Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनाक्रोश कति क्रुर हुन्छ, इतिहास पढ्नोस्

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

राजन कार्की - -
जनाक्रोश कतिसम्मको क्रुर हुन्छ भन्ने इतिहास हो– ३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइएको घटना । निरङ्कूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेलेको त्यो घटना तत्कालीन परिवर्तनकारी सभ्यताको सुरूआत मानियो । नेपालमा २०६३ सालको आन्दोलनले निरङ्कूशता फाल्ने माग ग¥यो । राजाको अधिकार कटौति गरियो र संविधानसभाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन ग¥यो । गणतन्त्र कायान्वयन विधिसम्मत थिएन भन्ने मत बलियो छ तर कार्यान्वयन भएरै छाड्यो र २०७२ सालमा संविधानमै संघीय गणतन्त्र नेपाल र धर्मनिरपेक्षता लेखियो ।
यो घटना जनादेशबाट होइन, नेतादेशबाट सम्भव भएको थियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक मातको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र ल्याइयो । हिन्दुवाद र राजतन्त्र संवैधानिक रूपमा शव मात्र हो । तर जनमानसमा बाँचेकै छ । जबसम्म नेपाल रहनेछ, राजाले निर्माण गरेको देश हुनाले राजाको अस्तित्व, राजतन्त्रवाद मर्नेछैन । नेपाल विश्वकै एकमात्र हिन्दुराष्ट्र थियो, यो मान्यता हिन्दुराष्ट्र पुनस्र्थापना भए वा नभए पनि रहिरहनेछ । 
संविधान जारी भयो, संविधान कार्यान्वयन भयो । संविधान कार्यान्वयन भनेको सत्ता परिवर्तन, निर्वाचनमात्र हो कि संविधानले आमनागरिकलाई प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयन पनि हो ? आमनागरिकका लागि संविधान के हो के हो ? भइरहेको छ । पार्टीहरूका लागि लोभ छ, लाभ छ, सत्ता छ, स्वार्थ छ, सम्पत्ति छ, शक्ति छ, यसकारण संविधान पार्टीहरूका लागि स्वादिलो भोजन बनेको छ । हुनुपर्ने संविधान विधिको राजमार्ग, भइरहेछ, लूटको अखडा । हरेक पार्टी नेताहरू सकेजति देश र जनतालाई लुटिरहेका छन् । त्यसैले ठूला नेताहरू गणतन्त्र राम्रो भन्छन्, आमनागरिकका लागि गणतन्त्र ‘अनावश्यक कर र भार’ मात्र बनेको छ । जनताले यो पद्धतिबाट केही पनि पाइरहेका छैनन् । बोल्न छुट छ, बोलीको ओजन छैन, सुनवाई कहीं हुँदैन । पद्धतिले दिनुपर्ने सुशासन हो, सर्बत्र कूशासनमात्र छ । यसकारण यो परिवर्तित अग्रगमन पूर्वीय नेपाली संस्कृति, संस्कार र सभ्यता मास्ने गनाउने हावा बनेको छ । भ्रष्टाचार र विदेशपरस्तता यति बढेको छ कि यो पद्धति महिसासूरले चपाएजसरी चपाएर राष्ट्र सिध्याउन अगाडि बढेको छ भन्दा हुन्छ ।
२०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि पहिले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्छु भन्ने प्रचण्डले मुख मोडे, आफै राष्ट्रपति बन्न चाहेको पोष्टर वाइसीएलमार्फत त्रिपुरेश्वरको मोडमा टाङ्न लगाए । गिरिजाप्रसाद र नेपाली कांग्रेसीको त्यतिबेला अनुहार हेर्न लायक थियो ।  सिद्धान्तहीनताको त्यो पाप र पीपको पोखरी अझै सुकेको छैन, माओवादी धापमा झन झन धसिदै र पुरिदैछ कांग्रेस । आफूलाई प्रजातन्त्रको बिडा उठाउने दल भन्ने कांग्रेस आज पनि कम्युनिष्टको बैशाखी टेकेर प्रजातान्त्रिक अभ्यासमा अग्रसर देखिनु बीपी कोइरालाजस्ता नेताको अपमान हो । कांग्रेसजन आफ्नो पहिचान बिस्तारै बिर्सदै गएको छ । कांग्रेसले हँसिया हथौडामा भोट हाल्नु ऐतिहासिक घटना थियो, स्थानीय चुनाव हुने आगामी वैशाख ३० गते पनि त्यही हुनेवाला छ ।
