Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नर्क बनाए बैकुण्ठजस्तो नेपाललाई

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

राजन कार्की - -
रिपु मर्दन गरेर देश बचाउने ढाल, तरवारको नाम परिवार नियोजनका साधनहरूले विकृत बनाइदिएका छन् । विसङ्गतिको विरूद्ध कसैले बोलेन । हुन त राष्ट्रनिर्माताको सालिक फोडेर बहादुरी देखाउने देशमा वीरको नाम र हतियारको बदनामले के फरक पार्छ र ? ढाल तरवारको भरमा वीरपुर्खाले आर्जन गरेको देश यो । त्यो गौरव छायाँमा पारियो ।
सिपाहीले साम्राज्य खडा गरेको इतिहास हो ः ‘टिपु सुल्तान’ । बाबु हैदर अलिले छोरा टिपुलाई दिमाग यस्तो चिज हो, त्यसलाई चिन्तनमा रगड्नुपर्छ, कोलमा पेलेझैं पेल्नुपर्छ, दिनुसम्म सास्ती दिनुपर्छ, तब स्वच्छ र सुन्दर सोचको विकास हुनसक्छ भनेर प्रशिक्षण दिए । नभन्दै समस्या, सङ्घर्ष र समाधानका उपायका सुझहरू विकास हुँदै गए र टिपु सुल्तान मैसुर साम्राज्य खडा गर्न सफल भए । टिपु सुल्तान इतिहासमा अमर छन्, भूमिपुत्रहरूका लागि प्रेरणाका स्रोत रहेका छन् । ती सोचका सुल्तान ।
हामी पुरातत्व, वीरता ढालेर पराई मालिकका कण्डोम र ढाल बनिरहेका छौं । खेताला बनिरहेका छौं । हामी पराइतन्त्रका सुल्तान बनिरहेका छौं । उठेको नेपाली शीर झुक्दै गएको छ ।
०४६ साल । पञ्चायतविरूद्ध लड्ने प्रजातन्त्रवादीहरूले भारतीयलाई बोलाए । घरको झगडामा परचक्रीलाई न्यायाधीश बनाए । भारतबाट चन्द्रशेखरको नेतृत्वमा डीपी त्रिपाठी, हरकिसन् सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरू गणेशमान निवास चाक्सीबारीमा आए र नेपालको स्वाभिमानलाई खोरिया बनाएर कुल्चे । थपडी बजाउने हाम्रा नेता र हामी थियौं । त्यही मिसनबाट दागिएको मेसिनगनले जनधनको क्षति नहोस् भनेर राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध फुकुवा गरे । पञ्चायत सकियो, पञ्चायतले ३० वर्षमा सुँगुर ढाडिएझैं ढाडिएका कुनै पञ्चको मलामीसम्म पाएन ।
२०६३ साल जेठ ११ गतेपछि बहुदलको नाम लोकतन्त्र भयो । समाजवादको शिरवन्दी लगाउने बहुदलवादीहरूले चुँइक्क गरेनन् । कस्तो अचम्म ?
परराष्ट्र, सुरक्षा र जलस्रोत भारतको जिम्मा दिएको भए अर्थात््् भुटानजस्तो बन्न स्वीकार गरे आन्दोलन तुहाइदिन्छु भन्ने दिल्लीको प्रस्तावलाई इन्कार गरेर २०४६ सालमा राजा वीरेन्द्र नेपालीका सामु झुकेका हुन् । जनतासँग झुक्ने राजा होचा भएनन् । अग्ला बनेका नेता होचा बन्दैछन् ।
अर्काले दिएको भीखले आत्मसम्मान नबच्ने रहेछ । ०४६ को बहुदल १२ वर्षे कुशासनमा परिणत भयो । ०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरू भयो । त्यो जनयुद्ध ०६२ साल मंसिर ७ गते १२ बुँदे दिल्ली सम्झौतामा घुँडा टेकेपछि थाहा भयो– कांग्रेस, कम्युनिष्टहरूमात्र होइन, जनयुद्धका नायकहरू पनि दिल्लीकै प्यादा रहेछन् । ०४२ सालमा रामराजाले राजधानीमा बम पड्काउँदा ५ जना मरे, ०२८ सालको झापा विद्रोहमा आजका एमालेहरूले १३ जनाको घाँटी रेटेका थिए । ०४६ सालको जनआन्दोलनमा ७ जना मारिए भने ०६३ सालको १९ दिने जनआन्दोलमा २६ जना मारिएका हुन् । १० वर्षे जनयुद्धकालमा १७ हजार २ सय ७४ को हत्या भयो र तिनमा आश्रितमाथिको आततायी प्रहार तथा राष्ट्रको इतिहासको गर्व र वर्तमानका पूर्वाधार ध्वस्त पारियो । कसैले न्याय पाएनन् । पीडक नयाँ नयाँ शासक बनिरहे । मुख्य सवाल, कुनै पनि परिवर्तनबाट एकजना सुन अर्थात््् देशभक्त सुल्तान जन्मिएनन्् । अर्काले चलाउने हतियार र मतियार शिखण्डी हुन सक्छन् । त्यसैले त हनुमान सर्वव्यापी छन्, विभीषण रामायण कथाका पात्र मात्र हुन् ।
नेपालको वर्णपटमा शिखण्डीका सिलसिलाले वर्तमानलाई पनि छाडेको छैन । विदेशीलाई चाहिने शिखण्डी हुन्, शिखण्डीको आवश्यकता स्वार्थपूर्ति हो । स्वार्थको पछि लाग्ने विवेकहीन भनेका अबसरवादी हुन् । शिखण्डी र अबसरवादीहरूलाई बाह्रै महिना दशैं आइरहेछ, भ्रष्ट डिठ्ठाहरूलार्ई लोकतन्त्र आँखा चिठ्ठा बनेको छ । देशभक्तिको सशक्त भाषण गरिदिएपछि जनता मख्ख पर्छन्, यी डिठ्ठाहरू जनता जनता लडाएर सत्ताको स्वाद फेरिरहेछन् । देशको आधा जनसङ्ख्या दैनिक आधा डलरमा बाँच्छन्, ६२ लाख युवायुवतीहरू साउदीदेखि इजरायलसम्म, काबुलदेखि कंगोसम्म यौन र श्रम शोषणमा मरिरहेका छन् । नयाँ नेपाल बनाउन नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, लथालिङ्ग जनजीवन उस्तै छ । रगत बग्यो, बरदान आएन ?
