Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा किन हाहाकार हुनथाल्यो ?

०९ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

राजन कार्की - -
‘तिमी जे भए पनि असल बन । 
जब म राम्रो गर्छु, मलाई राम्रो लाग्छ । जब म नराम्रो गर्छु, मलाई नराम्रो लाग्छ । त्यो मेरो धर्म हो ।
त्यहाँ कुनै खराब चित्रहरू छैनन्; अनुहार कहिलेकाहीँ यस्तै देखिन्छ ।
निश्चित हुनुहोस् कि तपाईंले आफ्नो खुट्टा सही ठाउँमा राख्नुभयो, त्यसपछि दृढ रहनुहोस् ।
म हाँस्छु किनकि रूनु हुँदैन, त्यो मात्र हो, त्यो सबै हो ।’
अमेरिकाका १६औं राष्ट्रपति जसले १८६१–६५मा यी अमरवाणीहरू बोलेका थिए । दासताको अन्त्य गर्ने अब्राहम लिंकन सधैं अमर छन् । त्यो विश्वशक्ति अमेरिका आज नेपालजस्तो सानो मुलुकमा आलोचित भइरहेको छ । यो आलोचना अमेरिकाका कारणले होइन, नेपाली नेताहरूका कारणले भइरहेको छ । यस्ता नेता निर्माण गर्ने नेपालीले विश्वशक्ति, कुनै पनि मित्र मुलुक अथवा चीन र भारतजस्ता छिमेकीलाई सम्मानित ठाउँमा राखेर आफ्नो समृद्धि र शान्तिको यात्रा तय गर्नुछ, विश्वकै जेठोमध्येको आफ्नो पहिचान बचाउनु छ र अस्तित्व कायम गर्नुछ । यसका लागि नेपाली प्रेस, बुद्धिजीवी, नागरिक समाज र नागरिकले गम्भीर भएर सोच्ने बेला आयो अब । किनकि नेताका कारणले धेरे नेपालीले ज्यान गुमाए । फेरि एकपल्ट रक्तपातको खतरा देखिएको छ । आफ्नै नेतृत्वको गलत कदममा जनताले जुध्नुपर्ने, रगत बगाउनु पर्ने किन ? यो यक्ष प्रश्न हो आज ।
हरेक दिन संसदका वरिपरि जनतामाथि राज्यदमन भइरहेको छ । राज्य चलाउनेहरूले जनतालाई सत्य बताउन र सत्य बुझाउन नसक्नु र देशका लागि हित अहित के हो भनेर भन्न नसक्नुले जनता र राज्यबीच भीडन्तको वातावरण सिर्जना भएको छ । संसद भवन वरिपरि जनसागर उर्लिएर जे देखियो, त्यसबाट ठूला नेताहरू, सरकार, प्रशासक, बुद्धिजीवी, नागरिक समाज सबैको गिदी मथिङ्गल हल्लिएको हुनुपर्छ । सरकारमा सहभागी माओवादी केन्द्रसमेत सडकबाट सरकारबिरोधी नारा लगाइरहेको देखियो । यो के भइरहेछ देशमा ? यो के तमासा हो लोकतन्त्रको ? यो के नौटङ्की हो संविधानको ? पद्धति भनेको यस्तै हुन्छ ? संसद र सरकार भन्ने तत्व यही हो ? जे भइरहेको छ, त्यो नेपालको बिभाजित मानसिकता हो । नेतृत्व असफलताको दृश्य हो ।
संविधानवादी, संविधानविरोधी, सत्तावादी, सत्ता इतरका सबै सडकमा देखिए । सत्ता निरीह छ, नेताहरू जनताका सामुन्ने उभिन सकेनन् ।
सत्तामा जो छन्, जनप्रतिनिधि जो हुन्, तिनको काम हो जनताको आवाज सुन्नु । जनताको सवालको जवाफ दिनु । जनतालाई आश्वस्त पार्नु । विवेक नभएका बुद्धिजीवी, नागरिकले नपत्याउने नागारिक समाज, अविश्वसनीय जनप्रतिनिधि, अदालतले उभ्याइदिएको अलोकतान्त्रिक सरकार, अदालतमा ज्यानमारा मुद्दा खेपिरहेको सभामुख भएको मुलुकमा सडकमा हुने दमन र हिंसा हो, संसदमा हुने बेथिति नै हो ।
