त्यसमा पुरूषको सहभागिता पनि बरोबर हुन्छ भन्ने बिर्सन्छौं । स्वास्नीमानिस हिंसामा पर्छे न्याय माग्न जान्छे भने त्यसमाथि हजार हिंसा थपिदिन्छन् न्यायमूर्तीहरू, जसको उदाहरण हो बझाङको अदालतको न्याय । एउटी जिम्मेवार स्वास्नीमानिसप्रति घर परिवारको जिम्मेवारी कति हुन्छ भन्ने उदाहरण त भेरीमा आफ्ना सन्तान सहित हाम फालेकी सुखीलाई सम्झे पुग्छ ।त्रिशुलीका किनारमा गिट्टी कुट्ने,लेकमा यार्सा खोज्न जाने,ईट्टाभट्ठामा काम गर्ने स्वास्नीमानिसलाई हेरे पुग्छ ।
संविधानमा महिला हक अधिकारका बिषय उल्लेख भएर के गर्ने जब ती कानूनी कुरा ओझेलमा परेका स्वास्नीमानिसका लागि हाउगुजी छ । जुन परिस्थितिका कारण सरकार फेरियो, ब्यावस्था फेरियो,गाउँ गाउँमा सिंहदरवार बने तर स्वास्नीमानिस अझै आफ्नो हक कहाँ उल्लेख छ थाहा पाएका छैनन् ।सरकार साक्षरताको तथ्यांक लियर रेडियो बजाउँछ । ती साक्षरमा गनिएका स्वास्नीमानिस कति शिक्षित भए ? हिसाब गर्दा पिसाब चुहिने डरले हो वा गणितिय शुत्रमा जोडघटाउ पनि नजानेर रूमल्लियको हो तथ्यांक बिभाग ?
जुनसुकै कुरा पनि ब्यावहारमा लागू नगरेसम्म मान्छेले बुझ्दैन ।नबुझाएसम्म र नबुझेसम्म ब्यावहारमा कसरी लागू हुन्छ?बुझ्नका लागि शिक्षित हुनुपर्यो ।सरकार औंठाछापलाई कखरा सिकाएर साक्षरताको तथ्यांक निकाल्छ ।हात कपाउंदै नाम लेख्दैमा शिक्षित हुन्छ र ? हांस्यास्पद कुरा ।