Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कान्ति बाल अस्पतालका ती सात दिनहरू

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

देवी काफ्ले–  - -
मंसिर २१ गते हामीले बाबु (गायत्री बैनीको छोरा) सन्देशलाई कान्ति बाल अस्पताल भर्ना गर्यौं । एक रात कोभिड वार्डमा राख्नु पर्यो । भोलिपल्ट कोभिड नेगेटिभ आएपछि आई सि यु मा लैजाने निधो भयो । बोल्दाबोल्दै बाबुलाई भेन्टीलेटर लगाएर आई सि यु कक्षमा लगियो । उपचारमा संलग्न डाक्टर, नर्सहरू एकदम सजग थिए र कसरी बचाउने चुनौती थियो एक किसिमको । बाबुलाई पोष्ट कोभिड देखिएको थियो । भित्रका अंगहरूले काम गर्न छाडिसकेको जानकारी डाक्टरले दिईरहेका थिए तै पनि बाबुका घरपरिवारका सदस्यहरू, हामी लगायत उपचारमा संलग्न डाक्टरहरू कुनै चमत्कारको आशामा थियौं ।
अस्पतालको बसाई कति पट्यार लाग्दो हुन्छ भन्ने त शब्द नै छैन । त्यसै क्रममा एकदिन खानेपानी तथा सरसफाई मन्त्रीको आगमन भयो । उहाँको नातिनीको उपचारका लागि । मैले त्यस अस्पतालमा गए लगत्तै एउटा कुरा नोटिस गरेकी थिएं । त्यो त्यहाँको शौचालय । बाल अस्पताल भएकाले जन्मेदेखिका बालबालिका उपचारका लागि ल्याईएका छन् । ती मध्ये धेरै नाबालक भएकाले सुत्केरी आमाहरू धेरै थिए । कोहि अप्रसन गरेका कोहि नर्मल सुत्केरी । शौचालय ती सुत्केरीहरूका लागि अत्यन्तै कठिन रहेछ । सिंढी उक्लनु पर्ने । एकजना अप्रेसन गरेकी सुत्केरी त शौचालयबाट फर्कदा रगताम्य भएकी थिईन् । उपचारका लागि अति उत्तम, डाक्टरहरूले उपचारमा कुनै कम्प्रमाइज बिना खट्ने रहेछन् तर त्यहाँको भौतिक ब्यवस्थापन अलि कमजोर लाग्यो । त्यो शौचालयलाई ब्यवस्थित बनाउनु अत्यन्त जरूरी रहेछ । मन्त्री त हिंडिहाले तर मन्त्री पत्नीलाई सम्म लगेर शौचालय भित्र हेर्न पठाएँ । उनका पतिदेवको निकाय पर्ने नपर्ने थाहा भएन तर ठाउँमा कुरा पुग्छ कि भन्ने आशाले ।
११ दिन आईसियुमा बच्चा, दिनमा ३÷४ हजार औषधि किन्नुपर्ने बाध्यता तर सरकारी अस्पतालको उपचार पनि तौवातौवा भएको थियो । यस्ता ब्यथा धेरैका थिए । देशका हरेक कुनाकाप्चाबाट उपचारका लागि कान्तिमा ल्याउछन् । औषधी महंगो छ । महिनौ दिन बच्चा आइ सि यु मा राखेर उपचार गर्नुपर्ने । सर्बसाधारण र गरिबहरूका लागि सरकारी उपचार पनि आकाशको फल सरह नै लाग्यो ।
उपचारमा स्वास्थ्यकर्मीहरूको कुनै कमिकमजोरी देखिन तर भौतिक ब्यवस्थापन निकै फितलो लाग्यो । बिरामी कुरूवा घरमा पुरूष आफन्तका लागि ब्यावस्थापन केही देखिएन । ६ दिनको देखि डेढ महिनासम्मका सुत्केरी महिला धेरै संख्यामा थिए । ती छ÷सात दिनको सुत्केरी महिलाले औषधी लिन जान कठिन हुनाले पुरूष कुरूवा पनि बस्नुपर्ने बाध्यता हुन्छ । ती महिनौ दिन बस्नुपर्ने पुरूष कुरूवाहरू चिसो छिंडीमा रात कसरी बिताउने ? मानवीयताको त पराकाष्ठा नै देखें ।
नेपाल जस्तो बिकासोन्मुख देशमा सबैभन्दा सहज र अत्यावश्यक चिज भनेको शिक्षा र स्वास्थ्य हो तर सबै उपकरणले युक्त अस्पताल राजधानी मै सिमित गरेपछि अस्पतालले थेग्न गाह्रो भएको होला यसको तुरून्तै ब्यावस्थापन गरोस सरकारले । बिदेशी दातृ संस्थाहरूबाट ऋण लिन मागि खाने भांडोको रूपमा बिकटका भौगोलिक अवस्था देखाएर झोली भर्ने प्रबृत्तिले स्वास्क्षेत्र नराम्ररी गाँजेको रहेछ । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेका समाचारले मिडिया भरिपूर्ण छ । स्थलगत अबस्था त्यसको ठिक बिपरित रहेछ । गरीब तथा असहायका लागि छुट्याइएको रकम कोटा कसका लागि प्रयोग भएका छन् अन्योल छ । सरकार स्वास्थ्य क्षेत्र मिडियाले मात्रै चल्दैन । तुरून्त अनुगमन गरि सुधार होस् । कमिसनमा मात्रै लाग्ने हो भने लोकतन्त्र, गणतन्त्रमा पनि जनता त उपचार गर्न नसकेर कुकुर मराई मर्नेछन् ।
  ठूला नेता तथा उच्च ओहोदाका ब्यक्ति सामान्य ज्वरो आउंदा थाईल्याण्ड, चीन धाउने गरिब निमुखाहरूले निशुल्क औषधी उपचार नपाउने हो भने बिदेशी ऋण किन लिाुपर्यो ? बालबालिका देशका भविष्य हुन् । यदि असल,सक्षम नागरिक तयार गर्न सकिएन भने भोलि देश कसरी अगाडि बढ्ला ? सधैंभरी धनी गरिब बीचको खाडलमा गरीब नै मरिरहेका छन् । यस्तो विभेद टुंग्याउन कसलाई पर्खेको छ सरकार ? जे होस् बालबालिकाका लागि स्वास्थ्य निशुल्क, अस्पतालको भौतिक ब्यवस्थापन सरल र सहज बनाए हुनेथियो ।
त्यहँको बसाईको सातौं दिन हाम्रो लागि कालो दिन भयो । सातौं दिनको बिहान हाम्रो बाबुले संसारबाट बिदा लियो ।हामी ठूलो बज्रपात सहन बाध्यात्मक परिस्थितिमा थियौं । सयौं आमाहरू दुधे बालक लियर सपना बुन्दै छोराछोरीको जीवन रक्षाका लागि आउँछन् । कोहि खुशी हुँदै मुटुका टुक्रा छातीमा टाँसेर जान्छन् त कोहि रित्तो हात फर्किनु पर्छ । त्यहि रित्तो हात फर्कने मध्ये हामी पनि थियौं । त्यो विषम परिस्थितिमा पनि त्यहाँको अवस्था देख्दा केही मनमा खट्कियो र आवाज उठाउन मन लाग्यो । हामी  बाबुको अन्त्येष्टिका लागि पशुपति लागियो ।