राजन कार्की - - - - -
विद्वानहरूले भनेका छन्– विजय उसैलाई प्राप्त हुन्छ, जो विजयी हुने साहस राख्छन् । सायद यही विषयमा हेलेन केलरले लेखेका थिए– अन्धो हुनु नराम्रो हो तर आँखा भएर पनि नदेख्नुृ झन खराब हो । त्यसपछि मान्यता बसेको हुनुपर्छ– अमर हुन रहर गर्नेले आफूमा भएको खुबी देखाउनु पर्छ ।
नेपालमा परिवर्तन गर्न रहर गर्नेहरूले परिवर्तन ल्याउन सफल भए, यसमा राजतन्त्रले जनइच्छा परिवर्तन नै हो भने स्वीकार छ भनेर सघाएकै हो । तर परिवर्तनको १५ वर्षको परिदृश्यको आधारमा भन्न सकिन्छ– परिवर्तन गर्न रहर गर्नेहरूमा विजयी हुने साहस देखाए तर विजय कायम राख्ने साहस देखाउन सकेनन् । यसकारण नेपाल असफलतातिर उन्मुख भइरहेको छ ।
१८६९ मा प्रकाशित वार एण्ड पिसका लेखक लियो टल्सटोय लेखेका थिए– समाजमा हल्ला गरेर, कराएर, गुनासो गरेर, निन्दा गरेर, पार्टीहरू खोलेर, आन्दोलन गरेरमात्र सुधार हुनसक्दैन । त्यसका लागि भावनाको जागृति र विचारहरूमा प्रगतिको आवश्यकता पर्दछ ।
नेपालमा हल्ला, निन्दा, आन्दोलन भइरहेको छ, विचार र भावनामा जागृति छैन, सबै पुरातनमा बाँचिरहेका छन् । यसकारण पनि नेपालको स्वराज र स्वाधनीतामा प्रश्न उठेको छ ।
जुन नेता राष्ट्रलाई प्रेरणा दिन्छ, जनताको अपेक्षा पूरा गर्छ, त्यो नै महान नेता हो । यस दृष्टिमा हामीसँग एकजना पनि नेता छैनन् । किनभने विगत १५ वर्षमा जनताका लागि न कुनै नेता प्रेरणाका स्रोत बन्न सफल भए, न कुनै नेताले जनताको अपेक्षा र आशा नै परिपूर्ति गर्न अग्रसर भए । जनता मात्र निर्वाचित सरकार जन्माउने अजिव लाग्ने चुनावी कारखाना बनेका छन् ।
२०३७ सालमा जनतालाई बहुदल चाहिएको हो कि पञ्चायतको सुधार भनेर जनमत सङ्ग्रह गराउने राजाले २०४६ सालमा दलमाथिको प्रतिवन्ध हटाइदिए । दुबै पल्ट राजा भारतले नेपालको सुरक्षा र परराष्ट्र माँगेको थियो, राजा जनतासँग झुके । स्वराज जोगियो । स्वाधीनता बाँच्यो ।
२०५२ साल फागुन १ गतेदेखि १० वर्ष लामो जनयुद्ध सुरू गर्ने माओवादी दिल्लीमा १२ बुँदे सम्झौता गरेर जनआन्दोलनमा मिसिन आइपुग्यो । यसपछि बहुदलको नाम फेरेर लोकतन्त्र राखियो । यतिखेर पनि भारतले नेपालमाथि प्रत्यक्ष नियन्त्रण खोजेको थियो, ३०६३ साल वैशाख ११ गते राजाले संसद पुनस्र्थापना गरिदिएपछि एकपल्ट फेरि स्वराज बाँच्यो, स्वाधीनता जोगियो ।
राष्ट्रसंघ, भारत, अमेरिका, युरोपियन, चीनका अनेक दवाव, प्रभावका घटनाहरू घटिरहे । राजतन्त्रलाई किनारा लगाएर धर्मनिरपेक्षता र संघीयतासहितको संविधान जारी गरियो । संविधान जारी गर्दा भारतले खिटिम खेलेकै थियो, कसरी कसरी संविधान जारी भयो र फेरि पनि स्वराज जोगियो, स्वाधीनता बाँच्यो ।
परिवर्तन हामीले ल्याएका हौं भन्ने महारथीहरूकै शासन छ, तिनले ल्याएको पद्धति नै चलेको छ, जारी गरेको संविधान छ तर देशका लागि सतिसालको मूलथाम बनेर नेतृत्व चट्टान जसरी उभिन सकेनन् । २०६२ सालको १२ बुँदे दिल्ली सम्झौताले आतंककारी र प्रजातान्त्रिकलाई बनाएको रसायन भनेको लोकतन्त्र हो, जति पनि नाङ्गिनसक्ने, नङ्ग्याउन सक्ने, देश र जनतालाई नाङ्गेझार पार्न सक्ने लोकतन्त्र । यो समाजवाद र सर्वहारीवाद दुबै सत्ता र सम्पत्तिका लागि मिल्न सक्छन्, समाजवाद र समाजवादको बाटो क्रान्ति सम्भव छ भन्न पनि सक्छन् र भ्रष्टाचारको एउटै कुण्ठमा सँगसँगै डुबुल्की मार्गन पनि सक्छन् । यिनले भनेकोसमृद्ध नेपाल, सुखी नेपाली भनेको आफू आफू सदावहार जर्नेल बनिरहने राजनीतिमात्र हो । यस्तो राजनीतिले देश लुट्छमात्र, जनता लुट्छमात्र । केही दिंदैन । बिगत १५ वर्षको नेपालले भोगेको भोगाइ यही हो ।
