Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हामी कहिले समान व्यवहार गर्न सिक्छौं ?

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

देवी काफ्ले – -
एक्काइसौं शताब्दीका सभ्य मानव हामी आज कति सभ्य  बुझकी र ब्यावहारिक छौं ? समाजमा आज पनि हामीले महिलाप्रति कति समानताका ब्यवहार गर्न सकेका छौं ? सभ्यताको मापन पनि यही परिदृश्य हो ।
हामी साच्चै नै भने अनुसारका सभ्य भैदिएको भए समानताका नारा एकातिर ब्यवहारमा ध्रुवीकरण पक्कै हुने थिएन । नेपालमा मात्रै महिलामाथि असमान ब्यावहार हुन्छ भन्ने होईन । दक्षिण एशियाली मुलुक पनि महिला हिंसाका हटस्पट नै हुन् ।
कम्प्युटरको यो युगमा हिंसा झन् फरक फरक तर बिकसित तरिकाले मौलाएको छ । मानिसहरू अझ युवापिढी त सामाजिक सन्जालहरूमा महिलालाई शाब्दिक हिंसाका शब्दहरू सकेसम्म प्रहार गरिरहेका छन् । उनिहरू कुनै पनि कोणबाट महिला र पुरूषमा पुरूष समानता या दोस्रो दर्जामा पुर्याउनै चाहन्नन् । किन आजका युवा पनि महिलालाई तल्लो वर्गमै राख्न खोज्छन् ? महिलामाथि हुने अधिकांश हिंसाहरूमा दोष जति महिलाकै काँधमा थुपारेर आफु शुद्धिकरणमा लाग्छन् ।
 हिजोको समयमा भएका हिंसा र आजको समयमा भएका हिंसाका प्रकृति हेर्दा आज झन् भयावह छ महिला हिंसा । हामीले छोरालाई संस्कार दिनै बिर्सेर हो वा छोरालाई हर अपराधको छुट पाउने मालिक बनाईदिएर हो। यौनजन्य अपराधमा तथा शाब्दिक हिंसा गर्न उक्साइरहेका छौं । असभ्यतातिर धकेलिरहेका छौं ।
प्रेम, सेक्स आज साधारण मानिन्छ । हाम्रो समाजले कति पचाउँछ कति पचाउंदैन त्यसका छुट्टै सिमारेखा छन् । ब्यक्ति बिशेषले अर्थ लगाउँदै कसैको चरित्रको व्याख्या गरिकन बराबरको अपराधमा पुरूष चोख्याउने गहुँत छर्न पुरूष तथा पुरूषवादी चिन्तन भएका ढोटे युवायुवती निकै न्यायाधीश बन्दैछन् जसका कारणले समाजले अझै महिलालाई समाजमा स्थापित हुन कठिन बनाईदिएको छ ।
युवाहरू आफु प्रेम गर्न चाहान्छन् । प्रेम गर्छन् तर बिहे गर्दा कसैसँग प्रेममा नभएकी, भर्जिन युवती खोज्छन् । अरू युवतीलाई मनपरी बोल्छ तर त्यहि परिस्थिति आफ्नोमा आईपर्यो भने के होला सोच्दैन । अर्काको छोरीबेटी खेलौना आफ्ना र आफुले ल्याउनुपर्ने चाहिँ सतिसावित्रीको चाहना । अहिले देशमै ब्यापकता पाएको एउटा घटना रहेछ । जुन घटनामा पुरूष दोषी देखिने भएपछि युवतीलाई पचाउनै नसक्ने तरिकाले गालीगलौज गर्दै फोटो इडिट गर्दै सामाजिक सन्जाल रंग्याईएको छ । यति निकृष्ट ब्यवहार गर्नेलाई कानुन लाग्दैन ? कानुनले छुँदैन ।
