Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भयावह छ अवस्था

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - 
नेपाली समाज नै भ्रष्ट भइसक्यो । नेताजीहरूलाई मात्र के दोष ? जो जहाँ जुन अवस्थामा छ त्यसले भ्रष्टाचार गरेकै छ । नियम कानुन उल्लंघन गरेकै छ । अख्तियारका प्रमुखले सर्वसाधारणलाई तर्साएर रकम असुलेको, प्रहरीले चोरेको, वडाअध्यक्षले बलात्कार गरेको, जागिर खाएको करीव डेढ दशकभित्रै एक उपसचिवले ८७ ठाउँमा जग्गा जोडेको, २०–२२ ठाउँमा घर किनेको आदि समाचार पढेपछि एकजना बुद्धिजीवीले तीतो अनुभूति पोखेका थिए ।  हुन पनि ०४६ सालपछि भ्रष्ट बनाउन थालिएको नेपाली समाज ०६३ सालको जनआन्दोलनको सफलतापछिको १५ वर्षमा पुरै भ्रष्ट पारिसकियो । पद्धति फेरिएर के गर्नु ? नेपाली मानसिकता बिकृत पार्ने काम भयो ।कानुनसँग त के लोकलज्जासँग समेत कोही डराउँदैनन् । गैरकानुनी संहारदेखि मोहम्मद आफताव आलम अनि टीकापुर नरसंहारलाई विचार गर्दा पनि हत्याहिंसा सामान्य भइसकेको भान हुन्छ । अझ अहिलेकी मन्त्री रेणु यादवले त अर्को रौटहट काण्ड मच्चाइदिउँ भनेर डा.सीके राउतलाई मार्ने धम्की नै दिइन् । मानवाधिकार अयाोगदेखि प्रधानमन्त्रीसम्म हेरिरहन्छन्, अदालत सुनिरहन्छ, योभन्दा विकृत समाज र अलोकतान्त्रिक लोकतन्त्र संसारमा कहीँ पनि देख्न पाइन्न । जनयुद्धमा १७ हजार मारिए, तिनका परिवारले न्याय पाउनुपर्छ के भन्नु ? सत्ताधारी नै अपराधी मानसिकता बोकेर शासन गर्छ, यहाँ के कानुन, के न्याय ? जुनसुकै अदालत होस्, अपराधीमाथि कुनै दण्डसजाय हुनेवाला देखिदैन । नेपाल दण्डहीन मुलुक बनिसक्यो ।
भ्रष्ट र अनैतिक एवम् पतित हुनुमा नेतृत्वतह गौरव गर्छ । समाज दण्ड दिन सक्दैन, अन्याय सहन्छ मात्र । यस्तै नेता बोकेर हिड्ने जनता छन् ।हिजोको दिनमा चोरी ठूलो मुद्दा हुन्थ्यो, आज मान्छे मार्दा र मारिनु सामान्य हुनपुगेको छ । टोल टोलमा हुने ग्याङ्फाइट झैं छ राजनीति । कुनै जिल्ला शान्त छैन, झडप नभएको ।  टियर ग्यास त के गोली नै चलाउनु परे पनि ठूलो समाचार बन्न छाड्यो । अदालतमा न्याय होइन, सेटिङ हुन्छ, सेटिङ्मा फैसला हुन्छ । न्यायाधीशले घूस खाने, प्रहरीले लुट्ने, सैनिकले हतियार गोली बेच्नेजस्ता कल्पना बाहिरका घटना हुन्थे पहिले, अहिले यी सामान्य बन्न थालेका छन् । अलि अगाडि एकजनाले भन्थे– भ्रष्टाचार पञ्चायतमा पनि हुन्थ्यो । तर अहिलेजस्तो ब्रम्हलूट हुन्थेन । पहिले कानुन बलियो थियो, अहिले भ्रष्टाचारी बलियो बनेका छन् । व्यक्ति, नेता, समाज, राष्ट्र नै लुट्ने काम अहिले भइरहेको छ । पहिले कानुनले समाउँथ्यो, अहिले नेताले संरक्षण दिन्छन्, भ्रष्टाचारी चोखिन्छन् । हुनुपर्ने अहिलेको लोकतन्त्रमा कानुन बलियो हो । तर नेता बलियो भए, नेताको पछि लागेर भ्रष्टाचार र हिंसा बलियो भइदियो ।
यसरी जनता बिगारिनु र नेता बिग्रनुको कारण परिवर्तनकारी नेताको अनुशरण गर्नाले हो । वर्तमानमा जो विकृतिको बिरोध गर्छ, उसले केही नपाउञ्जेलमात्र हो । पाएपछि ऊ पनि चूप लागिहाल्छ । नियम कानुन सबै दाउमा राख्न पछि नपर्ने भएका छन् नेपालीहरू । हरेक तप्का र क्षेत्रमा यो रोग पसेको छ । अनि किन को असल सुशासक, कानुनी व्यवस्थाको पुनर्वहालीका लागि अघि सर्छ र ? सर्वसाधारण र राष्ट्रसेवकमा यो महामारी सल्केपछि मुलुक अब सकियो भनेर किन नभन्ने ?
