Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गठबन्धन कांग्रेसलाई चाहिएको छ

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - - 
सडक नागरिक भन्छन्– चुनावपछि कांग्रेसमुक्त नेपाल । कांग्रेसलाई भ्रम छ– वामपन्थीले करिब दुई तिहाइ बहुमतको सरकार चलाउन नसकेर सत्ता आफूलाई हस्तान्तरण गर्न आएको, वामपन्थी विभाजित भएको र प्रमुख भनिएका प्रचण्डको माओवादी र माधव नेपालको समाजवादी एक्लै चुनावमा जान डराएर गठबन्धन कायमै रहनुपर्छ भन्ने राग अलापिरहेको, यी यावत कारणले गर्दा वैशाख ३० मा हुने स्थानीय र त्यसपछि हुने संघीयसम्मको चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउँछ । एकथरिको विचारमा यो भ्रम हो । भ्रष्टाचार र राष्ट्रघातमा माहिर कांग्रेसले यस्तो सहज वातावरणमा पनि बहुमत ल्याउन सक्दैन । त्यसो त नेपालका वामहरू पनि भ्रष्टाचारमा कांग्रेसभन्दा कम छैनन् । तर पनि यदाकदा राष्ट्रको पक्षमा बोल्ने र लिने अडानका कारण पनि वामपन्थी अहिले पनि कांग्रेसभन्दा लोकप्रिय देखिन्छन् । कांग्रेसको मत त अब अधिकांश राप्रपातिर खनिने लख धेरैले काटिरहेका छन् । घर घर जाऔं, कांग्रेस जिताऔं नारा बोकेर हिंडेका कांग्रेसी पङ्तिले वामले चलाउन नसकेर सत्ता बुझाएको हो, प्रजातान्त्रिक भविष्य कांग्रेस नै हो भनिरहेका छन् । तर जनताले बुझेका छन्– देउवा सरकार बनेदेखि जनताले के पाए, देशी विदेशीले के कस्ता षडयन्त्र गर्नसके ? परमादेश दिन सर्वोच्च अदालतलाई कसकसले के कस्तो भूमिका खेले ? यसकारण कांग्रेसले बहुमत पाउने छ भन्ने हल्ला भ्रममात्र हो ।
शेखर, शशांक, कृष्ण सिटौला, प्रकाशमान, रामचन्द्र गुट उपगुटको रडाकोमा छन्, देउवा पत्नी आरजुको चुरीफुरी ठूलै देखिदैछ । यो हुनु भनेको खुट्टा तान्ने र लडाउने खेल हो । त्यसमाथि प्रदीप, विश्वप्रकाश, धनराजहरूको चलखेल त अर्कै छ भने सुजाता मार्काहरूको माँग र धमास धानी नसक्नु सुनिदैछ । सभापति तथा प्रधानमन्त्री देउवाको बैठकमा सात प्रदेशका प्रमुखहरूमध्ये पाँचले गठबन्धन नगरी कांग्रेस सबै तहको चुनावमा एक्लै लड्नुपर्छ भनेका छन् । यो कांग्रेस लडाउने खेलजस्ता भनिन्छ । बरू प्रचण्ड, माकुने, महन्थहरूसँग तालमेल गर्दा कांग्रेसले लाज जोगाउन सक्ला, देउवा निकटेहरू यसै भन्छन् । तिनका अनुसार योपल्ट कमल थापा विहीन राप्रपाको उचाइ ह्वात्तै बढेको छ । जनतामाझ कमीकमजोरी खुलस्त भन्नसक्ने र अहिलेको सार्वजनिक पद धारण नगरी चोखो बसेका अध्यक्षको आकर्षण प्रभाविलो देखिन थालेको छ । यो कांग्रेसका लागि राम्रो संकेत होइन । अझ एमाले र राप्रपाबीचमा तालमेल भइदियो भने कांग्रेसको हालत कति पातलो