देवी काफ्ले– - -
ने.स.६९३ मा संस्कृतभाषामा लेखिएको हस्तलिखित स्वस्थानी ने.स. ७२३ मा नेवारी भाषामामा अनुवादित भयो ।त् यसपछि उपत्यकाका घरघरमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर एक महिनासम्म पूजापाठ गर्ने अति नै लोकप्रिय ग्रन्थका रूपमा देखा प¥यो । ईस्वीको सोह्रौं शताब्दीको अन्त्यतिर ई.१५७३ देखि संस्कृत भाषामा स्वस्थानी ब्रतकथाको थालनी भएको पाईन्छ । सुरूमा स्वस्थानी ब्रतकथा पण्डितहरूबाट मात्र वाचन गराउने परम्परा थियो । नेवारीभाषामा अनुवादपछि जनस्तरमा वाचन चल्ती चलेको पाईन्छ र आज आएर वाचन र व्रत बस्न कुनै बारबन्देज छैन । सायद आज स्वस्थानी व्रत कथा नसुनेका नेपालीहरू बिरलै छन् ।
प्राचिनकालदेखि धार्मिक कथाले भौतिकवादतिर पाइला चालेको आजको युगमा आध्यात्मिकताको पृष्टपोषण गर्ने एउटा कथा स्वस्थानी पनि हो । प्राचीन जनविश्वास तथा विभिन्न संस्कार र कुसंस्कारबारेको जानकारी लिन स्वस्थानी कथाले मद्दत पनि गरेको छ । यस कथाको मुल कुरा नै प्राचीन संस्कार र कुसंस्कारमै अडेको छ । यस कथाले नवपुस्तालाई एउटा चुनौती थपेको छ, कथाबाट कुरिती,कुसंस्कार र घमण्डलाई त्यागेर शिक्षाप्रद र ब्यावहारिक ज्ञान लिनका लागि । कथाले पुरूष प्रधानताको नेतृत्व गरेको छ । कथाकी मुख्य पात्र सतीदेवीलाई बिष्णुले आफ्ना लागि मागेर दक्षप्रजापति र बिरणीको आँखा छल्दै शिवका हातमा दिनु । फेरि सतीको पतिधर्म जाँच गर्न आफू बिषभाङ् खाएर चारदिनसम्म सतीको वास्तै नगर्नु, उठेपछि पनि तैंले मलाई केही नखुवाई आफु मात्रै खाइस् भनेर हपार्नुलाई पुरूषत्व मानिएको छ ।
पार्वतीलाई छल गर्न आउने जालन्धरकी पत्नी बृन्दालाई बिष्णुले छल गरि सतित्व नष्ट गरिदिनुले पनि पुरूषले आफ्नो शक्ति देखाउन स्त्री माथि कतिहदसम्म अत्याचार गर्दारहेछन् भन्ने बुझिन्छ । तर आज त्यसो छैन । फेरी बिष्णुकी पत्नी लक्ष्मी हुँदाहुदै पार्वती योग्य छिन् भनेर माग्न जानु भनेको पुरूषले बहुविवाह गर्न हौसला दिएको हो । समग्र कथाको चुरो कुरा स्वयम् भगवान शिवजीले शिवशर्मा रूप धारण गरी सात बर्षकी गोमालाई विवाह गरि दिएको प्रताडनामा छ ।
आज भौतिकवादी चिन्तन बोकेका वा महिला अधिकारका बिषयमा र समानताका बिषयमा जति पनि बहस गर्नेहरू छन्, उनीहरूका लागि तथा नवपुस्ताका लागि यही कथा एउटा कर्कस बिषय बनेको छ ।
