Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गैंडा मर्‍यो कि सुशासन ?

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - - 
माघ ९ गते आइतवर चितवन नेशनल पार्क बाहिर सडकको किनारमा गैंडा मरेको अवस्थामा फेला प¥यो । सडक निर्माण ठेकेदारले नारायणगढ पुल्चोक गोन्द्राङ् सडकमा धरापजस्तो खाडल बनाएर नपुरेकाले नेशनल पार्कबाट बाहिर निस्केको गैंडाको बच्चा केटो त्यो धरापमा खस्यो र निस्कन सकेन । छटपटाइ छटपटाइ निस्कन नसक्दा मरेको बताइएको छ ।
गैंडा त्यसै पनि महत्वपूर्ण वन्यजन्तु हो । त्यसमाथि एकसिङ्गे गैंडाको महत्व अति नै छ । वन्यजन्तु संरक्षणमा व्यापक लगानी भइरहेको छ । जङ्गलबाट गैंडा कुन बेला बाहिर आयो, कसैले पनि वास्ता गरेनन् । भोलिपल्ट मरिसकेपछि मात्र त्यो गैंडाको शव देखियो, सुरक्षाकर्मी र वन कर्मचारी परिचालन भएका थिए । नेशनल पार्कका सूचनाधिकारी गणेश प्रसाद तिवारी भन्छन्– अनुसन्धान भइरहेछ ।
हरेक वर्ष गैंडा मरिरहेका छन्, मारिएका पनि छन् । वन्यजन्तु सिकारी पनि सक्रिय नै छन् । सुरक्षाकर्मी जतिसुकै बढाए पनि गैंडाको अकाल मृत्यु रोकिएन । गतवर्ष गैंडा गणना गर्दा एकसिङ्गे गैंडा ७ सय ५२ रहेकोमा चितवनमात्र ६ सय ९४ छन् । यो गणनापछि कम्तिमा पनि सात गैंडा मरे वा मारिएका छन् ।
वन्यजन्तु आवत जावत गरिरहन्छन् भनेपछि सडक निर्माण ठेकेदार, त्यसक्षेत्रका सुरक्षाकर्मी र चितवन नेशनल पार्कका कर्मचारीहरूले सावधानी अपनाएनन् । सानो असावधानीले गर्दा एउटा गैंडाको केटो धरापमा परेर मारियो । यो सानो विषय होइन, गैंडाको महत्वलाई कम आँक्ने प्रशासनको पनि दोष छ । गैंडालाई यसरी सडकमै आवत जावत गर्ने समाचार थाहा पाइ पाइ पनि तारवार गरेर छेक्ने काम किन हुनसकेन ? किन गरिएन ? अहिले आएर ठेकेदारलाई वारेन्ट काटियो ? पक्राउ गरेर वयान लिने र मुद्दा लगाएर मारिएको गैंडा बाँच्दैन । यसकारण कारवाहीको सुरूआत निकुञ्जका कर्मचारी, वन विभाग र सडक विभागका कर्मचारीदेखि ठेकेदारसम्म सबैमाथि हुनुपर्छ । राष्ट्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
भ्रष्टाचार र अपराधिकरणमा चुर्लुम्म डुबेको ७  सय ६१ सरकारमध्ये चितवन महानगर पनि यसमा दोषी देखिन्छ । भ्रष्टाचार र अपराधिकरणको सिकार अर्को गैंडाले हुनुप¥यो । एउटा गैंडाको सवाल होइन, गैंडाको राष्ट्रिय महत्वको सवाल छ । यसकारण यो घटनामा छानबिन आयोग गठन गर्ने, दोषीमाथि कडा कारवाही गर्ने र आइन्दा एउटा पनि वन्यजन्तुले अकालमा मर्नुपर्ने अवस्थाको अन्त्य जरूरी छ ।