शाश्वत शर्मा - -
नेकपा सका अध्यक्ष माधवकुमार नेपालले भने– एमसिसी पास नगर्दा सत्ता छाड्नुपर्ने स्थिति आउने थियो । आफूहरूलाई विभिन्न मुद्दामा फसाउने देखियो । ओलीको प्रतिगमन फर्किने सम्भावना बढ्यो त्यसकारण एमसिसी संसदबाट पारित गराइयो । उता गठबन्धनका अर्का नेता प्रचण्डको धारणा छ– एमसिसी पास नगर्दा आफूहरूलाई द्वन्द्वकालीन मुद्दाहरूमा फसाउने, अन्तर्राष्ट्रिय अदालतमा पु¥याउने अनि आफ्नो पार्टीका तर्फबाट सभामुख भएका अग्निप्रसाद सापकोटालाई महाभियोग लगाएर निकाल्ने प्रपञ्च हुन आँटेकाले एमसिसीलाई ब्याख्यात्मक टिप्पणीका साथ पारित गर्नुपरेको हो । स्मरणरहोस्, माथि उल्लेख गरिएका दुबै नेताजीहरू यथास्थितिमा एमसिसी पारित गरिनु हुन्न भनने लाइनमा थिए तर आफ्नो व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थका कारण यिनले एमसिसी पारित गर्न सहमति जनाए । एमसिसी किन पास गरियो, रहस्य खुल्यो । यसका लाभ देशलाई कति होला, देखिदैजाला । नेताजीहरूको मुखुण्डो उत्रदै जालान् । मुख्य कुरो आफ्नो पार्टीगत अस्तित्व बचाउन यिनले आत्मघात गरेका रहेछन् ।
मर्न मार्न तैयार थिए प्रचण्ड र माधवका कार्यकर्ताहरू । तिनीहरूमाथि राज्यदमन पनि गराययो । सडकमा राष्ट्रघाती देख्ने प्रचण्ड माधवले संसदमा राष्ट्रवादी देखे, पारित गरे । कार्यकर्ताले तिनलाई कसरी बुझ्ने ? यस्तालाई नेता मानेर शीरमा राखिराख्ने कार्यकर्ताहरूलाई किन जरूरी छ ? किन कार्यकर्ता बाध्य छन् ? कुनै पनि कार्यकर्ताले आफ्ना नेताहरूलाई किन सडक प्रदर्शन गर्न र राज्यदमन सहन बाध्य पारियो भनेर प्रश्न गरेको सुनिएन । कार्यकर्ताहरूले ग्लानीवोध गरेको पनि देखिएन । एमालेले पनि नाममात्रको संसद अवरोध गराएर सरकारलाई सहयोग गरिदियो । एमालेको नाटक पनि इनफ इज इनफ भयो ।
अर्काथरि विश्लेषकहरू विप्लव, प्रकाण्डहरू देखेर दङ्ग छन् । देशमा आगो बाल्छौं भन्थे, पास भएपछि त ओठमुख नै सुक्यो यिनको । टुडिखेलमा भाषण र नेपालबन्दको नाटक गरेर यिनको प्रतिकार सकियो । राप्रपा पनि मौन छ । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, पछि कायम राख्ने निर्णय गरेर जग हँसायो । एमसिसी राष्ट्रघाती थियो भने जनतालाई किन भड्काइयो, राष्ट्रहितमा थियो भने यिनले नाटक किन देखाएको ? नेता कस्ता, टुलु टुलु हेर्ने हामी जनता कस्ता ? एमसिसी पास भयो, सबैलाई चुनाव लाग्यो । जनताको बानी आन्तरिक र बाह्य सबैलाई थाहा छ । कति सजिलै उफार्न र थचार्न सकिन्छ, राम्रोसँग थाहा भएकाले नै जनता हिस्स परिरहन्छन्, नेता लाभमाथि लाभ लिइरहेका छन् । भ्रष्टाचार गर्ने, त्यही भ्रष्टाचारको केही रकम खर्च गरेर जनतालाई यसैगरी नचाइरहने । क्या काइदा, नेतृत्वलाई क्या फाइदा ?
यस्तै भएर हो नेपाल बन्न नसकेको । संविधानले काम नगरेको, सुशासन कायम हुन नसकेको । यस्ता कार्यकर्ता र हामीजस्ता जनता हुन्जेल मुलुक अरू बिग्रन्छ । सप्रिन्न । नेतृत्वले जे गरे पनि सात खून माफ । किन ? राष्ट्रिय मुद्दाहरू छाडेर सबैलाई चुनाव लागिसकेको छ । कसरी चुनाव जित्ने, सबैको ध्यान त्यतैतिर मोडिएको छ । घातकहरूलाई चुनाव हराएर घाइते पार्ने र योग्य उमेदवार जिताउने बहस कतै छैन । जनताको छोटो स्मरणशक्तिको लाभ नेताहरूले गल्तीमाथि गल्ती गरेर उठाइरहेका छन् । अफसोच, बिकल्प नभएर हो वा भ्रममा परेर हो, यिनै भ्रष्ट र राष्ट्रघातकहरूले चुनाव जित्छन् । जनताले कसैलाई दण्डित गर्ने हिम्मत राख्दैनन् । नयाँ बिकल्पमा आउन खोज्नेहरूले अवसर नै पाउने छैनन् । भारतमा जनता सचेत छन्, यसकारण भर्खर उदाएका केजरीवालले शक्ति देखाइदिए । नेपाली जनता पनि सचेत छन् तर विवेक प्रयोग गर्दैनन् । नेपालमा नेमकिपा शुद्ध पार्टी मानिन्छ । तर यो दैलेखसम्म बिस्तारित भइसकेको पार्टी भक्तपुरमा सिमित भइसक्यो । भ्रष्टाचारीको बोलवाला हुन्जेल नेपालको चुनावमा भ्रष्टहरूकै हालीमुहाली रहने निश्चित छ । सिंहदरवारको शासन यिनकै कब्जामा रहिरहनेछ । जनताले आक्रोश निकालेर सही र गलत छान्ने विवेक देखाएमात्र यो मुलुक सुध्रिनेछ । देशमा ७६१ सरकार छन् । राष्ट्रपतिदेखि वडाअध्यक्षसम्मको अनुहार हेरौं त ? कहाँ देखिन्छ यिनमा राष्ट्रप्रतिको प्रेम ? झोले र लोभी कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी भएपछि नेताहरूले देश र जनताको दोहोलो काढ्ने नै भए । घरमा मूली दह्रो नभएपछि बेथिति बढ्छ, मुलुकले सास्सी बढिरहने छ । छट्टु नेता, लठ्ठक जनता, शोषक छिमेकी र मित्रहरू । समाधान एउटै छ, जनतामा चेत खुल्नुप¥यो । अब पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता बकम्फुसे कुराहरूमा अल्मलिनु भएन ।