हेरौं त हरेक जिम्मेवार निकायका व्यक्ति नै बलात्कार, भ्रष्टाचार, हत्या, अपहरणमा मुछिएका खबरहरू हैसियतअनुसार आइरहेका छन् । सबैथरि लूटमा व्यस्त छन् । कोही सिंहदरवारमा बसेर लुटिरहेका छन्, कोही गाविसको कार्यालयमा । जहाँ अनियमितता गरे पनि लूट त लूट नै हुन्छ, अपराध त अपराध नै हुन्छ । यहाँ जनता र देशको गौरव कसले गरिरहन्छ ? यसरी वर्तमान मर्दै गएको छ, लोकतन्त्र मर्दै गएको छ, संविधान र विधिको शासन मरिसक्यो भन्दा कुनै फरक पर्दैन ।
हामी जनता यतिसम्म गएगुज्रिसकेका छौं । हामीले छान्ने नेता कस्ता होलान् ? हामी अभिभावक नभएर बिग्रिदै गएका हौं । अब हामीले आउने पुस्ताका लागि भए पनि अभिभावक खोज्नैपर्छ । अनियमितता रोक्नैपर्छ । देशको अस्तित्व बचाउनै पर्छ । अन्यथा हामीले आउने पुस्तालाई दिने हाम्रा हातमा पहिचानसमेत हुनेछैन ।
मूल कुरो नेपाल र नेपालीलाई जोगाउने, नेपालको भूराजनीतिलाई सुहाउने अभिभावक को हुनसक्छ ? हाम्रो चासो त्यसमा हुनुपर्छ । अब नेताको पछि लाग्ने होइन, नेताले जनताको पछि लाग्ने अवस्था ल्याउनुपर्छ । हामीले बिकृत मानसिकता बोकेका नेताको पछि लाग्न छाड्नुपर्छ, बिकृतिमा सुधार औंल्याउनु पर्छ ।
छायाँमा परेका छन सच्चा नेपाली । सही सोच भएका नागरिक । ती नागरिकहरूले यतिबेला गर्नुपर्ने चिप्लिदो पहिचान र बिग्रदो मानसिकताको सुधार हो । परिवर्तनका संवाहक मानिएका नेताहरूले जनतालाई बिगारिसकेका छन् । तर्साएर सातो लिइसकेका छन् । ती जनतामा सही जागरूकता भर्ने जिम्मेवारी विवेक भएका नेपालीको हो । जहाँ विवेक हुन्छ, त्यहाँ न्याय हुन्छ, कसैले अन्यायमा मर्नुपर्दैन । नेपालको वर्तमानको खाँचो न्यायपूर्ण र समानतामूलक समाजको सिर्जना हो । अब पनि हामीले भ्रममा फस्यौं भने हाम्रो भविष्य अन्धकारमय हुनेछ । चेतना रहोस् ।