नेपालको राजनीतिमा कोही कसैको बसमा छैनन् । कोही नैतिक धरातलमा उभिएका देखिदैनन् । व्यक्ति, घर, समाज र राष्ट्र नै विभाजित हुनपुगेको छ । यो सबै अतिराजनीतिकरणले गर्दा हो । अतिअपराधिकरणको प्रतिफल हो । जहाँ विधान हुन्छ, विधिमा कोही बस्दैनन्, त्यहाँ हुने गल्ली गुण्डागिरी नै हो । राष्ट्रिय राजनीति सातघुम्तीको ओरालोमा मादक पदार्थ सेवन गरेर चलाएको ब्रेक नभएको गाडीजस्तो हुनु स्वभाविक हो ।
हाम्रा व्यवसायी बनेका नेताहरूका लागि जसरी पनि सत्ता हत्याउनु पर्छ भन्ने मानसिकता बोकेका छन् । यसैले त यिनमा संसदीय चेत छैन । अदालत र संसदबीचको भेदको पनि भेउ छैन । संसदले दिनुपर्ने प्रधानमन्त्री अदालतले दियो । जसले सरकार दियो, त्यो अदालतका प्रधानन्यायधीशमाथि महाभियोग लगाएर त्यही अदालती सत्ताले अदालतलाई अस्तव्यस्त पारिदियो । राजनीतिक पद्धतिमा न स्वच्छता रह्यो, न स्वतन्त्रता ? कुनै पनि बेला कसैमाथि पनि महाभियोग लाग्न सक्छ, बुहारी तर्साउनु प¥यो भने पार्टीहरू छोरीलाई पनि भुत्ल्याउन सक्छन् भन्ने दृष्टान्त महाभियोगले देखाएको छ । कठै लोकतन्त्र हाँक्ने नेताहरू ? यिनले राजनीतिलाई तरलमात्र पारेनन्, भुइँमा पानीजसरी छताछुल्ल पारिदिए । 
यसबाट राजनीतिमा क्षमता र ल्याकत छैन भन्ने देखियो । यी कस्ता नेता हुन्, जसले एमसिसी आफैले माँगे र गिजोलिरहेका छन् । यी कस्ता पार्टी हुन्, जसले चैत ३० गते निर्वाचन गर्ने भनेर ३–४ महिना लाग्ने महाभियोगको फस्र्यौटको महामारी खडा गरिदिएका छन् । यी कस्ता पार्टी हुन्, जो संसद, सडकदेखि घरघरमा विवाद उठाइरहेछन् । नैतिक र विधिगत आधारमा छलफल गरेर निकास निकाल्न सक्दैनन् । एकदोस्रालाई खुइल्याउने बाहुबली चरित्र देखाइरहेका छन् ।
एमालेले राष्ट्रपति च्यापेको थियो, आज माओवादीले सभामुख र उपराष्ट्रपति च्यापेको छ, कांग्रेस सिंहदरवार च्यापेर आफूले भनेजस्तो हुनुपर्छ भनिरहेछ । सत्तापक्ष ब्रम्हास्त्र हानेर शक्तिशाली भएँ भन्ठानेको छ भने प्रतिपक्षी दिव्यास्त्र तैयार गरेर प्रहारका आक्रमणको प्रतिकारका लागि मैदानमा उत्रिएको छ । सूर्य चिन्हमा जितेकाहरू पार्टी तोडफोड गर्दै रूख चिन्हको जन्त गइरहेछन्, भत्तेर खाइरहेछन् । अरू साना पार्टीहरू तमासे बनेर यो तमासा हेरिरहेछन् । नीति, नैतिकता, निष्ठा र सिद्धान्त भन्ने नेताहरूमा रहेनन्, विधि संविधान, लोकलज्जा सत्ताधारीमा रहेन । यो नङ्गाबाबाको चर्तिकलाले राष्ट्रिय व्यक्तित्व र अस्तित्व नै नाङ्गेझार भइरहेको छ । तैपनि यिनीहरू आफूलाई स्वाधीनतावादी, सार्वभौमिकतावादी, संसदवादी, संविधानवादी भनेर थाक्दैनन्, देशमा विश्वासको संकट बढ्यो ।
