Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चुनाव अघि राजतन्त्रको चर्चा किन चुलियो ?

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - 
राजतन्त्रको चर्चा पुनः चुलिंदै गएको छ, यस पटक भने विपक्षले उठान गरेको चर्चामा पनि राजतन्त्रले समर्थन धेरै कमाउँदैछ । नेपालको अन्तरिम संविधानमा राजतन्त्रलाई पहिले निलंवन गरियो । त्यसपछि संसोधन गर्दै संविधान सभाले पहिलो वैठक मार्पmत अनुमोदन गर्ने गरेर खारेज गरियो । तत्काल अनेकौ तरिकाले उत्तेजित गराईएका भिडले यसको अनुमोदन गरेको थियो । यसको वैधानिकता खोज्ने काम गर्नै परेन । किनभने त्यो वेलादेखि नेपाल वैधानिकताले भन्दा केही राजनैतिक दलका नेताहरू, केही अन्तराष्ट्रिय संस्थाहरूले प्रदान गरेको सहायताले सञ्चालित संस्थाहरूको सहाराले बुद्धिजीवी भएकाहरू, परिचालित सञ्चारकर्मीहरू लगायतको दवावले चलेको छ । तर कुनै पनि अंकुश नभएको अनि सिद्धान्तको नाममा सनकमा चलेको वर्तमान नाममात्रको लोकतान्त्रिक व्यवस्थाले जनता आजित भएका छन् । 
त्यसैले कुनैवेला नाम लिंदा पनि कुल्ला गर्नु पर्छ कि भन्ने भ्रम पारिएको राजतन्त्रसंग आश गर्नेहरूको संख्या निरन्तर बढ्दैछ । यो बढोत्तरी रोक्न अव जसरी भए पनि सत्ता कायम राख्न जे पनि गरिन थालेको छ । यसले आगोमा घिउ थपेसरह हुँदैछ । फलतः राजतन्त्रको चर्चा खुल्ला वहसमा आउन थालेको छ । राजसंस्था पक्षधर भनिएका दलका नेताहरूले लामो समय रोकेर राखेको यो वहस उनिहरूको पलायन पछि तिव्र भएको छ । उसै पनि राजतन्त्र शव्द संग च्याँठिनु आवश्यक छैन, किनभने यो एक राज्य प्रणाली हो । जति पनि किसिमका राज्य प्रणाली, शासकीय स्वरूपहरू थिए, छन र हुनेछन् ती सबै राजतन्त्र कै परिवर्तित रूपहरू हुन । राजा मुलुकको सर्वोच्च पद हो, जहाँ राजा छैनन् त्यहाँ पनि कुनै न कुनै सर्वोच्च पद श्रृजना गरिएको नै छ । नेपालमा गरिएको परिवर्तनमा पार्टीनेताहरू आफै राजा बनेका कारणले पनि जनतामा नैराश्यता बढेको हो ।
राजा व्यक्ति कहिले पनि होईन यो संस्थाको नेतृत्व गर्ने पद हो जो अन्य धेरै सहयोगीहरूको साथमा मुलुकमा सुव्यवस्था कायम राख्छ, अन्याय अत्याचार हुन दिदैन अनि समृद्ध मुलुक बनाउन हमेशा प्रयत्नशिल हुन्छ । जुनसुकै व्यवस्था, प्रणाली, वाद सबैको आधारभूत न्यूनतम मान्यता र अवधारणा यीनै हुन । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, आदि जुनै पनि तन्त्र हुन सबैमा यही मान्यता लागु हुन्छ । मुलुकमा सुव्यवस्था, सुशासन कायम राख्नु हरेक राज्य प्रणालीको मुलभूत कर्तव्य र लक्ष हुन् । यी मान्यताहरूको वर्खिलापमा जाने सबै कर्तव्यच्यूत भएको मानिन्छ । कल, छल बल आदिले केहि समय कसैले मनोमानी गरे पनि कालान्तरमा त्यसो गर्ने तिरस्कृत हुन्छ नै । जसरी कोहि जिम्मेवारीबाट च्यूत भयो भन्दैमा प्रणाली नै च्यूत भएको मानिदैन त्यसै गरेर राजतन्त्र पनि व्यक्तिको व्यवहारले अछुत मानिन हुँदैन । उदारता राजनीतिमा जरूरी छ । सर्वोच्च पदमा पुग्ने प्रक्रिया हरेक तन्त्रमा अलग अलग हुन्छ । एउटै तन्त्रमा पनि अलगअलग स्थानमा अलग अलग प्रक्रिया देख्न पाईन्छ । जहाँ प्रजातान्त्रिक गणतन्त्रमा सिद्धान्ततः कोहि पनि नागरिकले त्यो स्थान हसिल गर्न सक्छ भने साम्यवादी गणतन्त्रमा 
