Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पालो अब राप्रपाको

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - -
रणनीति बलियो पार्ने हो भने मौका राप्रपाको छ । ठूला पार्टीहरू आन्तरिक र आपसी खिचलोमा छन्, हिजोका गल्ती कमजोरी सच्याएर अघि बढ्ने हो भने राप्रपाको पक्षमा माहोल देखिन्छ । जनता विकल्प खोजिरहेका छन् । अहिले नभए कहिले ? जनता जहिले पनि उनै अनुहार जिताउने र उनीहरूबाटै प्रताडित भइरहने प्रवृत्तिबाट वाक्क भएका छन् । राप्रपा नेपाल संगठित भइसकेको छैन, उसले पनि एमालेसँग गठबन्धन गर्ने भनिरहेको छ । यसकारण पनि राप्रपालाई मौका राम्रो छ । वैशाख ३० को स्थानीय चुनाव । प्रदेश र संघीय चुनावको जनमतसंग्रह भने पनि हुन्छ यो स्थानीय चुनावलाई । वैकल्पिक राजनीतिक दलका रूपमा विवेकशील पार्टीभन्दा राप्पाले उठाएका विषयवस्तु आज मुलुकलाई चाहिने खालका छन् । अझ केहीको विचारमा स्थानीय र केन्द्रीय चुनावमा राप्रपाले पनि अन्य विचार मिल्ने पार्टीसँग तालमेल गर्न सके सुनमा सुगन्ध हुनेथियो । राम्रै संख्यामा बाजी मार्न सक्ने देखिन्छ । विद्यमान ठूला पार्टी र तिनका पुराना नेताबाट जनतामा अत्यधिक निराशा फैलिएको छ । ठूला नेताले जनतालाई केही दिन सकेनन् । दैनिक जीवनयापनलाई समेत कष्टकर बनाइदिएका छन् । राजनीति यतिबिघ्न त्रसित छ कि गत शुक्रवार एउटा अमेरिकी सैनिक जहाजले कूटनीतिज्ञ बोकेर आउँदासमेत अमेरिकी सेना र हतियार आयो भनेर हल्लीखल्ली नै भयो । सरकारसँग मात्रै आक्रोसित हुन् र जनता ? प्रणालीमै खोट देख्न थालेका छन् । यस्ता अविश्वसनीय वातावरणमा राप्रपाले खुट्टा टेक्ने हो भने युवा नेताको भविष्य छ भन्ने उदाहरण देखिनेछ । यसकारण पनि ठूला पार्टीहरू राप्रपासँगसमेत तर्सेका छन् । २०४६ सालदेखि उकुसमुकुस जनतालाई भारतका केजरीवाललाई जनताको साथ र उनको जितजस्तो भनेर प्रशंसा गर्न थालिसकेका छन् । अर्थात जनता राजनीतिबाट सेवा खोज्न थालेका छन् । शोषक राजनीतिबाट जनता वाकविधि भइसकेका देखिदैछन् । जुन परिवर्तनको संकेत हुनसक्छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको भाषण सुन्दा देशको अवस्था र जनताको पीडा देख्न सकिन्छ । राजनीति जिम्मेवार हुनुपर्छ भन्ने सन्देश सुनिन्छ । नेपाली कांग्रेसको महाधिवेशनमा उनले जनताहरू नेतालाई चोर भन्न थालिसके भन्ने अभिव्यक्तिले जनताको आवाज बोकेको थियो । आफ्ना उमेदवारहरूले भवगानलाई साक्षी मानेर शपथ खानुपर्छ भनेपछि राप्रपा बढी चर्चामा आएको हो । जनताले खोजेको लोकलज्जा, जिम्मेवारी र जवाफदेहीता नै हो । चुनाव जितेर जानेले भ्रष्टाचार नगरोस्, राष्ट्रघात नगरोस्, इमानमा रहोस्, जनताले सहज सेवा पाउन्, सुशासन होस् भन्ने अपेक्षा हो जनताको । हेर्नु यत्ति छ, बोलेजस्तै विश्वासिला कार्यक्रम ल्याउलान् भनेर हेर्नु छ । योग्य र युवा उमेदवारको छनोट गर्लान् नगर्लान् ? चुनावमा हुने धाँधलीलाई रोक्न सके भने राप्रपाको भविष्य उज्ज्वल देखिन्छ ।
राप्रपाको नेतृत्वमा चोखोपन, जनपक्षीय लहर देखिएको छ । देशमा भ्रष्टाचार व्याप्त छ, ठूला ठूला काण्ड घटेका छन् तर कारवाही कसैमाथि पनि भएको छ । भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो भन्ने राप्रपाको नेतृत्व जनताको लागि यसकारण पनि आकर्षित भएको हुनुपर्छ । स्थानीय निकायदेखि प्रदेश र केन्द्र सरकारमा देखिएको बेथिति कहालीलाग्दो छ । कसले सम्हाल्ने ? जुनसुकै दल उस्तै छन्, उही कानै चिरिएका जस्ता । यस्तो स्थितिमा राप्रपामा युवा नेतृत्व आएको छ । नेकपा स का नेता झलनाथ खनालले भनेका छन्– कांग्रेस, एमालेले बोरामा पैसा बोकेर आए पनि सकेसम्म मतदाताले नजरअन्दाज गर्ने, नसके पैसा लिएर मत नदिने गर्नुपर्छ । अर्थमन्त्री भन्छन्– बजारमा पैसा छैन, कहाँ गयो, म खोज्दैछु । हुन त राप्रपाभित्र पनि पञ्चायत र ०४६ पछिको भ्रष्ट र अनैतिक नभएका होइनन्, शीर्ष नेता स्वच्छ देखिएकाले जनताको आकर्षण बढेको हो । युवा नेतृत्वलाई मौका दिनुपर्छ भन्ने भाव जनतामा बढेको छ । यो जनभावलाई क्यास गर्न राप्रपाले अघिस¥यो भने राजनीतिमा ठूलै सुधारको सुरूआत हुनसक्छ ।
नेमकिपा स्वच्छ छ, तर भक्तपुरमा साँघुरिन पुगेको छ । नेमकिपा साँघुरिनु भनेको जुम्लासम्म बिस्तार भएको यो पार्टीका नेता, कार्यकर्ता अरू पार्टीमा गए । कांग्रेस, एमाले, माओवादी र अन्य पार्टीहरूका नेता कार्यकर्ताहरू पनि कहिले यता, कहिले उता भौंतारिएका छन् । ती सबैलाई समेट्ने काम राप्रपाले गर्नुपर्छ । राप्रपा पनि एक्लै २४ र सूर्यबहादुर थापासमेत मिल्दा ३६ सिटको प्रभावशाली पार्टी बनेको थियो । संविधान निर्माणपछि २०७४ को निर्वाचनमा जनताले बोले अनुसारको काम नगरेकोले दण्डित गरिदिए । एक सिटमा झारिदिए । अब जनताले दण्डित गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलाई हो । यी पार्टीहरूले पटक पटक मौका पाए, जनताको अपेक्षा र आशालाई तुषारापात गरिदिए । राम्रो काम गर्छु, भ्रष्टाचार गरिन्न, कानुनको राज चलाइने भनेर राप्रपा अघि आए अब पालो राप्रपाको हो ।