देवी काफ्ले –
ठूलाबडा, महापुरूषहरूले जतिसुकै खोक्रा भाषण छाँटे पनि महिलामाथि गिद्धे नजर लाउन त माहिर नै हुन्छन् । धार्मिक गुरूहरूदेखि राजनीतिज्ञ, विद्वान, मन्त्री, प्रोफेसर तथा उच्च पदस्थ व्यक्तिहरू समेत यौन दुराचारी भएका खबर समय समयमा हामीले पढेसुनेकै समाचार हुन् । छिमेकी मुलुक भारतमा धार्मिक गुरू आशाराम बापु दिनहुँ धार्मिक प्रवचन दिँदै पाप र पुण्यको जोखना गर्ने गर्थे तर उनको भित्री स्वरूप यौनकाण्डले उदाङ्गो पारिदियो । त्यस्तै नेपालकै धार्मिक गुरू मानिएका रामबहादुर बमजन अर्थात ‘लिटिल बुद्ध’ भनिएका पनि निकै विवादमा तानिएका थिए । यौनकाण्ड नेपाली समाजमा व्याप्त देखिन्छ । १९ महिनाकी बालिकासमेत बलात्कारमा परेका घटना सार्वजनिक भएका छन् । फिल्मी कलाकारदेखि राजनीति र प्रशासनमा समेत यौनकाण्ड देखिन्छ । यहाँसम्म कि संवैधानिक अङ्ग सम्हालेका सभामुखसमेत यौनकाण्डमा मुछिए, तै पनि यौनकाण्ड कसरी घट्छ भन्ने नैतिकशिक्षाको प्रचार प्रसार हुनसकेको देखिदैन ।
राजनीतिक क्षेत्र पनि यौन दुराचारका लागि मैदानै जस्तो देखिन थाल्यो । सांसददेखि वडाध्यक्षसम्म यौनकाण्डमा मुछिए । परीक्षामा राम्रो नतिजा ल्याउन सहयोग गर्ने भन्दै छात्रा विद्यार्थीलाई ब्ल्याकमेल गरेका घटना बाहिर आउँछन् त कहिले जागिरको प्रलोभन दिएर यौनशोषण गरेका घटना बाहिर आउँछन् । कहिले हाकिमबाट कारिन्दा महिला यौन शोषणमा परेका घटना बाहिर आउँछन् । धेरै घटना त जब ‘मि टु’ को लहर चलेको थियो, त्यतिबेला बाहिर आएको थियो जसमा प्रदेश मन्त्री समेत मुछिएका थिए । प्रकाशमा नआएका घटना कति छन् कति ?
हाम्रो समाजमा पुरूषसँग खुलेर बोल्ने महिलालाई चरित्रहीनको संज्ञा दिइन्छ अर्थात कोही महिला पुरूषहरूसँग बिना हिचकिचाहट बोल्नु भनेको पुरूषसँग सहजै लहसिएको अनुमान लगाइदिन्छन् । पुरूषको आँखामा आँखा जुधाएर बोलेपछि नकच्चरीको संज्ञा दिइन्छ अनि सोधपुछ गर्न थाल्छन् कि कस्तो चरित्रको आइमाई हो भनेर । पुरूषसँग नजिक भएर वा साथी ठानेर सामान्य छोइयो भने आफूलाई निम्ता दिएको ठानेर तुरून्तै खराब चरित्रकी गलत आइमाई बनाइदिन्छन् । कामकाज या कुनै पनि बिषयले अबेर रात घरमा आए पनि खराब लत लागेकी चरित्रहीन आइमाईको बिल्ला भिराउन क्षणभर समय लाग्दैन यहाँ । साथी होस् वा आफन्त, तीन दिन लगातार कुनै पुरूषको मोटरसाइकल वा गाडीमा सवार गरेको देखे भने पनि उनीहरूको सम्बन्ध उही एउटी गलत प्रकृतिकी आइमाई र पुरूषको बनाइदिन्छन् । महिलाले लगाएको कपडाबाट उसको चरित्र मापन गरिन्छ । छोटा लुगा, शरीर देखिने लुगा लगाएर पुरूष भड्किन्छ भन्नेहरू हो, तिम्रा घरका महिलालाई बुर्का लगाइदिएका छौ ? फेरि बुर्काको पनि बिरोध किन गर्छौ ? आफ्नो शरीरलाई आफ्नो बशमा पार्न सक्दैनौ भने किन एकोहोरो स्त्रीलाई मात्रै चरित्रहीनताको दोष ?
