देवी काफ्ले –
समाज कतिसम्म उन्नत छ, यो त्यस समाजका स्वास्नीमानिस कति उन्नत छन् भन्ने कुरामा भर पर्छ । सम्पूर्ण जनसंख्याको आधा हिस्सा स्वास्नीमानिस छन् । आधा जनसंख्या भयका यी स्वास्नीमानिस यदि अशिक्षित र परनिर्भर नै रहे, यदि हिंसा र अत्याचारको सिकार भइरहे,यदि यी अत्याधिक संख्याको बुद्धि, शक्ति, क्षमता समाजका लागि कुनै काम नआए त्यो समाज पछि त पर्ने नै भयो । यदि स्वास्नीमानिस पछि परेमा प्रगति पनि पछि नै पर्छ । यसको ज्वलन्त उदाहरण खोज्न टाढा जानुपर्दैन । स्वास्नीमानिस शिक्षित भएर पनि कुसंस्कारका बिरूद्धका लडाइँ उल्लेख्य मात्रामा भयको छैन । अन्धबिस्वासले गाडेको जरा यतिसम्म गाँजिएको छ कि आजको पिँढीले समेत स्विकारी रहेका छन् ।
समाज, राष्ट्र छिटो उन्नति चाहन्छ तर नारीको नेतृत्व चाहँदैन, उनीहरूको स्वतन्त्रता देखिसहँदैन । स्वास्नीमानिसको निर्णय स्वीकार्न सक्दैनन् । आफूभित्रको कुसंस्कारका बिरूद्ध बाहिर बोल्छन्, आंफैबाट अन्त्यको सुरू गर्न सक्दैनन् ।
२१ औं शताब्दी, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, हामी अझ पनि रजस्वला भएकी स्त्रीलाई घरमा बस्दा पाप लाग्ने, देवता रिसाएर अनिष्ट हुने, समाजले पचाउन नसक्ने भन्दै छाउगोठमा बस्न र ज्यान समेत गुमाउन परेका दृष्टान्तले यो शताब्दीलाई कता धकेल्यो होला ? सरकारले कुसंस्कार बिरूद्धको अभियान चलाएर छाउगोठ भत्काएर त्यो चलन मासियो त ? अहं यहाँ जे गरेपनि स्त्री जातिप्रतिको बक्रदृष्टि बदल्न सकिन्न । जबसम्म स्वयं नारी शिक्षित भएर आत्मनिर्भर हुदैनन् तबसम्म महिला अधिकार के हो भन्दा ङिच्च दाँत देखाएर हाँस्ने मात्र हुनेछन् ।
पुरूष अनि पुरूषवादी चिन्तन बोकेका महिलाहरू सजिलैसँग स्त्रीलाई चरित्रहिन बनाउँछन् । एउटी छोरी कसैसँग बोली हिंडी भने बेश्याको संज्ञा दिईहाल्छन् । यदि उनिहरूको सम्बन्ध गलतै भएपनि स्त्री एक्लै बेश्या कसरी हुन्छे ? यहाँ पुरूष प्रधानताले पुरूषलाई दोषी देख्न सक्दैन चाहे महिला होस् चाहे पुरूष होस् ।
स्वास्नीमानिस स्वभावैले कोमल हुन्छन् । उनिहरू प्रेममा सजिलै परिदिन्छन् । पुरूषका मायाप्रेमका बातहरूमा स्वर्गै देख्छन् त्यसैले त चाँडैनै पुरूषलाई शरीर सुम्पिदिन्छन् । त्यो प्रेममा उनिहरू आफ्नो सारा जीवन ब्यतित गर्ने सपना बुन्छन् । पुरूष चाहिँ चराजस्तै एकठाउँ अघायो अर्को ठाउँ चाहार्न थाल्छ । मेरो आशय यो होईन कि सबै पुरूष यस्तै प्रबृतिका हुन्छन् । पुरूषले दिएका वचनलाई शिरोधार्य गर्छन् । जब उसले धोका दिन्छ तब फेरि स्त्रीजाती नै बदनाम हुन्छे । त्यो स्त्रीको समाजका भद्र भनाउँदाहरूले पनि खुलेरै ईज्जतको तान्डव नाच नचाइदिन्छन् । त्यसकासाथ लागि कसैले आवाज उठायो भने बहिष्कारका नारा लाग्छन् उदाहरण हेर्नु परे अहिलेका शिक्षित महिला,आफुलाई बरिष्ठ ठान्ने बुजुर्गहरूलाई हेर्दा हुन्छ । यहाँ आरोप लागिसकेका ब्यक्तिका लागि कानूनभन्दा माथि आफुलाई राखेर एकोहोरो स्त्री बेश्या र आरोपितलाई शुद्धीकरण गरिन्छ ।
एउटी जिम्मेवार स्वास्नीमानिसप्रति घर परिवारको जिम्मेवारी कति हुन्छ भन्ने उदाहरण त भेरीमा आफ्ना सन्तान सहित हाम फालेकी सुखीलाई सम्झे पुग्छ ।त्रिशुलीका किनारमा गिट्टी कुट्ने,लेकमा यार्सा खोज्न जाने,ईट्टाभट्ठामा काम गर्ने स्वास्नीमानिसलाई हेरे पुग्छ । सम्बिधानमा महिला हक अधिकारका बिषय उल्लेख भएर के गर्ने जब ती कानूनी कुरा ओझेलमा परेका स्वास्नीमानिसका लागि हाउगुजी छ । जुन परिस्थितिका कारण सरकार फेरियो, ब्यवस्था फेरियो, गाउँ गाउँमा सिंहदरवार बने तर नारीले अझै आफ्नो हक कहाँ उल्लेख छ थाहा पाएका छैनन् ।
जुनसुकै कुरा पनि ब्यवहारमा लागू नगरेसम्म मान्छेले बुझ्दैन । नबुझाए, नबुझेसम्म ब्यवहारमा कसरी लागू हुन्छ ? बुझ्नका लागि शिक्षित हुनुपर्यो । सरकार औंठाछापलाई कखरा सिकाएर साक्षरताको तथ्यांक निकाल्छ । हात कपाउँदै नाम लेख्दैमा शिक्षित हुन्छ र ? समाज परिवर्तन, समाज उन्नत देश उन्नत बनाउन महिलालाई शिक्षित र आत्मनिर्भर अनि सम्पूर्ण नागरिकले कुसंस्कार र एकोहोरो देवत्वकरणवादी चिन्तनलाई नत्यागेसम्म स्त्री जातीले अन्याय सहिराख्नुपर्नेछ ।