धरातलीय यथार्थ भनेको परिवर्तन भयो, संक्रमणकालीन न्याय स्थापित गर्ने ल्याकत प्रमाणित गर्न सकेनन्, अति राजनीतिक स्वार्थमा लिप्त बनेर विधिको शासन भताभुङ् पारिदिए । संविधान, संसद, सरकार, संवैधानिक निकायहरू असफल भइसक्यो, जवाफदेही हुन कोही तैयार छैनन् । राजनीतिलाई व्यवसाय बनाइयो, लेनदेनमा चलाइयो, हरेक कुरा किनबेच हुनसक्ने देखाइयो, जनताप्रति जिम्मेवार कोही हुन चाहेनन् । लोकतन्त्र भनेको चुनाव हो, जसरी पनि चुनाव जित्ने र लोकतन्त्रलाई खोरिया बनाएर फाँड्नेहरू आफूलाई देवताको अवतार ठान्छन्, यस्ता दुशासन प्रवृत्ति सुध्रन्छ कि भनेर नागरिक अझै आशावादी छन् । यही राजनीतिक कमजोरीमा शक्तिराष्ट्रहरूले नेपाललाई शक्तियुद्धको अखडा बनाइदिए । यतिखेर रूस र अमेरिका, अमेरिका र चीन, चीन र भारतको बाहुबली अखडा बनिसकेको छ नेपाल ।
विवेक भएकाहरू हरेक पार्टीमा छन्, नागरिक समाजमा छन्, प्राध्यापन, वकिल, पत्रकारिता, व्यापार, उद्योग सबैतिर छन् । तिनलाई पार्टी पार्टीमा सङ्लग्न गराइएको छ । दूतावास दूतावासमा गोप्य सम्बन्धन गराइएको छ । आमनागरिक जो देशप्रति नतमस्तक छन्, ती कमजोर हुँदै गएका छन् । लोकतन्त्र पोंगटे धानबालीजस्तो लाग्छ, खूब हल्केको छ, धानभित्र चामल छैन, कनिकामात्र छ । भएका उद्योग बन्द गर्ने, नयाँ उद्योग स्थापना नै नगर्ने, युवायुवती निकासी गरेर रेमिटान्स अर्थतन्त्रमा सिमित हुनपुगेको नेपालको आर्थिक मेरूदण्ड भाँच्चिसकेको छ । जुन देशको बजेट १६ खर्बको हुन्छ र व्यापार घाटा १७ खर्ब पुग्छ अनि प्रतिव्यक्ति वैदेशिक ऋणभार लाख पुग्ने अवस्थामा छ, त्यो देश भनेको नेपाल हो । लोकतन्त्र आउँदा भाग्योदय ठानिएको थियो, निराश पारिदिए नेताहरूले । नेपालका लागि परिवर्तन दुर्भाग्यमात्र भयो । बिस्तारै नेपालको स्वाधीनता र स्वराज मर्दै गएको छ । देश बोल्न नसक्ने नेतृत्व देशको शासनमा गजधम्म बसेको छ ।
नेपालमा अमेरिका, रूस, चीन, भारत, युरोपियन को खेलिरहेको छैन ? परराष्ट्रनीतिमा नेपालले चिप्लिदै गएको छ । चिप्लिनु भनेको लड्नु हो, लड्नु भनेको स्वराज गुमाउनु हो । नेपाल पञ्चशीलको सिद्धान्तबाट हट्दै गएको छ । असंलग्नताबाट अलग्गिदै गएको छ । नेपाल आफ्नो भूबनोट, भूराजनीति र सामरिक महत्वमा संवेदनशील हुन नसक्दा स्टेफन हकिङ्सले भनेझैँ– तेश्रो विश्वयुद्ध नेपालबाट सुरू हुने खतरा बढ्दै गएको छ ।