मैले आजसम्म नबुझेको कुरा– महिलाले पुरूषसँग बोल्दा, सामान्य स्पर्श हुँदा, सँगै काम गर्दा, सँगै खाँदा वा बस्दा चरित्रहीन हुन्छे भने पुरूष चरित्रवान कसरी भयो त ? आखिर महिलालाई चरित्रहीन बनाउने पुरूष हैन त ? कि महिला एक्लै चरित्रहीन हुन्छन् ? अरू आरोप लगाउन सक्नु पर्यो कि पुरूषले पनि महिलासँग संसर्ग नगर्न सक्नु पर्यो । हैन भने महिला एक्लै चरित्रहीन कसरी हुन्छे ?
महिलालाई हेरेर यौन चाहना पूरा गर्न खोज्ने आफ्ना लालायित आँखालाई कन्ट्रोल गर्न नसके पछि आफुलाई हेरिराखेको कस्तो चरित्रको महिला भन्दै खिसिटिउंरी सुरू । महिलासँग छोइएर सन्तुष्टि लिन खोज्ने तिम्रो पापी मन बाँध्न सक्दैनौ अनि तुरून्तै महिला बेश्या । आफैले महिलाको शरीरप्रति आशक्ति जनाउँछौ अनि आफै महिलाको चरित्र मापन गर्छौ ? अनि आँखाले हेरेर कस्तो चरित्रकी आइमाई भनेर बुझ्न हिड्छौ महापुरूषहरू ? दोष केही महिलामा होला, बढी पुरूषमा देखिन्छ ।
आज महिलाहरू दिनानुदिन तिनै खराब पुरूषको गलत नियतको शिकार बनिरहेका छन् । छोरी बाउसँग सुरक्षित छैन भने अरू कोसँग सुरक्षित होलिन् ? सार्वजनिक यातायातमा हिड्यो भने त्यहीँ अघोषित बलात्कार हुन्छ । अफिस, स्कूल, टोलछिमेक जहाँ पनि महिला अघोषित बलात्कार भइरहेकी हुन्छे र त्यो बलात्कार गर्ने उनै हुन्छन् जसले सबैभन्दा बढी महिलाको चरित्र मापन गर्दै हिड्छ । यिनैले स्वच्छता र चरित्रका बखान गर्छन् । आफूले आफ्नो आशक्ति ब्यक्त गर्छ र यदि महिलाले सहमति जनाइन् भने उसलाई बदचलन आइमाई त्यही पुरूषले भन्छ । खबरदारी गरौं यस्ता पुरूषहरूलाई, जसले महिलालाई यौनदासी सम्झन्छ ।
महिला अघोषित रूपमा दैनिक अनि पटक पटक बलात्कारको सिकार बनिरहंदा कार्यक्रममा आवाज उठाइन्छ तर त्यसप्रकारका हिंसा न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषय तिर ध्यान पुगेकै छैन । बहस गर्न कोही तैयार नै देखिदैनन् ।
मेरो आशय सबै पुरूष खराब भन्ने होइन । समाजमा केही असल पुरूष पनि नभएका हैनन् तर केही खराब प्रकृतिका पुरूषका कारण असल पुरूषलाई पनि असर पुगेको छ । जबसम्म महिलालाई हेर्ने यौनपूर्ण पुरूषवादी सोंचमा परिवर्तन आउँदैन तबसम्म महिला एक्लै दोषी ठहरिने छिन् । पुरूषवादी चिन्तन पढेलेखेका ठालुहरूमा धेरै देख्न पाइन्छ । गाउँघरमा गोबर फाल्नेहरूले भन्दा कैयौं गुणा बढी त अघोषित बलात्कार गर्छन् यी ठालुहरूले । महिलाहरू हरेक क्षेत्र अघोषित बलात्कारबाट प्रताडित भइरहेका हुन्छन्, यो सबै गलत सोचका कारणले भइरहेको छ ।
महिलाहरू आत्मनिर्भर भएता पनि, निर्णायक तहमा पुगेता पनि, उनिहरूका निर्णयलाई चुरा बजेको, पोथी बासेको जस्ता उपनामहरू दिईन्छ । आखिर महिलाले गरेका सहि निर्णयहरूलाई सहजै कहिले स्वीकार गर्ने ? समानताको ठूलै भाषणबाजी गरिन्छ, व्यवहारमा महिलालाई हेर्ने दृष्टिकोणमा सुधार आउने, ल्याउने कहिले ?