शाश्वित शर्मा - -
एकथरिको विचारमा नेपाल अहिले २०१७ तिरकै जस्तो मोडमा छ । जनता सत्ता सञ्चालकहरूसँग मात्रै होइन, यो पद्धतिसँग नै रूष्ट हुनपुगेका छन् । भर्खरै संसदबाट पारित एमसिसीका कारण रूस र चीन मात्रै होइन कि भारत समेत रूष्ठ र सशंकित हुनपुगेको दावी तिनीहरू गर्छन् । त्यसो त एमसिसीले नेपालमात्रै होइन स्यम् भारत पनि लाभान्वित हुने बताइरहँदा पनि भविष्यमा अमेरिकी फौज एक एक कारण देखाउँदै र बताउँदै नेपाली भूमि प्रयोग गर्न पो आउने हो कि ? चीनलाई मात्रै होइन, भारतलाई समेत संशय रहेको तर्क तिनको छ । स्वयम् पूर्व माओवादी बैद्यले यस्तो संशय प्रकट गरेका छन् । त्यसो त अमेरिका पनि नेपाली सत्ता सञ्चालकहरूसँग खुशी नभएको दावी अर्काथरिको देखिन्छ । नेपालको सडकदेखि संसदसम्म अमेरिकी साम्राज्इवाद मूर्दावाद भन्ने नारा लाग्नु, त्यो पनि नेपालजस्तो दानदातव्यमा चल्ने मुलुकमा, अेमरिकाजस्तो शक्तिशाली मुलुकका लागि लाजमर्दो कुरा हो भन्ने भनाइ तिनको छ । महाशक्ति मुलुक अमेरिकाको बेइज्जत हुनपुग्यो । अब एमसिसीका मुख्य मुख्य प्रावधानहरू माथि चीनसँग सल्लाह गरेर १२ वटा व्याख्या गरेर एमसिसी सँगै त्यसलाई पारित गरेपछि विश्वमै अमेरिकाको शक्ति क्षीण भएको भनाइ तिनको छ । अब चीन र रूस समेत एमसिसीसँग सन्तुष्ट हुने कुनै भएन । अझ नेपालमा सुक्षम व्यवस्थापन गरिरहेको भारत, नेपाली राजनीतिबाटै टाढिन पुगेको र चीन मैदानमा देखिएको भन्ने विचारहरूलाई विश्वास गर्ने हो भने नेपाल फेरि एकपल्ट परिवर्तनको संघारमा पुगेको मान्नुपर्छ । नेताहरू छिमेकी र मित्रराष्ट्र अनुकूल भएनन् । भित्र भित्र सहमति गर्ने, बाहिर आफ्ना कार्यकतालाई मित्रराष्ट्रविरूद्ध उफार्ने, बदनाम गराउने कार्यले मित्र र छिमेकी राष्ट्रको हुर्मत लिने काम भएको छ । नेपाली नेताको दुई जिब्रा, दुई अनुहार विश्वले देख्यो । नेपालमा नेपाली रूष्ठ, व्यवहारले मित्र र छिमेकीहरू रूष्ठ । यस्तै बेलामा हो परिवर्तन चाहनेले जनताको नेतृत्व गर्नुपर्ने । परिवर्तनपछि पटक पटक मौका आएको छ तर जनता चिच्याइरहने, पूर्वराजा स्पष्ट नहुने ।
भ्रष्टाचार बेपत्ताले बढ्यो, महगी बढ्यो, दण्डहीनता बढ्यो, कुशासन बढ्यो, राष्ट्रघात, जनघात हुनथाल्यो । ससाना गुटहरू विरोधमा उत्रिएका छन्, विद्रोह हुनसकेको छैन । पूर्वराजाका तर्फबाट सामुहिक कार्यक्रम केही पनि आएन । सिङ्गो मुलुक नै मानसिक रूपमा विभाजित हुनपुगेको छ । नेताका फाइदाका लागि भ्रष्टाचार, पार्टीका फाइदाका लागि राष्ट्रघात भइरहेकै छ । नेपाली जनतालाई समेटेर जनअपेक्षाअनुसार चल्न कोही तैयार छैनन् । जनताको चित्कार काग कराउँदैछ, पिना सुक्दैछ को हालतमा देखिन्छ । अचम्म त के छ भने आमनागरिकलाई पूर्वराजा के चाहन्छन् भन्नेसम्मको अत्तोपत्तो छैन । पर्व पर्वमा आउने सन्देश कडीकडाउ आउने गरेको छ । त्यो सन्देशअनुसारको एक्सन केही पनि आउँदैन ।
जनतासँग विकल्प छैन, राजासँग रणनीति छैन । पार्टीसँग राष्ट्रियता र लोकतान्त्रिक आचरण छैन । देशको बेहाल बेहाल छ । राष्ट्र अभिभावकविहीन बनेको छ । यस्तो मौका छोपेर भ्रष्टहरूले देशमा राइँदाइँ चलाइरहेका छन् । गठबन्धनमा समर्थन दिने चारै दल अर्थात माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चालाई प्रम देउवाले थचारे । एमसिसी पारित भएपछि जनमोर्चा पन्छिएको छ तर सत्तारस चुस्न बाँकी रमाइरहेका छन् । प्रचण्डले आफ्नै पार्टीभित्र खुस्काएको सत्य के हो भने कांग्रेस र एमालेले एमसिसी पारित गर्ने र माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजाने कार्यक्रम भएकाले एमसिसी पास गर्न सहमत हुनु परेको रे । ज्यान जोगाउन पो एमसिसी पास गरेका रहेछन् । यस्ता नेतालाई झेल्न जनता बाध्य छन् । यसको एउटै कारण हो, कुनै भरपर्दो विकल्प नभएकोले । लोकतन्त्र नाम दिइएको यो छाडातन्त्रले मुलुक नै ध्वस्त बनाइसक्दा पनि कोही अगाडि आएनन् । युक्रेनको मामिलामा भारत र पाकिस्तान तटस्थ बस्दा नेपालले युक्रेनको पक्षमा मतदान गरिदियो, असंलग्नतालाई सिध्याइदियो । नेपालले अन्यायको विरूद्ध बोल्न सक्थ्यो, मतदान नै गरेर कुनै शक्तिमा संलग्न हुन जरूरी थिएन । युक्रेनमा फसेका नेपालीहरूको उद्धार कसरी गर्ने भन्नेतिर अझै पनि सरकारको ध्यान जान सकेन ।
वैशाख ३० गते स्थानीय चुनाव भयो भने राज गर्ने यिनीहरू नै हुन् । त्यसपछि हुने संघीय चुनावमा पनि यिनकै बोलवाल हुनेछ । भ्रष्टहरू यसरी पुरस्कृत हुनथाल्ने प्रक्रिया सुरू भएपछि मौलाउने भ्रष्टाचार हो, मोटाउने यिनै भ्रष्टहरू हुन् । जबसम्म भ्रष्टहरूलाई दण्डित गर्ने काम हुनसक्दैन, तवसम्म यिनले यसैगरी चुस्नेछन् । सुधारका लागि गतिलो कार्यक्रम लिएर दह्रो नेतृत्व अगाडि आउनुपर्छ, जुन पूर्वराजाबाट मात्र सम्भव देखिन्छ । शाहवंशले बाहेक वर्तमान नेतृत्व कसैले देश सम्हाल्न सक्ने देखिदैन । पूर्वराजामा त्यस्तो आत्मविश्वासका साथ अगाडि आएको देखिएला ?