Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

खुशी खोज्न टाढा नजानुस्

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

देवी काफ्ले – 
एक दिन मातातीर्थ स्थित बृद्धाश्रममा गएं ।जब गेटबाट भित्र छिरे बृद्ध आमाहरू को आयो धनेर कोही बरण्डामा,कोहि ढोकाबाट चियाउंदै हुनुहुन्थ्यो । सायद परिवारको कोहि आयो कि भनेर होला । मसंग उहाँहरूसंग बोल्ने आँट आएन । त्यहिका एकजना  समितिका ब्यक्तिसंग सोधें कहाँबाट कस्ता परिवारबाट आउनुभएका छन् भनेर, सुन्दा म झसँग भएँ । कोहि छोराले घरनिकालेका थिए त कोहि छोरीले । गल्लीमा भेटिएका, मन्दिरमा भेटिएका आमाहरू पनि त्यस आश्रममा रहेछन् ।
यहि चैत्र २३ गतेका दिन धादिङको धार्के नजिकै एउटा कार्यक्रम थियो । कार्यक्रम मैले मेरो सासुआमाको खुशीका लागि राखिएको थियो । मेरी ८१ बसन्तमा उकालो लागेकी सासुले अचम्मको ईच्छा रहेछ, सुनेर हामी औधी खुशी भएका थियौं । उहाँलाई कुनै किसिमको दुःख छैन तर ८० बसन्तसम्मका भोगेका, देखेका उकाली ओराली, जीवनका अनन्य कथा अन्तर्कथाका कुन्तुरा त खोली साध्य छैन तर एउटा बेदनाले उहाँलाई असाध्य छोएको रहेछ । पाँच छोरा, छ छोरीकी आमाका ब्यथा कस्ता होलान् अनि त्यो समय परिवेश । तै पनि आफुले महसुस गरेको तर ब्यक्त नगरेको एउटै रहर ती अभावमा बाँचेका आमाहरूको ब्यथामा आफु पनि समाहित हुन खोज्नु ।
मलाई अनायास भन्नुभयो बृद्धाश्रममा गएर केही धोती दिनु पर्यो । शुरूमा त म अचम्म परें । तिर्थ लगिदेउ भन्ने बेला आश्रममा कपडा बाँडिदे भन्ने के भाको होला भनेर तर पछि उहाँले ति असहाय, गरिबीले एकसरो फेर्न नसक्दा कस्तो बोध गर्छन् त्यो बेला एउटा टालो पनि कति महत्वपूर्ण हुन्छ मैले देखेकी छु । मलाई खुशी लाग्नेछ कि तिमीले गरिबीको मारमा थिचिएका ती आमाहरूको आँखामा थोरै खुशी देख्न पाएं मलाई चारधाम तीर्थयात्रा गरेजतिकै सन्तुष्टि मिल्नेछ भनेको सुन्दा खुशीको सीमा थिएन ।
मैले देखेकी थिएँ, एकपल्ट भारतको बृन्दावनमा तिर्थयात्राको लागि प्याकेजमा एकजना पण्डितजीले लैजानुभयो । त्यहाँ पुगेपछि हामीलाई धर्मको नाममा औधि लुटिनेरहेछ । भएको पैसा जति फर्काउनु हुदैन भनेर व्याख्या गरिदिए । त्यहाँ कृष्ण मन्दिरको लागि पैसा मजाले ऐंठे । म निकै कुण्ठित भएँ  । हुन त धर्मको जात, भाषा, देश हुँदैन तर पनि मेरो मन अति क्रुद्ध भयो । मेरी सासुले दान दिनुपर्यो भन्दा मैले नेपालकै मन्दिरमा दिउँला, गरिबलाई खुवाउँला, पण्डितलाई दान गरूला यहाँ पैसा खर्च नगरौं भनेकी थिएँ । उहाँले मेरो कुरा जायज मानेर हुन्छ भन्नुभयो । धर्ममा म पनि बिश्वास राख्छु तर धर्मको नाममा लुट्नेहरूको खेदो खन्न मन लाग्छ ।
