राजन कार्की - - -
नेता प्रतिनिधि हुन्, देवता होइनन् । नेतामा विश्वास राख्ने हो, नेताको पूजा गर्ने होइन । जबसम्म नेतालाई देवत्वकरण गर्ने अथवा घृणा गर्ने प्रचलन हामीमा रहन्छ, तवसम्म राजनीति सेवा बन्न सक्दैन । नेताले राजनीतिलाई व्यवसाय बनाउन छाड्ने छैन ।
विश्वास राख्नुपर्ने नागरिकले नेतालाई परमेश्वर मानेपछि परमेश्वर बनेको नेतामा जे गरे पनि हुन्छ भन्ने भावना विकसित हुनेरहेछ । नागरिकको भय उसबाट हट्ने रहेछ । यहीकारण नेता निष्ठापतन हुने काम गरिरहेछ र जति नैतिकपतन भयो, उति ख्याति बढ्ने रहेछ भन्ने भ्रम पालेर राजनीति गरिरहेको छ । यसैले नेता भनेको नागरिक र देशको सेवक हो भनेर ऐना देखाइदिन जरूरी भइसकेको छ ।
नागरिकले नेतृत्वलाई तिमी देवता होइनौं, सेवक हौ भनेर ऐना नदेखाइदिने हो भने नेतृत्व अझ भ्रष्ट हुनेछ । विश्वमै असल मानिएको लोकतन्त्र यसैगरी लोकका नजरमा अलोकप्रिय बन्ने छ ।
शंकराचार्यले भनेका रहेछन्– नरक के हो ? परवशता ।
नेपाल परवशतामा छ, परवशताबाट पार लगाउनु पर्ने नेतृत्वले देश र जनतालाई परवशताको दलदलमा झन झन धकेलिरहेका छन् । यसकारण नेतृत्व असफल छ ।
पृथ्वीको सिर्जना गर्न भनेर सत्ययुगमा समुन्द्र मन्थन गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ । समुन्द्र मन्थनबाट १४ रत्न निस्केका थिए– कामधेनु, उच्चैश्रवा घोडा, ऐरावत हात्ती, मणि, कल्पवृक्ष, रम्भा अप्सरा, देवी लक्ष्मी, वारूणी देवी, चन्द्रमा, पारिजात, पाञ्चजन्य शङ्ख, अमृत कलश । सबै देवताका भागमा परे, अन्य कसैले केही पाएनन् । यहाँसम्म कि निस्केको कालकूट विष कसले पिउने भन्ने अतास चलेको थियो, देवाधिदेव महादेवले ग्रहण गरे ।
राजनीतिमा निर्वाचन संवैधानिक पद्धति रचना गर्ने समुन्द्र मन्थन हो । सम्पूर्ण शक्ति मतदाता हुन् । पार्टीहरूले मतदातालाई असूर व्यवहार गरिरहेका छन् । निर्वाचनमा मतदातालाई भ्रमित पारेर परिणामलाई आफ्नो स्वार्थमा उपयोग गर्छन् नेतृत्वले । सार्वभौम शक्ति विजेता हुनुपर्नेमा निर्वाचनपछि परास्त गरिन्छन् । जीत नेताको हुन्छ, हार नागरिक र देशको भइरहेछ । मतदाताको थाप्लोमा कालकूट विष दिएर जनप्रतिनिधि सत्ता, शक्ति र सम्पन्नताको अमृत पान गर्छन् । निर्वाचनको यो परिक्रमा यसैगरी चल्दै आएको छ । आन्दोलनको सफलता, निर्वाचनको परिणामले जनताको समृद्धि र शान्ति स्थापित गर्न सकेको देखिदैन ।
२०५२ सालपछिको १० वर्षे जनयुद्ध, २०६३ सालको जनआन्दोलन, महाकाली सन्धि, एमसिसी, हरेक निर्वाचनमा स्वर्गीय सुख प्राप्त हुने भ्रम फैलाइयो । डुबतेका तिनकेका सहारा भनेझैं दुःखी जनताले पत्याउँदै आए । आशै आशमा सन्तान दरसन्तान स्वर्गवास हुँदै गए, स्वर्ग स्वर्गीय सुख कहिले देख्न पाएनन् ।
निर्वाचनपछि प्राप्त शक्तिबाट शक्तिशाली बनेका हरेक पार्टी, हरेक नेतामा पशुप्रवृत्ति बढेर गयो । जनतामा निराशा बढ्यो, गणतन्त्रमा गणको अपनत्व स्थापित हुनसकेन । गणतन्त्र, लोकतन्त्र नेता र तिनका वरिपरिकाका लागि हरेक दिन दशैं आए सरह आयो । आम नागरिकले गणतन्त्र भनेको सक्नेले लुट्ने खाने व्यवस्था रहेछ भनेर बुझ्न थालेको १५ वर्ष भयो । तैपनि जनता अमृत लोकतन्त्रको सुखानुभूति खोज्न विद्रोह गर्न सक्दैनन् । नेता भ्रम छरिरहेका छन्, पार्टी भ्रमित पारिरहेका छन्, नागरिक भ्रमको तुवाँलोमा रलमिलएका छन् । अलमिलएका देखिन्छन् ।