छ न त छ नि– वाद छ, तन्त्र छ, नीति छ, संयन्त्र छन् । सुनीति केही देखिदैनन्, कुटिलनीति राष्ट्रव्यापी छ । सबै नीतिमा नेता, नियन्ताको प्राथमिकता आत्मोन्नति, आत्मतृप्ति, आत्मसन्तुष्टि र आत्मकेन्द्रित छन् । आमकेन्द्रित छैनन् । त्यागको टिपु सुल्तान छैनन्, स्वार्थी सुल्तानहरू संविधानको घोडा चढेर बुर्कुसी मारिरहेका छन् ।
घण्टाघरको सुईले पलपल भनिरहेको छ– लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रूचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । रछ्यानलाई नेताहरूमा चोखो मन र जनताको बलमा उभिने रहर नै देखिएन । अन्धाले लोकतन्त्रको चस्मा लाए के नलाए के ? विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् । आगोले काँचो भन्दैन, सामन्तले कङ्गाल भन्दैन भनेझैं जीवन इमान बढी हो भनेर स्वार्थभन्दा माथि उठ्न कोही तैयार छैनन् । बेइमानको राज चलिरहेछ ।
लोकतन्त्रको प्राण जनविश्वास हो । त्यो जनविश्वास प्राविधिक रूपमा देखिन्छ, वास्तविक रूपमा राक्षस शासनमात्र छ । जुनसुकै देशका नेता केही घण्टाका लागि मात्रै नेपाल आए भने पञ्चदेवलको हण्डी बुझ्न लाम लागेझैं लस्कर लाग्नेहरूका लागि स्वाभिमानको अर्थ चाकरी हो, मालिकबाट प्राप्त हुने खुराकी हो ।
मिनु मसानीको ‘इभोल्युसन् थियोरी अफ सर्भाइल’ भन्छ– जो सक्षम छ, ऊमात्र बाँच्छ । उनको दार्शनिक सिद्धान्त सही हुँदो हो त डायनासोर लोप हुने थिएन, कमिला लोप हुन्थ्यो । चितुवाको एउटा वर्ग दगुर्दा दगुर्दा दहमा प¥यो र सार्कको रूपमा आयो । नेपालका सन्दर्भमा मिनु मसानीको सर्भाभल अफ दि फिटेस्टको अर्थ उल्टो हुन गएको छ । कुनै पनि स्थितिमा जो बाँच्न सक्छ, ऊ नै सक्षम हो । राजतन्त्र असक्षम भएर गएको होइन । हिन्दुधर्म अल्पमतमा परेर फालिएको होइन । कम्युनिष्ट र समाजवादी सक्षम भएर मूलधार बनेका होइनन् । देशभक्तबाट दिल्लीभक्त, विस्तारवादविरूद्ध लम्पसार भएर त्वम् शरणम् गर्न सकेन, राजतन्त्र फालियो । गर्नै नहुने कर्म गरेर वर्तमान बुढोपुस्ता राजनीतिका नाममा सिरूपाते खुकुरी बनेर सक्षमहरूको कलमी गरिरहेको छ ।
बन्दुके मौका पायो कि बुद्ध बोकेर हिड्छ । मौका पायो कि बारूद पड्काउँछ । अन्धविश्वास हटाउने भाषण उही गर्छ, महिष पूजन र गुरूको पाउमा उही ढोग्छ । साइत निकालेर सत्तासीन हुने र पदभार ग्रहण गर्नेहरू नक्कल गर्न बिछट्ट बाठा छन् । यसकारण त यी परिवर्तनका बाहकहरू, स्वाधीनताको धर्तीमा पराधीनताको साम्राज्य खडा कर्ताहरू ‘खतरनाक क्रियचर्सहरू बास गर्ने पेण्डोराको बाकस’ भन्दा कम देखिदैनन् । फोहर सडे गनाउँछ, राजनीति सडे चम्किदो रहेछ । ‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्– गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । जनयुद्धलाई वसन्त पर्व भन्नेहरू कागजी फूललाई बास्नादार भनेर थाक्दैनन् । टिपु सुल्तान मान्छे थिए, यी मान्छे हुन् कि ढुङ्गामा कुँदिएका सिंहहरू ? झट्ट हेर्दा डरलाग्दा छन् । मुसोलिनीले इटलीको प्रजातन्त्रमा अधिनायकवादको जग बसाले । जर्मनीमा हिटलरभएको परिवर्तनको स्थापना लोकतन्त्रको जग थियो कि निरंकुशतन्त्रको महल ?
