शाश्वत शर्मा - - -
गठबन्धनको चर्चा, स्थानीय निर्वाचनको चर्चा, ओलीको टुक्का, देउवाको भारत भ्रमण, यी यावत कुराहरूभन्दा पूर्वराजा फेरि चचाृमा चुलिएका छन् । निस्कृय रहेका पूर्वराजालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवादमा तानिरहेका छन् । यति नै बेला पूर्वराजा विश्रामका लागि झापा हिंडेका बेलामा विमान स्थलमा समर्थनमा नारावाजी हुँदा केही समाचार पनि बनेका हुन् । तर उनी रिङ बाहिरको खेलाी भएझैं रहे पनि सार्कका महासचिवले औपचारिक रूपमा नै निर्मल निवासमा भेटेको र केही युरोपियन राजदूतहरूले पनि भेट्न खोजेको विषयले पूर्वराजा चर्चामा आउनुको कारण हो ।
यसबाहेक निकट भविष्यमा नै धार्मिक कार्यक्रमको निम्तो मान्न भारत जाने र त्यही अवसरमा भारतक प्रधानमन्त्र िनरेन्द्र मोदीसँग भेट हुने जुन समाचार आएको छ, त्यसले राजनीतिक बिस्फोट नै गराएको छ । खासगरी पूर्वराजासँग निकट मानिएको एक पत्रकारले यो समाचार बाहिर ल्याएपछि चर्चा चुलिएको हो ।
हुन त पहिला पनि पूर्वराजा भारत भ्रमणमा गएकै हुन्, महिनौं बसेकै हुन् । हरिद्वारमा त नेपाल नरेश भन्दै पुष्पवृष्टि नै गरिएको थियो । तर यसपटकको भ्रमणले छुट्टै चर्चा पाएको छ । अर्थपूर्ण रूपमा चर्चा उछालिएको छ । विश्लेषकहरू भन्छन्– नेपालको दुरावस्था, छिमेकी र मित्रराष्ट्रहरूको असन्तुष्टि, नेपाली जनताको आक्रोश सबै मिलाउँदा लोकतन्त्रलाई असफल पारेका छन् वर्तमान नेतृत्वले । यी परिपक्व देखिएनन् । आफू बदनाम भए, मित्रहरूको पनि बदनाम गराइदिए । हालसम्म भारतको मात्र विरोध हुन्थ्यो, यसपल्ट त चीन र अमेरिकाविरूद्ध सडकमै आन्दोलन भयो । अमेरिकाको समेत विरोध हुने वातावरण नेताहरूले नै बनाइदिए । चीनको दूतावास अगाडि त प्लेकार्ड बोकेरै बिरोध गरिएका दृश्य देखिन्छन् । भारतलाई त सीमा हतिक्रमण र राजनीतिक हस्तक्षेपका कारण विरोध हुनु निरन्तरताजस्तै छ । यही बेलामा कांग्रेस सभापति तथा प्रधानमन्त्रीले भारत भ्रमण गरे । चुनावको मुखैमा किन भारत भ्रमणमा गए, धेरैको प्रश्न छ । यसमाथि विपक्षीहरूले त कांग्रेसलाई अमेरिकापछि भारत परस्त देखाएर भोट तान्ने अवसर छोप्न थालेका छन् ।
स्पष्ट कुरो के हो भने अवसरवादी राजनीतिक दलहरूबाट आमनागरिक आजीत भइसकेका छन् । रूस र युक्रेनको युद्धमा भारत तटस्थ बसे पनि नेपालले युक्रेनलाई समर्थन गरेर असंलग्न नीतिलाई समेत तिलाञ्जली दिएको आरोप छ । विहान पाकिस्तानी दूतावासमा, दिउँसो भारतीय दूतावासमा र साँझ चिनियाँ दूतावासमा खान भ्याउने राजनीति अचम्मको छ । आफ्नो नीतिमा त बस्नै सक्दैनन् । अझ घण्टा घण्टामा