Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नकारात्मक सोचको उत्थान र उत्कर्ष

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
चाहे कारण जे होस पञ्चायतकालमा नकरात्मक सोचको बिजारोपण गरियो । सत्र सालमा प्रतिवन्धित भएका दलहरूले निरन्तर त्यो व्यवस्थाको विरोध गरिरहे । यो विरोधको प्रतिरोधको निमित्त सुचना विभागले १७ देखि २७ सालसम्म भएका कामहरू जनसमक्ष ल्यायो । यो आवधिक रूपमा भएका कामहरू जनसमक्ष ल्याउने जिम्मेवारीको शुरूवात थियो । तर २८ सालमा राजा महेन्द्रको स्वर्गारोहण पछि यो क्रम रोकियो जो वर्तमानसम्म कायम छ । केवल कहिले काहीं सत्तारूढ दल परिवर्तन हुँदा ‘श्वेतपत्र’ भन्ने जिनिस प्रकाशन हुन्छ । यो पनि पुरानोले गलत निकालेको भन्छ नयाँले सही निकालेको भन्छ । 
जे होस राजा वीरेन्द्रको पालाको पञ्चायतले आवधिक रूपमा जनतालाई प्रगती विवरण दिन आवश्यक ठानेन । त्यसैले व्यवस्थाको विरोध सही वा गलत जे भए पनि ‘मौनम स्विकृति लक्षणं’ भयो । यस कुराको उदाहरणको निमित्त पञ्चायतको आवसान लगत्तै पछि विराटनगरको शहिद मैदानमा गीरिजाप्रसाद कोईराला र लौहपुरूष गणेशमान सिंहको सम्वोधनको उल्लेख उपयुक्त हुन्छ । त्यसवेला गीरिजाले भनेका थिए सरकारमा किशुन जी भएको भुुलेर आदतले गर्दा विरोध गर्न आई हाल्छ । गणेशमानले पञ्चायतको नाकारापन देखाउदै भनेका थिए त्यो सरकारले जनतालाई तातो भात खाने पनि वन्दोवस्त गर्न सकेन । हुन पनि हो भारतिय नाकावन्दीले मट्टीतेल प्रयाप्त थिएन ।
त्यो संस्थापनको विरोध आदत नै बनेको थियो । यही विरोधले जनतामा प्रख्यात पनि बनाउने गर्दथ्यो । भन्ने हो भने नेपालको राजनीति ३२ सालदेखि विरोधमा नै आधारित भयो । राजनीति मात्र हैन कला , साहित्य पनि विरोधमा नै आधारित भयो । जनता संस्थापनको विरोध सुन्दा खुशी हुन्छन भन्ने सोच बलवान भएको थियो । ०४६ सालमा पञ्चायतको पतन पछि पनि विरोधको यो आदत कसैले छोड्न सकेन । विरोधको संस्कार जारी रह्यो , अझ बहुदलमा त विरोधको निमित्त विरोध गर्ने चलन पनि थप भयो । संविधानले विपक्षको काम नै विरोध दिएको मान्न थालियो । स्वभाविक छ यसले पञ्चायतकालमा पैदा गरिएको नकरात्मक सोचको उत्थान भयो ।
केही महिना पहिले जुन गणेशमान जिन्दावाद थिए अव मुर्दावाद हुनथाले । यो कुरा त्यसवेला राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा स्वयं गणेशमानले रोचक तरिकाले बताएका छन । पञ्चहरू मुर्दावादको नारा त्यसपछि बहुदलका नेताहरू मुर्दावादमा बदलियो , एक दलले अर्को दलकोलाई मुर्दावाद । पहिले सत्तालाई गाली गर्न प्रशिक्षित गरिएको थियो त्यो प्रशिक्षणले वर्तमानसम्म पनि सत्तालाई गाली निरन्तर राखेको छ । फरक केवल यत्ति छ कि आज तिनै सत्तामा छन जसले सत्तालाई गाली गर्न सिकाएका थिए । हिजो वुर्जुवा शिक्षा समुल नष्ट गर्न नेतृत्व गर्नेहरू नै आज विद्यालय भर्ना अभियान लिएर हिंडदैछन । हिजो साझाका कागजपत्र जलाएर जनतालाई मुक्ति दिएको भन्ने आज सहकारी नामले त्यही साझा सञ्चालन गर्देछन ।
आलोचना र समर्थनमा न हिजो कुनै वजन थियो न आज नै छ । केही समय पहिले हाईहाई गरेको व्यक्तित्वको उछित्तो काढ्न कुन वेर नै लाग्दैन । कुनै कुराको सतहबाटै आलोचना शुरू हुन्छ । यो नकरात्मक सोचको उत्कर्ष हो । केही दिन पहिले नवराज सिलवाल आई जी नहुँदा आकासै खसेको  देख्ने जमात केही दिन पछि उनलाई भगौडा देख्न थाल्छ । अझ कताबाट इन्टरपोलले खोजेको अपराधी भन्ने हल्ला पनि उड्छ । उनले इन्टरपोलले खोज्ने के अपराध गरे त्यो भने कसैले पनि जान्दैन ।
मानार्थ विद्यावारिधी दिने चलन भर्खर चलेको हैन । मानार्थ विद्यावारिधी दिनेले पनि औपचारिक शिक्षा खोज्दैन, लिनेले पनि देखाउन  पर्दैन । कुनै ख्यातिप्राप्त व्यक्तिलाई त्यही ख्यातिको निमित्त कुनै विश्वविद्यालयले मानार्थ  डा. को उपाधी दिनसक्छ । यसरी मानार्थ डा. उपाधी पाउने केपी न प्रथम व्यक्ति हुन न उनीपछि यो चलन रोकिने नै हो । तर यस कुराको जुन स्तरमा र जुन स्तरका व्यक्तिहरूले खिल्लि उडाउदैछन यो नकरात्मक सोचको उत्कर्ष हो । यो ५६ करोड यदुवंशीको नाशको निमित्त मुसलयुद्ध शुरू भए जस्तो शुरूवात हो ।
पञ्चायतलाई जनतालाई तातो भात दिन नसक्ने कुराले आलोचना गर्दा के पञ्चायत पछि चाही जनताको तातो भातको प्रवन्ध भयो त ? हिजो गीरिजा हवल्दार भन्दा आज के वलीले आठ पास भन्ने नाम पाएनन र ? यी सबै पात्र वा पद्धतिमा कुन ठिक वा कुन वेठिक भन्न खोजिएको हैन । त्यसले तात्विक अन्तर पनि पर्दैन । तर जनतामा जो नकरात्मक सोचको किटाणु छरियो त्यसले सबैलाई पिरेको कुरा ज्यादा चिन्तजनक हो । यसले पैदा गर्दै गरेको मुसलयुद्ध ज्यादा खतरनाक हो ।