यसकारण २०६३ पछिको परिवर्तन राष्ट्र विनष्ट हुने छल विजय, छद्म शासन् सावित हुनपुगेको छ । प्रश्न उठेको छ– हिन्दुधर्म, राजतन्त्रलाई घेराबन्दीको व्यूहरचनाको घट्टमा धूलोपिठो बनाउनेहरूमा राजतन्त्रका विरोधीमात्र थिए कि सारथी पनि थिए ? जो थिए, ती नेपाली तत्व, नेपालीत्व नभएकाहरूमात्र थिए भन्न सकिन्छ । किनकि परिवर्तन भयो, जनताको जीवनस्तरमा परिवर्तन आएन । देश झन झन जोखिममा पर्दै गएको छ । राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता साँघुरिन थालेको छ । देशहितभन्दा पराईहितको चिन्तामा नेतृत्व नतमस्तक भएको छ । यी न रत्न बने, न सेवक ।
ऐतिहासिक वर्णन अनुसार विक्रमादित्यका नौ रत्नहरू थिए । अमरसिंह, धनवन्तरी, घटकबरपारा, कालिदास, क्षमनाका, शङ्कु, भरममिरा, भारूची र भेतलाभट्ट । मुगल साम्राज्यका सम्राट् अकवरका पनि राजकाजमा सघाउने नौ रत्नहरू थिए– अबुल फजल, राजा टोडीमल, अब्दुल रहिम खान, राजा वीरवल, मुल्लाह दो पिजा, शेख फैज, फकिर अजियो दिन, तानसेन, राजा मान सिंह । उनीहरू कसैले साम्राज्य र सम्राटलाई धोका दिएनन् । इमान तिनको धर्म कर्म भयो । हिजो पञ्चायतका महारथी, बहुदलका महारथी र वर्तमानमा लोकतन्त्रका महारथीहरू रत्न हुन् कि ढुङ्गा ? यिनमा देश र देशवासीप्रति इमान छ कि छैन ? आफैले जारी गरेको संविधान, पद्धतिप्रति राजनीतिक प्रतिवद्धता कति छ ? यी प्रश्न यसकारण यक्ष प्रश्न हुन् किनभने राजनीतिमा इमान, विधिप्रतिको सम्मान, वेष्टमिनिस्टर पद्धतिप्रतिको आदर बाँकी रहेको देखिन्न । जुन देशमा अदालत सडकमा पुग्छ, संवैधानिकता नगरबधुजस्तो लाग्छ, त्यो देशमा लोकतन्त्र छ भन्नु दिउँसै रात प¥यो भन्नुजस्तै हो ।
रत्नहरूमा पनि नवरत्न भनिन्छ । रूवी अर्थात्् सूर्य, पर्ल अर्था चन्द्र, रेड कोरल अर्था मंगल, इमरल्ड अर्थात््् बुध, यलो सपायर अर्थात्् बृहस्पति, डायमण्ड अर्थात््् शुक्र, ब्लु सफायर अर्थात््् शनि, हेसोनाइट अर्थात्् राहु, क्याट्स आई अर्थात्् केतु । डायमण्ड शक्ति, धन, शत्रुमाथि विजयको स्वरूप हो । रूवी सफलता र लामो आयुका लागि हो । इमरल्ड बल र सुरक्षाको प्रतीक हो । यलो सफायर चमक र प्रेम हो । गार्नेट सुस्वास्थ्य हो । ब्लु सफायर प्रेम र सम्पत्ति हो । पर्ल पवित्रता, खुशी र दुश्मनमाथिको सफलता हो । जरकन धन र सफलता हो भने क्याट्स आई आगो वा गतिबाट संरक्षण हो । यसकारण नवरत्नको महत्व सामाजिक अथवा राजनीतिक जीवनको अङ्ग मानिन्छ । देशमा त्यस्तो छैन ।