हुने हो ? एमसिसीका पक्षमा कांग्रेसले लिएको एकल र स्पष्ट अडानका कारण पनि एमालेको जनसमर्थन बढी सशक्त देखिदैछ । अर्थात चुनावमा कांग्रेसलाई एकदमै गाह्रो परिस्थिति सिर्जना भइसकेको छ । यसमाथि एमसिसी पारित गर्न व्याख्यात्मक टिप्पणीको बाटो मैले दिएको भन्ने प्रचण्डको दावीपछि कांग्रेस अझ असजिलो अवस्थामा पुगेको हो । एमसिसी पारित हुनुमा भित्री कारण जेसुकै भए पनि जनतामा नकारात्मक असर चाहिं परेको छ । यथार्थमा चुनावी माहोल कांग्रेसको भन्दा माओवादी र समाजवादीको बलियो छ । यसकारण पनि कांग्रेसले तालमेल गरेर अघि बढ्नुमा बुद्धिमानी हुने राय धेरैले दिइरहेको सुनिन्छ । एमाले नै सत्तामा बसेर चुनाव गराएको भए कांग्रेसले बहुमत ल्याउने पक्का थियो । कांग्रेसभित्रका विश्लेषक भन्छन्– २०७४ को चुनावको हालत हुने खतरा बढी छ । यति बेला युक्रेन र रूसबीच युद्ध छेडिनु, पेट्रोलियम पदार्थको मूल्य बुद्धि भएपछि बजारभाउ बढ्नु, बेरोजगारी र भ्रष्टाचारका कारणको भारी समेत कांग्रेसको थाप्लोमा थोपरिएको छ । यसकारण पनि गठबन्धन कांग्रेसलाई चाहिएको छ । देउवाले जमिनी यथार्थ बुझेका छन् । यहीबेला प्रधानमन्त्री देउवा भारत भ्रमण गर्दैछन् । चुनाव जित्ने बहानामा भारतसँग पुनः सन्धि सम्झौता गर्ने हुन् भन्ने खतरा देखिदैछ । देउवाले सानोमात्र गल्ती गरे भने यसलाई ठूला मुद्दा बनाउने छन् राप्रपा र एमालेले । कांग्रेसी कुनै पनि प्रधानमन्त्री भएका बेला नेपालले केही न केही गुमाएकै छ । यो पटक के गुमाउने हो ? देशको चिन्ता कसलाई छ र यहाँ । चुनावको चिन्ता सबैमा देखिन्छ ।
यता चीनसँग गरिने सहमति सम्झौताबाट महन्थ ठाकुरहरू चिढिने, उता भारतसँग गरिने यस्ता कार्यले विपक्षीले भोट तान्ने ।  ठूलो समस्या छ कांग्रेसलाई । जान त भ्रमणमा जाँदा माधव र प्रचण्डका मन्त्रीहरू पनि साक्षीका रूपमा जानेछन् । गए पनि अपजस कांगेसको भागमा पर्नेछ । यता शेखर, रामचन्द्रहरूले चुनावलाई लिएर गुट परिचालन थालिसकेका छन् । प्रधानमन्त्रीले कुनै चुक नगरिदिए हुन्थ्यो भनिरहेका छन् सक्कली कांग्रेसीहरू । गठबन्धन सरकार भए पनि वामहरू मौका र गौंडा परेका बेलामा कांग्रेसलाई लतार्छन् । हेरौं त एमसिसी कांग्रेस नेतृत्वमा पास भयो । पास गरेको जसचाहिं माओवादीले लियो । वामहरू बठ्याइँ गर्न माहिर छन् । पास गर्न सघाए, कांग्रेसलाई बदनाम गरेर जस लिए । अब हेर्नुछ, कांग्रेसले प्रजातन्त्रको बर्चस्व वामहरूबाट कसरी कायम गर्ने हो । स्थिति बुझेर होला, देउवा अहिले प्रचण्ड र माधवभन्दा बढी गठबन्धनको कुरा गर्छन् । अझ महन्थ ठाकुहरूलाई सत्तामा ल्याएर बृहत गठबन्धन बनाउने कसरत गरिरहेका छन् ।