Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यी यदुवंशीहरू ....

०२ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - - 
महाभारतकालमा भगवान श्रीकृष्ण श्रापित भएर उनको कूलवंश यदुवंश एक आपसमा काटामार गरेर सकिएका थिए । ठीक अहिले त्यही स्थिति नेपालका आफूलाई राजावादी, राष्ट्रवादी हौं भन्नेहरूका बीचमा रहेको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता यी सबै असफल  सिद्ध भएर मुलुक अफगानिस्थानको पथमा पुगेको दावी स्वयम गणतान्त्रिक व्यवस्थाका पक्षधरहरूले नै गरिरहेका छन् । यस्तो दुरावस्थामा राजसंस्थावादीले अझ संगठित भएर असफलतालाई उखेल्नुपर्ने समयमा राजसंस्थावादीहरू व्यक्तिगत अहंतुष्टिका लागि आपसमा दोषारोपण गर्दै छताछुल्ल भइरहेका छन् । सन्दर्भ राजावादी, राष्ट्रवादीभनेर दावी गर्ने पार्टी राप्रपाको हो । यो पार्टीको आधारस्तम्भ भन्नुपर्ने कमल थापा महाधिवेशनमा पराजीत भएपछि अर्को दल गठन गर्न हिंडेका छन् । प्रचारमा छ– राष्ट्रिय एकता पार्टी नामक हिन्दलुवादी दल खोल्ने तैयारीमा थापा लागेका छन् । कारण राजा ज्ञानेन्दै र वहाँको सचिवालयले थापालाई अध्यक्षमा हराउने भूमिका खेल्यो । निर्वाचित अध्यक्षले राजा र उनको सचिवालयबाट भएको हस्तक्षेपको भत्सर्ना गरोस् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र पदाधिकारी थापाको सुनवाई गर्न तैयार भएन, झगडा यत्ति हो ।
छानबिन होस् भन्ने निवेदन दिएका पूर्वअध्यक्ष कमल थापाको जिकिर छ– मेरो निवेदनको सुनवाई भएन । यसपछि कमल थापाले राप्रपामात्र होइन, राजसंस्थाको मुद्दाबाट समेत आफूलाई अलग राख्ने बताएका छन् । वैकल्पिक पार्टी बन्ने राप्रपाको सपनामा आघात पुग्यो, उत्साहित जनतामा नैराश्यता बढ्ने भयो, राप्रपाको संगठित शक्ति खण्डिकरण हुनेभयो । कुशल राजनीतज्ञि, नेता, अन्तर्राट्रिय छवि बनाइसकेका थापाले यसरी बखेडा झिकेर मूल मुद्दा नै छाड्नुले नोक्सानी त मुलुकलाई नै भयो । विभाजित राजसंस्थावादीहरू अन्योलमा पुग्ने भए । प्रश्न के पनि उठ्छ भने आजसम्म कमल थापा राप्रपाको अध्यक्ष हुनुमा राजसंस्थाकै आशीर्वाद थियो त ? कृपा थियो, अब कृपा रहेन त ? स्वयम् थापाको कथनअनुसार पनि राप्रपाभित्र निर्मल निवासकै चलखेल चल्दोरहेछ त ? विगतमा थापालाई अध्यक्षको पगरी पनि निर्मल निवासले दिलायो त ? यही सत्य हो भने राजेन्द्र लिङ्देनलाई स्वीकार गर्न किन गाह्रो परेको होला ? विश्लेषकहरू भन्छन्– यसमा पक्कै पनि बाह्य चलखेल हुनुपर्छ । चालु पद्धति असफल भएपछि पूर्वराजाको लोकप्रियता बढेर गएको छ । पुनरोदय हुन्छ भनेर बाह्य शक्तिले भूमिका खेलेको हुनसक्छ । बाह्यशक्ति हिन्दुराष्ट्र र राजतन्त्रको विरोध गर्छ । आफ्ना असफल गणतान्त्रिक प्यादाहरूलाई नै शासनमा राखेर भूराजनीतिक रणनीतिका अभिष्ठ पूरा गर्न पनि यो चाल चलिएको हुनसक्छ । अन्यथा मनपेट खुब मिलेका बरिष्ठ कमल थापा र कनिष्ठ राजेन्द्र लिङ्देनबीचमा किन यो मिल्नै नदिने क्रियाकलापहरू सतहमा देखिए ? त्यत्रो असहज परिस्थितिमा समेत सँगै काम गरेका यी दुईमा थापालाई लिङ्देन किन अस्वीकार्य हुनपुग्यो ? अधिवेशनमा ४ सय मत बदर भयो । यो बदर मत थापाको पक्षमा थियो । मत हाल्न नसिकाउने अनि चुनाव हारेपछि षडयन्त्र देख्ने ?
राजसंस्थावादीहरू आपसमा भिड्नुले घाटा मुलुकलाई र लाभ लुटाह बनेका गणतन्त्रवादीलाई भइरहेको छ । थापा निर्मल निवासको हस्तक्षेप देख्ने, लिङ्देन केही पनि होइन पार्टी छाडे केही फरक पर्दैन भन्ने, थापाले अझ राजा वीरेन्द्रका छोरीपट्टीका नातिनीलाई रानी बनाउनु पर्छ भन्नुले राजसंस्थावादीबीच नै मारामार हुने अवस्था सिर्जना हुँदैछ । राजसंस्थाका पक्षमा खुलेका ५ दर्जनभन्दा बढी संस्थाहरूमा राप्रपामात्र सशक्त देखिन्थ्यो । राप्रपाभित्रैको झगडाले गणतन्त्रवादी दङ्ग परेका छन् । हिन्दुराष्ट्र, राजसंस्थाको पुनस्र्थापना र संघीयताको खारेजी गर्ने हो भने राप्रपामा कमल थापाको अनिवार्य आवश्यकता छ । नयाँ पार्टी खोलेर कमल थापाले कहिले संगठन बिस्तार गर्ने ? यो त सन्निकट निर्वाचनमा राप्रपालाई धुलिसात पार्ने र आफू पनि धुलिसात हुने आत्मघाती खेल भएन र ? यसैबीच मुलुक अनेक देशी विदेशी चलखेलले अस्तित्वको सङ्कटमा पर्दे गएको छ । राप्रपाको स्थापित मान्यतालाई बरिष्ठ नेता कमल थापा र राप्रपाको नयाँ टिमले मिलेर अघि बढ्नु उचित हुनेछ । चुनावमा हारजित स्वभाविक प्रक्रिया हो । निर्मल निवासलाई दोष दिनुभन्दा कार्यकर्ताले नयाँलाई हेरौं भनेकाले त्यसलाई मान्यता दिएर राप्रपाको रथलाई अगाडि बढाउनुमा नै कमल थापाको पनि उचाइ बढ्ने देखिन्छ । नयाँ दल खोल्ने र नेता तथा कार्यकर्ता चोर्ने खेलले एकापसमा कमजोर बनाउन सकिएला, मूल कुरो राप्रपाको एजेण्डाको बेहाल देखेर राप्रपालाई यहाँसम्म ल्याउने, विश्वास गर्नेमा कस्तो असर पर्ला ?