Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रलाई सही तरिकाले चलाउन राजतन्त्र

२६ सोमबार , पौष २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - 
नेपालीहरू विगत लामो समयदेखि निरंकुशताको चपेटामा परेका छन् । केवल रानीको पञ्जापत्रको आधार लिएर एक शताब्दी भन्दा धेरै समय हुकुमी शासन चलाउन सफल राणा परिवार मुखैमा नियम र कानुन लिएर बसेको थियो । मध्ययुगको यो राज्य प्रणाली आधुनिक युगमा विस्थापित हुँदै गएको कुरा पद्मसम्सेरले त बुझे तर अन्य राणाले बुझेनन् । राणा शासन कायम नै रहेको भए यसवेला श्री ३ हुनेको मनमा मेरो बाजेको पदवी खोस्नेका नातीको पदवी किन भन्ने सोच रहेको भए त्यो अस्वभाविक हैन ।
यस किसिमको सोचको निरन्तरता तिर संकेत गर्ने केही प्रसङ्गहरू छन्, हुनसक्छ यी प्रसङ्गहरू केवल स्याल कराएको बेला बाख्रा हराएको संयोग मात्र होस् । खुकुरीदल भनिएको समूहको नाईके भरत शमसेरलाई बीपीले गृहमन्त्रीको हैसियतले जेल हाले । भरत शमसेरका कार्यकर्ताहरू (राजनैतिक दलको रूपमा आएकाले कार्यकर्ता नै भन्नुपर्छ ) आन्दोलित भए । जेल तोडेर भरत शमसेरलाई निकाले र बीपी माथी ज्यानै जाने किसिमको आक्रमण गरे । कांग्रेसजनहरू यो आक्रमणमा वीपीले साहस प्रदर्शन गर्न नसकेको भए इहलीला समाप्त हुन्थ्यो भन्दैछन् । 
वीपी र राजाको सम्वन्धमा अमिलोपन नआउन्जेल हराउन जेपनि गर्न सक्ने प्रतिद्वन्दी भरतसम्सेर अमिलोपन आए पछि भने कट्टर सहयोगी बने, पछि त दल समेत विलय गराए । वीपी स्वयं चकित परेको राजा र उनको बीचको सम्वन्ध विग्रनुका अनेकौ कारण खोजियो । राजाको महत्वकङ्ंक्षा, नेहरूको चालवाजी सबैलाई दोष बोकाउन 
खोजियो । तर आजसम्म कसैले पनि आफ्नो शासन कांग्रेससँग मिलेर खोसेकोमा राणाहरूले राजासँग लिएको बदला हुनसक्ने सम्भावना तिर सोचेन । फलत पारम्पारिक स्वभाव भनेर निरंकुशताको पगरी राजाहरूलाई भिराएर अरूले नै निरंकुशताको मज्जा लिएको थाहै भएन ।
राजा वा राजसंस्था भन्ने वित्तिकै निरंकुशताको पयार्यवाची बनाईयो । संभवतः यो गणतन्त्रको दशक भोग्न नपरेको भए राजसंस्थाले यो वित्थाको अवगाल हमेशा बोक्नु पर्दथ्यो होला । तर यो दशकमा निरंकुशता कैयौ गुणा बढेर गएकाले विस्तारै सोच्न वाध्य हुनपरेको छ कि यो कहाँ रहेछ ? एक शव्द बोल्दा पनि अरिंगलको गोला चलाए जस्तो अवस्था भोग्नुपरेको राजाले यस अवधिमा कुनै किसिमको निरंकुशता देखाए भन्नु हास्यास्पद हुन्छ । त्यति हुँदाहुँदै पनि  निरंकुश व्यवहारले जनता मात्र हैन कार्यकर्ता र पालैपालो विपक्षी हुन पुगेका यिनै नेताहरू पनि नराम्ररी पिडित छन् ।