बोली फेरिरहन्छन् । कूटनीतिक मर्यादा, राजनीतिक निष्ठाको अलिकति पनि ख्याल गर्दैनन् । यिनीहरू व्यक्तिगत, गुटगत, पार्टीगत स्वार्थमात्र हेर्छन् । आफैले एमसिसी चाहियो भनेर माँगे, अमेरिकाको बदनाम गराइदिए । आफैले बीआरआईमा सही गरे, चीनलाई पनि बदनाम गराइदिए । भारतलाई त दिनभर गाली र रातभरि समर्थन गरिरहेकै छन् । गल्तीमाथि गल्ती गर्ने, सबैलाई बदनाम गराएर आफ्नो राजनीतिक लाभ लिने ‘व्याख्या र बोली फेर्न’ नेताहरू माहिर छन् ।
सबै बुझेका छन् नागरिकहरूले । बुझे पनि पार्टी, नेताका आदेशको पालना गर्दै विरोध र समर्थनमा लागिरहेकै देखिन्छन् । नागरिकको चाला पनि अचम्मको छ, के विकल्प नपाएरै नागरिक अलमल्ल परेका हुन् त ? हरेक दिन सत्ताका लागि, चुनावअघि भोटका लागि जस्तोसुकै कर्म गर्न आतुर रहने राजनीतिक नेतृत्वले राष्ट्रिय मामिलालाई छलफलमा र अन्तर्राष्ट्रिय मामिलाहरूमा संवादमा सल्टाउने कहिल्यै प्रयत्न गरेनन् । यिनको नीति न देशका लागि, न मित्रहरूका लागि नै विश्वसनीय देखिन्छ । सायद यहीकारणले होला, विदेशी कूटनीतिक समुदाय पूर्वराजालाई भेट्वार्ता गर्न आतुरी देखाउन थालेका हुनसक्छन् ।
सार्कको अध्यक्ष नेपाल हो । वर्षेनी हुनुपर्ने सम्मेलन ७ वर्ष भइसक्यो हुनसकेन, सार्कलाई मार्ने भारतको नीतिले सार्कको हैसियत समाप्त प्रायः भइसक्यो । नेपालको कूटनीतिक अक्षमताका कारण सार्क समाप्त हुने खतरा बढेको छ । यस्तो बेलामा सार्कका महासचिवले सार्कको भविष्य सुनिश्चित गर्न पूर्वराजालाई सम्झिनु स्वभाविक हुनसक्छ । तर युरोपियन मुलुकका राजदूतहरूले भेट्न खोज्नु र भारतले विशेष निम्तो दिएर बोलाउनुका पछाडि केही न केही उद्देश्य अन्तरनिहित पक्कै छ । भर्खरै चीनका विदेशमन्त्री वाङ् यीले पाकिस्तान, अफगानिस्तान, भारत भएर नेपालको ३ दिने भ्रमण गरेर फर्कनु र पूर्वराजालाई भारतका प्रधानमन्त्रीले भेट्न खोज्नु भनेको कूटनीतिभित्र गम्भरि मुद्दाहरू हुनसक्ने आँकलन गरिएको छ । यही बेलामा भारत उत्तर प्रदेशका मुख्यमन्त्री जसलाई भारतका भावी प्रधानमन्त्रीका रूपमा पनि हेर्न थालिएको छ, योगी आदित्यनाथको हवाला दिंदै नेपाल हिन्दुराष्ट्र हुने चर्चा पनि चुलिएको छ । निष्कर्षमा भन्नुपर्दा नेपालको शासक बर्ग, पार्टीहरूका कारणले सबै आजीत भइसकेका छन् । सबैले नेपालको स्थिरता र विश्वसनीयताको खोज गर्न थालेका छन् । नेपालमा यस्ता भर नभएका नेताभन्दा त राजा नै ठीक भन्ने धार बलियो हुनथालेको छ । सत्ताका लागि जनतालाई झुक्याउने, सत्तामा पुगेपछि कूटनीतिमा अविश्वसनीय हुने, सायद यसैले पूर्वराजाको आवश्यकता देखिएको हो कि ?