कथामा उल्लेख भए अनुसार स्त्री जातिले लोग्नेलाई लुकाएर खाए कुकुर्नी हुन्छे, आँखा तरेर हेरे डेडी हुन्छे, मुख लागे लाटी हुन्छे, झगडा गरे द्रोही हुन्छे अर्थात स्त्रीले जे गरे पनि पाप नै हुन्छ । यी बुँदाहरूले आज एक्काइसौं शताब्दीका महिलामा बिद्रोहको बाटो खनेको छ । पुरूष प्रधानता स्वस्थानीमा मात्र होईन, ऋषिपन्चमी कथामा पनि अति नै देखाईएको छ । ऋषिपन्चमी कथामा त झन् स्वयम् सृष्टिका रचयिता ब्रह्माजीले अत्याचार नै गर्नु भएको रहेछ । ऋषिपन्चमी कथा अनुसार महिला स्त्रीको रजस्वलामा पाप छ । देवराज ईन्द्रले बिष्णुको टाउको तीन टुक्रा पारेपछि उनलाई ब्रह्महत्याको दोष लाग्यो । एकबर्ष ब्रह्महत्याको दोष बोकेपछि ब्रम्हाजीकहाँ पुगेछन् । ब्रम्हाजीले त्यो पापलाई चार भाग लगाएर एक भाग स्त्रीको रजमा फ्याँकिदिएछन् । त्यसपछि स्त्री रजस्वला हुँदा पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी र तेस्रो दिन धोबिनी सरह हुन्छे भनेर ऋषिपन्चमीको कथामा लेखिएको छ । पुरूषले गरेको अपराधको पाप रजस्वलाबाट कटाउँदा पनि फेरि छोईछिटो गरि पाप पखाल्न सप्तऋषिको पूजा गर्ने र कथा सुन्ने भनिएको छ ।
स्वस्थानी र ऋषिपन्चमीको कथा पढ्दा स्वस्थानी भन्दा ऋषिपन्चमीको कथामा अत्याधिक स्त्रीको अपमान, दमन पाइयो । स्वस्थानीमा शिवको सतीप्रतिको अगाध प्रेमलाई स्वीकार्न किन सकेनौ ? दक्षप्रजापतिको छोरी सतीदेवीलाई उत्तराधिकारी बनाउने ईच्छालाई पनि त्यस बेलामा नारी प्रतिको सम्मानको रूपमा किन जोखेनौं ?
आजको युग एक्काइसौ शताब्दीको बैज्ञानिक युग हो । प्रबिधियुक्त युग हो । हिजो मान्छे शिक्षित थिएनन् । दुनियाँ देखेका थिएनन्, आज त्यो अवस्था छैन । संसारभर महिलामुक्तीका आन्दोलन भए । आज नारी पुरूष समानताका नारा घरदैलोमा घन्केका छन् । शिक्षित छन् । केही हिंसा त बिकसित मुलुकमा पनि छन् तर पनि हामी आज स्वस्थानीको किताब च्यात्न भन्छौं तर जहाँ अशोभनीय तरिकाले सृष्टिको उर्बर भूमि महिलाको रजलाई ईन्द्रले गरेको पापको भारी बोकाईएको छ, त्यता हाम्रो ध्यान किन पुगेन ? २१औं शताब्दीका महिलाहरू कथाका सकारात्मक रितलाई लिएर नकारात्मकलाई नजरअन्दाज गरिदिए कसैलाई ठेस लाग्दैन । हामीले बिचार लिने हो । कुरिती ब्यवहार परिवर्तन गरेर सुधार्ने हो न कि किताब च्यातेर ।
परिवर्तन किताबका पाना च्यातेर होईन गलत संस्कारको जालो च्यातेर हुने हो । बिकसित मुलुकमा भएका हिंसा स्वस्थानी पढेर होईन मान्छेमा भएको अपराधी राक्षस जागेर हो । फेरि साना नानीहरू बलात्कार गर्ने पापीले स्वस्थानी पढेर बलात्कार गरेको पक्कै होईन उसमा जागेको राक्षसी स्वरूपले हो । मान्छेको बिचार परिवर्तन गरौं । किताबका पाना च्यातेर महिला हिंसा अन्त्य हँुदैन । महिला नेतृहरू पनि किताब च्यातेर होइन चेतना फैलाएर परिवर्तन ल्याउनतिर लाग्नुहोला ।