रत्नहरू राजनीतिका अङ्ग हुन् तर राजनीतिमा रत्न छन् जस्तो लाग्दैन । भए चम्कनु पर्ने हो, आकर्षण लाग्नुपर्ने हो । राजनीतिमा त भ्रष्टाचार, अनाचार, दुराचार, बलात्कार मात्र देखिन्छ । राजनीतिका रत्नहरू स्वाधीन छैनन्, सार्वभौम पनि छैनन् । जिवन्त छैनन् । लास र दासजस्ता लाग्छन् । किनकि आँखा छ देख्दैनन्, कान छ सुन्दैनन्, विवेक छ बोल्दैनन् । गिदीमा पराजीवी किटाणु सलबलाएपछि ऊ आदेश कुरेर बस्छ, हस् भन्नका लागि टाउकोमात्र हल्लाउँछ । नेता थुप्रै छन्, राजनेता कोही छैनन् । लोकतान्त्र ‘दयालाग्दो’ बन्नुको कारण यही हो ।
०४६ सालको होस् कि ०६३ सालको परिवर्तन, दुवै परिवर्तनले सत्ता पार्टीको हातमा पु¥यायो । स्थिरता दिन सकेनन् । नेता तिनै छन्– शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, कमल थापाहरू । पार्टी पनि तिनै छन्– नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, लोसपा, राप्रपा । यिनका विभाजन आयो, नाम फेरिए तर नेतृत्व उही छन् । यी कुनै पनि पार्टी र नेता रत्न सावित हुन सकेनन् । वैज्ञानिक एउटा कथा छ– हलाले विष आविष्कार ग¥यो । उसलाई आफ्नो सफलतामा आफैलाई शंका लाग्यो । विष बन्यो कि बनेन द्वीविधामा परेपछि उसले आफैमाथि प्रयोग ग¥यो । हलाले आफ्नो आविष्कारलाई ठाडो घाँटी लगाएर तनक्कै तन्काइदियो । हलाको हल भयो । अर्थात्् हला म¥यो । त्यसपछि विष हलाहलको नामकरण हुनगएका भनिन्छ । नेपालको राजनीतिक परिवर्तनको अघि र पछिको घटनाप्रसङ्ग हलाहलसँग मिल्छ । यतिबेला राजनीति हलाको हल नियति भोगिरहेको छ ।
यसको ताजा उदाहरण हो– परिवर्तनपछि लोकतन्त्र आलु खाएर पेडाको धाक लगाएजस्तो भयो । हरेक पार्टी महाभारतमा गान्धारीले सद्दे आँखामा पट्टी बाँधेजसरी नक्कली अन्धा बनेका छन् र भन्छन्– लोकतन्त्रले धेरै परिवर्तन ल्यायो । नयाँ नेपाल बन्यो । यथार्थमा नयाँ नेपाल होइन, गया नेपाल भएको छ ।
हावाबाट विजुली निकाल्ने, स्याटेलाइटबाट विजुली बेच्ने, हिन्द महासागरमा पानी जहाज चलाउने, भान्छा भान्छामा ग्यासको पाइप पु¥याइदिने, मोनो रेल, केरूङ काठमाडौं रेल चलाउने, घरघरमा दाल चामल पु¥याइदिने, सुती सुती खानोस् भन्ने, एमसिसीले विकासको मूल फुटाइदिने, जुत्ता नमिले खुट्टा ताछ्नुपर्छ भन्नेसम्मका जनप्रतिनिधि देखिए । मानसिकता किन यति धेरै बिकृत हो ? जनबलका लिएर सस्तो बजारमा सार्वभौमिकता बेच्ने राजनीति भनेको यही हो । थाहा छ, यी सुध्रिएनन् ।
संविधान– सिरान हालेर सुत्न सकिने पवित्र गीता, कुरान, बाइबलजस्तो होस् न । लोकतन्त्रको लाज छोप्ने लगौंटी पनि बन्न सकेन । जो सत्तामा जान्छ, भाग शान्ति मिलाएर शासन गर्छ । जो सडकमा छन्, तिनीहरू हैसियतअनुसारको भाग खोज्छन् । पार्टीहरू सत्तालाई काटेर मासु भाग लगाएर खाने पसल पो भयो ।
संविधान विधि हो कि नेताहरूका लागि खोलिएको मधुशाला ?
लोकतन्त्रमा हुनैपर्ने गुण भनेको आचरण र इमान हो । सत्ताका लागि सिद्धान्त र पहिचान नै मास्न तैयार पार्टीहरू देख्दा लाग्छ, नेपालको राजनीति खसी बजार बनिसक्यो ।
अफ्रिका अँध्यारो महादेश भनेर चिनिन्थ्यो । अफ्रिका उज्यालो भइसक्यो । जन्मजात जेठोमध्येको स्वतन्त्र उज्यालो मुलुक नेपाल, अँध्यारोतिर लम्किरहेको छ । अमृत लोकतन्त्रमा उर्लदो अराजक विष अझै देश र दुनियाँको थाप्लोमा खन्याइरहने ?