बलात्कारी बचाउने, लुकाउने, अन्य अपराधीलाई पनि लुकाउने बचाउने राजनैतिक संस्कारले आज हिंसामा बढोत्तरी भएको छ । लोकतन्त्रको दुरूपयोग गर्दै पैसा र पहुंचका आधारमा पिडकले खुलेआम घुम्न पाउनु र पिडितलाई समाज तथा ब्यक्तिले अति घृणित नजरले हेर्ने भएकाले पनि आज कैयन महिला, युवती र बालिकाहरू आत्महत्याको संघारमा पुगेका छन् । दोषि पत्ता लगाई त्यसलाई हदैसम्मको कारवाहि गरिदिने भएको भए आज समाजमा यति छाडापन मौलाउने थिएन ।
स्त्री र पुरूषमा सर्वश्रेष्ठता छुट्याउनुलाई यहाँ महानता मानिएको छ । यो प्रवृति पुरूषहरूमा मात्रै होईन पुरूषवादी चिन्तनले ग्रस्त महिलाहरूमा झन् बढी छ । राजनैतिक बिकृतिले अनुशासन भन्ने छैन । हत्याहिंसा बलात्कार त उपहार स्वरूप प्रयोग गर्दैछन् केही कुपात्रहरूले । जहाँ महिला त्यसैको बढी सिकार भए । सामुहिक बलात्कार हुन्छ त्यहाँ पनि महिलाकै चरित्रमाथि औंला उठ्छ, बालिका बलात्कृत हुन्छे उसका लुगा, उसको परिवारमाथि औंला उठ्छ । बयस्क युवती यौनहिंसामा पर्छे उसकै चरित्र माथि औंला उठाईन्छ । हजुरआमा बलात्कार हुँदा पनि उनैको चरित्र माथि औंला उठ्छ । ती औंला उठाउनेहरूले किन यो सोच्दैनन् कि स्त्री एक्लै चरित्रहिन हुनसक्छे र भनेर । हाम्रो परम्परागत सोच नै गलत छ ।
स्वस्थानीको किताब जलाउनुपर्छ, त्यहाँ सत्तरी बर्षका बुढाले सात बर्षकी गोमाको बलात्कार गर्यो यसले समाजमा महिला हिंसा बढ्यो भन्नेहरू आज कुनै बालिका बलात्कारको सिकार हुँदा, युवतीलाई प्रेमजालमा फसाएर उसको शरिरसंग खेलेर बच्चा रहे पो बिहे गर्नु नत्र सामान्य हो भनेर अलपत्र छाडिदिनेहरूका लागि आवाज बन्द छन् । हाम्रो बिचार नै खराब छ । सोच दुषित छ । हाम्रो सोचाई, चिन्तन नै बलात्कारी छ भने पिडितका लागि के आवाज निस्कन्छ ?
भनिन्छ कानुन फितलो भएका कारण अपराध मौलायो । बिल्कुलै गलत । किनकी हाम्रो देशको कानुन फितलो छैन यहाँ फितला त कानूनका बाहक छन् । आफन्त, पद, पैसा, पावर भएपछि जति ठूलो अपराधी पनि माफी लायक बनाईदिन्छन् । अनि अपराध मौलाउदैन त ? आधुनिक प्रबिधि सबैको पहुंचमा हुनुपर्छ।तर त्यसको दुरूपयोगले कतिका जीवन नष्ट भएका छन् । आज परिवारको सानो कुरा पनि मिडियाबाजी, लोग्नेस्वास्नीको झगडामा मिडियाबाजी, छोराछोरीको ढिठमा मिडियाबाजी, अरूको चरित्र उछाल्ने के यही हो नया युगको नयाँ प्रबिधिको बिकास ? नया प्रबिधिले बिकास पक्कै हुन्छ, दुरूपयोग हुनुभएन । त्यहि दुरूपयोग भएको छ आज युटुव । जस्तासुकैको अन्तर्वार्ता लिदै अर्काको चरित्र उछालेर पैसा कामउन छुट कतिसम्म दिन मिल्ने हो सूचना तथा सन्चार मन्त्रालयको ध्यान जाओस् ।
नियन्त्रण होस् । अनुशासन, नैतिकता आजकल बिलय भैसकेको छ त्यसको केही भाग हाम्रो कमजोरीले गर्दा हराएको हो । मनन गरौं चिन्तन गरौं ।