अमेरिकाले सडक र विद्युतको पूर्वाधार विकास गर्न दिने ५० करोड डलरको एउटै मुद्दामा नेपाललाई नेताहरूले यसरी फसाइदिए कि नेपाल सकुसल निस्कन सकेको छैन । यसबाट थाहा हुन्छ, यी शासक दलहरूमा कूटनीतिक क्षमता छैन । भारत अमेरिकी रणनीतिप्रति मौन छ, किनकि चीनको बिआरआई रणनीतिलाई कमजोर पार्नुछ । नेपालले भारत र अमेरिकालाई तह लगाउन चीनलाई गुहार्नु, चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकालाई बोलाउनु नेपालको कूटनीतिक दुर्वलता हो । नेपालका लागि हरेक मुलुक मित्र हुन् । हरेक सम्पन्न मुलुकको सहयोग र सद्भावमा नेपाल बाँचेको छ, चलेको छ, प्रगतिपथमा छ । यो यथार्थलाई आत्मसात गरेर दुबै क्षिमेकी र प्रत्येक मित्रराष्ट्रका आँखमा योग्य र आत्मीय मित्र सावित गर्नसक्नु नेपालको परिवर्तनको सार्थकता हुनसक्छ । यो राष्ट्रिय आवश्यकतामा वर्तमान परिवर्तनधारी नेतृत्व दिनदिनै नीतिगत विभाजनमा फस्दै फस्दै चुक्दैजाँदा नेपालको स्वराज र स्वाधीनता नजोगिने हो कि ? भन्ने संशय बढेको छ ।
ठूलो भूल हो, परिवर्तनपछि नेपालले राष्ट्रिय मूल नीति निर्माण नै गर्न सकेन । राष्ट जनता हुन्, जनतालाई केन्द्रमा राखेर मूलनीति निर्माण गर्न अघि नसर्ने भिन्न भिन्न राजनीतिक नेताहरू जनतालाई नै विभाजित र भ्रममा पारेर राष्ट्रिय मुद्दाहरूमा फरक फरक धारणा व्यक्त गर्छन् । यहीकारण एउटा नेता नेपाल राष्ट्रमा बहुल राष्ट्र देख्छ, अर्को देश टक्य्राउनुपर्छ भन्छ, एक नेता अर्कोलाई विदेशी एजेण्ट देख्छ, कांग्रेस एमसिसीमा राष्ट्रघात छैन भन्छ, सत्तारूढ अरू ४ घटक विरोधाभाषमा बस्छन्, प्रतिपक्षी यथास्थितिमा पास हुँदैन भन्छ, सडकमा २६ पार्टी विरोधमा जुलुस निकाल्छ, सत्ता तिनीहरूमाथि दमन गर्छ । यो सबै राष्ट्रिय नीति नहुनु र राजनीतिक छुवाछुतको परिणाम हो । अचम्म त के पनि छ भने एकथरि अमेरिकाले चीनलाई घेर्ने रणनीति एमसिसी हो भन्छन्, अर्काथरि अमेरिका विकासको पार्टनर हो भन्छन् । चीनका राष्ट्रपतिले भनेका थिए ‘चीनविरूद्ध षडयन्त्र गर्नेलाई धुलोपिठो पारिने छ’ भनेको पनि सुनिएकै हो । बिस्तारै नेपालमा शक्ति राष्ट्रहरूको प्रवेश भइरहेको छ ।
नेपाललाई विकास चाहिएको छ । यो विकास चीनविरूद्ध अमेरिका, अमेरिकाविरूद्ध चीन अथवा भारतविरूद्ध चीनलाई नेपाली भूमिमा दाह्रासिंहको कुस्ती खेलाएर चाहिएको होइन । हिजो पनि नेपालले सयौं मुलुकसँग सहयोग लिएको थियो, आज पनि ऋण, अनुदान लिइरहेकै छ । हिजो कुनै विवाद थिएन, आज किन विवाद छ ? यसकारण विवादको जरोमा राष्ट्रिय बहस हुनुपर्छ, राष्ट्रिय सहमति हुनुपर्छ, पार्टीहरू यता लहसिने कि उता टाँस्सिने प्रश्न उठ्नु हुँदैन । राष्ट्रिय आवश्यकता हो होइन, जनतालाई लोकतान्त्रिक दलहरूले प्रष्ट पार्नुपर्छ, विदेशी सहयोगको राजनीतिक रणनीतिको जाँतोमा जनतालाई सडकमा लडाइनु, मार्नु हुँदैन । योग्य नेतृत्वले लोकलाई लडाउने, भिडाउने र लड्डु लडे झिल्ली झडेजस्तो मार्ने कुकर्म गर्न सक्दैन । राजनीति अधर्म बन्न हुँदैन । राजनीतिमा निर्णय क्षमता हुनुपर्छ । वर्तमानमा किन जनअसन्तुष्टि बढयो, भविष्यमा के के असर पर्नसक्छ, नेपाल र नेपालीको हितमा के कसो गर्दा फरक पर्देन विचारणीय प्रश्न हुन् । हाम्रो राजनीतिक क्षमता अब जनस्तरसम्म चासोको विषय बनिसक्यो । यो चासोलाई सकुसल संवोधन गर्नु राज्यको, संसदको, नागरिक समाजको, बुद्धिजीवीवर्गको र आम नागरिकको पनि कर्तव्य हो । बहस गरौं निष्कर्ष निकालौं । नेपालको क्षमतालाई अग्निपरीक्षाबाट सफल देखाऔं ।
यसो गर्न सकिएन भने यो संविधान, संसद, सरकार असक्षम भयो भयो, यसलाई परिवर्तन गर्नैपर्छ ।