२०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति थियो, कम्युनिष्टकै कारण कांग्रेसले त्यो सहमति तोड्यो । कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हाल्नु सैद्धान्तिक बिचलन थियो, त्यो बिचलन झन् झन् बढेर जाँदो छ । महेन्द्रको जुत्ता लगाएर माइलाछोरा ज्ञानेन्द्र सफल हुनसकेनन् । प्रचण्डको जुत्ता लगाएर गिरिजाप्रसाद तीन बल्ड्याङ् खाए । सफल व्यक्तिको जुत्ता लगाउँदैमा जुत्ता लगाउने अग्लो हुने होइन रहेछ । मदन भण्डारीकी पत्नी राष्ट्रपति छिन्, उनले पनि ऐस आरामलाई महत्व दिइन्, महिला राष्ट्रपति हुँदैमा महिलाले समानता र अधिकार पाउने होइन रहेछ । यसका लागि त सत्ताधारीमा चेत, त्याग र तपस्या र आममहिलामा अधिकारप्रतिको चेतना, चाहिने रहेछ भन्ने सबैले चाल पाए, थाहा पाए । यसकारण त परिवर्तनअघि महिला जहाँ थिए, अहिले पनि हिंसा भोगिरहेका छन्, अन्याय सहिरहेका छन् । मिसाइल मेन अब्दुल कलाम भन्थे– परिवर्तनको पहिलो स्कूल घर हो, शिक्षिका घरकी आमा हुन् । यो सत्य हामीले बुझ्ने कहिले, आमाहरूलाई शिक्षित पार्ने कहिले ?
८ वर्षमा जारी हुन नसकेको संविधान फास्ट ट्याकबाट २०७२ मा जारी गरियो र चुनाव भयो । चुनाव यति खर्चालु भयो कि चुनावपछि भ्रष्टाचार र अनियमिततामात्र बढ्यो । सांसद ठेकेदार बने, माओवादी र एमाले मिलेको देखियो, जोडन खुस्केर चुडिएको पनि देखियो । कांग्रेसले कम्युनिष्टलाई भोट हालेको देखियो । स्थानीय चुनाव आएको छ, कम्युनिष्टले रूखमा, कांग्रेसले हसिया हथौडामा भोट हालेको देखिनेवाला छ । राजनीतिमा सिद्धान्त, सिद्धान्तप्रति निष्ठा र उच्च नैतिकता हुनैपर्छ । लोकतन्त्र यही विशेषतामा चल्ने पद्धति हो । नेपालको लोकतान्त्रिक दैनिकी नैतिक देखिदैन ।
संसारमै स्थानीय चुनावमा पार्टीहरूबीच गठबन्धन हुँदैन । गठबन्धन केन्द्रमा सत्ता सञ्चालनका लागि हुने गरेका छन् । अजब नेपालमा गजब चाला, स्थानीय चुनावमै कांग्रेस र कम्युनिष्ट मिलेको देखिन थालेका छन् । पार्टी पार्टीबीच गठबन्धन भइरहेका छन् । यस्तो गठबन्धन अमूक पार्टीलाई नेतालाई एक्लाउन र खुइल्याउनका लागि भइरहेका छन् । यो स्वस्थ लोकतान्त्रिक चरित्र होइन । वैशाख ३० को पालिका चुनावमा आश्चर्यचकित पार्ने कांग्रेस, कम्युनिष्टको चरित्र खुलस्त हुनेवाला छ ।