यी बर्षहरूमा विकासको नाममा कयौका घर भत्काईयो, यसको कुनै किसिमको सुनवाई भएन । जीवनभर काम गरेर पेन्सन खानेहरूलाई दवाईसम्म गर्नै नपाउने अवस्था पारेर पेन्सन बन्द गरियो । कारण हिसाव नमिलेको देखाईयो, जो हिसावसम्म तिनको पहुँच नै छैन त्यो अपराधमा वृद्ध भएकाहरूलाई मृत्युवरण गर्न पर्ने अवस्था बनाईयो । प्राकृतिक प्रकोपमा परेकाहरूको सहायताको निमित्त आएका सामाग्री सडाएर फालियो । यी सबै वितण्डा मच्चाउँदा कुनै किसिमको अंकुशले काम गरेन । अर्थात नेताहरू निरंकुश भए ।
राजालाई निरङ्कूशताको आरोप लगाएर नेताहरू स्थापित गर्ने नागरिक अगुवाहरू आज नेताहरूले हाम्रो कुरा मानेनन् भनेर गुनासो गर्दैछन् । अर्थात नागरिक समाज पनि नेताहरूको स्वेच्छाचारितालाई अंकुश लगाउन नसक्ने अवस्थामा पुग्यो । न्यायपालिका अंकुश लगाउने प्रयत्न त गर्दैछ तर उसले दिएको सजाय भोग्नै नपर्ने र नभोगे वापत मानमनितो पाउने घटनाहरू देखा पर्दैछन् । सर्वोच्च अदालत परिसरमा गएर आपैm न्याय दिएर भौतिक कारवाही गर्नेलाई नगरसम्म भन्ने शायद विधि छैन । त्यसैले न्यायपालिकाले अंकुश लगाउला कि भनेर आशा मात्र गर्न सकिने अवस्था स्वयं न्यायपालिकाका अंगहरूले धुमिल पार्दैछन् । मुद्दाका एकपक्षले न्यायाधीश चुन्न पाउने अवैधानिक अभ्यासले न्यायपालिका विवादमा आउनु पर्ने थियो, आयो । वेअर्थी भएको प्रधानन्यायधीश र सर्वोच्च वारको संघर्ष नेपालको न्याय व्यवस्थामाथि अनन्तकाल सम्म पिडादायक हाँसोको रूपमा रहन सक्छ । कारण नेपाल वारले जसरी प्रधानन्यायधीशमाथि भ्रष्टाचारी भन्ने आरोप लगायो, यो मान्न सरकार, प्रतिपक्षी र संसद तैयार भएनन् । कारण र कारक प्रधानन्यायाधीशमात्र होइन, वकिलहरू पनि ठहरिए । न्यायालय नगरपालिकाको फोहरजस्तो देखियो  । स्वच्छ र स्वस्थ न्यायप्रणालीका लागि के के गर्नुपर्छ कोही विचारविमर्श नै गर्दैनन् , समस्याले किन पिरोल्दैन यिनलाई ?
जनताले खोज्ने न्याय हो । न्यायालय आफै भ्रष्टाचारको कन्टनेर बनेसम्म देशमा विधिको शासन स्थापित हुनै सक्दैन । यथार्थ यही हो । यो सत्य लोकतन्त्र हाँक्नेहरू किन बुझ्दैनन् ?
जनता लगातार असंतुष्ट छन् । जनता अनेक माध्यमबाट असंतुष्टि व्यक्त गर्दैैछन् । तर जनताको यो प्रयत्न व्यथ्र्य भैm देखिदैछ । बरू महिनौ बर्षौ लगाउने र जनता थकाउने नयाँ औजार नेताहरूको हात लागेको छ । यस्तो अवस्थामा दलहरूलाई अंकुश लगाएर सही काम गराउन सक्ने एकमात्र शक्ति भनेको राजसंस्था नै हो । दलको सट्टा राजसंस्था भन्ने गलत प्रचार भएको छ, राजसंस्था दलहरूलाई सही काम लगाउन हो । प्रजातन्त्रको सट्टा राजतन्त्र हैन प्रजातन्त्रलाई सही तरिकाले काम गराउने जिम्मेवारी बहन गर्न राजतन्त्र हो । यो गलत प्रचार केवल दलहरूले आफ्नो मनोमानी गर्ने दिन समाप्त होला भन्ने आशंकाले गरेका हुन । निरंकुश नेतातन्त्रको समाप्ति प्रजातान्त्रिक अधिराज्य नेपाल भए मात्र सम्भव छ । गडवड गरे राजा अंकुशको रूपमा रहने अधिराज्य । यसको निमित्त जनसंघर्ष आजको अनिवार्य आवश्यकता हो ।