काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रिज अफ नेपाल’ नयाँ पुस्तक हो । सन् २०१९ मा युरोप लाटभियाको ल्याम्बर्ट एकेडमिक पब्लिशिङले प्रकाशित गरेको अंग्रेजी लिपिको पुस्तक अहिले आठ भाषा (फ्रेन्च, रूसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस) सहित ८ भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो । पुस्तकको प्राक्कथन इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले लेखेकाले पनि यो पुस्तक महत्वपूर्ण हुनपुगेको छ ।
यो पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालजस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् । मुख्य कुरो नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तका विषयमा पनि विश्लेषण गरिएको छ । नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपाय सुझाइएको छ । पुस्तकमा नेपालको छिमेकीसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन् ।
सीमासँग सम्बन्धित बेलायतको इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एशोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरू र डेनमार्कमा मुख्यालय भएको इन्टरनेशलन फेडरेशन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरूको सीमासम्बन्धी क्रियाकलाप पनि वर्णन गरिएका छन् । यसकारण पुस्तक महत्वपूर्ण छ ।
युरोपको प्रकाशन संस्थाले महत्व दिएर ८ भाषामा प्रकाशित गर्नुले पुस्तक अन्तर्राष्ट्रिय महत्वको छ भन्ने प्रमाणित हुन्छ । खुशीको कुरो यो पुस्तक अनलाइन पढ्न पाइने छ । विश्वभरिका पाठका लागि यस पुस्तकले नेपालको सीमा मामिला अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी पु¥याएको छ । भारतद्वारा अतिक्रमण लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपालको चुच्चे नक्साको लडाइँ र सीमा समस्या सुल्झाउने विषय पुस्तकमा लेखिनु लेखकले राष्ट्रिय धर्म र नागरिक जिम्मेवारी पूरा गरेको मान्नैपर्छ ।