सासुआमाको ईच्छाअनुसार मैले धादिङलाई नै गन्तव्य रोजें किनकी त्यहा मेरा हितैषी र शुभचिन्तक साथीहरू हुनुहुन्छ । अर्को कुरा राजधानीको नजिक भएर पनि बिकटको पीडा बोकेका कैयन ठाउँ र जनता छन् त्यहां । २२ गते सुरेश आचार्यजीले २३ गतेका लागि कार्यक्रम राख्न समय मिलाउनु भयो । सुरेश आचार्य अति सहयोगी, मिलनसार र जिम्मेवार ब्यक्ति हुनुहुन्छ । जनताको सेवामा अति खट्ने पनि । अर्का युवा साथी प्रदिप कोइराला पनि उत्तिकै सहयोगी र असल ब्यक्ति । त्यसैगरी सृजना चापागाईं उस्तै नेतृत्वदायी भूमिका बखुबी निर्वाह गर्न सक्ने सबल महिला हुनुहुँदो रहेछ । यस्ता अब्बल साथीहरूको साथ पाए पछि मलाई खुशी खोज्न सहज हुने नै भयो । जब २३ गते कार्यक्रम तय भयो भने मैले तब देखि सासुआमा खुशिले गदगद हुनुभयो । रातीदेखि नै उठेर कतिबेला जाने भन्दै निकै उत्सुक हुनुहुन्थ्यो । आठ बजेको कार्यक्रम भएकाले हामी सात बजे नै हिंड्यौ । निर्धारित समय अनुसार हामीले आठ बजे नै पुग्यौं । २०÷२२ जना आदरणिय आमा, दिदीबहिनी जुटाउनु भएको थियो । हामीलाई स्वागत गर्न सुरेश आचार्य र प्रदिप कोईराला बाटोमै आईपुग्नु भएको थियो । सासुआमाको मुखमा अथाह खुशि झल्किरहेको थियो । हामीसँग सम्पत्ति भएर वा अरूसँग केही नभएर गएका थिएनौं । सासुआमाको हातबाट केही थान कपडा २० जना आमाहरूका हातमा राखिदिंदाको अथाह खुशी मैले सायद आजसम्म देखेकी थिईन । मेरो यो प्रसंग मैले गरेको कामको प्रशंसा पाउनका लागि होइन हामीले हाम्रा सिनियर सिटिजनलाई दिने खुशि खोज्न टाढा जानू पर्दो रहेनछ । हामी कति ब्यस्त छौं ? परिवारको लागि एकछिन समय निकालेर बस्न,कुरा गर्न कोसिस गर्दैनौ । तैपनि उहाँहरूले हाम्रो ब्यस्तता बुझ्नुभएको हुन्छ केही गुनासो गर्नुहुन्न तर हामी सिनियर सिटिजनलाई किन अर्घेलो गर्ने गर्छौं ? भोलि हाम्रा दिन त्यस्तै आउँछन् भन्ने किन सोच्दैनौ ? सिनियर सिटिजन हाम्रा जिउँदा ईतिहास हुन् । संस्कार,संस्कृतिका धरोहर हुन् । ती जिउंदा ईतिहासलाई सम्हालेर, ससम्मान राख्नु हाम्रो कर्तव्य हो । खुशी दिन, खुशी खोज्न टाढा जानुपर्दैन । देवता खोज्न टाढा जानू पर्दैन । हाम्रा बृद्ध बाआमालाई सेवा गरौं । सम्मान गरौं । ओल्डेस्ट होम हैन आफ्नै होमको खाँचो छ । सबैमा सद्बुद्धि पलाओस् । कार्यक्रमका लागि ब्यस्तताका बावजुद पनि सहज गराइदिनुहुने शुरेस आचार्य, प्रदिप कोइराला र सृजना चापागाईं प्रति आभार ब्यक्त गर्दछु ।