१९८१ मा विश्वबाट दासप्रथा उन्मूलन भएको हो । नेपालमा पनि दासप्रथा छैन, कमलरी र कमैयाप्रथासमेत उन्मूलन भइसकेको छ तर, नेपाली जनताको सार्वभौमिकता आज पनि नेतातन्त्रको करियाभन्दा भिन्न हालतमा देखिन्न । लोकतन्त्र लोकको दुब्लो अनुहारमा रोगले ख्याउटे देखिन्छ । लोकतन्त्र बन्धकमा परेपछि यस्तै हुन्छ । यही लोकतन्त्र नेताका लागि लघु ताजमहल, पेरिस दरवार हुने, यही लोकतन्त्र लोकका लागि गाँस, बास, कपास, स्वास्थ्योपचार पनि नहुने ? यही लोकतन्त्रमा बाघको छालामा स्यालको रजाइँ हुने, सुकुम्बासी, सीमान्तकृत वर्गलाई राज्यले लघार्ने ? असमानताको यति ठूलो दूरी ? बेइमानहरू चिनिएका छन्, चिनेर के गर्नु, सत्ताको बजारमा बेइमानी हातोहात हारालुछ खपत भइरहेको छ । गोरूले दाउनुपर्छ खेती गर्न, राजनीतिको खेतीमा बोकाले दाई गरिरहेको छ । धुत्र्याइँ चम्केपछि सत्य छिमोलिनु स्वाभाविक हो । 
दक्षिण एसिया विज्ञ लियोरोजका अनुसार नेपाल विश्वमै स्वर्गको एक टुक्रा हो । स्वर्गको एक भाग । यस्तो स्वर्ग नरपिचासहरूको नरक कसरी बन्यो ? हुने र हुँदा खानेबीचको महामारी रोक्न लोकतन्त्र किन असफल भयो ? कस्तुरीको सुवास आउनुपर्ने स्वर्गको टुक्रा देशभरि कुहिगन्धे हुरी चल्यो । अन्यायको सिङ्जुरो उम्रेको छ नेपालमा ।
९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने र सर्वधर्म समभावको नेपालमा पोप देखिन्छ, एक चीननीति अपनाएको नेपालमा दलाई लामा भेटिन्छ । १२६ जातिको देशमा एकता थियो, भाँडियो । समृद्धिको सूचक लोकतन्त्रलाई भँडुवा बनाएर बदनाम गरियो । संस्कारमा स्वदेश थियो, विदेशी संस्कृति लादियो । नासो, गलाको पासो बन्यो पद्धति  ।
१८१५ डिसेम्बर २ मा गीर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दाहालले बृटिश इण्डियाका कर्णेल पेरिसब्राडसँग (मिलोमतो गरेको र गोप्य लाभ लिएको आरोप छ) सम्झौता गरे, त्यही सम्झौता ४ मार्च १८१६ मा सुगौली सन्धिका नाममा अनुमोदन भयो । त्यतिबेलाका गजराज र चन्द्रशेखर र अहिलेका ठूला दलका नेताहरूले गरेका देशघातक निर्णयहरू हेर्दा कहाली लागेर आउँछ । यस्तो लोकतन्त्रलाई कृष्णावतार भन्ने कि कंशावतार मान्ने ?
वैकुण्ठजस्तो नेपाललाई नयाँ नेपाल बनाउँछु भन्नेहरूले वैरागलाग्दो बनाइदिए । मुर्दाहरूले बास बस्ने चिहानजस्तो चिसो भइसक्यो वीरहरू र भूमिपुत्रहरूको वीरतापूर्ण देश ? राजतन्त्रलाई तासको पत्ताजसरी फेकियो, लोकतन्त्रलाई लाहाको घरजस्तो बनाइँदै छ । कुनै दिन नेपालको दुरूपयोग गर्न चाहने शक्तिले आगो झोसिदियो भने खरानी हुनुको विकल्प रहने छैन । किनकि भूराजनीतिमा शक्तिराष्ट्रहरूको चास र चासो बेस्सरी बढेको छ । सकस सुरू भइसक्यो । सस्ता भ्रम छर्नेहरू कसैले समाजवाद, कसैले मुठ्ठी उठाएर के गर्ने ? लोकको नियति अचार जसरी पिसिरहने न हो ।