देवी काफ्ले – -
१६ डिसम्बर २०१२ मा भारतको नयाँदिल्लीको नोयडामा घटेको एउटा घटनाले सारा भारत डगमगायो । पूरा भारत मात्रै हैन उक्त घटनाले समाचार देख्ने सुन्ने जतिको मन डगमगाएको थियो ।
सन् २०१२ को डिसेम्बर १६ राती नौ ÷दस बजेको समयमा नोयडामा सार्बजनिक बसभित्र छ जनाले सामुहिक बलात्कार गरि निर्मम तरिकाले कुटपिट गरेर मरेको भनी हाइवे छेउमा लाशको रूपमा फालिदिए । जसमध्ये एउटी निर्भया उर्फ ज्योति थिईन् भने अर्का उनैका साथी थिए । निर्भयामाथि भयको अत्याचारको बिरोध गर्दा अभनिन्द्र पनि मरणासन्न अवस्थामा थिए । निर्भयाको शरीरमा अपराधीहरूले गुप्ताङ्गमा फलामको रड घुसार्ने देखि हात हालेर आन्द्रा समेत बाहिर निकालिदिएका थिए ।
यस घटनाले भारतमा ठूलो खैलाबैला भयो । अपराधीलाई फांसीको सजायंका माग गर्दै आन्दोलनले देश ज्वालामुखी बन्यो । चिन्ताजनक अवस्थाकी निर्भयालाई सफदरजंग अस्पतालले सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटललाई रिफर गर्यो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले निर्भयाको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिएका थिए तर दुर्भाग्य २०१२ को डिसेम्बर २९ मा निर्भयाको निधन भयो ।
आन्दोलन अझ ज्वाला बनेर निस्कीएको थियो । अन्ततः सरकार झुक्न कर लाग्यो । २०१४ को मार्चमा चारजना अपराधीलाई फाँसीको सजाय सुनायो । छ अपराधी मध्येका एकजना नाबालक भएकोले सुधारगृह पठाईएको र अर्को एकजनाले आत्महत्या गरिसकेको थियो । निरन्तर सात बर्षको लडाइँ पछि चार अपराधीलाई सन् २०२० मार्चमा फाँसी दिइयो । अपराधीलाई कसैले बचाउन सकेनन् ।
२०७५ साल साउन १० गते कंचनपुरको भिमदत्त न पा कि दुर्गादेवी पन्तको १३ बर्षिया छोरी निर्मला पन्तको बलात्कार पछि बिभत्स हत्या भयो । अपराधीलाई कारवाहीको माग गर्दै देशै भरी नारा जुलुस भए । कन्चनपुरमै बिरोधसभामा प्रहरीको गोली लागेर १३ बर्षिय शनि खुनाको ज्यान गयो । तर अपराधी गुमनाम नै रह्यो र आजसम्म पनि अपराधी पत्ता लागेको छैन । न्याय खै कुन्नी कता छ ?
२०७७ साल साउनमा एउटी बालिका बलात्कार गरेर समाजले सफाई दिएको अपराधीबाट २०७७ साल असोजमा १२ बर्षिया सम्झना कामीलाई मन्दिरमा बलात्कार गरि मारेर फालेछ । केहिछिन न्यायका आवाजहरू उठे अदालतको जिम्मा लगाईयो सिद्धियो । जातिय मुद्धा बन्यो पिडितको नाम भजाए तर कारवाही भएन ।
महोत्तरीको बर्दिवासमा छ बर्षिया गुलाव खातुनको बलात्कार पछि हत्या भयो । अपराधीको घरमा आगो लगाए स्थानियहरूले । अपराधीलाई सुरक्षित राखियो तर न्यायको लडाईं लड्दा सन्जय न्यौपानेको ज्यान गयो प्रहरीको गोलीबाट ।
अब निर्भयाको जस्तै मुटु हातमा राखेर सुन्नुपर्ने घटना सुन्दैछौं । मोरङ सुन्दर हरैंचामा २०७८ फागुन २७ गते बालिका हराइन् मात्रै १८ महिनाकी । खोजी पश्चात् बालिकाको लास भेटियो । उनिमाथि सामुहिक बलात्कार भयको रहेछ । उनको गुप्ताङ्ग ब्लेडले चिरियको थियो । यस्तो बीभत्स हत्या । न्यायको लागि प्रदर्शनमा प्रहरीका बुट बजारियो । प्लाष्टिकमा बेरेको छोरीको शवको अन्त्यष्टि गरे, जुन शब्दमा गर्नै सकिँदैन । निर्भयाको न्यायका लागि सम्भवत भारत सरकारले फाँसीको बीस बर्ष पछाडी बल्ल फाँसी सुनाएको थियो । प्रकृयामा जाँदाजाँदै समय लम्बियो तर पनि एउटा कठोर र बोल्ड निर्णय गर्यो भारत सरकारले ।
नेपालमा अझै कति निर्मला, सम्झना, गुलाबहरू मारिनु पर्ने हो कानून संशोधन गर्न सरकार ? यी त प्रतिनिधि पात्र मात्रै हुन् । हाम्रा दैला ठेला देखि यस्ता हिंसा शुरू छन् अन्त्यको कल्पनै नगरौं । पटकपटक राजनैतिक संरक्षणका कारण अपराधी खुलेआम घुमिरहेका छन् । जसको सरकार, जुन सरकार, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भए पनि अब बलात्कारीलाई फाँसी तोकिदे सरकार फाँसी । सरकार कमजोर होकि ? कार्यान्वयन पक्षको लापरवाही हो कि ? किन अपराधीले सजाय पाएनन् ? बलात्कार बलात्कार हुन्छ, सजायं किन हुदैन ? निर्भयाकी आमा साढेसात बर्ष लगातार लडिरहिन् । तर निर्मलाकी आमालाई सात महिनामै थन्क्याइयो यो प्रबृत्तिले अझै न्यायको पहुँच कहाँ पुर्याउला ? हिम्मत छ भने सरकार अठार महिने नाबालिकाको अपराधीहरूलाई मृत्युको सजाय दे हैन भने हामीलाई अधिकार दे । अब पनि राक्षसका काखमा छोरी कति दिन लुछाउने ?