शाश्वत शर्मा - -
हिन्दूराष्ट्र र राजतन्त्र बकसमा पाइएला ? आर्जन गर्ने हो भने किस्मत गर्नुपर्छ, फोस्रा नारा लगाएर कसले देला हिन्दुराष्ट्र र राजतन्त्र बकसमा ?
नेपालमा हिन्दूधर्म र राजतन्त्रको आवश्यकता जनताले देख्छन् भने पुर्नबहाली हुनैपर्छ तर नेपालीको बलमा । हिजो भारतीय विस्तारवादको सहयोगमा राजतन्त्रलाई र युरोपियनहरूको समर्थनमा हिन्दूधर्मलाई जबरजस्ती, गैरसंवैधानिक तरिकाले समाप्त गरिएता पनि, अव पुर्नबहाली चैं नेपालीहरूकै बलमा गरिनुपर्छ । राजनीतिक दलहरू असफल हुँदै गएपछि र चुनाव नगिचिदै आएको सन्दर्भमा पूर्वराजा पुनः दिल्ली तीर्थयात्रामा जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने विषयले निकै चर्चा पाएको छ, राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना हुने चर्चा बाक्लिएको छ । नेपाललाइ पुनः हिन्दूराष्ट्र बनाइनुपर्छ भनेर भएका जेजति सडक आन्दोलन थिए, ती तुहिए, हल्ला बढी भयो, विद्रोहले आँधी हुरीको अवस्था सिर्जना हुनसकेन ।
नेपालमा भएका हिन्दुवादी आन्दोलनमा भारतीय हिन्दू नेताहरू (सी, डी ग्रेडका) कुनै धक नै नमानीकन समर्थन गर्ने गरेका थिए । भारतीय जनता पार्टी र त्यहाँको राष्ट्रिय स्वयंसेवक संघका नेताहरूले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ पनि भनेका छन् । तर पनि नेपाली हिन्दुवादीहरूले आन्दोलनलाई चर्काउन सकेनन् । विदेशी समर्थनमा जनयुद्ध, जनआन्दोलनको बलमा धर्मनिरपेक्षतावादीहरूले राजतन्त्र र हिन्दुराष्ट्र फाले । ९४ प्रतिशत ॐकार परिवारको बल र बुता देखिएन । आँट चाहिन्छ विद्रोह गर्न । आँट नदेखिएपछि धर्मनिरपेक्षतावादीहरूले दबाए ।
भारतका नेताहरूले आन्दोलन चर्किन लाग्यो कि समर्थन गर्छन्, सहभागिता पनि जनाउँछन् । यो नेपालीलाई पाच्य हुनेगरेको छैन । केही प्रतिक्रिया यस्तो छन्– ताकत छ, हिन्दूधर्मसँग त्यस्तो मायाँ ममता छ भने, हिन्दुस्तानलाई नै हिन्दूराष्ट्र घोषणा गरून्, नेपालमाथि हस्तक्षेप किन ? हुन पनि आफ्नो मुलुकमा हिन्दूधर्मका लागि सिन्का समेत भाँच्न नसक्ने यी हिन्दूवादी भारतीय नेताहरू नेपाल र नेपालीहरूलाई हेप्दै अर्काको मुलुकमा आएर अर्ति उपदेश दिन्छन् । नेपालका हरेक परिवर्तनमा साथ दिएजस्तो गरेर हैकम चलाउने भारतीयको पुरानै बानी जो छ ।
बास्तवमा कमजोरी ती भारतीयको होइन, कमजोरी नेपाली हिन्दूहरूमै छ । जसले यी विदेशीहरूलाई आफ्नो मञ्च उपलव्ध गराउने गरेका छन् । आफ्नो ’घर झगडा’मा छिमेकीलाई हारगुहार गर्दै बोलाएपछि मतलबखोर छिमेकीले त ’चान्स’ लिन्छ लिन्छ । जसरी जनयुद्ध र जनआन्दोलन अघि र पछि लिए ।
भन्नुको तात्पर्य ती विदेशी (भारतीयहरू) लाई तथानाम गर्नुभन्दा पनि स्वतन्त्र र्साभौम मुलुक नेपाललाई भारतको कुनै एक प्रान्त सरह मानेर यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गराउनका लागि निम्ता गर्ने कथित हिन्दूवादी नेपाली नेताहरू कै सरासर गल्ती धेरै छ । यी परजीवी मानसिकतामा बाँचेका छन् । त्यसरी बकसमा प्राप्त भएको ‘हिन्दूराष्ट्र’ राजतन्त्र भन्ने बिल्ला के काम ? ताकत छ, हिम्मत छ भने नेपाली जनतालाई यस विषयमा ‘कन्भिन्स’ गराउ अनि तिनकै बलमा हिन्दूराष्ट्र, राजतन्त्र स्थापना गर । कुन दुलामा लुकिरहेका छन्– राजावादी, हिन्दुवादीहरू ?
यत्रो शक्तिले अर्काको भर पर्ने ? बकसका लागि हार गुहार गरेर हात थाप्ने ?
हिजो भारतीय बिस्तारवादको सहयोग र त्यसैलाई हस्तक्षेप गर्न लगाएर नेपाललाई तहसनहस गराइयो भनेर यी ‘मनुवा’हरूले कुन आधारमा भन्न मिल्छ ? भारतवादी नेताहरूले गर्दा बेठिक, आफूले गर्दाचैं ठिक भन्ने कहीँ हुन्छ ? अहिले सी, डी ग्रेडका भाजपाका नेताहरूलाई हिन्दूवादी र राजावादी व्यक्तिहरू, संघसंस्थाहरूले नेपाल बोलाएर भाषण गराउन, भारत नै पुगेर जी हजुरी गर्ने, कार्यक्रमहरू सञ्चालन गर्ने, अनि आफ्नो पक्षमा बोल्न लगाउने प्रचलन बढेको छ । यो ठिक होइन ।
मुखले कांग्रेस, एमाले, एमओवादीहरूलाई भारतीय दलाल भन्ने तिमीहरू ? उनीहरूलाई दलाल देख्नेले आफै दलालीमा उत्रिनु हुन्न । स्वाधीनता र सार्वभौमवादीहरू यसरी घरझगडा, राष्ट्रिय मुद्दाहरू सुल्झाउन विदेशीलाई न्यायाधीश बनाएर बोलाउँदैनन् । निश्चित रूपमा नेपाललाई हिन्दूराष्ट्र, राजतन्त्र घोषणा गराउनु पर्छ । यही हो नेपालको पहिचान । तर नेपाल हिन्दूराष्ट्र घोषणा हुनुपर्छ, नेपालीको ताकतले, नेपालीको पाखुरीले । संवैधानिक राजतन्त्र चाहिन्छ भने त्यो पनि भारतले दिने अथवा उसको समर्थनमा हामीले पाउनु गलत हुनेछ । हामी आफैले नेपालमा के चाहिन्छ, त्यसको आर्जन गर्नुपर्छ । नेपालीको चाहना छ भने नेपाली जनता घरघरबाट उठ्नुपर्छ, र, त्यही चाहनाको धरातलमा हिन्दूराष्ट्र अथवा राजतन्त्र पुर्नस्थापना हुनुपर्छ । बुझौं– मागेको भीख, बाटैमा ठिक । भीखले स्वाभिमान बच्दैन ।