असफल भयो, लोकतान्त्रिक गणतन्त्रलाई यिनै नेताहरूले असफल पारिदिए । हरेक नेता भ्रष्टाचार, अनाचार, हत्या, हिंसामा मुछिएका छन् । नैतिकपतन भएका व्यक्ति मन्त्री बन्न थालेका छन् । परिदृश्य हेर्दा लाग्छ, लोकतन्त्र भनेको अखडा हो र यो अखडामा नेताहरू बाहुबली बनेर कुस्ती लडिरहेका छन् । संसदीय पद्धति भनेको नीति, सिद्धान्त र आचरणमा चल्ने व्यवस्था हो । विधि कुनै हालतमा पनि मान्नुपर्छ भन्ने व्यवस्था हो । यति सुन्दर व्यवस्था स्थापनामा जनताले सघाए । परिवर्तन ल्याए । तर १५ वर्षदेखि यी नेताहरूले यतिराम्रो पद्धतिलाई बाँदरको हातमा नरिवल बनाइरहेका छन् । बाँदरबाट मान्छे बनेका हामीमा विवेक हरायो भने हामी बन्ने दुईखुट्टे बाँदर नै हौं । संसदमा जे देखिएको छ, सत्ताले जनतामाथि जे देखाइरहेको छ, त्यो हेर्दा लाग्छ, हामी बाँदरबाट मान्छे त भयौं तर विवेकशील हुनसकेनौं ।
एकदोस्रासँग कुस्ती लडेर हिजो एमालेले जितेको थियो, आज ५ दलीय गठबन्धनले जितेको छ । अब जित्नका लागि एमाले तैयार भएर अगाडि सरेको छ । पार्टी र नेताहरूको यो सत्ता, शक्ति, सम्पत्ति, प्रभावको जित हारको खेलमा जनता र जनमतले हारिरहेको छ । राष्ट्रले हारिरहेको छ । राष्ट्र र जनताका लागि उत्तम पद्धतिको विकास गर्ने हो । सभ्यता र संस्कारको विकास गर्ने हो । हुने र नहुनेका बीचको दूरी कम गर्ने हो । त्यो सुकर्म गर्न छाडेर आफै खाउँ आफै लाउँको रेकर्ड तोडेका छन् नेताहरूले । यी जनताको मतबाट नेता त बने, नेतृत्व दिन सकेनन् । नेताका अनुहारका व्यवसायी बन्नपुगे ।
जनयुद्ध र जनआन्दोलन भयो । १७ हजार मानिसको हत्या भयो । यतिठूलो रक्तपात र घातपछि आएको पद्धतिले पनि जनता र देशमाथि घातै गर्छ भने यस्तो पद्धतिको फेर्नुपर्छ । पद्धति त्यही रहने हो भने पनि व्यक्ति र व्यवहार फेर्नुपर्छ । अब नैतिकहीन र जवाफदेही नलिने व्यक्तिहरूको यो पद्धतिमा कुनै काम छैनन् । त्यस्ता स्वार्थी तत्वहरूलाई किनारा लगाउनै पर्छ । कि यिनले लगाउन् र सुधारियुन्, नभए जनताले हस्तक्षेप गरेर जिम्मेवारहरूलाई खडा गर्नुपर्छ । जिम्मेवार हुन्छु भन्ने कोही छन् भने तिनीहरू यतिबेला अगाडि सर्नुपर्छ । यसरी संसद, सडक र घरघरमा आक्रोश उमारेर शान्ति र समृद्धिमा पुग्न सकिदैन ।
जुनसुकै पद्धति अँगाले पनि जित्नुपर्ने जनता र राष्ट्रले हो । यसका लागि नेता र पार्टीमा त्याग र तपस्या चाहिन्छ । बलिदान र नैतिकता चाहिन्छ । सबैले सबै कुरा बुझेका छन्, चाहिने कुरा छन् तर अमल गर्दैनन् । नबुझेपछि हुने लथालिङ् हो, भइरहेछ । बेथितिलाई थितिमा बदल्ने, अराजकतालाई स्थिरतमा स्थापित गर्ने राजनेताले हो । राजनीतिक गल्लीको सान्चा पहलमान नेता बन्न सबै तैयार छन्, राष्ट्रको राजनेता बन्न कोही तैयार छैनन् । देश कङ्गाल बनाएका यिनै नेताले हो ।
नेता फेर्ने कि पद्धति भन्ने बहस सुरू भइसक्यो । अर्को जनआन्दोलनको आवश्यकता टड्कारै देखियो । नेपालका प्रजा जागेका छन्, घरघरबाट सडकमा निस्केका छन्, ती प्रजाले आफ्ना लागि प्रजातन्त्र ल्याउलान् त ? हरेक नागरिकमा विश्वास बढेको छ, देशलाई जिताउनका लागि पूर्वराजाले समेत प्रजातन्त्र अनुदान होइन भन्नुपर्ने दिन आयो । अब के होला भन्ने सनसनी फैलिएको छ । अराजकता व्यवस्थित गर्नका लागि बिस्थापित शक्ति स्थापित भयो भने जनजीवनले हार्दिक स्वागत गर्नेछ । हेरौं समयलाई के मञ्जुर छ ? जनताले कस्तो निर्णय गर्नेछन् ।