(चल्तीको भाषामा जनवादी गणतन्त्र ) निश्चत मापदण्ड पुरा गरेको र पुरानोले पनि पत्याएको हुनु पर्दछ । राजतन्त्रमा उत्तराधिकारी तोकिने भएकाले साम्यवादी गणतन्त्र संग पुरानोले पत्याउनु पर्ने कुरा मिल्न जान्छ । राजतन्त्रमा उत्तरधिकार वंश परम्परामा जान्छ , वंश परंपरा तोडियो भने त्यो किन तोडियो भन्ने कुरा प्रष्ट गर्नुपर्ने हुन्छ । गणतन्त्रमा वंशमा उत्तराधिकार गयो भने किन भन्ने प्रश्न पैदा हुन्छ तर यो धेरैजसो वेला बाहिर आउने गर्दैन । 
अपवाद बाहेक सबै गणतन्त्रमा उत्तराधिकारी अनौपचारिक वा औपचारिकरूपले घोषित भई सकेको हुन्छ । राजतन्त्रमा वंश एउटै मात्र हुन्छ तर यस्ता गणतन्त्रमा जति नै जनता सर्वशक्तिमान भने पनि केहि परिवारहरूको अघोषित वचश्व हुने गर्दछ । श्रीमानको मृत्यु पछि श्रीलंकामा उनकी श्रीमतीलाई सत्ता सुम्पिइयो । नेहरूको मृत्युको केहि समय पछि उनकी छोरीले सम्हालेको सत्ता त्यसपछि छोरीको छोराले सम्हाल्न पुगे । यस भेकमा जनतामा व्यक्तिवंश पुजाको मानसिकता छ , त्यसैले बंगलादेशमा शेख हसिना वाजेद, खालिदा जिया , पाकिस्थानमा बेनजिर भुट्टो र त्यसपछि उमेर नपुगे पनि उनको छोरा विलावल जरदारीलाई विलावल भुट्टो भनेर भुट्टो परिवारको उत्तराधिकारी घोषणा गरियो । यसरी कहिले यो परिवारबाट फलाना र कहिले उ परिवारबाट चिलानाहरूको सत्तारोहण एक प्रकारको अवैधानिक राजतन्त्र नै हो । 
नेपाल पनि यसबाट अछुतो छैन, सत्ताका दावेदारहरू कुन कुन परिवारबाट कुन कुन नाताका तैयार हुदैछन त्यो खुल्ला गोप्य हो । नेपालले यस्तो विभिन्न परिवारमा छरिएर रहेको अर्धवैधानिक राजतन्त्र एक शताव्दी भन्दा ज्यादा श्री ३ महाराजको रूपमा भोगिसकेको छ । अव पुनः अनेकौ परिवारबाट उत्तराधिकारी आउन थालेका छन् । कुनै वैधानिक दायित्व बोक्न नपर्ने परिवारहरूबाट उत्तराधिकारी आउन थाल्दा गैर जिम्मेवार अवैैधानिक राजवंशहरूको विगविगी हुन्छ । यस्ता वंशहरू एक अर्कासंग समन्वय भन्दा ‘लडाई र प्रेममा सबै जायज छ’ भन्दै  प्रतिस्पर्घामा उत्रन्छन् । जवसम्म नेपालमा व्यक्तिवंश पुजाको मानसिकता कायम रहन्छ तर वैधानिक राजतन्त्र रहन्न तबसम्म यस्ता अवैधानिक राजतन्त्रहरू कायम रहन्छ जसको कुनै उत्तरदायित्व छैन । त्यसैले उत्तरदायित्व सहितको एक वैधानिक राजतन्त्रको उपस्थितिमा मात्र नेपालीले कष्ट भोग्नु पर्दैन । वैधानिक राजतन्त्रले उत्तदायित्व वहन गर्नैपर्दछ, त्यसले योग्यता र क्षमता देखाउनै पर्दछ । यसरी अभिभावकविहीन भएर राष्ट्र अघि बढ्न नसक्ने सत्य प्रत्येकले अनुभूत गरिसकेका छन् ।