Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

न्यायका लागि माइतीघरको चिसो कति खाने ?

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

निर्मला र नकुन्नीलाई न्याय दे :
देवी काफ्ले–- - - 
आखिर कहिलेसम्म न्यायका लागि माइतीघर वरपर भोकभोकै चिसो भुईंमा कठ्याङ्ग्रिनु पर्ने हो ? पीडितको न्यायका लागि भन्दै नेपालगञ्जबाट २० दिनको यात्रा गरेर काठमाडौँ आइपुगेका पीडित पक्षका १५ जना र महिला अधिकारकर्मीहरूले माइतीघरमा धर्ना दिएका थिए उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरूदेखि अनुसन्धान गर्नु पर्ने उनीहरूको माग छ । तिनै निर्मला र नकुन्नी धोबीका न्यायका लागि आज पनि माइतीघरमा चिसो भूईंबाट महिलाहरू न्यायको हारगुहार गरिरहेका छन् तर सरकारको कानमा कानेगुजी थुप्रिएको छ सुन्दैसुन्दैन ।
राजनीतिक दलहरुका महाधिवेसन भए, हुँदैछन् । उपस्थित सदस्यहरूलाई खर्चपर्च पार्टीले दियो तर न्याय माग्न आउनेहरूलाई समर्थनको शब्द समेत  दिन सकेका छैनन् राजनीतिक दलहरू पनि ।
निर्मला पन्तकी आमाले प्रधानमन्त्रीबाटै आश्वासन पाएकी थिईन हत्यारालाई कारवाही हुन्छ भनेर । आजसम्म निर्मलाको दोषी पत्ता लगाउन सकेका छैनन्, अरूको आशा के गर्नु ? यिनले विधिको शासनको डिङ् हाँक्नु बेहार हो । आजकल न्याय अचाक्ली बिक्रीमा छ क्यार ! मोलमोलाईका कारण निम्न स्तरका अथवा सर्बसाधारणका लागि न्याय आकाशको फल आंखा तरी मर भएको छ ।
नमिता सुनिता हत्याकाण्ड देखि नै धेरै बालिकाको ज्यान गिजोलिएको छ ÷गिजोल्दै छन्÷अझै कति गिजोलेर मासुका रास लागेपछि न्यायको हुंकार दिन कुन सरकार आउनु पर्ने हो जवाफ गर्भमा छ जवाफ लिन अप्रेसन नै गर्नुपर्ला । जहाँ नेर ठुलाबडाको हात हत्यामा रंगिएको हुन्छ त्यहाँ पीडितले न्याय पाउँदै पाउंदैन जति नै लडे पनि । नजिर नै त्यस्तै बसिसक्यो । कानून लाग्ने कसलाई हो ? 
अपराधी अनुसन्धानमा प्रखर बिख्याती कमाएको नेपाल प्रहरीले नमिता, सुनिता, निर्मला, निर्मला र नकुन्नीहरूका अपराधी समाउन नसकेको हो कि प्रहरीलाई लक्ष्मण रेखा कोरेर सिमा तोकिदिएको छ कि ? नत्र अन्य सामान्य अपराधी तुरून्तै पत्ता लगाउने प्रहरी प्रशासन नकुन्नीहरूको न्यायका लागि धर्ना दिएका पिडित पक्षका वरपर घेरीएर कसको सुरक्षा कवच बनेका हुन् ? दृश्य हेर्दा लज्जा पनि लजाईसक्यो । सरकार कहिले बिउँझने हो ? स्वार्थको सिरान हालेर किन कुम्भकर्ण भइरहेछ ?
महिला तथा बालबालिका हत्या हिंसाका घटनाले खरबारीको आगो जस्तै सल्केर पाखो खरानी पारे जस्तै खरानी पार्दैछ । कानुनमा लेखिएका नियमहरूको मसीको रङ्ग उडेर जानेभयो तर छोरीले न्याय पाउन अझै शताब्दी लाग्ने नै भयो ।
पुरूष प्रधानताले अझ जरा फैलाउंदै छ । न्यायिक क्षेत्रमा महिला नै प्रमुख भएपनि हिंसा पिडितले न्याय पाएका छैनन् । महिला आन्दोलन,महिला हिंसा बिरूद्ध जति नै चर्काचर्की बहस गरेपनि दाईजोले छोरीबुहारी मारिन कम भएको छैन । दाइजोका कारण छोरी चेली झुन्डिएका छन्÷बाउआमा घरबारबिहिन भएका छन् तर पनि अपराधीलाई सजाए दिनका लागि बाबुआमा माइतीघर मण्डला पुग्नुपरेकै छ । घरेलु हिंसाका कारण मारिएकी निर्मला, नकुन्नीहरूका लागि ३९÷४० दिनसम्म पुषे झरीमा समेत आमाहरू खुला आकाशमुनि बसेर न्यायको भिख मागिरहेका छन् तर कसैका लागि यो चासोको बिषय हैन कि रमिताको बिषय बनेजस्तो देखिन्छ । देशको केन्द्रीय राजधानीको मुटुमा बसेर मागेको न्यायको आवाज कुन छेडबाट सरकारको कानमा पुग्ने हो ? राजनीतिक दलका अगुवाहरूले खुलामन्चमा बोलेका बाणीहरू कहिले सम्झेलान् ? अनि न्यायका लागि ऐक्यबद्धता जनाउलान् ?
सरकार जोसुकैको होस् हामीलाई न्याय चाहियो । झुसिलकिरा मारेजसरी छोरी मार्न पाईंदैन । अपराधीलाई सार्वजनिक गर । हैन भने अब सम्पूर्ण नारीजातिको सामना गर्न तयार बन । राणाकाल हे¥यो उस्तै दमन, पन्चायतकाल हेर्यो उस्तै दमन, बहुदल, गणतन्त्र, लोकतान्त्रिक प्रणालीमा पनि महिला नै दमित हुनुपर्ने, अनाहकमा ज्यान गुमाउनुपर्ने, न्याय नपाउने ? अब कुनै तन्त्रको आवश्यकता हुनेछैन, खबरदार । छोरीहरूले विद्रोहको आगो सल्काएका छन्, होसियार ।