केही उत्साही युवाले जनताको प्रतिनिधित्व गर्दै पहिले झलनाथ खनाललाई, पछि प्रचण्डलाई झापड र जुत्ता हाने । यति हुँदा पनि यिनले आफैलाई राज्यको मानपदवी दिलाउन, राज्यदोहन गर्न छाडेनन् । जनभावनालाई नेतृत्वले कहिले बुझेनन् । ओलीले बुझेनन्, देउवाले बुझेनन् । बुझ्ने होनहार युवाहरू छन् हरेक पार्टीमा, तिनीहरू विवेकशुन्य भएर चुपचाप छन् । जब युवाहरू बोल्दैनन्, चुनावबाट जित्ने बाहुबली, भ्रष्टले नै हो । भ्रष्ट र अनैतिकले चुनाव जित्ने भनेको अर्को ५ वर्ष पालिकाहरू गनाउने निश्चित मान्दा फरक पर्दैन । आमनागरिकलाई हाम्रोलाई होइन, राम्रोलाई चुनावमा जिताऔं भनेर उत्साह भर्ने कोही देखिदैनन् । सबै आआफ्ना हँसिया आआफैतिर तानिरहेका छन् ।
सांसदलाई सडकमै गोली हानेको घटना पनि नेपालमै भएको हो । अहिले देउवालाई भुइँमान्छेको चर्को विरोध आँधीबेहरीभन्दा कम छैन । प्रचण्ड र ओली पनि आलोचित छन् । हरेक ठूला नेता निरंकूशमात्र होइन, भ्रष्टाचारी पनि हुन् । संविधानलाई राजनीतिकरण गरेर, कानुनव्यवस्थालाई अपराधिकरण गर्ने मूल नाइके यी सबै हुन् । जवाफदेहीता र जिम्मेवारी कसैले पनि लिएका छैनन् । सबै लाभ लिने र गैरजिम्मेवार भएका छन् । गैरजिम्मेवारले चलाएको लोकतन्त्रको बेहाल छ । बेहाल लोकतन्त्र लथालिङ्ग हुनु स्वभाविक हो । यसकारण प्रश्न उठ्यो— यही हो लोकवाद, जनवादको राजमार्ग ? 
हिजो भुइँमान्छे प्रताडित थिए, आज पनि प्रताडित नै छन् । न्याय कुन चराको नाम हो कसैले बताउन सक्दैन । अन्याय बढेको छ । आज गठबन्धन र प्रधानमन्त्री देउवा, प्रतिपक्षी ओली तिनै भुइँमान्छेबाट निन्दा र घृणाका पात्र बनेका छन् । भुइँमान्छेभित्रको आक्रोश आगो हो भन्ने कुरा इतिहासले पनि प्रमाणित गरेको छ । डढेलो लागेपछि सत्ता र शक्तिले छेक्न सक्दैन । चेतना नेतृत्वपंक्तिलाई होस् ।
३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्द‘ल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि छन् । पादरी ग्याफ्नी र जापानी भिक्षुको हत्या प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? लोकतन्त्र विकल्पहीन छ भन्ने नेताहरूले भन्नुपर्दैन— १९९३ मे १६ का दिन जनताको बहुदलीय जनवाद विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट कसले, किन खसाल्यो ? कुन उद्देश्यका लागि मा¥यो ?
र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ? गंगामायाँ अधिकारीले किन न्याय पाइनन् ? टीकापुरमा किन दुधेबालकको हत्या गरियो ? निर्मला पन्तको बलात्कारी र हत्यारा को हो ? ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार हत्यारा को को हुन् ? राष्ट्रिय ढुकुटी र राष्ट्रिय सम्पत्तिलाई फुपुको श्राद्धमा उडाएजसरी उडाउने शासकहरूले जे गरिरहेका छन्, त्यो लोकतन्त्र नै हो त ? परिवर्तनबाट समृद्धि, शान्ति र सुखानुभूतिको अपेक्षा गर्ने सोझा जनताका सामु यी परिवर्तनका नायकहरू अर्काले ठड्याइदिएका बुख्याँचा, पुतला साबित भइरहेका छन् । योभन्दा राष्ट्रिय असफलता अरू के हुनसक्छ ?
लोकतन्त्र मान्नेहरूले भन्नैपर्छ— नेपाली कमारा हुन् कि सार्वभौमसत्ता सम्पन्न नागरिक ? सार्वभौम हुन् भने सार्वभौमिकता मजबुत पार । वर्तमान नेतृत्वले जनता हेप्दाको इतिहासका क्रुर घटनाक्रमलाई अध्ययन गरून् । किनकि जनता जागेपछि जस्तोसुकै बलिदान गर्न सक्छन् ।